२ भदौ २०८०, काठमाडौं
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०७९ को पद्मश्री पुरस्कारका लागि संक्षिप्त सूचि प्रकाशित गरेको छ । खेमलाल– हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा प्रकाशित विज्ञप्ति अनुसार सूचिमा सुविन भट्टराईको ईजोरिया, विवेक ओझाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु सहित तीन उपन्यास, प्रदीप रोदनको मफलर गजल संग्रह र डा. नवराज केसीको गैर आख्यान शून्यको मूल्य रहेका छन् ।
गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरिएकोमा त्यस मध्येबाट यी ५ कृति छनौट भएका हुन् । यी ५ कृतिहरूमध्येबाट एक कृतिले विसं २०७९ को पद्मश्री पुरस्कार प्राप्त गर्नेछ ।
वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्येबाट एक कृतिलाई पुरस्कृत गरिंदै आएको छ ।
स्मरणीय छ यी ५ कृतिहरुमध्ये “शून्यको मूल्य”का लागि डा. नवराज केसी उत्तमशान्ति पुरस्कार तथा “मफलर” कृतिका लागि प्रदीप रोदनले साहित्यपोष्ट उत्तम पुरस्कार प्राप्त गरिसकेका छन भने सुविन भट्टराईको ईजोरिया र विवेक ओझाको ऐंठन मदन पुरस्कारको सूचिमा समेत परेको छन् ।