वासु शशी साहित्य सम्मान र पुरस्कारको घोषणा

मुख्य समाचार

२६ फागुन २०८१, काठमाडौं ।

वासु शशी स्मृति परिषद्ले’वासु शशी साहित्य सम्मान–२०८१’ मनबहादुर मुखियालाई तथा ‘वासु शशी साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै सन्धा पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कारको राशी २५ हजार रहेको छ ।
विगत ६ दशकदेखि नेपाली नाटक र गीत लेखनका माध्यमद्वारा योगदान गरेका मनबहादुर मुखियाका नाटकहरु अनि देउराली रुन्छ र क्रसमा टाँगिएको जिन्दगी तथा एकांकीहरु अँध्यारोमा बाँच्नेहरु र फेरि इतिहास दोहोरिन्छ कृतिहरु प्रकाशित छन् । उनको अनि देउराली रुन्छ नाटक सर्वाधिक लोकप्रिय र चर्चित नाटक थियो ।
यसैगरी विगत चार दशकदेखि ईलाममा सक्रिय कवि विमल वैद्यका आकाश छुन खोज्ने मनहरु, समय र सपनाहरु, अक्षर सिम्फोनी र युगको तटमा उभिएर चार कविता कृतिहरु प्रकाशित रहेका छन् ।
त्यसैगरी विगत तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील सन्ध्या पहाडीका मृगतृष्णा र अन्य कविता, घामका अक्षर कविता कृतिहरु प्रकाशित छन् ।
वासुशशी स्मृति परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीका अनुसार यी सम्मान र पुरस्कारहरु वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८९औं जन्मजयन्तीको अवसरमा आगामी २०८१ चैत १३ गते प्रदान गरिनेछ ।
वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भाेजपुरे र किरण खरेल सम्मानित भइसकेका छन् भने वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाईं, राधेश्याम लेकाली, माेमिला जोशी, श्यामल र प्रतिसरा सायमी पुरस्कृत भइसकेका छन् ।

०००

Leave a Reply