असार १७,२०८०, काठमाडौं ।
नेपाली लेखिकाहरुको संस्था “गुञजन” ले २०७९ सालको विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको छ ।
गुञ्जनले जनाए अनुसार “गुन्जन प्रतिभा पुरस्कार” कवि गीता कार्कीलाई, “गुन्जन त्रिवेणी आख्यान पुरस्कार” वरिष्ठ कथाकार भुवन ढुंगानालाई, “गुन्जन मातृभाषा सम्मान” राधिका लिम्बूलाई, “गुन्जन साहित्य पुरस्कार” कवि विश्वविमोहन श्रेष्ठलाई, “गुन्जन जेष्ठ नागरिक सम्मान” कथाकार रेवती राजभण्डारीलाई र “गुन्जन रजत जयन्ती सम्मान” कवि लक्ष्मी राजभण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
स्मरणीय छ, गुञ्जन साढे दुई दशक अगाडि काठमाडौंमा स्थापना भएको थियो । संस्थाले अविराम नियमित गोष्ठी गर्दै आएको छ र बार्षिकोत्सवका अवसरमा प्रकाशन तथा पुरस्कार सम्मान समेत प्रदान गर्दै आइरहेको छ ।
हाल गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठ रहेकी छिन् र उनकै अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यी पुरस्कार र सम्मानहरुको निर्णय गरेको हो ।