१३ कार्तिक २०८०, काठमाडौं
छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको घोषणा भएको छ । प्राप्त जानकारी अनुसार विसं २०७८ का लागि वसन्त ओली “वसन्ती”को गजल संग्रह ‘बोइ’ र २०७९ का लागि प्रदीप रोदनको गजल संग्रह ‘मफलर’लाई पुरस्कृत गरिनेछ ।
यस पुरस्कारमा १० हजार नगद तथा सम्मानपत्र रहेको छ ।
साहित्यकार जे.सागरले २०७४ सालमा आफ्नो गजल कृति ‘यत्ति भए पुग्छ’ विमोचन समारोहमा आफ्ना मातापिताको नाममा स्थापना गरेको यो पुरस्कार २०७४ देखि बर्षेनी प्रदान गरिंदै आएको छ । कारणवस विसं २०७८ सालको पुरस्कार प्रदान गर्न बाँकी रहेकोले यस वर्ष विसं २०७८ र २०७९ को वितरण गर्न लागिएको हो ।
बुलबुल पब्लिकेसन्सले संयोजन गर्दै आएको यो पुरस्कार २०७४ मा आवाज शर्माले सम्पादन गरेको संयुक्त गजल कृति ‘इन्द्रेणी-३’, २०७५ मा टक गुरुङको गजल संग्रह ‘अनाहत’, २०७६ मा प्रकृति प्रेमीको गजल संग्रह ‘समीर’ र २०७७ मा पुष्प अधिकारी अञ्जलीको गजल संग्रह ‘हरियो ऐना’लाई प्रदान गरिएको थियो ।
बुलबुल पब्लिकेसन्सका निर्देशक तथा पुरस्कार संयोजक अच्युत घिमिरे बुलबुलले पुरस्कारको गरिमा र महत्वलाई सम्मान गर्दै सधैं योग्य कृति पुरस्कृत होस् भन्नेमा आफू सचेत रहेको बताए । पुरस्कारका कोषका संरक्षक जे सागर यो वर्षको पुरस्कार वितरण समारोहमा सरिक हुनेछन् ।