बिचरा माईला बा…

कथा

यसराज भट्टराई, साम्दोङ पुर्व सिक्किम

 

माईला बा रोगले थल्लिएको निकै भयो । छोरा बुहारी आआफ्नै चाकरीमा व्यस्त थिए । छुट्टी मिल्दैन भनेर बेलाबेला फोन मात्रै आउँथ्यो । बाबाको हेरचाह गर्न भनेर जगनाथलाई महिनावारी तलवमा घरमा राखेका थिए । आमा बितेको निकै वर्ष भइसकेको थियो…।

सिकुवाको डिलमा बसेर माईला बा कल्पना गर्थे ती वैंशालु दिनहरु । ती पाखुरीका भरमा स्याहारेका खेत बारीहरू । ती दार्मे र पाङ्ग्रे हल गोरूहरु । ती झाली र माली गाईहरु । आफु आधा पेट खाएर हुर्काएका ती छोरा छोरीहरू । आमाको पेवा गहना बेचेर पढाएका ती भविष्यका आशाहरु….सोच्दै लान्थे अनी बरर  आंशु झार्थे ।

भोक तिर्खा सोध्ने आज त्यो जगनाथ बाहेक माईला बाको कोही थिएन । दमका बिमारी थिए । क्षणमै हिरिक हिरिक हुन्थे । बिचरा जगनाथले आफ्नै बाबुलाई झैं स्यार्हार्दै आईरहेको थियो । बदलामा थोरै तलव पाउँथ्यो । अनी घरमा पठाऊँथ्यो।

भोलीदेखि तीन दिनको छुट्टी छ घुम्न जौं है ईलाम तिर । छोराहरुले फोनको भरमै योजना बनाए । बुहारीहरु खुशीले मुसुक्क हांसे । माईत जौंला भन्ने सोंचेको थिएँ । यसपालि घुम्न जाने भईयो । माईत अर्को पाली जौला… बुहारीहरुले आपस्तमा फोनमा बात मारे ।

किनकिन आज माईला बालाई ती झाली र माली गाई हेर्न मन लाग्यो…जगनाथले बलैले हात समाएर कटेरासम्म पुर्याए । माईला बा श्वास फुल्लिएर हिरिक्क भए ।

के गर्छौ त लक्षिमी हो…सकुञ्जेल तिमीहरुलाई सिहारें आज जीऊमा बर्गत छैन..खरूकी, सरखारी खोजीखोजी ख्वाऊँथे ।  डम्म अघाऊँथ्यौ । भुईंमा सोत्तर हुन्थ्यो…अब सन्तोक गर । यी म आज छोरा बुहारी भईकन पनि एक्लो छु । यो जगनाथले कति गरोस् बरा ?? तिमीहरुलाई बेचुँ भने माया लाग्छ । मलाई पो स्याहारोस कि तिमीहरुलाई पो मिठो घाँस खोजेर ल्याओस बरा ! माईला बाले तरक्क आँशु खसाले…ती पशुहरुले कति बुझे थाहा छैन । तर माली गाईले आंखाबाट बरर आँशु खसाल्यो । हेर्न नसकेर माईला बाले जगनाथलाई ईशारा गरे । अनी स्वाँस्वाँ गर्दै बलैले घरसम्म आए।

सधैं झैं जगनाथले घरको काम सकेर माईला बालाई ओछ्यानमा ढल्काएर साबुन किन्न पसलतिर लाग्यो..लुगा धुनु धेरै थियो ऊसको..पसलबाट फर्किंदा ऊ सोच्दै आयो । यत्रो तिन दिन छुट्टी हुंदा सम्म बिरामी बाबु हेर्न आऊन नभ्याऊने कस्ता निष्ठुरी छोरा बुहारी ?? के यतिकै लागी यी माईला बाले हुर्काएर, पढाएर ठुला ठुला बनाएका होलान् त ?? सोच्दै ऊ छिटोछिटो घरमा आयो । माईला बा खोक्दाखोक्दै ललाक लुलुक भईसकेका रहेछन् । उठाएर काखमा राखेर दवाई ख्वायो..आंखाबाट बरर आंशु खसाल्दै माईला बाले जगनाथको टाऊको हात राखे अनि जगनाथको अनुहारमा हेरिरहे।

ईलामको चियाबारीमा फोटो खिच्दै, आनन्द लिँदै छोरा बुहारी मस्त थिए…  चियाबारीको बिचमा पुगेर साडी मिलाऊंदै चन्द्राले भनिन्, “राम्रो खिचिदिनोस् है ठुलो फ्रेममा राख्छु ।“

“..ल ल “ रामले उत्तर दिए । अर्का जोडीहरू अल तल थिए ..पोज मिलाई मिलाई फोटो खिच्नमा व्यस्त.. निरुताले सोधीन् खिच्नु भो ??

त्यतिनै बेला जगनाथको फोन आयो “सुन्नोस त तपाईहरु भ्याऊनु हुन्छ भने घरमा आऊनोस यता माईला बा बित्नु भो”…..।।

 

०००

कथाकार परिचयः यसराज भट्टराईभारतको सिक्किम राज्यको साम्दोङ, पूर्व सिक्किममा जन्मेका हुन् । उनको सानैदेखि साहित्यमा रुचि थियो । फूटकर रुपमा कथा कविताहरु उल्लेख्य सङ्ख्यामा लेखे पनि उनको पुस्तकाकारमा भने कुनै कृति प्रकाशित छैन, तर उनी पुस्तक प्रकाशनको तयारीमा भने लागेका छन् ।

Leave a Reply