केही मुक्तकहरू

कविता मेरो कविताः मेरो रोजाइ

निशा के.सी., काठमाडौं

१,

नसोच्नु सधैं भाग्यमा, भरिएको डालो हुन्छ
दुख, सुख  बिसाउन  प्रेमिल  अँगालो  हुन्छ
मनभित्रै छ वसन्त भनेर जति नै मन बुझाए पनि
ऋतुचक्र हो जीवन, हरेक ऋतुको पालो हुन्छ ।
२,

सधैं त पर्दैन झरी, बादल पनि सरेर जान्छ
सहन मात्र सक्नुपर्छ, हर संकट टरेर जान्छ
सोचेकै थिईंन यो  संसारमा तिमी बिना पनि
जिन्दगीमा एक्लै रमाउने बानी,  परेर जान्छ
३,
किनबेच नहुने बजार,  हाटको के कुरा भो र
रोप्न, काट्न नमिल्ने फाँटको के कुरा भो र
जिब्रो फट्कारी फट्कारी इख्याइसिन्छ हजुर
उपवास बसेकालाई जाबो, चाटको के कुरा भो र ?
४,
घाउ भएर के भयो नदुख्ने खाटो भैदिउँला
तिमी बोलिरहू , सुनेर पनि म लाटो भैदिउँला
खुसी हुने बानी बस्यो तिम्रो हरेक सफलतामा
तिमी विशाल वृक्ष बन्नु ,म उर्वर माटो भैदिउँला ।
५,
बोकिएला  घाँसका भारी, वचनका भारी बोक्न सकिन्न
मीठै होस् न परिकार, अपमानको रोटी टोक्न सकिन्न
थाहा छ  वसन्त र शिशिरसँगै परिवर्तनशील छ समय
फुल्दैछन् यी केशहरू, नफुल्नलाई  रोक्न सकिन्न ।
६,
कतै भोका छन्, कतै थुपारिरहेछन् ह्रासमाथि
कतै नाङ्गा,कतै मखमल ओढाउँछन् तासमाथि
लोकतन्त्रको कुहिरोमा रूमल्लिरहेछ लाग्छ देश
भविष्य कस्तो होला?  वर्तमान  छ भासमाथि ।

मुक्तककार परिचय: निशा के सी विगत तीन दशकदेखि नेपाली साहित्यको विविध विधामा निरन्तर रचनाहरू लेखिरहेकी छिन् । उनको रहरहरूले सगर छुँदा मुक्तक सङ्ग्रह प्रकाशित छ । उनले मुक्तक सागर त्रैमासिक सम्पादन गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *