लता खरेल
छोरी तिमीलाई
मैले नै सानैदेखि सिकाएको हो,
सुनाएको हो र बुझाएको हो
तिमी छोरी हौ,
छोरी सहनशील हुनुपर्छ, धर्ती बन्नुपर्छ
हो, हजुरआमा सागर बनिन्
जेसुकै कुरा सहिरहिन्
आमा धर्ती बनिन्, लाचार बनेर चुपचाप सहि रहिन्
म तिम्री आमा हुँ
मैले पनि नसहेको होइन, धेरै अन्याय, अत्याचार, अपहेलना ,विभेद
मानसिक तनाव र व्यवहारको बोझिलो भारी बोकेर
एकोहोरो र युद्ध गरेर नै तिमी छोरी बन्न सक्यौ।
मलाई लाग्थ्यो अब त समय बदलिनेछ
छोरीहरूको समय आउनेछ
हामीले जति यातना, पिर, व्यथा सहनु पर्ने छैन
र छोरी, समय त अर्कै भएछ
मानवहरूको बस्ती उजाडिएछ
यहाँ हिंसक वन्यजन्तु जस्ता
मानव रूपी दानवहरू रहेछन्
असत्य सलबलाउन थालेछ
धर्मले ठाउँ छोडेछ, पापी दुराचारीको संख्या बढेछ
कसरी सुन्नु मैले ?
निर्दोष बालिकालाई सामूहिक घेरामा पारेको
आफ्नै सन्तानले आफ्नै आमा मारेको
आफ्नै सिन्दुरले घाँटी रेटेको
पुजेका पाउहरुले छाती टेकेको
सुन्छु जताततै हत्या, हिंसा, बलात्कार, भ्रूणहत्या
अनि, यो पनि सुन्छु
अभियुक्त धरौटीमा रिहा भयो रे
फरार भई विदेश गयो रे।
कुनै पार्टीको हात थियो रे।
ठूलै नेताको साथ थियो रे।
अब सुन छोरी,
तिमी छोडी देउ सुन्न सती सावित्रीका गाथाहरू
बिर्सि देउ अब सीता जानकीका व्यथाहरू
यो कलियुग रहेछ
न्याय कैदी छ, मानवता हराएको छ, विश्वास सङ्कटमा छ
अनि धैर्यता लरबराउँदै छ
यहाँ इमान्दारिता बली चढ्नुपर्छ र चोर डाँकाको रजाईं चल्छ
यस्तो बेलामा ,
तिमी आफ्नो रक्षा कवच आफै बन्नु
गन्तव्य पुग्न धेरै मेहनत गर्नु
विश्वास कसैको नगर्नु
विद्रोही बन्नु तिमी आगोको ज्वाला बन्नु
छिनाइ दिनु घाँटीहरू
बरु, तिमी चण्डी बन्नु, उग्र चण्डी बन्नु
काली, दुर्गा माता जस्तै बन्नु
अनि फुटाइ दिनु तिम्रो शरीरमा डामिने
ती कामुक आँखा
रोपी दिनु तिरहरू, लाद्रे पेटमा कुल्ची कुल्ची मारि दिनु
छियाछिया पारि दिनु शरीर, टुक्रा टुक्रा पारेर गर्दन
बरु घटघट पिइदिनु तातो रगत
अनि मात्र थाहा हुन्छ तिम्रो पहिचान
नारी शब्दको अर्थ
त्यसैले, अब सुन छोरी,
तिमी मौन नबस्नु, दर्शक नबन्नु,
सहनशील नबन्नु
तिमी सागर नबन्नु
धर्ती नबन्नु
०००
कवि परिचयः लता खरेल चकचकी झापाकी हुन् । उनका कविताहरु विसं २०५३ सालदेखि बिभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित छन् ।
सुन्दर कविता झनै सुन्दर वैनी कवि लता खरेल ।