मेरो शहर

कविता

नगिता लेप्चा राई

 

जब रातको अन्धकारले

अङ्कमाल गर्दै

आफ्नो बाहुपाशमा कस्छ

शरीरभरि रङ्गीचङ्गी आँखा खोलेर

बड़ेबड़े होटल रेष्टुराँहरूमा

बार र क्लबहरूमा

डिस्को डान्सहरूमा

इत्रिँदै…

बियर र ह्वीस्कीमा

पौड़ी खेल्दै

रन्थनिन्छ मेरो शहर ।

 

बहुरङ्गी यो शहरमा

सभ्यता बोक्नेहरू नै

म्युनिसिप्यालिटीको

डस्ट बिनमा फ्याँक्छन्

शिष्टताहरु

आबरु नङ्ग्याउँछन्

नसाको चुस्कीसँगै

जीउको दरभाउ गर्छन्

अनि दिनभरि भद्रताको आड़मा

सभ्य कहलाइन्छ

अनि रातभरि मातिन्छ

मेरो शहर ।

 

डान्सबारमा बेजोड़ उफ्रिन्छ

सभ्यताको प्लेकार्ड बोक्नेहरूको

अनुहार छोपिन्छ

र मुखुण्डोको जगजगी मात्रै देखिन्छ

अनुहारै नभएका लबस्तराहरू

रातभरि

पासपोर्ट हराएकी मेमको

विज्ञापन गरिहिंड़्छन्

कति असभ्य शहर

रोकथाम कतै छैन

दिनभरि शान्त सौम्य देखिन्छ

अनि रातको अन्धकारमा

व्यभिचारमा पौड़ी खेल्छ

र यौनको पसलमा साटिन्छ

रङ्गीचङ्गी मेरो शहर ।

 

कवि परिचयः नगिता लेप्चा राई कविता र हास्यव्यङ्ग्य विधामा कलम चलाउँछिन् । सिलगडी भारतकी उनको काव्यकृति “मेरो बालापन”(२०२३) प्रकाशित छ र एक हास्य ब्यङ्ग्य निबन्ध पुस्तक प्रकाशनको तयारीमा छ ।

Leave a Reply