विश्वपरिक्रमा डेस्क,
निकै लामो समयदेखि बहुप्रयोजनमुखी आधिकारिक व्याकरणको आवश्यकतालाई ध्यानमा राखेर नेपाल प्रज्ञा प्रतिष्ठानले “प्रज्ञा नेपाली शैक्षणिक ब्याकरण” प्रकाशित गरेको छ ।
विद्यालय र विश्वविद्यालयका विभिन्न तहमा पठनपाठनका लागि तहगत उद्देश्य पूरा गर्न विभिन्न व्याकरणात्मक पुस्तकहरू लेखिए पनि शिक्षक, विद्यार्थी तथा नेपाली भाषा, व्याकरण तथा वर्णविन्यासको शुद्ध प्रयोग गर्न चाहने जोकोही भाषा प्रयोक्ताहरूको अपेक्षालाई पूरा गर्न सक्ने एउटै सामग्रीको अभावलाई यस पुस्तकले पूरा गर्ने विश्वास प्रतिष्ठानले लिएको छ ।
कुलपति गङ्गाप्रसाद उप्रेतीको सम्पादनमा तथा नेपाली भाषा र व्याकरणका विशिष्ट विद्वान्त्रय प्राडा हेमनाथ पौडेल, प्राडा रमेशप्रसाद भट्टराई र डा प्रेमप्रसाद चौलागाईंको लेखनमा यो ग्रन्थ तयार गरिएको हो । यो पुस्तक प्रयोगात्मक प्रस्तुति, पाठपरक व्याकरणबोध, प्रामाणिक उदाहरण र आधिकारिक व्याख्या र विश्लेषणले गर्दा सबैका लागि उपयोगी हुने विश्वास प्रतिष्ठानले लिएको जनाइएको छ ।
