नन्दु उप्रेतीको “चीन यात्राका यादहरू” बिमोचित

मुख्य समाचार

९ फागुन २०८२, काठमाडौं

नन्दु उप्रेतीको नयाँ नियात्रा सङ्ग्रह ‘चीन यात्राका यादहरू’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको सार्वजनिककरण गरिएको थियो ।
केही समय अगाडि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणका सिलसिलाहरू उक्त पुस्तकमा समेटिएका छन्। चीनको राजधानी पेइचिङ, व्यापारी केन्द्र साङहाई र पर्यटकीय क्षेत्र छङ्तुका भ्रमणका सन्दर्भहरूलाई नियात्राको रूपमा प्रस्तुत गरिएको उक्त पुस्तकको प्रकाशक ‘फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपाल’ भन्ने संस्था रहेको छ । विमोचन कार्यक्रम पनि सोही संस्थाको ब्यानरमा आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रम मा पुस्तकको समीक्षा प्रा.डा. गोविन्द मानसिंह कार्कीले गरेका थिए । कार्कीले पुस्तकका बारेमा चर्चा गर्दै भने,”उप्रेतीद्वारा लिखित यो नियात्रा सङ्ग्रह ‘चीन यात्राका यादहरू’ले चीनको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय, भौगोलिक आदि क्षेत्रहरूको जानकारी प्रस्तुत गर्नुका साथै चीनको वर्तमान अवस्थालाई अक्षरमा उतारेको छ। त्यसैगरी यहाँ चिनिया जनताको जीवनशैली उनीहरूको उपलब्धि चीनले गरेको चामत्कारिक विकासको अवस्था चीनको विकास सम्बन्धी भविष्यको परिकल्पना आदि कुराहरुलाई साहित्यिक ढङ्गबाट रोचक शैलीमा प्रस्तुत गरिएको छ। नेपाली पाठकहरूका लागि यो एउटा अत्यन्तै महत्वपूर्ण पुस्तकको रुपमा सार्वजनिक भएको ठानेको छु।”
कार्यक्रममा समीक्षक प्रा. डा. कार्कीले सङ्ग्रहमा समेटिएका बिसवटै नियात्राहरूको बारेमा चर्चा गरेका थिए । उनले लेखकको रोचक शैलीले यात्राका प्रत्येक सन्दर्भहरूलाई पठनीय बनाएको धारणा व्यक्त गरे । सम्झना, कल्पना र यथार्थको त्रिकोणात्मक मिलनले कृतिलाई नेपाली पाठकका लागि अत्यन्तै सम्झना योग्य उपहार बनेको धारणा समीक्षक कार्कीको रहेको थियो।
नियात्राकार उप्रेतीले कार्यक्रममा आफूले चीनको यात्रामा देखेको जानेको कुराहरुलाई अनुभव गरेका कुराहरुलाई सुनेका कुराहरूलाई आफ्ना लेखहरू मार्फत नेपाली पाठकहरु सामु प्रस्तुत गर्ने प्रयास गरेको कुरा बताएका थिए ।
कविता, बालसाहित्य र साहित्यिक अनुसन्धानमा समेत कलम चलाउने नियात्राकार उप्रेतीको यो तेस्रो नियात्रा सङ्ग्रह हो । यसभन्दा अघि उनका ‘फेवादेखि विवासम्म’ र ‘कालापानी यात्रा’ दुईवटा नियात्रा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।