६ फागुन २०८२, काठमाडौं
कपन वानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिकाको छ सय अङ्क प्रकाशन गरेको अवसरमा कपन वानेश्वरको आयोजनामा पत्रिकाका संरक्षक , स्रष्टा महेन्द्र चालिसेको रङ्गभेद लघुकथासङ्ग्रहको विमोचन सम्पन्न भयो ।
कृतिकार महेन्द्र चालिसेले लेखकीयसहित स्वागत मन्तव्य दिनुभएपछि लघुकथा गान बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो । पत्रिकाका प्रबन्धक साहित्यकार गङ्गा कर्माचार्य पौडेलको सभाध्यक्ष र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतीथ्यता सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि र सभाध्यक्ष लगायत् गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल, गोनपा ९ का वडा अध्यक्ष राजिव थापा, कृतिकार महेन्द्र चालिसे दम्पती , समीक्षकद्वय ठाकुर शर्मा, गोपी मैनाली र कपन बानेश्वरका प्रकाशक सम्पादक निबन्ध आचार्यले संयुक्त रूपमा कृति विमोचन गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले कृतिमा समावेश ६५ वटा लघुकथाले देश र समाजमा व्याप्त सामाजिक , राजनैतिक , आयातीत संस्कार , कर्मचारीतन्त्र , प्रकृति र मानव आचरणमा विविध भेद पाइने हुनाले कृतिको नाम रङ्गभेद सार्थक रहेको पुष्टि भर्नु भयो । लघुकथाहरूमा सरल अभिव्यक्ति हुनु , उखानको प्रयोग हुनु , संस्कराणात्मक कथाको प्रयोग हुनु , वैश्विक धारणालाई आत्मसात् गर्नु , लाक्षाणिक र संकेत शैली प्रयोग हुनु , व्यङ्ग्य भाव र सुक्ष्मतालाई प्रयोग गर्नु लेखनका विशेषता माथि प्रकाश पार्दै कृतिकार चालेसेको व्यक्तिगत र साहित्यिक व्यक्तित्वमाथि आफ्नो समीक्षात्मक धारणा राखे ।
अर्का समालोचक गाेपी मैनालीले लघुकथाको संक्षिप्त इतिहास र अवधारणामाथि प्रकाश पार्दै कृतिमा समाविष्ट लघुकथाका प्रवृत्तिबारे समीक्षा गरे ।
कार्यक्रममा दीपक रिसाल, युवराज मैनाली, बाजुराम पाैडेल, रमेश खनाल, राजीव थापालगायतले पत्रिकको सफलताको लागि प्रकाशक कपनलाई र कृतिगत सफलताको लघुकथाकार महेन्द्र चालिसेलाई शुकामना व्यक्त गरेका थिए ।
कपनका सम्पादक तथा प्रकाशक निबन्ध आचार्यले प्रकाशकीय मन्तव्यमा पत्रिका प्रकाशन यात्रामा सहयोग पुर्याउनेअरुण नदी खत्री , मदन नेपाल र लता के. सी लगायत् सबैलाई धन्यवाद दिए । उक्त कार्यक्रममा नारायण भण्डारी जनकपुरीले गीतकार महेन्द्र चालिसेद्वारा लिखित गीतलाई स्वर दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि घिमिरेले साहित्यिक त्यसमाथि पनि समाचारमूलक पत्रिका कपनले ६ सय अङ्क सम्म पुर्याउनु हिमाल चढ्नु बराबर हो भन्दै महेन्द्र चालिसेको पहिलो कथा सङ्ग्रहभन्दा यो कृति परिमार्जन भएर आएकोमा खुसी व्यक्त गर्दै समीक्षकहरूले दिने तालीको पछि नलागेर स्रष्टाले आफ्नो लेखनलाई निखार्नु पर्ने सुझाव दिए ।
आलोक चालिसेले सञ्चालन गरेको सो कार्यक्रमको अन्त्यमा सभापति पौडेलले उल्लासमय उपस्थितिकालागि सबैलाई धन्यवाद ज्ञापन गरे । पत्रिका प्रकाशन सामूहिक काम भएको र कबा समूहले मिलेर काम गरेको कारण नै ६ सय अङ्कसम्म पुग्न सफल भएको बताए । कपनका सम्पादक तथा प्रकाशक आचार्यलाई विशेष धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
०००
