४ फागुन २०८२
साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११ औं जन्मजयन्तीका अवसरमा २०८२ सालको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार रामविनयलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान पत्र, विशेष अतिथिहरू प्रा.डा.दयाराम श्रेष्ठले दोसल्ला, वरिष्ठ साहित्यकार कोशराज न्यौपानेले माला र सभाध्यक्ष प्रा.पौडेलले रु.५० हजार राशिको थैली प्रदान गरेर सम्मान गरे ।
सो अवसरमा पूर्व मन्त्री एवं साहित्यकार शान्ता मानवीले सम्मानित व्यक्तित्व विनयकी जीवन साथी सीतादेवी श्रेष्ठलाई माला लगाएर सम्मान गरिन् ।
समारोहमा सदनले प्रकाशन गरेको ‘साहित्य सदन’ नामक प्राज्ञिक प्रकाशनको लोकार्पण पनि गरिएको थियो जसमा सदनले प्रकाशन गरेको उक्त प्रकाशनमा सदनले आयोजना गरेका गोष्ठीमा प्रस्तुत भएका गोष्ठीपत्र, कविता महोत्सवमा पुरस्कृत कविका कविता, अन्य प्राज्ञिक वैचारिक सामग्री र सदनका गतिविधि र इतिहासलाई समेटिएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रमुखअतिथि गङ्गाप्राद उप्रेती, विशिष्ट अतिथिहरू- शान्ता मानवी, प्रा.डा.दयाराम श्रेष्ठ, साहित्यकार कोशराज न्यौपाने, प्रा.जगत् उपाध्याय प्रेक्षित तथा सदनका उपाध्यक्ष कवि मित्रलाल पंज्ञानीले साहित्यकार हृदयचन्द्र र पुरस्कृत व्यक्तित्व रामविनयको योगदानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको सुरुमा सदनका सचिव प्रह्लाद पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।
सम्मानित व्यक्तित्व रामविनयले आफूलाई जनपक्षीय साहित्यकार हृदयचन्द्र सिंहका नाममा स्थापित सम्मान प्रदान गरेकोमा आफू सृजनाका निम्ति अरू उत्साहित भएको बताउँदै सदनलाई सम्मानका लागि सदनलाई धन्यवाद दिनुभयो ।
सदनका सदस्यहरू मणिराज लामिछाने र सुनीता बुढाथोकीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रम सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
०००
