नवीन पौड्याल, कालिम्पोङ
श्रापित गाउँमा न सज्जन बस्छन् न सचेत
न विवेक राख्छन् न बुध्दि लाउँछन्
कहिले नमिल्ने कहिले नबुझ्ने
सदैव अचेत अलमस्त असरल्ल
मित्रले तिमी यस्तो नगर भन्दा नमान्ने
शत्रुले यस्तो गर भन्दा लम्पट भएर मान्ने
गुहु र गोबर नचिन्ने
सुन र नुन एकै ठान्ने
मेरो श्रापित गाउँ कति महान!
मेरो गाउँ कति उदार
शत्रुका मतियारलाई माया गरेर पाल्ने
अर्कै अनुहारलाई आफ्नै ठानेर राख्ने
शत्रुले गुहेलाको पात शिरमा सिउरीदिँदा
सुनको शिरपोस ठानी कृतज्ञ हुने
आफैलाई मास्नेलाई माया गर्ने
आफैले आफ्नैलाई मास्ने
शत्रुलाई मित्रु र मित्रुलाई शत्रु देख्ने
मेरो गाउँ कति महान छ !
मेरो गाउँमा घाम लाग्दैन
मेरो गाउँको घामलाई केले छेल्छ छेल्छ
मेरो गाउँमा चिसो सुस्केरा मात्रै चल्छ
मेरो गाउँलाई दुख्दा
मेरो गाउँ मज्जाले रुन पाएको छैन,
मेरो गाउँले मज्जाले हाँस्न पाएको छैन
मेरो गाडी नक्कली हाँसो मात्रै हाँस्छ।
…….. ……. …….. …………….. ………….
मेरो गाउँ बिमार छ, राम्रो वैद्य पाएकै छैन
मेरो गाउँको गाडेघाउ जाति पार्ने अपरेसन भएको छैन
आश्वासनको मलमले मात्रै लिपिदिन्छन्
जति प्रयास गरे पनि भ्यागुतो कुवाको कुवामा हुने
जत्ती ठेले पनि शिशिफसको ढुङ्गो जहींको तहीँ
जति खेदे पनि बेताल त गाउँकै रुखमा
……. ……. …………. ………. ………… ………. …….
मेरो गाउँ कैलेकाहीँ सपनामा धताउने गर्छ
सपनामा नै क्रान्तिका कुरा गर्छ।
सपनामै जुलुसको लाम चल्छ
सपनामै प्रहरीहरू आएर गोलिकाण्ड गर्छन्
तर पनि मेरो गाउँमा शान्ति छ।
मेरो गाउँलाई दुख्दा ऐयासम्म भन्न पाउँदैन
आफ्नै अनुहारका खेतालाहरु आएर
चाल नपाउँदो गरि चोट लाउँछ्न।
आफ्नै अनुहारहरुको दलालहरुको रगरगी छ
आफ्नैलाइ बेच्ने कुरा हुँदा पनि मेरो गाउँ चुपचाप छ
कति उदार मेरो गाउँ कति महान???
ब्वाँसाले आएर गालामा चाट्दा पनि माया गरेको ठान्ने
आफैं उभेको गाउँको धरतीलाई चारैतिरबाट खनेर
धरातल खुस्काएको समेतलाई उपलब्धि मान्ने
हाँसी हाँसी खुला चुनौतीपूर्ण स्नेह बोल्ने समेतलाई
प्रसादीको रूपमा सहर्ष स्वीकार गर्ने
मेरो गाउँ कति उदार! कति महान ???
कहिलेकाँही मालिकहरुका लागि
हामीले साससम्म फेर्दा आवाज आउनु हुन्न
दुख्दा ऐय्यासम्म भन्नुहुन्न
यसो नगरे अर्कै बिल्ला लाइदिने गर्छ
गाउँको छातीमा बिल्लै बिल्लाले सजिएको छ
वीरताको लाञ्छनाको आश्वासनको र लोलोपोतोको
तर पनि मेरो गाउँ अचेत छ
सबैलाई पुरस्कार आशिर्वाद र उपलब्धि ठान्छ।
कति उदार मेरो गाउँ!!! कति महान????
हाँसी हाँसी आई चिमोट्नेलाई गाउँले सलाम
माया गाँसी गाँसी निमोठिदिनेलाई मेरो लम्पट सलाम।
तिम्रो माया-ममताले म त साह्रै पुल्पुलिएको छु
यसैले मेरो गाउँ कति उदार कति महान???
०००
