तिल गङ्गा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्ति प्रदान

मुख्य समाचार

२९ माघ २०८२, भीमफेदी

कवि तथा गीतकार सुभाषचन्द्र पौडेल’भीमफेदीया’ले आफू जन्मिएको गाउँ भीमफेदीमा रहेको ७८ वर्ष पुरानो श्री महेन्द्र माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा सुश्री एन्जल घिसिङलाई रू २५,५५५/- को नगद राशि सहित ‘तिल गङ्गा गोविन्द स्मृति प्रोत्साहन छात्रवृत्ति २०८२’ प्रदान गरे।
आफ्नी आमा तिलकुमारी,फुपू गङ्गा देवी तथा पिता गोविन्द प्रसादको स्मृतिमा यसै वर्ष स्थापित प्रोत्साहन छात्रवृत्ति विद्यालयको सिफारिसमा प्रदान गरिएको कुरा संस्थापक भीमफेदीयाले बताएका छन्।
छात्रवृत्ति प्रदान गर्दै सुभाषचन्द्र पौडेल’भीमफेदीया’ले आफू भीमफेदी पुत्र भएकोले भीमफेदीप्रति अगाध मायामोह रहनु स्वाभाविक भएको बताउँदै संसारको जुनसुकै कुनामा पुगे पनि भीमफेदीको सम्झनाले सताउने गरेको बताए।आफ्नो छोटो परिचय दिँदै भीमफेदीयाले बुबा गोविन्दप्रसाद पौडेल एक साधारण किसान भए पनि आफ्ना छ जना सन्ततिलाई शिक्षा दिलाउन सफल भएको बताए।साथै,उनले बुबा शिक्षा प्रेमी भएकै कारण सन्तति बाहेक नातेदार र अन्य असहाय विद्यार्थीहरू समेतलाई आफ्नै घरमा गाँस बास दिएर शिक्षा मा सघाउ पुर्‍याएको उल्लेख गर्दै जो कोही पनि शिक्षाबाट बञ्चित नहुन् भन्ने सोच रहेको व्यक्ति थिए भनेर बुबाको स्मरण गरेका थिए। बुबाको कदमलाई साथ दिने आमा तिलकुमारी र फुपू गङ्गा देवीको समेत स्मृतिमा भीमफेदीया भावुक भएका थिए।छात्रवृत्ति प्राप्त गर्ने एन्जल घिसिङलाई बधाई दिँदै भीमफेदीयाले छात्रवृत्तिबाट उनको अध्ययनमा केही राहत पुगोस् भन्ने आफ्नो इच्छा भएको र बुबाको बिंडो थाम्न नसके पनि एउटा राम्रो कदमको शुरूवात गर्न चाहेको बताए।उनले यो छात्रवृत्ति प्रत्येक वर्षको हिउँदमा प्रदान गरिने जानकारी पनि गराएका थिए।भीमफेदीया सोही विद्यालयका पूर्व विद्यार्थी र शिक्षक समेत रहेको उनले बताएका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर मान श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधि,भौतिक संरचना र विद्यार्थीहरूको क्रियाकलापका बारेमा संक्षेपमा प्रकाश पार्दै छात्रवृत्तिबाट विद्यार्थीलाई प्रोत्साहन मिल्ने कुरा बताए भने छात्रवृत्तिको संस्थापक भीमफेदीयाप्रति कृतज्ञता र आभार प्रकट गरेका थिए।
प्रधानाध्यापक कुमारसिं लामाले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा प्रकाश पारेका थिए।छात्रवृत्तिका बारेमा बोल्दै उनले संस्थापक भीमफेदीयाको उदार सहयोग र सदाशयताको प्रशंसा गर्दै वर्तमान अध्यक्षको कार्यकालमा सहयोगी हातहरू बढेकोमा खुसी प्रकट गरेका थिए।प्रअ तामाङले भीमफेदीयालाई नेपाली टोपी लगाइदिएर स्वागत अभिनन्दन गरेका थिए।
छात्रवृत्ति प्राप्त गर्ने छात्रा एन्जल घिसिङले प्रोत्साहन बापत प्राप्त रकम शैक्षिक कार्यमै खर्च गरिने बताउँदै आफूलाई थप हौसला मिलेकोले अध्ययनलाई निरन्तरता दिने कुरा पनि बताइन्।
सो कार्यक्रमको सञ्चालन शिक्षक सविन दाहालले गरेका थिए।

०००