डा.नाज सिंह, मास्को
परिचित परिचितजस्तो
तर अपरिचित
एउटा धमिलो अनुहार
आजकल बारम्बार मेरो सपनीमा आउँछ !
ऊ आउँछ
र चियाउँछ
ऊ आउँछ
र पछ्याउंछ
ऊ आउँछ
र बेस्सरी मलाई झस्काउँछ,
लाग्छ म कुनै ऋणी हुँ उसको !
ऊ आउँछ
र केही सोधेको जस्तो गर्छ
केही भनेको जस्तो गर्छ
फेरि अनुहार बिगारेर
पटकपटक मलाई गिज्याउँछ !
म सुत्न खोज्छु तर ऊ त्रसित पार्छ
म निदाउन खोज्छु
तर ऊचाहिं मेरो निद्राबाटै
पटकपटक मलाई ऐँठन पारेर बिउँझाउँछ !
न त ऊ मेरो दुश्मनजस्तै देखिन्छ
न त कुनै साथीसित उसको रूप मिल्छ
कहिल्यै नदेखेको त्यो धमिलो अनुहार
आफन्तमध्ये त पक्कै होइन कोही !
सपनामा ऊ भन्न खोज्दै थियो
केही काम अह्राउन खोज्दै थियो
तर… बुझ्न सकिनँ मैले
न त केही चिन्न नै सकें
पछि छटपटाएर ब्युँझेछु आफैं
त्यही धमिलो अनुहारलाई सम्झेर
मेरो मानसपटलमा अनेकौं
सवाल र जवाफको प्रतियोगिता झैं
दोहोरी चल्न थालेछ
आखिर को थियो त्यो ?
आखिर के भन्न खोज्दै थियो ?
किन चिनेकोजस्तो
तर कहिल्यै न देखेकोजस्तो फेरि ?
कहिले त लाग्छ
शायद ऊ मेरो कोई शुभचिन्तक हुनुपर्छ
र त जब निष्क्रिय हुन्छु म विचारमा
तब मात्र आउँछ ऊ
मलाई घचघच्याएर चिन्तनमा लैजान्छ
र मेरो कलमको निबलाई प्रेरित गर्छ
जब केही लेख्छु म
फेरि ऊ आफैं कतै जान्छ र हराउँछ
मलाई त लाग्छ ‘ऊ’
शिल्पमय जिन्दगीको कलाकार हुनुपर्छ
आगन्तुकका रुपमा सल्लाहकार हुनुपर्छ
पक्कै पनि….
ऊ मेरो नवीनताका सिर्जनाकार हुनु पर्छ
ऊ मेरो भविष्यको रचनाकार हुनु पर्छ।
कवयित्री परिचय: नाज सिंह लक्षमीपुर सिरहा नेपालमा जन्मेर मस्को रसियालाई कर्मभूमि बनाएकी कवयित्री हुन् । उनको “तिर्खा” कविता सङ्ग्रह प्रकाशित छ । हाल उनी नयाँ दिल्लीमा छिन् ।