सिनोटे इक किलको फन्को

गद्य विविध
गीता खत्री, न्युयोर्क । 
मेक्सिको भ्रमणको तेस्रो पटक सन् २०१५ को जुनमा म कोजुमेल पुगेकी थिएँ । खास उद्देश्य कोजुमेल र कानकुनको थियो । तर मौकामा हिरा पनि फोर्नु पर्छ भने झैं त्यो भन्दा निकै परको ऐतिहासिक तथा प्राचीन बस्तुहरु हेर्ने रहरमा चेचेनिट्जासम्म पुगेँ ।
चिचेनिट्जाभित्रका पिरामिडहरूको छोटो यात्रा सकेर मेरो बुवा कमलबहादुर खड्का, श्रीमान र म बाहिर निस्कियौँ र चालक लुइसलाई फोन लगायौँ । ऊ नजिकै बसिरहेको रहेछ । फोनको घण्टीसँगै हामीलाई देखेर हामीतिर आयो । हामी समयको चपेटामा त थियौँ नै । केही खान पाए सजिलो हुने थियो भनेर चालकलाई लिएर अगाडिको पसलतिर लाग्यौँ । बाटामा खाँदै जाने विचारले केही कुकिज र पानी लिएर हामी सिनोटे इक किलतिर जानका लागि तयार भयौँ ।
चालक लुइस अलिअलि मात्र अङ्ग्रेजी बोल्थ्यो, धेरै जसो स्पेनिसमै जवाफ दिन्थ्यो तर पनि पाको भएको र यस्तै काममा बीस वर्षभन्दा बढी समय बिताइसकेकोले समय र ठाउँको उसलाई निकै ज्ञान थियो । पिरामिडबाट करिब सात-आठ माइलजतिको ड्राइभमा सिनोटे रहेछ । बाटामै पर्ने भएकाले हामीलाई सजिलै भयो । कुकिज नै नसकी हामी सिनोटेको ढोकामा पुगेछौँ । प्रवेश शुल्क जनही बाह्र डलर रहेछ ।
यात्रुहरूको मात्र टिकट लिनुपर्ने । चालक र कारको नलाग्ने रहेछ । टिकट लिएपछि कार/ट्याक्सी/बसको पार्किङभित्रै भएकाले सबै भित्रै गयौँ । यतिबेला दिउँसोको साढे तीन बजिसकेको थियो । समय हेर्दै हामी दौडादौड गर्न थाल्यौं । चालकले कुरा बुझिहाल्यो । हामीलाई ढाडस दिँदै भन्यो– “आत्तिनु पर्दैन । म यहीँ पर्खिराख्छु, बिस्तारै राम्रोसँग घुमेर आउनुहोस् ।” हामीलाई सन्तोष लाग्यो उसको ढाडस सुनेर ।
भित्रको बगैँचा प्राकृतिक पार्कजस्तो देखिन्थ्यो । सिनोटे प्रवेश गर्ने ढोकामा ठूलो उपहारको पसल थियो । एक नजर सबै उपहारका सामानहरूमा पु-याएँ । सुभेनियरका लागि मन पर्ने वस्तु मेरा आँखामा परेन । यो पसलेको व्यापारिक बुद्धिको प्रशंसा मनमनै गरेँ । किनभने उसले राखेका सामानहरूलाई नहेरी भित्र जान नमिल्ने, बाहिर निस्कन पनि नमिल्ने । यसलाई पार गरेपछि बल्ल सिनोटेको गहिरो इनार मुखैमा देखियो ।
सिनोटे इक किल भनेको पानीको गहिरो प्राकृतिक इनार हो । मेक्सिकोमा यस्ता इनारहरू धेरै छन् रे तर यो चाहिँ सबैभन्दा ठूलो र प्रसिद्ध हो रे । मैले घाँटी तन्काएर पर्खालबाट टाउको निहुराएँ । निकै तल मान्छेहरू पौडी खेलिरहेजस्तो लाग्यो । ती मान्छेहरू केटाकेटीहरूले पानीको बाल्टिनमा ब्याट्रीबाट चल्ने पौडी खेल्ने खेलौनाहरूजस्ता देखिन्थे । मलाई त डर पनि लाग्यो । मान्छे हुन् कि खेलौना हुन्, ठम्याउनै नसकिने । तर मान्छेको आवाजको प्रतिध्वनि आइरहेकाले मान्छे नै हुन् भन्ने अनुमान लगाएँ । अनि माथिदेखि तलसम्म लामालामा डोरी झुन्डाइएको जस्तो गरेर रुखबिरुवाका लहराहरू झुण्डिरहेका देखिन्थे । ती मान्छेहरू कसरी त्यति तल गएका होलान् । म विचारमा डुब्दै थिएँ । लुगा फेर्ने ठाउँतिर पुगिएछ । अनि लाइफ ज्याकेट लगाएका मान्छेहरू देखिए । त्यसको बेग्लै पैसा तिर्न पर्ने रहेछ । हामीलाई धेरै समय पनि थिएन ।
त्यसैले हामी त्यतातिर लागेनौँ तर त्यति गहिरो इनारमा मान्छे कसरी गएको होला भनेर मलाई एकदम जान्ने रहर भइरह्यो । अनि त्यहाँ उभिरहेको सुरक्षा गार्डलाई कसरी तल जान सकिन्छ भनेर सोधेको उसले बाटो देखाइदियो । हामी त्यतै लाग्यौँ । चिल्ला ढुङ्गाहरूको घुमाउरो करिब सात-आठ फिट जति चौडा भ-याङ पो रहेछ । हामीलाई तलै गएर त्यो नीलो पानी हेर्ने रहर भयो । जमिनबाट करिब छब्बीस-सत्ताइस मिटर तल भएको यो इनार चालीस मिटर गहिरो छ रे अनि यसको डायमिटर साठी मिटर छ रे । ठूलो र घुमाउरो भएकाले छब्बीस-सत्ताइस मिटर तल जाँदा र माथि आउँदा गाह्रो भएको अनुभव नहुने । एक किसिमका लहराहरू माथिदेखि तलसम्मै पुगेका छन् । बीचमा कतैकतै पानीका झरनाजस्ता पनि झरिरहेका रहेछन् । काला क्याटफिस निकै पाइने रहेछ । त्यो नीलो पानी पनि मन तातोजस्तो रहेछ ।
                                                                      (सिनोटे इक किलको मुखबाट देखिने दृश्य)
पानीबाट करिब सात-आठ फिटजति माथि इनारको तीनैतिर करिब पाँच-छ फिट चौडाइको बाटो जस्तो पनि थियो त्यहाँबाट पौडीबाजहरू पानीमा डाइभ हान्ने रहेछन् । त्यो कसरी बनाएको होला भनेर अचम्म लागिरहेका थियो । समय भएको भए म पनि एक पटक डाइभ हान्थेँ होला । तर समयले आज भ्याउँदिनस्, नहान् भन्यो । मैले पनि खुरुक्कै मानेँ ।
माया सभ्यताको बेलामा यो इनारले धार्मिक पवित्रता र आनन्द लिनका लागि प्रसिद्धि कमाएको थियो रे । त्यसबेला भगवानलाई खुशी बनाउन सानासाना केटाकेटीलाई त्यहाँ फालेर मार्ने चलन पनि थियो रे । यस प्रथालाई अहिलेको दृष्टिकोणले हेर्दा नराम्रो लागे पनि उक्त समयमा जायज र राम्रो प्रथा थियो रे । त्यसैले यतिखेर यसलाई राम्रो वा नराम्रो भन्न उचित हुने छैन भन्दा रहेछन् मेक्सिकनहरुले । यतिन्जेलसम्मको दौडधूपले हामी निकै थाकिसकेका थियौँ । त्यसैले हामी बिस्तारै इनारबाट उकालो लाग्यौँ ।
बाहिर निस्कँदा साँझ पर्नपर्न लागेजस्तो देखियो । मलाई डर लाग्न थाल्यो । योजना गरेअनुसार टुलुम (Tulum)  जान सकिन्न कि जस्तो देखियो । यहाँबाट सिधै कानकुन जाने हो भने पनि पूरै चार घण्टा लाग्छ । कानकुनबाट कोजुमेल जाने जहाज समयमै भेटियो भने अर्को आधा घण्टा लाग्छ । कोजुमेलबाट ट्याक्सीमा होटल पुग्न अर्को आधा घण्टा । राति एघार नबजी हामी घरमा नपुग्ने छाँटकाँट देखियो ।
बिहान प्रस्थान गर्ने बेलामा चालक लुइस त टुलुम जानलाई पनि राजी भएको थियो । टुलुम र चिचेनिट्जा कानकुनबाट पूरै विपरीत दिशामा थिए । मैले यी ठाउँको दूरी र दिशाको हिसाबै नगरी दुवैतिरको जमिनमा पाइला टेक्ने आशामात्रै बलियो बनाएकी रहेछु जुन व्यावहारिक रूपले एकदमै गलत रहेछ । नचाहँदा नचाहँदै पनि मनले टुलुम नजाने निर्णय लिइसकेको थियो ।
तैपनि लुइसलाई भेटेपछि उसको मन बुझ्नलाई– “अब टुलुम हुँदै कानकुन जाने हैन त ?” भनेर सोधेँ । उसले नाइँ नभनी “समय त धेरै लाग्छ । कानकुन पुग्दा बिहानको तीन-चार बज्न सक्छ, के गर्ने ?” भनेर सोध्यो । हामीले भैगो अब सिधै कानकुन जाने हो, अर्को पटक आयौं भने तिमीसगै टुलुम जाउला भनेर उसलाई फुरुङ्ग बनायौँ । सिनोटे इक किलबाट निस्केको दश-पन्ध्र मिनेटमै अँध्यारो भइहाल्यो । अब निदाउने बाहेक केही हेर्ने कुरा रहेन ।
ѲѲѲ