व्यङ्ग्यः ‘प्रभुजी! मलाई धुपौरे बनाऊ’

गद्य विविध

– कृष्ण प्रधान, भारत

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘प्रभुजी! मलाई भेँड़ो बनाऊ’ निबन्धको देखासिकी, आह्रिस, डाह गर्दै मैले पनि प्रभुजीलाई नगोहारी धरै पाइऩँ…र उजूरसहित निवेदन गरिहाले, ‘प्रभुजी! मलाई धुपौरे बनाऊ’ लुखास्त…अरुले जेसुकै भनुन् देखैजाला।  तर मैले एउटा कुरा आजसम्म बुझेको छैन निबन्धकार देवकोटाले उपरोक्त शीर्षकको निबन्धमा ‘प्रभुजी! मलाई बाघ बनाऊ’ वा ‘प्रभुजी! मलाई नेता बनाऊ’ भनी प्रभुजीलाई किन गोहार मागेनन्? तरै पनि मैले पनि देवकोटाको सोह्रै आना देखासिकी, आह्रिस, डाह गर्दै ‘प्रभुजी! मलाई बाघ बनाऊ’ वा ‘प्रभुजी! मलाई नेता बनाऊ’ भनी झिजाउने प्रयास गरिनँ। न कि मलाई बाघ वा नेतै बनाऊ भनी जदौ गर्न चाहिऩँ । चाहदिनँ पनि म । प्रभुजीसित मेरो एउटा प्रार्थना वा उजूर छ उनले सात काम छोड़ेर मलाई धूपौरे बनाउनैपर्छ  ।

प्रभुजी! मलाई धूपौरे बनाऊ…। यति मात्रै निवेदन छ मेरो । हुन ता आदेश उपदेशबिना पनि अर्काको काम गरिदिएर खुसी पार्न चाहने अनाधिकारी व्यक्ति वा स्वार्थपूर्ति गर्न चाकड़ी गर्दै हिँड़्ने व्यक्तिलाई नै धुपौरे भनिन्छ । प्रभुजी ! मलाई पनि त्यस्तै बनाइदेऊ । मलाई लबरबाँड़े नेता बन्नु छैन । बाघ पनि बन्नु छैन । नेता भएर निर्धा र निमुखाहरू कसैको पनि घिच्रा निचोर्न चाहन्नँ म । मलाई ता धुपौरे बन्नु छ प्रभु  ! फगत धुपौरे ।

” सिप न साप झ्यारझिम्…रुप न राप झ्यारझिम्” भने झैं आफूभित्र एक रति प्रतिभा वा ट्यालेण्टको भँड़ार शून्य छ  । प्रतिस्पर्द्धाको गज्जब र अज्जब युग छ प्रभो । सहकर्मीहरू एक सा एक चलाख चतुर छन् । उनीहरूका अघि आफैलाई नचल्ने दुआनीजस्तो लाग्न थाल्या छ।  कसै गरेर पनि उनीहरूलाई उछिन्नु ठ्याम्मै सकिनँ। श्यालजस्ता धूर्त र छट्टु सहकर्मीका अघि मेरो प्रतिभा बाँदरकै पुच्छर समान भएको छ। जदौ हजूरीका धनी सहकर्मीहरूसित सिङ जुझाउने बलबुता छैन ।  तरै पनि प्रभो सहकर्मीहरू सामु बाँच्नै पऱ्यो । लाला-बालाको पेटको प्रश्न पनि छँदैछ । म ठ्याम्मै योग्यको छैन कुनै पनि हालतमा । श्यालले आफूलाई रङ्गाएर वा चम्चे वा खुसामदी रगतले निथ्रुक्क भिजेको शरीरमाथि धुपौरेको छाला ओढ़ेर हाकिम अघि प्यारो नभई उपाय छैन। म हाकिमको प्यारो हुनैपर्छ । यसैले प्रभो ! मलाई झट्टै भन्दा झट्टै धुपौरे बनाऊ ।  सहकर्मीहरूको पछि नलागी  उनीहरू विरुद्ध हाकिमलाई बिनासित्थीका पोल हाली आफू हाकिमप्रिय हुन खोज्दा मेरो गति यस्तो भएको हो । अरुले सहकर्मीहरूका पछि नलागी एक लगनी काम गरिएको हुँदो हो ता म आज बिजुलीको खाँबोजस्तै भएर सामान्य पदमा डल्लिरहनु पर्ने थिएऩ । सँगैका सहकर्मीहरूकै खोइरो खन्नतिर लाग्दा मेरो गति पोखरी झैँ भएको छ । न खहरे झै हुन सके प्रभो ! एकै ठाउँमा तरङ्गित भएर किन चारउरिस मरिच आफ्नै रागले  भनेजस्तै भएको छु म । प्रभुजी ! मैले जागिर गर्ने अड्डामा सबभन्दा वरिष्ठ र अग्रज स्टाफ मै हुँ । प्रभो ! तपाईलाई किन ढाटुँ ! ट्यालेण्टको धोती नसमातेर हाकिमकै धोती धुने हुँदा मेरो गति यस्तो भएको हो । खै ! बेलैमा बुध्दी आएन । अनुभवको खानी हुँ म, तर योग्यता      भने भकिम्लोको काठजस्तै छ ।  बाहिर सोलोडोलो छु म, तर भित्र भने खोक्रो छ । यही खोक्रोपन एकदिन  उदाङ्गो हुन्छ कि भन्ने डरले हजारौंपल्ट मरेर पनि बाँचिरहेको छु । अहिले ता मभन्दा पनि कनिष्ठ कनिष्ठ सबकर्मीहरू कार्यालयमा आएका छन् । सबै आगा छन् आगा। उच्च शिक्षा । ट्यालेण्टका जादूगर । ती कनिष्ठ मेरा सहकर्मीहरू मलाई ‘सर’ .’सर’ भनी सम्बोधन गर्छन् । पुराना मेरा सहक्रमीहरूले मलाई नली खुट्टाको रौं जत्ति पनि नमाने पनि नयाँहरूका निमित्त म कागतको बाघ भइदिएको छु । बेलाबखत घोऱ्याङ गर्छु । थुञ्चेले छोप्दा-छोप्दा एकदिन डोकाले छोपेको दिन चाहिँ अड्डामा मेरो गति के होला भन्ने कुराले अहर्निश छटपटिरहन्छु ।

प्रभोजी ! आपसी द्वन्द्व, फुट, कलह लाएर मैले मेरा सहक्रमीहरूलाई मदेखि टाढ़ा पारेँ । स्वस्थ चिन्तन र प्रतिस्पर्धात्मक विचार यो गोब्रे गिदीमा कहिल्यै आएन । चम्चेरुपी जीवाणु र खुसामदी रगतले मलाई धुजै-धुजै पारिसकेको छ । धमिराले खाइसकेको बूढ़ो रुखजस्तै खङरङ्ङै उभिरहेको छु ।  कुन दिन ग्वार्लाम्मै ढल्छु भन्ने डर उतिकै छ । तर प्रभुजी!  म ढल्न चाहन्नँ । मेरा तमाम् सहकर्मीहरूमाझ स्याल झैं आफूलाई रङ्गाएर         सबैलाई ह्याकुलाले मिच्न चाहन्छु । मभित्रको खोक्रोपन कुनै हालतमा पनि उदाङ्गो हुनुहुँदैन । यसको निम्ति मैले कुनै पनि हालतमा धुपौरे बन्नैपर्छ । प्रभुजी ! मलाई धुपौरे बनाऊ ।

मैले मेरा हाकिम महोदयको धुपौरे बन्नैपर्छ। कारण यस अड्डामा मेरो प्रेष्टिजको,  अस्मिता र अस्तित्वको प्रश्न छ।  मेरो रोजी-रोटीको प्रश्न छ ।  हो प्रभुजी ! मैले अघि नै सरेण्डर गरिसकेको छु म खोक्रो छु । मलाई ‘बाहिर रुमाले भित्र गुन्द्रुक उमाले’को पगरी गुँथाउनु सक्नुहुन्छ…स्वीकार छ । प्रभुजी ! हेनतेन नभनी लाजै पचाएर भनुँ भने, म ता रित्तो गाग्री हुँ र ता धेर बज्छु । म नमच्चिने पिङ् हुँ…यसैले ता झड़्का (धम्की, घुर्की) सबभन्दा धेर छ मेरो । म गर्जिने बादल मात्रै हुँ…बर्सिने चाहिँ पटक्कै होइन । म भुक्ने कुकुर मात्रै हुँ…तर टोकिहाल्ने कुकुर चाहिँ पटक्कै होइन । किनभने मेरो ज्ञानरुपी दाँत-नङ्ग्राहरू ! ?  ‘चम्चेगिरि’ वा ‘खुसामदी रगते’ नामक किटाणुले खाएर…खाएर सखाप पारिसकेको छ । यसैले धुपौरे बनेर हाकिमको प्रिय मात्र होइन नियरेष्ट र डियरेष्ट पात्र बन्नैपर्छ मैले । प्रभुजी ! दया गरी मलाई धुपौरे बनाऊ ?

प्रभुजी ! मलाई राम्ररी थाहा छ, मेरो मान (प्रमोशन) बढ़्दैन तर सामान्य तनखा (तँनखा) मात्रै बढ़्छ । मैले अघिनै भनिसकेको छु, प्रमोशन पाउने योग्यको म कहाँ छु र प्रभो ! सहकर्मीहरूकै पछि लाग्दा लाग्दा, अड्डामा उनीहरूको बद्ख्वाइँ गर्दा गर्दा मैले मेरा जीवनका झर्झराउँदा सुनौला मौकाहरू गुमाइ पठाइसकेको छु । मैले भने ता म खोक्रो छु           प्रभु ! फगत खोक्रो । केही छैन मसित । मभित्रको मानवता खलिकपुर भइसकेको छ । मेरो अड्डामा कार्यरतहरू कसैसित पनि योग्यको छैन म । योगयताको नाममा हाकिमको धुपौरे हुने याग्यतामात्रै छ तपाईको यो हुतिहारा भक्तसित ।

यसैले प्रभुजी ! धुपौरे बनेर मेरा हाकिमलाई रिझाउने सिप र बुता मसित प्रशस्तै छ । ‘काम प्यारो हुन्छ, चाम प्यारो हुँदैन’ भन्छ तर तर प्रभो अचेल जमानै उल्टो छ।  काम गरेर हाकिमको प्यारो हुनै सक्तिनँ म ।

धुपौरेगिरि गरेर आफ्नै सहकर्मीहरूका चर्तीकलाहरू हाकिमलाई सुइँको दिँदा हाकिमले काखी चेप्ने नै हुन् । जुन अड्डामा धुपौरे हुँदैन सो अड्डामा हाकिम मेरुदण्ड बिनाको प्राणीजस्तै हुन्छ । प्रत्येक हाकिमलाई एकजना पोख्त, बलिष्ठ, जण्डा धुपौरेको आवश्यकता पर्छ । मेरो अड्डामा मेरा प्रिय हाकिमको निम्ति सठिक र योग्य उम्मेद्वार मैँ मात्र हुँ प्रभो ! यसैले मेरो सविनय निवेदन छ, मलाई धुपौरे बनाऊ प्रभोजी धुपौरे बनाऊ ।

‘नपाउनेले छोरो पायो खेलाई खेलाई माऱ्यो’ भने झैं प्रभुजी मलाई धुपौरे मात्रै बनाउनुहोस् न….। तपाईले मलाई साँच्चै धुपौरे बनाउनुभो भने मेरा सहक्रमीहरूको चुरीफुरी झार्न म जान्दछु । बिना कारण भए नभएको कुरा नालिश गरेर मलाई उछिन्न खोज्ने तमाम् सहकर्मीहरूलाई हाकिमका आँखाको छारो नबनाई श्रीमतीको अनुहार हेर्दिनँ प्रभुजी मलाई कुनै प्रमोशन चाहिँदैन प्रभुजी (प्रमोशनको योग्य छैन पनि म) जसरी भए नि मेरा हाकिमका आँखाको तारो हुनु पाऊँ। यति भए मलाई पुग्छ…अरु थोक केही  चाहिँदैन । मैले लाएका पोलहरू सबै हाकिमले सुनिदिउन्….पत्याइदिउन् ।  मेरा हाकिमलाई सर्काएर फुर्काएर आफ्नो बनाउऩ पाऊँ ।

प्रभुजी ! मेरा हाकिमलाई राजा क्यानुट बनाइदिनोस्….अनि मलाई धुपौरे । त्यसपछि लण्ठैसाफ ।

०००

लेखक परिचयः साहित्यकार कृष्ण प्रधान बिबिधविधाका उर्वर लेखक तथा सम्पादक हुन् । खरसाङमा जनमेका उनको सिर्जनभूमि कर्मभूमि सिलगढी रहेको छ । स्कूले जीवनमा नवौं कक्षामा हुँदा नै पहिलो रचना प्रकाशित गरेका उनका कविता, निवन्ध प्रवन्ध, एकाङकी, जीवनी, समीक्षा समालोचना, उपन्यास, अनुवाद गरी दर्जनौं पुस्तक प्रकाशित छन् र साहित्यिक रचना तथा योगदानका लागि पुरस्कार, मान सम्मान पनि प्रशस्त प्राप्त गरेका छन् ।

Leave a Reply