आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

मुख्य समाचार

१७ पुस २०८२, काठमाडौं

नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्व.कृष्णचन्द्रसिंह प्रधानको सत्वार्षिकीकोअवसर पारेर आफ्नो १९ औं स्थापना दिवसमा बृहद आत्मपरक निबन्ध गोष्ठी सम्पन्न गरेको छ ।

बिहिबार लिटिल एन्जल्स स्कूलको सह-आयोजनामा सम्पन्न उक्त गोष्ठीमा समकालीन निबन्धकारहरुले आ-आफ्नो निबन्ध सुनाए ।

गोष्ठीमा बोधराज पौडेल,विष्णुबहादुर जिसी,भागवत खनाल,रञ्जना निरौला,श्रीबाबु कार्की,ज्ञानु अधिकारी,डा.चेतनाथ कँडेल हरित,डा.मानसाग्नी,ज्ञानेन्द्र विवश,भिष्म उप्रेती,डा.खगराज बराल,डा.रजनी ढकाल,प्रा.डा.ज्ञानु पाण्डे,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,मञ्जुल, मुकुन्दराज शर्मा लगायतका निबन्धकारहरुले निबन्ध वाचन गरेका थिए ।

वाचन गरिएका निबन्धहरु बारे समालोचक डा.जीवराज बस्यालले टिप्पणी गरे । उनले बाचन गरिएका निबन्धहरु निजात्मक र अनुभूतिमय भएको बताए ।कतिपय निबन्धहरु मौलिक कवितात्मक चेतले भरिएका पनि बताए ।यसैगरी उनले निबन्धहरुमा स्मृतिबिम्वको प्रयोग भएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ निबन्धकार डा.माधव पोखरेलले आफ्नो निबन्धअंश सुनाउँदै भने-‘गोष्ठी अत्यन्तै महत्वपूर्ण छ । नेपाली साहित्यमा हेलाँमा परेको विधा निबन्धको गोष्ठी गर्नु आफैंमा महत्वपूर्ण रहेको छ । निबन्धकारहरुलाई गुरु बनाएर निबन्ध कार्यशाला गर्नु जरुरी भैसकेको छ।’

यसैगरी वर्तमान नेपाली निबन्धको परम्परा र प्रवृद्धि विषयमा बरिष्ठ समालोचक प्रमोद प्रधानले आफ्नो विचार व्यक्त गर्दै नेपालमा निबन्ध लेखनको आधुनिक कालको शुरुवाती चरणमा दुईधार देखा परेको भन्दै ७० को दशकपछि आत्मपरक निबन्ध लेखनीमा केही बृद्धि भएको बताए । उनले आत्मपरक निबन्धलाई परिभाषाभित्र बाँध्न नसक्ने पनि बताए ।

नेपाल स्रष्टा समाजकी सदस्य रञ्जना निरौलाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा सह-आयोजक लिटिल एन्जल्स स्कूलका प्रिन्सिपल तथा निबन्धकार मुकुन्दराज शर्माले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाल स्रष्टा समाजको स्थापना दिवसको अबसरमा तीन दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा यो आत्मपरक निबन्ध गोष्ठी गरिएको बताए ।

सो कार्यक्रम समाजका कार्यसमिति सदस्य प्रदीप सापकोटाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा निबन्धकार र साहित्यकारहरुको गरिमामय उपस्थिति रहेको थियो ।