रमेशगङ्गा स्रष्टा सम्मानले दुई प्रतिभा सम्मानित

मुख्य समाचार

३१ असार २०८२, काठमाडौं

नेपाल स्रष्टा समाजले एक समारोहका बीच ‘रमेशगङ्गा स्रष्टा सम्मान-२०८० ‘ स्रष्टा सरस्वती रिजाललाई तथा ‘रमेशगङ्गा स्रष्टा सम्मान- २०८१’ कवि विधान आचार्यलाई वरिष्ठ साहित्य साधक रमेशचन्द्र देवकोटा,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,बागमती प्रदेशका माननीय डा.दिनेशचन्द्र देवकोटा लगायतले प्रदान गरे ।
नेपाली साहित्य सिर्जनामा निरन्तर लामो समयसम्म साधनारत रहेर उल्लेख्य योगदान पुर्याए वापत रिजाल र आचार्यलाई जनही नगदराशी २१ हजार १ सय ११ सहित ‘रमेशगङ्गा स्रष्टा सम्मान’द्धारा सम्मानित गरिएको नेपाल स्रष्टा समाजले जनाएको छ ।
सो कार्यक्रमलाई सम्वोधन गर्दै डा. दिनेशचन्द्र देवकोटाले नेपाल स्रष्टा समाजलाई सरकारी क्षेत्रभन्दा माथि उठेर साहित्यको सेवा गरेकोमा धन्यवाद दिए ।
पूर्वमन्त्री बाचस्पति देवकोटाले लुकेछिपेका स्रष्टाहरुलाई उधिनेर वाहिर ल्याउने नेपाल स्रष्टा समाजको अनुकरणीय कार्य भएको भन्दै सम्मानित स्रष्टाहरुलाई बधाई दिए ।
प्राडा लक्ष्मणप्रसाद गौतमले भने -‘नेपाली साहित्यमा अति विशिष्ट योगदान पुर्याउने दुईजना स्रष्टाहरु चयन गरेर सम्मान गर्नु नेपाली साहित्य प्रतिको सम्मान हो ‘।
सम्मानित स्रष्टा रिजालले स्वतन्त्र भएर पनि सम्मान पाइँदोरहेछ भन्ने उदाहरण आफु सम्मानित हुनुले महसुस गरेको बताइन् ।
अर्का सम्मानित स्रष्टा आचार्यले खुशी लागेको महसुस भएको भन्दै जिम्मेवारी थपिएको अनुभूति बताए ।
समारोहको उपस्थिति नै हाम्रो सम्मानित स्रष्टा चयनको अनुमोदन हो भन्दै श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मानित स्रष्टाहरुलाई बधाई दिंदै उपस्थित सबैलाई आभार प्रकट गरे ।
कार्यक्रममा सन्जय देवकोटाले वरिष्ठ साहित्य साधक रमेशचन्द्र देवकोटाको छन्द कविता बाचन गरे ।
यस सम्मानका संस्थापक रमेशचन्द्र देवकोटा,डा.दिनेशचन्द्र देवकोटा,महेशचन्द्र देवकोटा,सुवासचन्द्र देवकोटा र देवेशचन्द्र देवकोटा हुन् । वि.सं.२०७७ देखि समर्पण गर्न थालिएको उक्त सम्मानबाट यसअघि नै जनार्दनशरण त्रिपाठी,डा.बासुदेव त्रिपाठी र नरनाथ लुइँटेल सम्मानित भैसकेको स्रष्टा समाज नेपालले जनाएको छ ।
कार्यक्रमको सुरुमा सम्मानित व्यक्तिहरुको बारेमा रञ्जना निरौलाले चर्चा गरेकी थिइन् ।
समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षता एवं सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा आयोजकका तर्फबाट कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।