१४ पुस २०८०, काठमाडौं
नेपाल स्रष्टा समाजको सप्ताहब्यापि कार्यक्रमको दोश्रो दिन कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ २०८० शङ्खमूलस्थित अवरनेश स्कूलमा आयोजित एक कार्यक्रमकाबीच समर्पण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुलले सो पुरस्कार हस्तान्तरण गरे । पुरस्कार वितरणपछि बोल्दै प्रमुख अतिथि मञ्जुलले समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बन्न पाउँदा खुशी लागेको बताउँदै कवि देवु लुइँटेललाई बधाई तथा शुभकामना व्यक्त गरे ।
समाजका सदस्य डा. शान्तिमाया गिरीले कवि लुइँटेलको विस्तृत परिचय प्रस्तुत गरेकी थिइन् ।
सम्मान ग्रहणपछि बोल्दै कवि देवु लुइँटेलले यस्तो ओजपूर्ण सम्मान प्राप्त गरेकोमा समाजलाई धन्यवाद ज्ञापन गर्दै पुरस्कारले जिम्मेवारी र दायित्व बढेको पनि उनले बताइन् ।
सो समारोहमा महेश पौड्याल, विधान आचार्य, देवु लुइँटेल, सुषमा आचार्य, अनुपम रोशी, गोकुल अधिकारी, राधिका गुरागाईं लगायतले कविता सुनाएका थिए ।
समाजका संरक्षक पवन आलोक, पूर्वअध्यक्षहरू चन्द्रप्रसाद भट्टराई, विधान आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीओम श्रेष्ठले व्यक्तिगत रुपमा नचिनेको स्रष्टालाई सिर्जनाको कदर गर्दै सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।
चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सीता भण्डारी कँडेलले आफ्नो सुपुत्र प्रसिद्ध कँडेलको सम्झनामा सो पुरस्कार स्थापना गरेका हुन् । २०७४ सालमा स्थापित सम्मानको राशी ११ हजार १ सय ११ रहेको छ ।