१२ असार २०८२, काठमाडौं
नारी स्रष्टा समाजले ममता मृदुल सम्पादित ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ कृति विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नारी स्रष्टा समाज, विराटनगरको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठको, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, कल्याण पन्त लगायतले सो कृतिको सामुहिक विमोचन गरेका थिए।
कार्यक्रममा रमेन्द्र कोइरालाले कृतिबारे समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले विश्वराज अधिकारीले अमेरिका बसेर पनि नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको चर्चा गरे ।
नाट्यकर्मी मल्लले लेखकले सात समुद्रपारि रहेर नेपाली भाषा साहित्यका विषयमा सोच्दै आएको प्रसङ्ग उठाउँदै अब साहित्यमा भ्रष्टाचारमुक्त मुलुकको कल्पना गर्ने दर्शन पनि प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए।
अतिथि लेकालीले सम्पादक मृदुललाई मोतीरामको कार्य गरेको भन्दै अधिकारीको योगदानको चर्चा गरेका थिए।
कृतिकी सम्पादक ममता मृदुलले पुस्तक प्रकाशन बारे चर्चा गर्दै यसअघि अशेष मल्लबारे यस्तै पुस्तक प्रकाशन गरेको बताइन्।
कार्यक्रममा साहित्यकारहरू श्री ओम रोदन, शरद प्रधान, कल्याण पन्त लगायतले आआफ्ना भनाइ राखेका थिए।
ममता मृदुलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लेखक विश्वराज अधिकारीले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रम कवि रामकुमार पण्डितले सहजीकरण गरेका थिए ।
०००
