२० पुस २०८१, स्याङ्जा
कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको सन्दर्भमा जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जा एक काव्य गोष्ठी आयोजना ग-यो।
काव्य गोष्ठी समारोहमा डिल्लीराम भण्डारी, सिर्जना खनाल, सुमन भट्टराई, झवनाथ बस्याल, अमृता खनाल, नारायणप्रसाद न्यौपाने, गीता अधिकारी, ऋषि राम भण्डारी, बोध राज न्यौपाने, आरती ढकाल पाठक, हरिकला पाठक, इन्द्रप्रसाद पाठक, ढालबहादुर के.सी.,सुर्यप्रसाद डुम्रे, लेखनाथ काफ्ले, शिशिर पौडेल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, प्रेमबन्धु सुवेदी, मिलन समीर, चण्डिकाप्रसाद भट्टराई आदिले विविध कविता गजल आदि वाचन गरेका थिए ।
गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको उक्त काव्य गोष्ठीका प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल रहेका थिए । जगत्रदेवी साहित्य संगमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन् सो गोष्ठीमा विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी रहेका थिए ।
कार्यक्रमको शुरुमा काव्य गोष्ठीमा स्वागत मन्तव्य संगमका सह- सचिव डिल्लीराम भण्डारीले गरेका थिए ।
कार्यक्रम प्रमुख आमन्त्रित व्यक्तित्वद्वारा दीप प्रज्वलन सङ्गै ब्यानरमा उल्लिखित विवरण वाचन गरेर समुद्घाटन गरिएको थियो ।
सो समारोहमा काव्य गोष्ठी- २०८१ को प्रायोजन गरेका अमरविक्रम अधिकारी ( गल्याङ- ११, तुलसीभञ्ज्याङ्, स्याङ्जा, हाल- न्यूयोर्क, अमेरिका ) लाई विशेष सहयोग र सद्भावको उच्च कदर स्वरूप कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने भएकोमा उनको अनुपस्थितिमा उनकै दिदी मीना न्यौपानेद्वारा उक्त कदरपत्र ग्रहण गरेकी थिइन् ।
समारोहमा नेपाली भाषा- साहित्यको क्षेत्रमा पुर्याउँदै आएका विशेष महत्त्वपूर्ण योगदानको उच्च कदर स्वरूप डा. शैलेन्दुप्रकाश अधिकारीलाई जगत्रदेवी साहित्य सम्मान- २०८१ समर्पण गरिएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य संगमका सदस्य कवि प्रेम बन्धु सुवेदीद्वारा प्रस्तुत गरिएको थियो भने सहजी करण संगमका सचिव युवा कवि मिलन समीरले गरेका थिए ।