सिडनी- २०२४ (कविता)

कविता

अमर शाह

सफा, नीलो समुन्द्र
र बादलको बुट्टाले सजिएको
माथि त्यो भन्दा सफा आकाश,
सुन्दर बगैँचा जस्ता सहर र
दक्ष चित्रकारले सिर्जना गरेका
आकर्षक चित्र जस्ता बगैँचा,
विज्ञान र ज्ञानको दखल प्रमाणित गर्ने
पुरानो हार्बर ब्रीज र नयाँ ओपेरा हाउस
अनि सडक, पुल, गगनचुम्बी भवन,
फटाहा झगडियाले
अदालतमा पेस गरेका
नक्कली दसी, प्रमाण जस्ता
पुरानो इतिहास मेटाएर
त्यही जगमा निर्माण गरिएका
कला सङ्ग्रहालय र प्रदर्शनी स्थलहरू
सबै-सबै सुन्दर लागे मलाई
र, भव्य र आकर्षक लाग्यो सिडनी ।

तर, जब भेटेँ मैले
त्यही ओपेरा हाउसमा
प्रदर्शन गरिने ओपेराका
पात्रको जस्तो रङ्गीन जिन्दगी
र आफूले बाँचेको अभावबाट पर
चाहेको सम्पन्नतामा पु-याउने
पुलको सम्मोहनले तानिएर आएका
मेरो देश र मेरो देश जस्तै गरिब देशका
स्वप्न पछ्याउने
लाखौँ सङ्घर्षरत युवाहरू
र परिवार र देशलाई झन् गरिब बनाउँदै
यो देशको सम्पन्नता थप्न
तिनले यता ल्याएको श्रम, सीप र पैसा
मलाई सिडनी कुरूप लाग्यो
संसारका अरू सिडनीहरु जस्तै
मलाई यो सिडनी पनि क्रूर लाग्यो ।

(सिडनी, ३१ डिसेम्बर, २०२४)

०००

कवि परिचय : अमर शाह कथा र कविता क्षेत्रमा कलम चलाउने प्रतिभा हुन् । विसं २०३ सालको बैशाखमा मधुपर्कमा “दुई कविता” प्रकाशित गरी साहित्य क्षेत्रमा प्रवेश गरेका उनका दुई कथा सङ्ग्रहहरू “आदियुग“(२०४५) र “कुरुक्षेत्र” (२०७१) तथा “यात्रा र घुम्तीहरु“(२०७२) कविता सङ्ग्रह प्रकाशित छन् । धुल्खर्क सल्यानमा जन्मेका उनी काठमाडौंमा बसोवास गर्छन् । हाल अष्ट्रेलिया भ्रमणमा रहेका शाहले विश्वपरिक्रमालाई त्यहीँबाट पठाएको ताजा कविता ।

 

 

 

 

Leave a Reply