प्रशंसिका (लघुकथा)

Uncategorized

शुषमा चित्रकार

“मृदुल” उनको उपनाम थियो या पुरा नाम, मैले कहिल्यै जान्न सकिनँ । उनलाई पढ्न थालेको आफ्नो किशोरावस्थादेखि आजसम्म उनका किताबमा उनको श्याम-श्वेत फोटो र बस त्यही नाम मात्र उल्लेख हुन्थ्यो ।
मलाई उनको लेखाइ साह्रै मन पर्थ्यो त्यसैले उनको किताबको हरदम प्रतिक्षा रहन्थ्यो । बजारमा उनको नयाँ किताब नआएसम्म पुराना किताबहरू दोहर्याई तेहर्याई पढि रहने मेरो एकोहोरो बानी देखेर साथीहरू मलाई पागल ठान्थे । भन्थे “तँलाई त्यो लेखकसँग प्रेम त बसेन !”
उनको किताब प्रतिको मेरो अत्याधिक झुकाव माया, सम्मान या बहुलट्टीपनि के थियो, यसको जबाफ मसँग थिएन ! तर मेरो तन्नेरी मनभित्र उनलाई लिएर केही बेनामी भावहरू थिए, केही सपनाहरू र कुनै दिन उनलाई भेट्ने तीव्र उत्कण्ठा ।
उमेर बढ्दै गए अनुसार यी सपना झन् बाक्लिए । मसँग जीवन्त भएर हिँड्ने उनका किताबका हरेक पात्रहरूको सन्निकट ताले मेरो उत्कण्ठा कहिल्यै मर्न पाएन ।

मृदुलको विशेषता सधैँ पर्दा पछाडि रहनु थियो । उनी कहिल्यै सार्वजनिक भएनन् । कहिल्यै कतै अन्तर्वार्ता दिएनन् । तामझामबाट बाहिर आफ्ना भावनालाई शब्दमा उन्नु सिवाय सायद उनको कुनै रहर थिएन ।
धेरैपछि पछिल्लो किताबमा उनको इमेल भेटेर पहिलो चोटि उनलाई इमेल गरेँ । दुई चारवटा इमेल गर्दा पनि कुनै जबाफ आएन तर मैले लेखि रहन भने छोडिनँ । एक दिन उताबाट प्रत्युत्तर आयो । मानौं उनलाई भेटे सरि भयो मलाई । त्यसपछि हरेक दिन इमेल गर्न थालेँ भलै उनको प्रत्युत्तर आओस् या न आओस् ।

हप्ता दिन बिरामी भएर मैले उनलाई लेख्न सकिनँ । आठौं दिनमा उनको इमेल आयो, सिर्फ एउटा प्रश्नचिन्ह राखेर । त्यो दिन खुब रोएँ । किन रोएँ, यसको पनि जबाफ मसँग थिएन ।

मैले इमेलमा उनलाई उनीसँग भेट गर्नु मेरो सपना भएको बताएँ । उनले स्विकारेनन् । मेरो निरन्तर ढिपीमा अन्ततः उनी राजी भए । उनले बताएको दिन, समय र क्याफेमा मैले उनलाई व्यग्रताका साथ पर्खिरहें ।
उनी आएनन् । मृदुल आउँदै आएनन् ।
बरु सबै गइ सकेर पनि मेरो अगाडिको टेबुलमा एकजना बद्ध भने धेरै बेरसम्म कफी खाँदै बसि रहे ।

०००

कथाकार परिचयः शुषमा चित्रकार सुन्धारा ललितपुरमा जन्मेकी हुन् र कुमारी पाटी ललितपुरमा बसोबास गर्छिन् । उनले २०६४ असोजमा मधुपर्क मासिक “अमिलो अँगुर” कथा प्रकाशित गरेर साहित्य यात्रा थालेकी हुन् । उनका ‘नयाँ साथी’( बाल कथा संग्रह २०७०), ‘आराध्य’ (हाइकु संग्रह २०७३), ‘अनावरण’ (कथा संग्रह २०७४), ‘घाम’ (लघुकथा संग्रह २०७५) लगायत कृतिहरु प्रकाशित छन् ।

 

Leave a Reply