ओ, सिक्किम ! म आएँ त !

नियात्रा

नवराज कार्की

नेपालसित सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम अप्रिल २६ सन् १९७५ देखि राज्य स्तरमा झरे देखि नै हो मलाई सिक्किम भ्रमण गर्ने रहर जागेको । नेपाल र सिक्किमको नाता करिब चार सय वर्ष- पुरानो छ । इतिहासको कतिपय कालखण्डमा त सिक्किम नेपाल अधिराज्यकै अधिराज्यकै भू भाग थियो । विगत सात दशकमा विश्व मानचित्रमा धेरै उथलपुथल भयो । विश्व विजयी बन्छु भन्ने जर्मनी फुटेर दुई टुक्रा भयो । कोरिया फुटेर दुई टुक्रा भएको भयै छ । भियतनाम फुटेर दुई टुक्रा भएकै हो । भारत फुटेर पाकिस्तान र पाकिस्तान फुटेर बाङ्लादेश भएको पनि देखियो । विश्व शक्ति बनेको सोभियत संघ फुटेर पन्ध्र टुक्रा प-यो। स्थापना भएको ६९ बर्षमा टुक्रा टुक्रा परेको सोभियत संघ (Dec 30, 1922-Dec 26 , 1991) यसरी पतन होला भन्ने अनुमान कसैले गर्न सक्तैनथ्यो त्यो बेला । शक्तिशाली चीन पनि फुटेर ताईवान जन्मिएको हो । विश्व इतिहासमा राष्ट्रहरु फुट्ने र जन्मिने क्रम नौलो होईन । यही कालखण्ड‌मा बलियो इजरायलको जन्म भएको पनि देखियो ।

सिक्किमको प्रसङ्ग थियो म त बरालिएर इतिहास कोट्याउन तिर पो लागेछु । ‘सिक्किम’ भन्नासाथ सिक्किमले गुमाएको स्वतन्त्र पहिचानको स्मरण स्वत: भै हाल्दो रहेछ । नेपालीले सिक्किमलाई अत्यन्त माया गर्दा रहेछौं ।

हामी भूगोलले मात्रै जोडिएका होईनौं, भाषा, धर्म, संस्कृति र रगतले पनि अभिन्न छौं नि! सिक्किमको चर्चा चल्दा वा संझना हुँदा पनि जबर्जस्ती संझिने नाम हो- लेण्डुप दोर्जे ! नेपाली भाषामा यो नाम राष्ट्रघातको, देश बेचुवाको, विदेशी दलालको पर्यायवाची शब्द बनेर बनेर व्याप्त छ। हुन त यस्तो राष्टरघाती काम इतिहासमा धेरैले गरेका छन्। बंगालको मिर जाफरलाई त धेरैले विर्सिई पनि सके। तिब्बतलाई चिनमा बिलय गराउने तिब्बती सेनाकै उच्च अधिकृत डनपोई ड्वाङ् जिग्मेको नाम त झन् चर्चा मै छैन । सन् १९५९ ठूलो र शक्तिशाली चीनले आफ्नो सानो  र शान्तिप्रिय छिमेकी राष्ट्रलाई  तिर्साएरै बाट र ज्यान नाम त त धेरैले बिर्सि चीनमा बिलय, उच्च गुन् अधिकत उनपोई चर्चा मै छैन् । ठूलो र शक्तिशाली चीनले आफ्‌नो शान्तिप्रिय छिमेकी राष्ट्रलाई बन्दुक तेर्साएरै निलेको होईन र ?  त्यो बेला तिब्बतबाट ज्यान जोगाएर भागेका तिब्बती शरणार्थीहरुलाई पोखराको हेमजा र छोरे पाटनमा शिविर बनाएर राखेको यिनै आँखाले देखेका हुन् । भुटानबाट खेदिएका नेपाली मूलका भूटानीहरुको दुःख झापा हुँदै अहिले युरोप, अस्ट्रेलिया, क्यानाडा र अमेरिका भरि फैलिएको पनि हेरिरहेकै त छौं । बर्माबाट खेदिएका नेपालीहरू भैरहवाको बर्मेली टोल, द‌या नगर, छपिया देखि महेन्द्रनगर सम्म स्थापित भएको दृश्य पनि ताजै छ । तर भारतले बलात् विलय गराए पछि पनि सिक्किमेलीले यस्तो दुर्दशा भने भोग्नु परेन ।

भैगौ, अब त्यतादिर नजाउँ !

०००

अठार वर्ष अघि विथोलिएको मेरो सिक्किम यात्रा अन्तत: मे महिनाको दोस्रो दिन (अर्थात् 05-02-2024)झमक्क साँझ परेपछि शुरु भयो । न्यूजलपाईगुडीबाट भा.रू. ५००।- कबुल गरेर चढेको गाडीले ओर्लने बेलामा भारु ७००/- पो असुल्यो पहिलो गाँसमै ढुङ्गा भने झैं भयो । हुन त त्यो भन्दा पहिल्यै खाना खाने ठाउँमा म  जानाजानी नै ठगिएको थिएँ । पाकेटमै मूल्य ७०/- लेखिएको बिस्कुटलाई ७५/- ठटाएर  पसल्नी हाँसिरहेकी थिइन् ।  यो कुनै  उल्लेख्य घटना होइन कि ? हो ?  हो!भन्छु म ।

जुन ठाँउको मुख्य पेशा पर्यटन छ  त्यो ठाउँमा त पर्यटक ठगिनु हुँदैन नि !भैगो, अब त्यता पनि नजाउँ। म पहिलोपल्ट गान्तोक पुगेको बेला सन् २०२४ को पहिलो मनसुनी वर्षाले गजबले स्वागत ग-यो । मेरी विदुषी भित्र  प्रा.डा. कविता लामाले मेरा लागि पाँच माईल, जोरधारामा कोठा आरक्षित गर्दिनु भा’ रैछ। म त्यहीं पुगेर बास बसें । गान्तोकमा पर्यटनको समय हुनाले सहजै बास पाउन कठिन हुँदोरहेछ, गर्मी याममा ।

भोलिपल्ट विहानै सिक्किम विश्व विद्यालयका केही विद्यार्थी सहित डा० लामा आउनु भयो र हामी सबै सँगै सिक्किम विश्वविद्यालयमा गयौं । त्यहाँ नेपाली विभागले भेटघाट कार्यक्रम आयोजन गरेको रहेछ । केही प्राध्यापकहरु, केही शोधार्थी विद्यार्थीहरू र एम.ए. नेपालीका सबै विद्यार्थीहरुको चित्ताकर्षक भेलामा मैले केही कविताहरू वाचन गरें । डा. लामाले गरिदिनु भयो । विद्यार्थीहरु सित र साहित्य बारे संक्षिप्त विमर्स पनि भयो ।  सिक्किम विश्वविद्यालय भाडामा बसेको त्यो स्थानबाट याङ्‌याङ‌मा नव निर्मित  आफ्नै भवनमा सरदै रहेछ ।  नेपालीका सहजीकरण नेपाली भाषा भयो रहे। उहाँहरु स्थानान्तरणको तयारीमा व्यस्त हुनुहुन्थ्यो । यस्तो  अपर्झट समयमा कुनै पूर्व तयारी विना यति सुन्दर कार्यक्रमको आयोजना गर्नुहुने  नेपाली विभाग प्रमुख डा. लामा रअन्य सम्पूर्ण साथीहरुलाई हृदयदेखिकै  धन्याद र आभार छ  मेरो ।

०००

अर्कोदिन अर्को कार्यक्रम

सदा झैं बिहानै उठें। हिजोको पानी थामिएर आकाश छ्याङ्ग भएको रहेछ। पारि रुम्तेक तिर हिजोको पानीमा  नुहाएका रुखहरु र पखालिएका छानाहरु आकर्षक देखिए । मलाई मेरो नियमित कर्म  प्रातः भ्रमणमा जानु थियो । होटेलबाट तल सडकमा निस्कें, जोर धाराबाट माथितिर धेरै सिंढीहरु देखिए तिनै सिंढीहरुमा टेक्दै टेक्दै निकैवेर  उक्लँदा पनि सिंढीहरु सकिएनन् । छेउको एउटा धुले मैदानमा फुटबल खेल चल्दै थियो त्यहाँबाट तल माथि दायाँबायाँ नियालेर हेरें । ठूलठूला राम्रा- राम्रा घरहरु र जताततै हरियाली देखेर मन प्रशन्न भयो । सन् २०२४ को जनगणनामा जम्मा ६ लाख ९५ हजार जनसंख्या भएको यो राज्यको राजधानी गान्तोकमा मात्रै १ लाख ४० हजारको बसोबास छ । यति जनसंख्याका लागि यति स्वच्छता र यति अक्सिजन उपलब्ध शायद अन्यत्र कतै होला त ?

एउटा भाइलाई सोधें- यहाँ कति सिँढी होलान् ? उसले भन्यो- ठ्याक्‌कै था’त छैन होलान् नि तीन हजार त ! सिंढी चढ्न नसक्नेले त गान्तोक घुम्नै नसक्‌ने पो रहेछ। केही बेर बिसाएर फेरि तिनै सिँढी पछ्याउँदै माथि मूल सडकमै पुगें । पारि रुम्तेकले बोलाई रहे झैं लाग्यो। गोजीबाट फोन झिकेर मेरा परम मित्र सी. वी. कार्कीलाई  बोलाएँ। [उहाँ पहिले सिक्किम सरकारको मन्त्री हुनुहुन्थ्यो र कुनै वेला निर्माण प्रकाशनको व्यवस्थापक पनि] त्यो बेला नेपालको साझा प्रकाशन र सिक्किमको निर्माण प्रकाशन बीच एक अर्काका पुस्तकहरु आ-आफना बजारमा बेच्ने संझौता भएको थियो ।

मलाई रुम्तेकसम्म जान दुईजना विद्यावारिधिका शोधार्थी भाइहरूले सघाए । सी.बी. कार्की अहिले पर्यटन ब्यबसायमा लाग्नु भएको रहेछ । उहाँका धेरै होटलहरू मध्ये ‘होटल कामाख्या’छ रुम्तेकमा । जुन होटल ‘शुध्द शाकाहारी’ हो। हामी धेरै समसामयिक विषयमा गफियौं र दिवा भोजन गरेर छुट्टियौं ।

भोलिपल्ट ५ माईलकै सरस्वती मन्दिरमा मनाई सम्मानार्थ बोलाउनु भयो । सरस्वती मन्दिर समितिले सांस्कृतिक, धार्मिक तथा साहित्यिक गतिविधिहरू गरिरहँदो रहेछ । त्यहाँ बौध्द धर्मकी देवी डोल्माको पनि मूर्ति छ । धार्मिक समन्वयको उदाहरण बनेको त्यो मन्दिर आर्थिक रुपले आत्मनिर्भर । आफ्नै भवनमा सभाकक्ष छ । सटरहरु  भाडामा लगाएर नियमित आम्दानी भैरहन्छ । सी. वी. कार्की कै नेतृत्वमा सक्रिय कार्यसमिति छ । त्यही समितिले आयोजना गरेको स्वागत कार्यक्रममा मैले मेरा कविताहरू सुनाएँ र केही सिक्किमे कविहरुका कविताहरु सुनें । मलाई दिईएको हस्तलिखित सम्मान-पत्र ८२ वर्षीय हस्तलिपिकार राज के श्रेष्ठले लेख्नु भएको रहेछ, उहाँको हस्तलिपि साहै सुन्दर र प्रशंसनीय लाग्यो । यो स्नेहका लागि म आभारी छु ।

०००

अब अर्कोदिन –

सिक्किम गान्तोक भ्रमणमा जाँदा छुटाउनै नहुने अर्को गन्तब्य हो SIKKIM RESEARCH- INSTITUTE OF TIBETOLOGY AND BUDDHIST STUDIES । त्यहाँ संग्रहालय छ दुर्लभ बौद्ध ग्रन्थहरूको पुस्तकालय छ। त्यहाँ भन्दा अलिपर ठूलो बौद्ध गुम्बा छ, जहाँ हजारौं लामाहरू अध्ययन र अनुष्ठानमा निमग्न देखिन्छन् ।

०००

अर्को दिन एकाबिहानै फोनको घण्टी बज्यो – सरस्वती मन्दिर कमिटीका महासचिव तथा धावक सागर निरौलाले भन्नुभयो- “हामी आँउदै छौं तयार हुनुहोला मैले ।”

मैले भनें, “म त तयारै छुु ।”

हामी अर्थात्  सागर निरौला, म, पत्रकार पुण्य कोईराला र लेखक एवं पत्रकार अर्जुन ‘पीयुष’ सहित चारजनाको टोली गान्तोक बजार छिचोलेर गणेश मन्दिर पुग्यौं जहाँबाट आँखाले देखुन्जेलका पहाडी श्रृङ्‌खलाहरू अवलोकन ग-यौं । त्यसपछि हनुमान मन्दिर हुँदै सिक्किमे राजाको दरवार तिर झ-यौं  । राजा चोग्यालको परिवार अहिले सिक्किममा छैनन् । राजाको जायजेथा दरवार आदि सबै यथावत र सुरक्षित राखिए‌को रहेछ । दरवार पारिको बस्ती चाँहि स्थानान्तरण गरेर त्यहाँ सेनाको क्याम्प बनाईएछ । जहाँ जहाँबाट सुन्दर दृश्यहरु हेर्न पाईन्थ्यो त्यहाँ- त्यहाँ ओर्लेर हरिलो भरिलो सिक्किमलाई नियाल्दै डुल्यौं । तीन तीनजना रैथाने कवि / लेखक / पत्रकार मित्रहरुले त्यहाँको इतिहास, भूगोल, समाज, संस्कृति यावत् विषयहरुमा मलाई  बताई दिनु भयो । त्यसपछि मुख्यमन्त्री निवास, संसद भवन हे-यौं । तल वन झाँक्री गुफा र पार्क छुटाउनै नहुने गन्तव्य थिए, हामी हतार हतार त्यतातिर  झ-यौं ।

नेपाली भाषालाई भारतमा सरकारी मान्यता दिलाउन तत्‌कालीन मुख्यमंत्री स्व० नरबहादुर भण्डारी र श्रीमती दिलकुमारी भण्डारीको योगदान‌को चर्चा  यात्रा अवधिभर पटक-पटक भैरहयो । पूर्व  मुख्यमन्त्री पवन  चामलिङको योगदान पनि जतततै देखियो । बनझाँक्री पार्कलाई त प्रकृति र आधुनिक वास्तुशिल्पको नमुना नै मान्न सकिन्छ ।

त्यहाँबाट रङ्गशाला हुँदै रानीखोला फुलमा पुगेपछि गान्तोक शिरदेखि पाउसम्म हाम्रो पाउले पनि स्पर्श गरिसकेको अनुभूति लिएर मेरो प्रथम सिकिक्रम यात्रा गान्तोक मै सीमित गरेर फर्कें ।

अब गान्तोक बाहिरको अर्को यात्राका  लागि, अर्को शुभ साईत  कहिले जुर्ने हो ? म त्यसैको प्रतीक्षामा छु ।

अब फर्कने बेलामा वाढीले पुल बगायो, बाटो भत्क्यो ! परेन त फसाद ?

विकल्पमा कि गोरु बथान घुमेर न्यु जलपाईगुडी जानु रे ! कि त फेरो बाटो दार्जीलिङ घुमेर टकदा हुँदै सिलिगुडी जानु रे! म घुम्न हिँडेको यायावरले कुन बाटो रोजें हुँला त ?

 

०००

 

लेखक परिचयः नवराज कार्की मूलतः कवि हुन् । हास्य ब्यङ्ग्यात्मक कविता तथा मुक्तकहरु उनका काव्यिक लेखनका विशेषता हुन् । शिखघार म्याग्दीमा जन्मेका उनी सन् २००९ देखि अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । उनका सिलसिला (कविता सङ्ग्रह २०४०), मनभित्रको आँधी (कविता तथा गीत सङ्ग्रह २०५३), एक दनक (हास्य ब्यङ्ग्य कविता २०५९), पलपल (गीत गजल सङ्ग्रह २०७०), तिमी हाँस्यौ र….(मुक्तक र छोटा कविता सङ्ग्रह २०७०), म्वाईं ( हास्य ब्यङ्ग्य कविता २०७०), एउटा यस्तो साथी (वाल कविता २०७०) सधैंसधैं (मुक्तक सङ्ग्रह सन् २०२२) प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *