घनश्याम राजकर्णिकार
अमेरिकामा बसोबास गरिरहेका छोरी, ज्वाइँ, नातिनीलाई भेट्न पहिलो पटक म र जीवन–सङ्गिनी शान्ता सन् २००६ (वि.सं. २०६३) मा अमेरिका गएका थियौँ । त्यस बेला हामीले पाँच वर्षे भिसा पाएका थियौँ । एक दिन, दुई दिन भन्दा–भन्दै दिनहरू सुत्त सुत्त बित्दै थियो, त्यो पाँच वर्षे भिसाको म्याद सकिन दिन रातहरू ह्वारह्वारती अगाडि आउँदै थिए । तर हामी आफ्नै घर व्यवहार र कामकाजमा व्यस्त हुँदै थियौँ । अन्ततोगत्वा हामीले त्यो ५ वर्षे भिसालाई दोस्रो पटक अमेरिका गएर फेरि उपयोग गर्न सकेनौं । हुँदा हुँदा सन् २०१५ (वि.सं.२०७२) पनि लाग्यो ।
बिदा मनाउने सोच
यतिन्जेल सम्ममा ज्वाइँ मात्र ४ पटक र छोरी, ज्वाइँ र नातिनी सँगसँगै तीन पटक केही दिनको लागि नेपाल आइ सकेका पनि थिए । अर्थात् अहिले हामी अमेरिका गएर आएको ९ वर्ष भए छ र उमेरको हिसाबले म अहिले ७४ वर्ष भए छु । आजभन्दा ९ वर्ष पहिले मैले जे सोचें ठिक त्यस्तै फेरि सोच्न थालेँ– दाना पानीको यो शरीर भोलि के होला ? केही भन्न सकिन्न । अहिलेसम्म परमप्रभु परमेश्वरको आशीर्वादले स्वस्थ छु, तन्दुरुस्त छु, फटाफट हिंड्न सक्छु । त्यसैले ‘बिदा मनाउने सोच’ लिई घुमफिर गर्न एक पटक फेरि अमेरिका किन नजाने भनी सोच्न थालेँ र यो मेरो मनको कुरालाई मनमै राखिराखेँ । कुनै पनि कुरा मनभित्र पसेर प्रभाव पारेपछि बेला मौकामा त्यो कुरा कुनै न कुनै किसिमले छचल्केर आइ हाल्दो रहेछ । विशेष गरी अमेरिकाको न्युयोर्क सहर मलाई किन हो किन मनपर्ने सहर हो । आधुनिकताको चरमसीमामा पुगेको न्युयोर्क सहर धीत नमरुन्जेल घुम्ने इच्छा मेरो अन्तरमनमा कताकति लुकिरहेको हुँदो हो । त्यसैले अमेरिका एक पटक फेरि किन नजाने भन्ने कुरालाई लिएर म उत्सुक हुन थाले छु ।
बलिउडका नायक नायिकालाई मनपर्ने सहरहरू
यसै बीच बलिउड (मुम्बई)का प्रसिद्ध नायक–नायिकाहरूलाई बिदा मनाउन मनपर्ने शहरहरूका नाम सम्प्रेषित गरिएको एउटा चाख लाग्दो लेख कहीं कतै प्रकाशित भएको पढेको थिएँ । त्यो विवरण लेखको एक ठाउँमा यस्तो लेखिएको छः बलिउड सुपरस्टार शाहरूख खानको ‘होलि डे डेस्टिनेसन’ पेरिस हो भने बलिउडको सुन्दर जोडी सैफ अलि खान र करिना कपुरलाई मनपर्ने गन्तव्य मुलुक स्विटजरल्याण्ड हो । त्यस्तै ऐश्वर्या राय बच्चनको प्रिय सहर न्युयोर्क हो । उनी आफ्नो लोग्ने अभिषेक बच्चनलाई लिएर बेला मौकामा छुट्टी मनाउन सुटुक्क न्युयोर्क पुग्छिन् । तर अभिनेता अक्षय कुमारको मन भने क्यानाडाले तानेको हुन्छ । अर्का अभिनेता सलमानको प्रिय गन्तव्य सहर चाहिँ दुबई हो । त्यस्तै सुपरस्टार अमिर खानको छुट्टी मनाउने गन्तव्य सहर लण्डन हो भने अभिनेत्री विपाशा वसुलाई विदेश भन्दा स्वदेश नै प्यारो लाग्ने रहेछ र उनलाई गोवाको सुन्दर दृश्यले मन भुलाउँदो रहेछ । मुम्बईलाई कर्मथलो बनाएकी कट्रिनाको जन्मथलो लण्डन हो र उनलाई मनपर्ने सहर आफ्नै जन्मथलो लण्डन रहेछ । यस्तो खालको यी विवरणले मलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित तुल्यायो भन्नुमा अतिशयोक्ति नहोला कि ?
ऐश्वर्या र मेरो ग्रह मिलेको हो ?
साँच्चै भन्ने हो भने न्युयोर्क सहर फेरि एक पटक घुम्ने इच्छा मेरो मनमा जाग्नु र उता विश्व सुन्दरी प्रसिद्ध नायिका ऐश्वर्या रायको मनपर्ने सहर न्युयोर्क हुनु कमसेकम मेरो लागि उत्प्रेरणा दायक हुन पुग्यो । अर्थात् मेरो मनमा गुम्सिरहेको इच्छालाई ऐश्वर्याले पनि मन पराउनु भनेको कता कता हाम्रो ग्रह मिलेको भन्नु ठिक पर्ला कि ? त्यसैले म फुरफुर हुनु स्वाभाविकै थियो । यो कुरा यस्तै हो, यस्तै भयो । एक दिन मेरो मनको कुरालाई मुखमा ल्याई शान्ता अर्थात् मेरी जीवन सङ्गिनीलाई ‘अमेरिका एक पटक फेरि जाने होइन र !’ भनेँ ।
मेरो यो कुरा सुनी उनी प्रफुल्ल हुनुमा कुनै आश्चर्य थिएन । अमेरिकामा बसोबास गरिरहेकी छोरीलाई भेट्न जानु भनेको कुनै पनि आमालाई यो भन्दा खुसीको कुरा के होला र ! शान्ता र मबीच यसरी कुराकानी भयोः
मः हो भन्या, अमेरिका एक पटक फेरि जाने विचार गरेँ । कसो होला ?
शान्ताः (मुस्कुराउँदै) हुन्छ नि, भैहाल्छ नी, कहिले जाने ? छोरीहरू र ज्वाइँहरूलाई पनि भन्नुप¥यो ।
मः त्यो भन्ने कुरा त छँदै छ नि ! मुख्य कुरा यसपाली अमेरिका छोटो समयको लागि मात्र जाने । केवल बिदा मनाउने मुडमा जाने ।
शान्ताः भैहाल्छ नि, तर डेढ दुई महिनाको लागि त हुनै प-यो । कसो होइन र !
मः होइन, होइन । डेढ दुई महिना होइन, केवल १९-२० दिनको लागि मात्र, बिदा मनाउने हिसाबले मात्र जाने ।
शान्ताः हुन्छ नि, तपाईं जे भन्नुहुन्छ, तपाईंले भन्नुभएको कुरामा मैले कहिल्यै हुन्न भनेकी छु र !
मः तर हेर शान्ता ! यस पटक अमेरिका जाँदा पूरै आराम साथ, सौखिन तरिकाले जाने । पहिले जस्तो भारीका भारी चार ओटा सुटकेस लिएर जाने होइन । केवल स–साना दुई वटा हाते सुटकेस मात्र लिएर जाने, पूरा सौखिन पर्यटक बनेर आरामसाथ जाने । पहिले जस्तो फलानाको सामान, ढिस्कानोले दिएको सामान भनी लगिदिने होइन, फेरि छोरी, ज्वाइँहरूलाई भनेर चिउरा, गुन्द्रुक, मस्यौरा, तितौरा त्यस्तै लाखामरी, सेलरोटी, सुकुटी मासु केही लगिदिने होइन ।
मेरा यी कुरा सुन्दा शान्ता केवल मुस्कुराइरहिन्, केवल मुस्कुराइरहिन् । केही कुनै प्रतिवादन गरिनन् ।
(हाल हामी कहाँ चिनेजानेका कोही कुनै अमेरिका जान लागेको थाहा हुँदासाथ अमेरिकामा भएका आफ्ना छोराछोरीहरूलाई नेपालबाट कोसेलीस्वरूप खानेकुरा, हस्तकलाका सामान, स–साना पित्तलका मूर्तिहरू, नेपाली लुगाफाटा आदि दिएर पठाउने चलन छ । ५-६ जनाका यस्ता कोसेली सामान लगि दिँदा कम्तीमा ८-१० किलो भएको कटु अनुभव पहिलो पल्ट अमेरिका जाँदा भएको थियो । कहाँसम्म भने एक जना मित्रको श्रीमतीले मेरो बाबुलाई केराउको अचार असाध्य मनपर्छ भन्दै डेढ किलो सुकेको सानो केराउ मलाई भिडाइदिएको थियो ।)
धन्दा नमान्नुहोस् घनश्यामजी
एक जना मित्रलाई कुरैकुरामा हामी जोइपोइ अमेरिका जाँदैछु भनी प्याच्च भनिहालेँ । कसैलाई अमेरिका जानेकुरा नभन्ने भनेको कस्तो हुस्सु भएछु जस्तो लाग्यो । ती मित्रले अमेरिका जाँदा न्युयोर्क पनि जाने हो भनी सोधिहाले । तर मैले प्रस्ट्याउँदै –“सायद जाउँला तर यसपाली अमेरिका जाँदा हामी नितान्त होलिडे मुडमा जाने, आरामसाथ सौखिन तरिकाले जाने, लगेजको नाउँमा केवल दुई वटा हात ब्याग लग्ने, भारीतारी केही नलग्ने” भनेँ । मेरा यी बेलिबिस्तार सुनी मित्रले हाँस्दै भनिहाले–“धन्दा नमान्नुस् घनश्यामजी, हामी केही सामान दिन्नौँ, तर न्युयोर्क जानुहुन्छ भने मेरो कान्छो छोरालाई भेटेर काठमाडौँ फर्की जानु भनेर सम्झाइ दिनुस्, त्यति मात्र हो । उनको कुरा सुनी म केवल हाँसीरहेँ । आफ्नो मनको वेदना सुनाउँदै उनले फेरि भने–“हेर्नुस् घनश्यामजी तपाईंलाई थाहै छ मेरा दुई वटा उद्योगहरू छन् । दुवै ठिक छन् । ठूलो छोराले आफ्नो पढाइ सकेर मलाई सघाउँछन् तर सबै काम उसले मात्र सम्हाल्दिन भन्छ, पछि भाइ आई आफ्नो आधा भाग लिई हाल्दछन्, अहिले नै जे गर्नुपर्ने हो छिनोफानो गरिदिनु भनेर सँधै कचकच गरिरहन्छ । उसले भनेको पनि ठिकै हो । सानो छोरा न्युयोर्कमै अल्झिरहेको छ, नेपाल आउनै मान्दैन, अलि कर ग-यो कि मलाई केही चाहिँदैन सबै दाइ चाहिँले नै लेओस् भन्छ । कस्तो बेवकुफ छ भने । उसले त्यसो भन्दैमा मेरो मन कहाँ मान्छ र ! त्यसैले तपाई न्युयोर्क पनि जानुहुन्छ भने छोराको ठेगाना र फोन दिन्छु, एकपल्ट गएर उसलाई सम्झाइ दिनुस् न तपाईंले ।” मित्रको यो अनुनयमा अन्तरवेदना भएको मैले चाल पाएँ । त्यसैले मैले–“हुन्छ, हुन्छ, म भरमग्दुर प्रयास गर्छु” भनेँ । अनि न्युयोर्क पुगेको ३-४ दिनपछि एक दिन समय मिलाएर करिब एक घण्टा लगाएर मित्रको त्यो छोरालाई भेट्न गएँ । लगत्तै मित्रको अन्तर वेदना प्रस्ट्याउँदै नेपाल फर्केर आउन सरसल्लाह दिएँ । तर त्यो केटो एकदम अपरिपक्व र लन्ठू मान्छे रहेछ । पछि उसको भनाइबाट मैले के छनक पाएँ भने ऊ अहिले बिना इजाजत अमेरिकामा बसिरहेको र नेपाल फर्कनासाथ जीवनमा कहिल्यै फेरि अमेरिका पस्न नपाउने हुँदा बरु अमेरिकामै कुहिएर बस्ने उसको दृढ सङ्कल्प रहेछ । एक जना नेपाली छोराको यस्तो हविगत थाहा पाउँदा म आफैँ जिल्लिएँ र चाउरिएँ ।
अमेरिका जाँदाको बाइस पच्चीसे कुरा
सन् २०१५ अप्रिल २ तद्नुसार २०७२ साल चैत्र १९ गतेका दिन अमेरिकाको लागि हामी जोईपोइ काठमाडौंबाट प्रस्थान ग-यौं । हाम्रो हवाई टिकटको व्यवस्थाअनुसार काठमाडौंबाट साँझतिर एयर इण्डियाबाट दिल्ली पुगी त्यहाँबाट भोलिपल्ट बिहान ११ बजे इतिहाद एयरलाइन्सको जम्बो जेटबाट उडी अबुधावीमा एक रात रोकी त्यहाँबाट भोलिपल्ट बिहान उही प्लेनबाट अमेरिकामा साँझतिर पुगिने रहेछ । लामो दूरीको यात्रा विशेषगरी अमेरिका जाँदा सकेसम्म राती सुत्ने व्यवस्था गर्नुस् अन्यथा जेट ल्यागले गर्दा शरीर एकदम थाक्ने गर्छ भनी छोरी दीपाले सर्तक गराएकी थिइन् । हुन पनि म पहिलो पटक सन् २००६ मा अमेरिका जाँदा प्लेन यात्रामा निद्रा गडबड हुँदा राम्ररी सुत्न पाएको थिइन र त्यसैले होला जेट ल्यागले गर्दा अमेरिका पुगेपछि ५-६ दिनसम्म शरीर अस्वस्थ र थाकेको महसुस भएको थियो । त्यसैले यस पालि सुत्ने बेलामा सुति हाल्ने सबल विचार गरेको थिएँ । दिल्लीबाट भोलिपल्ट बिहान इतिहाड एयरवेजको हाम्रो जहाज अमेरिकाको लागि प्रस्थान गर्ने हुँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलभित्र ट्रान्जिट होटल अर्थात् पर्यटकले पैसा तिरेर केवल सुत्न पाइने होटल खोज्दै जाँदा टर्मिनल नं. ३ मा सानदारको ईटम स्मार्ट एयरपोर्ट ट्रान्जिट होटल भेट्टाएँ । केवल स्तरीय सम्पन्न पर्यटक यस्ता ट्रान्जिट होटलमा बास बस्न जाने गर्छन् । मैले माथि नै लेखिसकेँ कि यसपाली हामी जीवनमा पहिलो पटक सौखिन पर्यटक बन्दै अमेरिका जाँदै थियौँ । त्यसैले त्यो ट्रान्जिट होटलमा बास बस्न सोधपुछ गर्दा थाहा पाएँ– राती ८ बजेदेखि भोलिपल्ट ६ बजेसम्म डबल बेडको लागि भा.रू. ८०००।–(आठ हजार) । स्वास्थ्यको लागि निद्रा ठूलो ठान्दै सौखिन पर्यटक बन्दै लगत्तै मैले हाम्रो लागि एउटा डबल बेडरुम बुक गरेँ । शान्ताले ‘एक रातको लागि त्यस्तो महङ्गो कोठा लिने र’ भन्दै थिइन् । आनन्दसँग सुत्नको लागि अनि अनुभव र अनुभूतिको लागि भए पनि लिउँ न भनेँ । शान्ता केवल हिस्सिँदै थिइन् । हाम्रो इतिहाद एयरलाइन्सले रातिको खाना खान ट्रान्जिट लाउन्ज भित्रका कुनै पनि रेष्टुराँमा सित्तै खान पाउने निश्चित रकम तोकेका दुई वटा कुपन दिएको थियो । सो कुपन बमोजिम बेलुकाको खाना खाइवरी ट्रान्जिट होटलमा सुत्न गयौँ । सानोमा राम्रो अर्थात् स्मल इज ब्युटिफूल त्यो होटलको चिटिक्क परेको सानो सफा, मनमोहक कोठाले मलाई निकै आकर्षित तुल्यायो । कता कता त्यो कोठाले मलाई आफ्नो घरको सुत्ने कोठालाई पनि यस्तै चिटिक्क पारेर सफा सुग्घर गर्नु सभ्य हुनु हो भनिरहेँझैं लाग्यो । त्यसपछि हामी जोईपोइ गफसफ नगरी गुटमुटिएर सुतिहाल्यौँ । निद्रा देवीको काखमा राम्ररी सुत्न पाउँदा भोलिपल्ट बिहान मलाई जिउ सन्चो, मन हलुँगो भइरह्यो । त्यसपछि हतपत उठी त्यतैतिरको एउटा रेष्टुराँमा स्तरीय बे्रकफास्ट लियौँ । अनि दिल्लीबाट ११;१५ मा इतिहाद एयरवेजको जम्बो जेटले हामीलाई लिएर अमेरिकाको लागि प्रस्थान ग-यो र साँझतिर अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा एक रात विश्राम गर्न अवतरण ग-यो । इतिहाद एयरलाइन्सले हामीलाई विमान स्थलभित्रै एक रात राम्ररी सुत्ने व्यवस्था गरिदियो ।
नेपाली युवा शक्ति विदेशमा
अबुधावी अन्तर्राष्ट्रिय विमान स्थलभित्र सामान ओसार पसार गर्ने, टिकट जाँचपास गर्ने, सामान तौलेर नोट गर्ने जस्ता काममा मनग्य नेपाली युवा युवतीहरू फुर्तीसाथ खटिरहेको देखेँ । यो दृश्यले मेरो मन नियास्रो र मुख अँध्यारो हुँदै थियो । आज हाम्रा कर्मठ युवा युवतीहरू काम र मामको लागि विदेशतिर हजारौँ हजार बरालिँदैछन्, त्यतातिर पलायन हुँदैछन् । देशमा राजनीतिक स्थिरता र सबल नेतृत्वको अभावमा आर्थिक विकासमा हामी पछाडि परिरहेका छौं र नयाँ पिँढीलाई देश भित्रै रोजगारीको जो हो गर्न सकेका छैनौं । आफ्नो देशको दयनीय स्थिति देख्दा म जस्तो एक जना देश प्रेमी नेपालीको मुटुमा कोही कसैले लगालग लात हानी रहेझैं हुनुमा कुनै आश्चर्य थिएन ।
विमानको झ्यालबाट अबुधावी सहर देख्दाको अनुभव र अनुभूति आफैँमा विरोधाभास हुँदा यस बारे केही लेख्न मलाई सकसक लागिरहेछ । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो विमान अवतरण हुँदै थियो । शान्ता र म दायाँ झ्यालतिर बसेका थियौँ । हवाई जहाजको झ्यालबाट यसो तल हेर्दा त्यतातिर यत्रतत्र सर्वत्र बालुवै बालुवाको मरुभूमि मात्र देखेँ । खाडी मुलुकहरू अधिकांश मरुभूमिमा पर्दछ भनेर कहीँ कतै पढेर थाहा पाएको थिएँ । त्यसैले अबुधावीमा पनि केवल मरुभूमि मात्र रहेछ भनी मनमनै सोचेँ । तर मेरो यो सोच अर्ध सत्य भएको त्यसबेला थाहा पाएँ जब भोलिपल्ट बिहान अमेरिकाको लागि प्रस्थान गर्दा हाम्रो हवाइजहाजले आकाशमा कावा खाँदै वायाँतिर मोडेर उड्दा अबुधावी सहर त आधुनिक घरैघरले परिपूर्ण, ठाउँ ठाउँमा गगनचुम्बी घरहरूयुक्त झकिझकाउ शहरको रूपमा देखेँ । यसरी विमान अवतरण हुँदा र प्रस्थान गर्दा विमानभित्रको झ्यालबाट अबुधावी सहरको दुई रूप देख्दा म हुनसम्म उल्लसित भएँ ।
अबुधावीबारे जानकारी
अबुधावीबाट हामी बिहान ८ बजे अमेरिकाको लागि प्रस्थान गरेका थियौँ । विमान उडेको १५-२० मिनेट हुँदा नहुँदै हिसी लाग्दा फुर्तिला विमान परिचारिकाहरूले फटाफट ब्रेकफास्ट दिँदै आइन् । मुस्लिम विमानभित्र पनि हाम्रो पूर्व अनुरोधानुसार शाकाहारी ब्रेकफास्ट पाउँदा हामी दुवै प्रफुल्लित भएका थियौँ । केही बेरपछि परिचारिका नानीहरूले अबुधावीबारे छोटो चिनारी भएको एक एक वटा हिसीलाग्दा पर्चा–पुस्तिका हामी पर्यटकहरूलाई बाँडी दिइन् । यो पर्चा पुस्तिकामा मुख्यतया अबुधावीका आधुनिक पर्यटकीय स्थलहरूका चम्किला फोटोहरूसहित विवरणहरू छन् । साथै त्यसको एक पृष्ठमा अबुधावीबारे छोटोमा मीठो विवरण पनि थियो जसले मेरो मन छोयो र त्यसलाई हुबहु
नेपालीमा अनुवाद गरी यसरी प्रस्तुत गर्दछुः अबुधावी पर्सियाको खाडीमा रहेको युनाइटेड अरब इमिरेट्सको राजधानी हो । यो सहरको मुख्य व्यवसाय तेल (पेट्रोल) निकासी हो र यहाँका गगनचुम्बी अट्टालिकाहरू विशेषगरी अबुधावी मल र मेरिनामलबाट ठूलठूला अन्तर्राष्ट्रिय व्यापार व्यवसायहरू सञ्चालन हुने गर्छन् । यहाँ रहेको शेख जायेद मस्जिद सम्पूर्ण देश वासीको श्रद्धाको केन्द्र धार्मिक तीर्थ स्थल हो । पाम्पलेटमा भएको यो मस्जिदको फोटो देख्दा कताकता यसमा आग्राको मुगलकालीन ताजमहलको झझल्को भनुँ वा छायाँरूप जस्तो मलाई लाग्यो । काठमाडौँमा पशुपति र स्वयम्भूको जे जस्तो स्थान छ अबुधावीमा शेख जायेद मस्जिदको त्यही स्थान हुनु भनेको अनेकतामा एकता हो र ईश्वरलाई हामी मनुवाले विभिन्न रूपमा हेरे पनि अन्ततोगत्वा उहाँ एउटै हुनुहुन्छ– अगम, अगोचर, अज्ञय, अपरिमित, अन्तरयामी ।
यो शेख जायेद मस्जिदलाई ३ हजार कालिगढले लगातार १२ वर्ष काम गरेर बनाउन सिध्याएको यसको लागत खर्च ५६ करोड अमेरिकी डलर (ने.रु.५ अर्ब ६० करोड) हो र यहाँ ४० हजार मानिस एक साथ बसी नमाज पढ्ने गर्छन् । यस्तै यस्ता सम्पन्नताका तिलस्मी तथ्याङ्कहरूले भरेको अबुधावीको पर्चा पुस्तिकाका अरू विवरणहरू यहाँ एक एक गरी उल्लेख गर्न सान्दर्भिक ठान्दिन ।
नेपाल समृद्ध हुनसक्छ
जे होस् केही दशक अगाडिसम्म हामीभन्दा गरिब, असभ्य र मरुभूमिमा फिरन्ते जीवन बिताई जीविकोपार्जन गर्ने खाडी मुलुकका बासिन्दाहरू आज सम्पन्नताको शिखरमा सलबलाई रहेका छन् । यसो हुनाको मुख्य कारण तिनीहरूको देशमा प्राकृतिक सम्पदाको रूपमा पेट्रोल खानी यथेष्ट हुनु र त्यसलाई व्यवस्थित रूपले काममा लिनु अर्थात् उपयोग गर्न सक्नु हो । खाडी मुलुकका सम्पन्न मुसलमानहरूलाई कटाक्ष गर्दै एक जना अङ्ग्रेज पत्रकार भन्दछन्– “यदि यी असभ्य तथा गवाँरहरूले पश्चिमी मुलुकलाई तेल बेच्न नपाएको भए, तिनीहरू अहिलेसम्म पनि माटोको छाप्रोमा नै जीवन गुजारा गर्दा हुन् ।” आज खाडी मुलुकहरू र यहाँका मुसलमानहरू सम्पन्न हुनुमा तिनीहरूको प्राकृतिक सम्पदा तेल खानी यथेष्ट हुनु हो । यी कुराहरू सम्झँदै जाँदा मलाई आफ्नै देशबारे घोत्लिन मन लाग्यो र सोचेँ हाम्रो देश नेपाल एउटा सानो तथा गरिब मुलुक हो । तर प्राकृतिक स्रोत, साधन, सम्पदामा हाम्रो देश धनी छ । नेपालमा पाइने प्राकृतिक साधनमध्ये जल सम्पदा मुख्य हुन् । जल सम्पदाको दृष्टिले नेपाल विश्वमा ब्राजिलपछि दोस्रो धनी राष्ट्र मानिन्छ । एसिया महादेशमा त पहिलो धनी राष्ट्रको रूपमा पर्दछ । कोशी, गण्डकी, कर्णालीबाट ७५,००० मेघावाट विद्युत् र बागमती, राप्ती, सेती, भेरी, महाकाली नदीहरूबाट ८००० मेघावाट गरी जम्मा ८३,००० मेघावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता हाम्रा नदीहरूका छन् । तर हामीले केवल १ प्रतिशत भन्दा कम मात्र विद्युत् शक्ति उपभोग गरिरहेका छौं । हामी कहाँ भएका अथाह जल सम्पदालाई हामीले राम्ररी विकास गर्न सक्यौं भने हाम्रो देशको आर्थिक विकासमा द्रुततर गति आउने छ । विद्युत् शक्तिको विकासले औद्योगिक विकास र पहाडमा भएका आकाशे पानीमा निर्भर भएका खेतबारीमा सिँचाइ सुविधाले कृषि विकास भई हाम्रो देश नेपाल समृद्ध हुँदै जाने कुरामा दुई मत हुने छैन । साथै नेपाली जनजीवन लोड सेडिङबाट मुक्त भई समृद्ध नेपालका नेपाली बन्न पाउने सौभाग्य पाउने छौँ ।
अबुधावीबाट बिहान ८ बजे उडेका हामी १४-१५ घण्टापछि अमेरिकामा त्यहाँको समयानुसार साँझ ४-५ बजे पुग्यौं । अमेरिका र युनाइटेड अरब इमिरेट्स बीच राम्रो कूटनीतिक सम्बन्ध भएर होला अमेरिका उड्ने पर्यटकहरूको सुविधार्थ अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलभित्र छुट्टै तीनवटा जाँच पास काउन्टरहरू राखिएका छन् र त्यहाँ कार्यरत अमेरिकाली कारिन्दाहरूले जाँच पास गरिसकेपछि अमेरिकाको डलस अन्तर्राष्ट्रिय विमानस्थलको काउन्टरहरूमा केही कुनै जाँच पास गर्न परेन र हामी पर्यटकहरू सबै सरासर बाहिर निस्कन पायौं । बाहिर छोरी दीपा, नातिनी हृदयषा, ज्वाइँ प्रवीण उत्सुकतासाथ हामीलाई पर्खिरहेका थिए । आफ्ना प्रियजनहरूसँग भेट्दा हामी प्रफुल्ल हुनु स्वाभाविकै थियो । ज्वाइँको गाडीमा बसी हामी मेरिल्याण्डतिर हुइँकिंयौँ । ज्वाइँले नयाँ घर किनि सकेका थिए । सुविधा सम्पन्न नयाँ घरमा पस्दा हामी झन् प्रफुल्लित भयौं ।
जेट ल्यागको करामत
लामो दूरीको हवाई यात्रामा समयको परिवर्तनले गर्दा विशेष गरी उमेर पुगेकालाई थकान र अनिद्रा समस्याले शरीरको क्षमतामा गोलमाल, अस्तव्यस्त वा लथालिङ्ग पार्ने गर्छ जसलाई जेट–ल्याग भएको भनिन्छ । अमेरिका पुगेको पर्सि पल्टदेखि मलाई दिउँसो निद्रा लाग्ने, राती जागराम हुने, ज्वरो आए जस्तो अस्वस्थ भएँ र पखाला पनि लाग्यो । अर्थात् यस पाली पनि अमेरिका पुग्दा मलाई जेट–ल्यागले पिछा छाडेन र ४-५ दिनसम्म सताइ हाल्यो ।
मनपर्ने सहर न्युयोर्क
यसपालीको अमेरिका यात्रामा नितान्त सौखिन यात्री बनी केवल बीस दिनको बिदा मनाउने मनसाय लिई गएका थियौँ भनी मैले माथि ठाउँ ठाउँमा उल्लेख गरिसकेको छु । तर यो पटक पहिलाझैं विभिन्न ठाउँमा घुम्न जाने चाँजो पाँजो नगरे पनि न्युयोर्क एक पटक त फेरि जाने रहर गरेको थिएँ । मुम्बईकी फिल्म नायिका ऐश्वर्या राय बच्चनलेझैं मैले पनि बिदा मनाउने ठाउँको रूपमा न्युयोर्कलाई मन पराउँछु । किनकिन न्युयोर्क मलाई मनपर्ने आधुनिक शहर हो । यो छोटो जीवनकालमा धेरै देश घुमेँ, धेरै सहर सुँघे तर न्युयोर्कले झैं विश्वका अरू सहरले मेरो मन तान्न सकेन । हुन त विश्वका आधुनिक सहरहरूमध्ये उच्च स्थानमा रहेको न्युयोर्क सहरमा केही दिन बस्नु भनेकै ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तो नहोला भन्न सकिन्न । तैपनि यस पाली बिदा मनाउने मनसायले अमेरिका जाँदा मेरो गन्तव्य रोजाइ न्युयोर्क नजाने कुरै थिएन । त्यसैले अमेरिका पुगेको ७-८ दिनपछि एक दिन हामी स–परिवार छोरी दीपा, नातिनी हृदयषा, ज्वाइँ प्रवीण, जीवन–सँगिनी शान्ता र म आफैं ज्वाइँको गाडीमा बसी ५-६ दिनको लागि न्युयोर्क प्रस्थान ग-यौँ । समय बिहानको १०.३० बजेको थियो । हामी पाँच जना मेरिल्याण्डबाट न्युयोर्कतिर हुईकिंदै थियौँ । मेरिल्याण्डबाट न्युयोर्क पुग्न आफ्नो कारबाट भए करिब ३ घण्टा चानचुन र बसबाट भए ५ घण्टा लाग्ने कुरा ज्वाइँको वर्णनबाट थाहा पाएँ । हामी निस्केको एक घण्टा बित्दा नबित्दै बाल्टिमोर पुग्यौं । हामी पहिलो पटक अमेरिका आउँदा एक दिन दिनभरि बाल्टिमोर शहर चहारेका थियौँ । त्यतातिर हामी अहिले पुग्दा प्रवीणले गाडी रोकी बाल्टिमोरतिर एक पटक पस्ने कि भनी सोधे । मैले नकार्दै भैगो नजाउँ भनेँ । हाम्रो गाडी हाइवेमा हुइकिंदै थियो । अमेरिकाको हाइवेको के बयान गरुँ । रत्तीभर उबडखाबड नभएको सफा पिच बाटोमा हाम्रो गाडी दौडिरहेको थियो । झक्का धक्का केही नहुँदा कतै ट्रेन गाडीमा गुडिरहेको जस्तो भान पनि भैरह्यो मलाई । त्यस बेला बाहिर सिमसिम पानी परिरहेको मलाई होसै भएन । फेरि ठाउँ ठाउँमा हुस्सु पनि लागिरहेको देखेँ । त्यसपछि अपर्झट दायाँ बायाँ चउरै चउरका उकाली ओराली भू–बनोटका सौन्दर्यले म आप्लावित भइ रहेँ । लगत्तै मैले हामी कहाँको पशुपति बाटोबाट त्रिभुवन विमान स्थलतिर लाग्दा बायाँतिर गल्फकोर्सको चउरै चउरको उकाली ओराली सुन्दर भू–दृश्यहरू सम्झेँ । यस्ता भू–बनोटहरू हेरि रहन मलाई असाध्य मन पर्छ र मौका मिले त्यतातिर रुमलिन मन लाग्छ मलाई । हाइवेतिर ताँतीका ताँती गाडीहरू गुडिरहनु स्वाभाविकै हौ । तर कहीँकतै कुनै पनि गाडीले हर्न बजाएको सुनिनँ । मलाई लाग्यो– ट्राफिक नियमानुसार हुइकिईंरहेका गाडीले हर्न बजाएर आफ्नो उपस्थिति जनाउनु पर्ने आवश्यकता नै रहेन छ कि ?
न्युजर्सी
तीन साढे तीन वा बढीमा चार घण्टामा न्युयोर्क पुग्ने आकाङ्क्षा लिँदै थिएँ । घडी हेर्छु १२.३०बजिरहेछ । यत्तिकैमा प्रवीणले न्युजर्सी आइपुग्नै लाग्यो त्यतैतिर लञ्च खानुपर्ला भने । लञ्च शब्द सुन्नासाथ म लगायत सबै प्रफुल्ल भयौँ । मेरो जस्तै जहान परिवार सबैको पेटका मुसाहरू दगुरिरहेका रहेछन् । मेरो शरीरको संरचना हो– म धेरेबेरसम्म भोको बस्न सक्दिनँ । अमेरिकाको न्युजर्सी भन्ने ठाउँको नाम भनी सुनेको मात्र थिएँ, म त्यहाँ पुगेको थिइनँ । सुनेको ठाउँमा पुग्दा मन प्रफुल्ल हुनु स्वाभाविकै हो । हत्तपत्त मसँग भएको गाइड बुक पल्टाएर यसो हेरेँ र पढेर थाहा पाएँ– अमेरिकाको उत्तरपूर्वमा रहेको एउटा सानो राज्यको नाम हो न्युजर्सी । एक सय तीस माइल लामो यसको समुद्र किनार एटलान्टिक महासागरमा पर्दछ । यसका पाँच वटा ठूला सहरहरूका नाम हुन्– जर्सी सिटी, नेवार्क, इलिजावेथ, टेन्टन र पेटरसन । (यहाँको ज्याक्सन भन्ने ठाउँमा सिक्स फ्ल्याग नामको प्रसिद्ध आमोद प्रमोद उद्यान छ जहाँ हामी एक दिन दिनभरि निकै रमाइलोसाथ विभिन्न थरिका कौतुहलपूर्ण खेल तमासामा भाग लिएका थियौँ ।) त्यस्तै अर्को कुरा अमेरिकामा सबभन्दा बढी जनघनत्व भएको राज्य न्युजर्सी हो । देशमा सबभन्दा बढी रासायनिक पदार्थ यहीँ उत्पादन हुन्छ, सबभन्दा ठूलो बन्दरगाह यहीँ छ, पेट्रोलियम पदार्थ प्रचुर मात्रामा पाइने खानीहरू यहीं छन् र न्युजर्सीको मुख्य नारा हो –स्वतन्त्रता र सम्पन्नता । यत्तिकैमा न्युजर्सी आइपुग्यो । त्यतैतिर एक ठाउँमा प्रवीणले गाडी विस्तारै छिरायो र पार्क ग-यो । लञ्चको लागि हामी सबै रमाउँदै चिरविर चिरविर कराउँदै गाडीबाट ओर्लियौं । त्यतातिर आँखा दौडाउँदै यसो हेरेँ– यत्रतत्र चिटिक्क परेका धेरै घर छन्, जताततै सफा सुग्घर मनमोहक पनि उत्तिकै छन् । मानिसको चहल पहल हुँदा जीवन्त ठाउँको झाँकी अनुभूत गर्दै थिएँ । प्रवीणले घाँटी तानी–तानी यताउता हेर्दै थिए र उपयुक्त खाना खाने ठाउँको खोजी गर्दै थिए । लगत्तै लञ्चको लागि ब्रेक जोन फेनवीक भन्ने एउटा रेष्टुराँमा पस्यौँ । त्यहाँ हामीले इच्छा गरे अनुसारका खाना पाउन सकेनौं । त्यहाँ पनि अमेरिकामा अक्सर पाइने विभिन्न थरीका बर्गर, पिज्जा, चिप्स, स्याण्डविच, कोक, कफी मात्र रहेछ । भाग्यवश त्यहाँ शाकाहारी बर्गरहरू भएको देख्यौँ । अमेरिकामा शाकाहारी खाना पाउनु भनेको फलामको चिउरा चपाउनु जस्तै गाह्रो छ । त्यसैले शाकाहारी बर्गरहरू देख्नासाथ मैले ‘ल आज बर्गरहरू मात्र खाएर पेट पूजा गर्ने, इण्डियामा जस्तो दाल भात तरकारी कहाँ पाइन्छ र यहाँ ’ भनेँ । सबैले मुस्कुराउँदै ‘हुन्छ, हुन्छ’ भने । प्रवीण, शान्ता र मैले भेज बर्गर लियौँ, दीपा र हृदयषाले फिस बर्गर लिए । यहाँको भेज बर्गर मीठो, नौलो, मनमोहक लाग्यो मलाई ।
फेरि एउटा अर्को थपेर बाँडीचुँडी गरी खायौँ । त्यहाँ कफीको मगमग बास्नाले मेरो मन रमाइरह्यो । मलाई कफी पिउनु भन्दा त्यसको मगमग बास्नामा रमाइ रहन निकै मन पर्छ । कफी र बर्गर खाएर त्यहाँबाट निस्कन अघि त्यहाँको साइनबोर्डमा एक पटकफेरि मेरो नेत्रद्वय ठोकिन पुग्यो । चम्किलो अक्षरले सुसज्जित ब्रेक जोन फेनवीक देख्दा मनमनै सोचेँ के भनेको हो ? यो साइनबोर्डले । मैले यसको अर्थ पहिल्याउन सकिन र यो के भनेको होला भनेर कसैसँग सोधिनँ पनि ।
नयाँ घनश्याम बन्ने उपदेश
अमेरिकन स्वादिष्ट बर्गरले पेट पूजा गरी हतपत गर्दै गाडीमा बसी हामी न्युयोर्कतिर हुइँकिँयौँ । अप्रिल महिना थियो त्यस बेला । शिशिरले बाई बाई गर्दै वसन्त ऋतुको आगमन हुँदै थियो । शिशिर ऋतुमा रुखका पातहरू झरेर नाङ्गा हुन्छन् । अहिले अप्रिल महिनामा हामी अमेरिका पुग्दा बाटाका दायाँ बायाँ यत्रतत्र बोट बिरुवा र पङ्क्तिबद्ध रुखहरूमा पातहरू, फूलहरू पलाउन लागेका टुसाउन थालेका देख्दै गएँ; अर्थात् शिशिरमा पातहरू फूलहरू झरेर सुक्खा भएका रुखहरूमा नयाँ बहार आउन लागेको मैले महसुस गर्दै गएँ । बाटाको दायाँबायाँ पङ्क्तिबद्ध मानव निर्मित रुखहरू अब छिटै केही दिनपछि हरियो रुखमा परिणत भई झाङ्गिएपछि त्यसबाट प्रस्फुटित सौन्दर्यको कल्पनामा म कतिबेर रमाइरहेँ । साँच्चै ती रुखहरूले मुस्कुराउँदै मलाई भनिरहे– “हेर ! घनश्याम शिशिर ऋतुले हाम्रा सुन्दर पात रूपी प्वाँखहरूलाई छिन्नभिन्न गराइ दिए, हामीलाई निर्वस्त्र तुल्याइ दिए, हामीलाई आफ्नो लाज बचाउनै गाह्रो भइरह्यो । तर पनि हामी चट्टानझैं अडिग रह्यौँ, हामीले हिम्मत हारेनौँ, हामी आशावादी भइ रह्यौं, त्यसैले अहिले विस्तार विस्तार हामी काँचुली फेर्दै छौं, हाम्रा दिनहरू आइ रहेछन् अब चाँडै नै सुन्दर पृष्ठभूमि छर्दै हामी हराभरा हुँदै छौं।” ती रुखहरूले फेरि मुसुमुसु हाँस्दै मलाई भनिरहे– “हेर ! घनश्याम, जीवन भनेको यस्तै हो । जीवनमा आइपर्ने बाधा, व्यवधान, अप्ठ्यारा, अवनती, अद्योगतिबाट हरेस नखाई सुन्दर भविष्यको लागि तिमीले ज्ञानगुनका कुरा सिक्दै जानू, कर्मशील बन्दै जानू, दया माया बाँड्दै जानू, लिने भन्दा दिनेमा प्रयत्नशील हुँदै जानू, सिर्जनशील बन्दै जानू । हेर ! घनश्याम, यस्तै यस्ता कुराले तिमी हिजोभन्दा आज एउटा नयाँ घनश्याम बन्ने छौ । जीवन जिउनुको मज्जा यही हो घनश्याम ।”
फर्केर हेर्दा मेरा ती दुर्दिनहरू
साँच्चै अमेरिकाका यी रुख विरुवासँगको यो मेरो समागमबाट मलाई नूतन ज्ञानगुनका कुराले आप्लावित तुल्यायो, भावातीत बनायो । यसलाई मैले मेरो जीवनको एउटा असाध्यै सुन्दर पक्ष ठानिरहेछु । किनभने ती रुख विरुवासँग साक्षात्कार भएपछि मैले आफैतिर आफ्ना जीवनका विगतका दुर्दिनहरु सम्झन थालेँ । पिता पुर्खाले साँचेको नाम र ख्यातिले परिपूर्ण हाम्रो पारिवारिक व्यवसाय कृष्ण पाउरोटीले उज्यालो प्रकाशभित्र धमिलो छायाँबाट कसरी वर्षादी हुनुबाट त्राण पाउन सक्यो त्यस सम्बन्धमा छोटकरीमा प्रकाश पार्ने प्रयत्न गर्दैछु । जसरी शिशिर महिनामा रुख बिरुवा नाङ्गिन्छन् त्यस्तै जीवनको गोरेटोमा म कसरी वर्वादीको बाटोमा वर्षौं घिस्रिँदै पिस्रिँदै थिएँ त्यसलाई परम प्रभु परमेश्वरलाई साक्षी राख्दै इमानदारीसाथ प्रस्तुत गर्दा धृष्टता गरेको नठहरिएला ।
पिताजी कृष्ण बहादुर राजकर्णिकारले वि.सं. २००५ मा कृष्ण पाउरोटी भण्डार स्थापना गरी नेपालमा पहिलो पटक पाउरोटी बनाएर नेपालीलाई सर्वप्रथम पाउरोटी खान सिकाउनुभयो । यसरी नेपालमा पाउरोटी उद्योगका अग्रणी पिताजीले आफ्नो दक्षता र औकातअनुसार पाउरोटी व्यवसायमा संलग्न भई आइ परेका विघ्न, बाधा, अप्ठ्याराहरूका सामना गर्दै यसलाई जुन किसिमले निरन्तरता दिनुभयो त्यो धेरै ठूलो कुरा हो । अझ सबभन्दा ठूलो र महत्वपूर्ण कुरा त्यसबेलाको शून्यप्राय औद्योगिक वातावरणका पाउरोटी प्रति मानिसको अभ्यस्ता देख्ता पिताजीले रु. २०,०००।– पर्ने पाउरोटी मुछ्ने मेसिन भारतबाट नभई बेलायतबाट वि.सं. २०१५ सालमा झिकाउनुभयो । तर दैवको लिला अपरंपार ! एकवर्षपछि अर्थात् वि.सं. २०१६ सालमा बेलायतबाट उपर्युक्त मेसिन हाम्रो घर आँगनमा पनि आइपुग्नु दुःखको कुरा कालगतिले पिताजी परलोक हुनुभयो । बेलायतबाट आइपुगेको मेसिनबाट पाउरोटी बनेको उहाँले देख्न पाउनु भएन । पिताजीको शेषपछि उहाँका छोराहरु हामी चार दाजुभाइ (म कान्छो) कृष्ण पाउरोटी भण्डारमा तदारुखताका साथ संलग्न भयौं । अर्थात् उहाँ पिताजीको पद चिन्ह पैल्याउँदै यो व्यवसायलाई अगाडि बढाउँदै लग्यौँ । यसको उन्नति हुँदैगयो । यसको ख्याती कस्तोसम्म भयो भने २०१७-०१८ सालतिर राजा महेन्द्रले समेत कृष्ण पाउरोटी उपभोग गर्थे । राजाले खाने पाउरोटी भन्ने हल्लाले काठमाडौं व्याप्त थियो । हाम्रो यो व्यवसायलाई उन्नति गर्दै लग्न वि.सं.२०२१-०२२ मा हामीले दोस्रो पटक बेलायतबाट अरू थप मेसिनहरू झिकायौं । फलस्वरूप हाम्रो व्यवसाय उन्नतिको शिखरमा चढ्दै थियो, माग अनुरूप उत्पादन हुन सकिरहेको थिएन । त्यसैले वि.सं. २०२९ सालमा एन.आई.डी. बाट १६ लाख ऋण लिई जर्मनीबाट दैनिक प्रतिसिफ्ट १६ हजार पाउरोटी उत्पादन गर्न सक्ने अर्ध स्वचालित मेसिन झिकाउने तरखरमा हामी लागी प-यौँ । त्यसै बेला एक वर्षको लागि नेपाल सरकारबाट प्राप्त छात्रवृत्ति अन्तर्गत बेकरी सम्बन्धी तालिम लिन म जर्मनीमा गएँ । हाम्रो नयाँ परियोजना अनुरूप जर्मनीबाट १६ लाख जाने मेसिन झिकाउने कुरामा एकजना सञ्चालक सहमति नहुँदा उहाँ आफ्नो भाग लिई छुट्टिनुभयो । वि.सं. २०३०-३१ देखि नयाँ परियोजना र जर्मन मेसिनबाट उत्पादित कृष्ण पाउरोटीको ख्याति बढ्दै गयो, बजारमा एकाधिकार हुँदै गयो र यो क्रम २०४४-०४५ सम्म यथावत् रह्यो । यसै बीच हामी तीन पार्टनर मध्ये एक जनाको देहान्त हुन गयो । त्यसपछि उनका हकदार पार्टनरको रूपमा कम्पनीमा प्रवेश हुन्छ । तीनजना पार्टनर हुँदा कम्पनीको जुन साख र ख्याती थियो, नव पार्टनर प्रवेश हुँदा कम्पनीमा शिथिलता आउन थाल्यो । कृष्ण पाउरोटी झन्झन् फल्दै फुल्दै जानुपर्नेमा यसले एकपछि अर्को कुठाराघातको सामना गर्नु प-यो । नहुनु पर्ने कुरा भैछाड्यो भने झैँ लगत्तै कम्पनीको नवागान्तुक पार्टनरले वि.सं. २०४६ मा कम्पनीमा संलग्न नहुने भन्दै आफ्नो भाग मागे । कम्पनीको जायजेथालाई प्रचलित दररेट अनुरुप मूल्याङ्कन गर्दा कम्पनीले १५-१६ वर्षदेखि चिचीपापा गरेर कमाएका नगद, बैंक ब्यालेन्स सबै हकवाला नव पार्टनरलाई दिनुपर्ने भयो । यदि यसो नगरेमा भएका जायजेथा, मील मेसिन, नगद पैसा सबै तीन भाग गरी कम्पनीको अस्तित्व नै मेटाउनु पर्ने भयो । कम्पनीमा पर्न आएको यस्तो अशोचनीय कुठाराघातलाई हामी दुई पार्टनरले जसरी भए पनि कृष्ण पाउरोटीलाई बचाउन सल्लाह साउती ग-यौँ र पैसा भन्दा कम्पनीको नाम र ख्याति ठूलो र महत्वपूर्ण ठान्दै यसलाई मर्नबाट बचाउन कम्पनीमा भएका सबै रकम स्वाहा गरी नव पार्टनरलाई दिएर पन्छायौं । यसरी भएभरको नगद पुँजी नव पार्टनरलाई दिनुपर्दा त्यसैबेला अर्थात् वि.सं. २०४६ देखि कृष्ण पाउरोटीले शून्यबाट व्यवसाय सुरु गर्नुपर्ने स्थितिको सामना गर्नुप-यो । यस अघिको कम्पनीको जुन इमेज, साख थियो त्यसलाई घिस्रँदै पिस्रँदै येनकेन प्रकारेणा नाक थाम्दै थियौँ । यत्तिकैमा बाँकी भएका हामी दुई पार्टनरमध्ये एकको वि.सं. २०५३ मा देहान्त हुनगयो । लगत्तै उनका हकदार नव पार्टनरको कृष्ण पाउरोटीमा आगमन हुनु न्यायसंगत र स्वाभाविक थियो । अतः उसलाई कम्पनीमा संलग्न गराउनु मेरो स्वधर्म थियो र बिना हिचकिचाहट उसलाई कम्पनीमा विराजमान गराएँ । नव संचालकसँग न्यानो सम्बन्ध कायम गर्नु मेरो दायित्व थियो, भद्रता थियो । नवागन्तुकलाई हौसला र प्रेरणा दिन मैले प्रस्टसँग भनेँ– “तिमी कमर्स पढेको मान्छे जब कि म चाहिँ आर्टस पढेको, त्यसैले तिमीले कम्पनीको हरहिसाब सबै हेर्नू र मचाहिँ कम्पनीको व्यवस्थापनतिर हेर्छु ।” यसो गरी मैले आफूलाई जिउ सञ्चो, मन हलुङ्गो पारेँ । केही वर्षसम्म काम कुरो सहमतिमा राम्ररी चलिरह्यो । तर दिनहरु बित्दै जाँदा नवागन्तुक सञ्चालकको दिल, दिमागमा सुमतिको सट्टा कुमति पलाउन थालेछ । पुराना लेखापाललाई हटाई आफ्नो खटनपटन मान्ने नयाँ लेखापाल र कार्यालय सहायक राखिसकेको हुन्छ । अब कम्पनीमा चलखेल सुरु हुन्छ, हिसाबमा तलमाथि सुरु हुन्छ, पहिले पहिले नवागन्तुक सञ्चालकले मात्र रकम पोका पारेको हुन्छ । उसको क्रियाकलाप नव लेखापाल र नव कार्यालय सहायकले मात्र थाहा पाएको हुँदो रहेछ । अब ती दुई जनाले पनि कम्पनीको नगद लप्काउन र छप्काउन सुरु हुन्छ । यी कुरा कम्पनीको हिसाब हेर्ने सञ्चालकले थाहा नपाउने कुरै भएन । तर उसले आफैले समय समयमा लप्काउने हुँदा कम्पनीका ती दुई कारिन्दालाई कारवाही गर्ने कुरै भएन । कम्पनी झन्झन् खस्किँदै थियो, आम्दानीको ठाउँमा हानीमा डुब्दै थियो । म चाहिँ अनभिक्ष थिएँ । ‘हिस्स बूढी खिस्स दाँत’ हुँदै थिएँ । कम्पनीको डेबिट क्रेडिट भनिने हिसाबबाट म अनभिज्ञ थिएँ । कम्पनी झन् झन् डुब्दै जाँदा पार्टीहरुलाई दिनुपर्ने रकम दिन नसक्दा ऋणमा डुब्दै थियो । यसबाट आफूलाई मानसिक ग्लानी हुँदै थियो । नवागन्तुक हिस्सेदारसँग कुरा गर्दा ‘तपाईले धन्नै मान्नु पर्दैन, सबै मैले हेरिरहेको छु, काम गर्दा सँधै नाफा मात्र कहाँ हुन्छ र, तलमाथि भइरहन्छ, हानी हुनु पनि पैसाको दुई पाटो जस्तै एउटा हो’ भने जस्ता अर्ती उपदेश झार्दा आफूँ ‘किम कर्तव्य विमूढ’ हुनु बाहेक केही चारा थिएन । एवं रीतले १०–१२ वर्ष बिति सक्दा पनि मैले केही भेउ थाहा पाउन सकिनँ । केवल मनमा शान्ति थिएन तनमा कान्ति थिएन । केवल उद्यमी व्यापारीको थोत्रो बुई चढ्दै हिँडिरहेको थिएँ । एक दिन एउटा विवाह भोजमा एकजना व्यापारी मित्र मानन्धरजीसँग भेट भयो । विविध सामानहरु पठाएको र त्यसको भुक्तानी भइरहेको अनि उसलाई ५ लाख तिर्नु पर्ने देखाइएको थियो हाम्रो कम्पनीको हिसाब खातामा । मानन्धरजीसँग एक्ला एक्लै समझदारीपूर्ण कुराकानी हुँदै थियो । मैले उनका उधारा बिलहरु कुनै कस्ता कुनै कस्ता हुन्छ, कसरी तपाईबाट यतिका सामानहरु आएका भनी सोध्दा, उनले प्रस्टसँग भने– हेर्नुस् घनश्यामजी मैले ६–७ वर्ष अघि मात्र केही सामान पठाएको त्यसपछि केही नपठाएको र हाल लेनादेना केही नभएको प्रस्ट्याए । मेरो मनको कुनामा रहेको एउटा सानो शङ्कालाई दियोको रुपमा उसले अलिकति झङ्कृत तुल्याइ दिए । त्यस्तै केही महिनापछि बाटैमा एकजना व्यक्ति (नाम थाहा हुँदा हुँदै उल्लेख नगरुँ, केवल अस्पष्टताको खास्टो ओढ्न, आवश्यक भएमा त्यो खास्टो उघार्ने छु) सँग भेट भयो । उसले हाम्रो कम्पनीमा विक्रेताको रुपमा काम गर्थ्यो, उसबाट ६ लाख आउनु पर्ने देखाइएको थियो । उसलाई मैले सकेसम्म भद्रता देखाई अलि अलि गरी पैसा चुक्ता गर्न अनुरोध गरेँ । मेरो भद्रतालाई कदर गर्दै उसले मलाई यसरी जवाफ दिए । “हेर्नुस् सर मैले तपाईको (फलाना) पार्टनरसँग बसेर केही सहुलियत लिएर सबै पैसा उनलाई बुझाइसकेको छु भनी यथार्थ कुरा सुनाए । उपर्युक्त दुईओटा घटनाले ‘के खोज्छस् काना आँखा’ भै हाल्यो मलाई । यसैबेलातिर ‘सब कुछ लुटा के होस् मे आये तो क्या किया; दिल में अगर चिराग जलाये तो क्या किया’ (सबै लुटाएर होस्मा आयौ त के ग-यौ; हृदयमा यदि आगो बाल्यौ त के ग-यौ) भन्ने एउटा भावनामय हिन्दी फिल्म गीत कहीं कतै सुन्न पुगेछु । साँच्चै यो गीतले मेरो अन्तर्मनलाई झङ्कृत तुल्याइ दियो । अब कर्म क्षेत्रमा उतार्नु बाहेक ममा अरू केही चारा रहेन । मैले पनि टसमा मस नभई, एकजना स्तरीय लेखापाललाई मेरो आफ्नै खर्चमा कम्पनीमा हिसाब जाँच गराउन थालेँ । कम्पनीमा कस्तो कस्तो अनैतिक क्रियाकलाप भएको रहेछ – त्यो थाहा पाउँदा म छाङ्गोबाट खसे झैँ भएँ । लगत्तै कम्पनीमा नव सञ्चालकले राखेका दुवै जना कर्मचारीहरु आफू बच्न कम्पनी छाडी टाप कसे । अन्ततः नव सञ्चालक र उनका दुईजना कर्मचारी गरी तीन जनाले ‘तैँचुप मैँ चुप’ गर्दै कम्पनीलाई वर्वाद गरेको भेउ थाहा पाउन मलाई गाह्रो भएन । आखिर नव सञ्चालक सँग मनमुटाव र कचमच हुनु स्वाभाविकै थियो । हालसम्म ऊसँग मैले मुन्टो फर्काउनु बाहेक केही आधार भएन । तर अरु वर्वादीबाट म बचेँ , नयाँ ढंगले जीवन सुरु गरेँ । जीवन अनित्य भनेझैँ हारलाई हार स्वीकारेँ, नोक्सानीमा छाती पिटेर रुनु छाडेर शिशिर पछि वसन्तको आगमन अवश्य भावी ठानी, हाल वसन्तमा रमाइरहेको ठानेको छु मैले । यसलाई मैले मेरो जीवनको एउटा ठूलो पाठ र असाध्य सुन्दर पक्ष ठानिरहेको छु । साथै मेरी आमाले ५० वर्ष पहिले ‘घनश्याम तेरो जय हुन्छ’ भन्नु भएझैँ मेरो अहिले जय भइरहेको छ ।
निर्मल पानीबाट चिरशान्तिको कामना
न्युयोर्कमा छँदा एक दिन हामी दिनभरि म्यानह्याटन क्षेत्रको तल्लो भागतिर घुमफिर गरिरह्यौँ । यो क्षेत्रमा विशेष गरी लिटल इटली, चाइना टाउन, सिटी हल, वल्र्ड ट्रेड सेन्टर, ट्रिनिटी चर्च, वाल स्टिट, न्युयोर्क स्टक एक्सचेन्ज आदि पर्छन् । यी मध्ये दुई तीन-तीन चार ठाउँमा जाँदा नै दिन बितेको थाहै नहुने । सन् २००१ मा ध्वस्त पारिएको ट्विन टावर भएको ठाउँ जसलाई ग्राउण्ड जिरो वा नाइन इलेभन पनि भनिन्थ्यो, त्यहाँ अहिले दुई ओटा भव्य चारपाते पोखरीहरूको चारैतिरका पर्खाल जस्ता संरचनाबाट पानी तलतिर ओइरी रहने अझ भनूँ ती पोखरीहरूका चारैतिर ३।४ फिट अग्ला पर्खालहरू छन् र ती पर्खालहरूका भित्री भागका भित्ताहरूबाट पानी ओइरिरहेको दृश्यलाई म यहाँ लेखेर प्रस्ट पार्न असमर्थ छु । हालसम्म त्यस्तो पानी–पोखरी मैले कहीं कतै देखेको छैन । यस्तै यस्ता उत्सुकताका संरचनाहरू हुँदा न्युयोर्क मेरो लागि बलिउड नायिका ऐश्वर्यालाईभैmँ बिदा मनाउने उपयुक्त ठाउँ (ज्यष्मिबथ म्भकतष्लबतष्यल) भएको हो । मलाई लाग्यो ती दुई वटा पोखरीका पर्खालहरूबाट ओइरिरहेका निर्मल पानीबाट सन् २००१ को सेप्टेम्बर ११ मा भएको अकल्पनीय आव्रmमणमा परी दिवंगत भएका हजारौँ अशान्त आत्मालाई निश्चय नै चिर शान्ति दिइरहने छ । यो ठाउँमा पुग्दा म मात्र होइन मेरा जहान परिवार तथा त्यहाँ आइपुगेका अरु पर्यटकहरूका अनुहार अँध्यारा भइरहेको देखेँ मैले । विगतका घटनाक्रमलाई सम्झन खोज्दा मैले सम्झेँ– कट्टर मुस्लिम आतङ्कवादी सङ्गठनका नाइके नरपशु ओसामा विन लादेनको निर्देशनमा त्यहाँ भएका ११० तला अग्लो वल्र्ड ट्रेड सेन्टरको जुम्ल्याहा भवनको माथिल्लो तलाहरूमा दुई वटा आत्मघाती विमानहरूले ठोक्काएर ध्वस्त पारेका थिए । त्यो निर्दयी तथा कायरतापूर्ण आक्रमणले ती दुई वटा भवनहरूमा कार्यरत मानिसहरूमध्ये पाँच हजारभन्दा बढी मानिसले आफ्ना अमूल्य जीवन गुमाए । न्युयोर्कको त्यस्तो महत्वपूर्ण व्यापारिक ठाउँमा कुनै भवन नठड्यायी आज त्यहाँ ती दिवंगत आत्माको चिरशान्तिको लागि निर्मित हरसमय भित्र–भित्र पानी छचल्किरहने आधुनिक सुन्दर पोखरीहरू देख्दा म गदगद भएँ र यसको लागि अमेरिकाली जनमानसलाई धन्यवाद दिँदै थिएँ । त्यसबेला त्यतातिर चहार्दा चहार्दै दिनभरि सुतुक्क बितेको हामीले चालै पाएनौँ र साँझतिर अबेर होटलमा पुग्दा हामी सबै थाकेर लखतरान भयौँ ।
आफू खुसी घुमाइ
त्यस्तै एक दिन न्युयोर्कको मिड टाउन तिर हामी घुम्दै फिर्दै थियौँ । घुम्दाघुम्दै त्यतैतिर रहेको इम्पायर स्टेट बिल्डिङमा ट्वाक्क पुग्यौं । न्युयोर्क सहरलाई बिहङ्गम दृष्टिले अवलोकन गर्न जो कोही पर्यटक यहाँ एक पटक पुग्नै पर्ने हुन्छ । यहाँको ८६ औँ तलामा रहेको दृश्यावलोकन बार्दलीमा लिफ्टबाट ३।४ मिनेटमै पुगी त्यहाँबाट न्युयोर्क सहरलाई हेर्न उत्सुक पर्यटकहरूको घुइँचो पहिलेदेखि अहिलेसम्म यथावत छ । आजभन्दा ९ वर्ष पहिले न्युयोर्क पुग्दा हामीले ग्रेलाइन कम्पनीले साइटसिइङ टूरबाट त्यहाँको दृश्यावलोकन गरेका थियौँ । त्यसबेला हामीलाई इम्पायर स्टेट बिल्डिङमा पनि लगेको थियो । तर त्यसबेला हाम्रा टूर गाइडले इसारा दिनासाथ हामी पर्यटकहरू लुत्रुक परी फर्कनु पर्थ्यो । तर अहिले हामी आफूखुसी घुमिरहँदा हामीलाई कुनै किसिमको समयावधि थिएन । त्यसैले इम्पायर स्टेट बिल्डिङको चक्कर लगाउँदा त्यहाँको एउटा तलामा रहेको सानो हलमा देखाइने फोर–डी सिनेमा पनि हेर्ने रहर ग-यौँ । थ्री–डी सिनेमा त हामीले पहिल्यै हेरिसकेका थियौँ । तर फोर–डी सिनेमा कस्तो हुन्थ्यो हामीलाई थाहा थिएन । अनुभव र अनुभूतिको लागि भए पनि यस्तो फिल्म हेर्नु पर्ने महसुस मैले पनि गरेँ ।
अचम्म लाग्दो फोर–डी सिनेमा
फोर–डी सिनेमा अचम्म लाग्दो हुँदो रहेछ । यो सिनेमा सँगसँगै आफू पनि सहभागी भइरहेको भान पर्दोरहेछ । यस्तो फिल्म देखाउने हल विशेष प्रकारले बनाइएको हुन्छ, जहाँ बस्ने मेच आवश्यकतानुसार दायाँ वायाँ अगाडि पछाडि हल्लाउन हुने भई फिल्मले मागे अनुसार दर्शकलाई पनि हल्लाइ दिने रहेछ । त्यस्तै ठाउँ ठाउँमा पानी छर्कने र हावा फ्याँक्ने पाइपहरू छन् जसबाट फिल्ममा पानी पर्दा, हुरिबतास आउँदा दर्शकहरूलाई पनि पानी छर्ने, बेस्सरी हावा फ्याँकेर आक्रान्त पार्ने रहेछ । फिल्म हेर्न अघि यस्ता कुराहरू केही थाहा नहुँदा निकै रोमाञ्चित र अचम्मित हुनु स्वाभाविकै हो । अब हामीले हेरेको फिल्मको पहिलो दृश्यको उदाहरण प्रस्तुत गर्दछु । फिल्म सुरु हुन हलमा झ्याप्प बत्ती निभ्छ, हलको अँध्यारा भित्ताहरूलाई फिल्ममा देखेझैं जलमग्न पारिएको हुन्छ र हामी दर्शकहरू चाहिँ ढुङ्गामा बसेझैं बिस्तार–बिस्तार हल्लिँदै छौँ, मानौँ समुद्रबीच हामी ढुङ्गा चढिरहेका छौँ । हाम्रा दायाँ वायाँ समुद्रमा साना ठुला माछाहरू चलबलाई रहेको देख्दा हामी सबै रमाइ रह्यौं । यत्तिकैमा अपर्झट दुई तीन वटा स–साना मोटर बोटहरू बेतोडले हामीतिर हुइँकेर आइरहँदा हामी अतालिन्छौँ र कोही कोही कराउँछन् पनि । हामीसँग ठक्कर खानै लाग्दा मोटर बोटले स्वाट्ट छलेर मोडेर जाँदा हामी बल्ल बल्ल बाँचेको अनुभव गर्छौं । केही बेरपछि समुद्रमाथि अर्थात् हामी बसेको हलमाथि कालो बादल छाउँछ र सिमसिम पानी परेको देखाउँदा हलमा जडित पानीका पाइपहरूबाट पानीको हल्का फोहरा हामीलाई छ्याप्दा हामी पानीमा रुझ्छौं र साँच्चै पानी परेको हामी अनुभूत गर्छौं । अब हावा हुरी चल्छ, हलमा जडित पाइपका प्वालहरूबाट हावा फ्याँकिँदा मानौँ हामी दर्शकहरू समुद्रको हावाहुरी पानीमा परेको अनुभूत गर्छौं । हलका दर्शकहरू विशेष गरी तरुनी केटीहरू कराइदिँदा हलमा एकछिन झलमल बत्ती बालिदिन्छ र चारैतिरबाट प्रसन्नता र हाँसोका स्वर घन्किन्छन् । यसरी हलको अन्धकार कोठा समुद्रमा परिणत भएजस्तो हुने, फिल्मले मागे अनुसार मेचहरू हल्लाइ दिने, पाइपहरूबाट पानीको फोहरा खोलिदिने, कृत्रिम हावाहुरी मच्चाइदिने जस्ता सम्पूर्ण काम हलभित्रै भइदिँदा फोर–डी फिल्मको करामत हामीले राम्ररी अनुभूत
ग-यौँ ।
टाइम्स स्क्वायर
न्यूयोर्कमा मेरो आकर्षणको केन्द्रविन्दु टाइम्स स्क्वायर पनि हो । यो ठाउँ अर्थात् सहर बजारलाई राम्ररी छाम्नु, हेर्नु र सुँघ्नु मेरो नैसर्गिक चाहना थियो र हो पनि । न्युयोर्कको छैठौं र नवौं एभिन्युको बीचमा अर्थात् चालिसौं र त्रिपन्नौं सडकमा अवस्थित टाइम्स स्क्वायरमा एक पटक पुग्दा मलाई फेरि–फेरि जान मन लाग्छ । न्युर्योक घुम्न आउने जो कोही पर्यटक एक पटक भए पनि टाइम्स स्क्वायरमा आउनै पर्छ, आएकै हुन्छ । साँझ पर्दै आएपछि त्यहाँको दृश्य चम्किला नियन लाइटबाट सुसज्जित आधुनिक विज्ञापन पाटीहरूको रौनकताले गर्दा जो कोहीलाई मन्त्रमुग्ध नपारी छाड्दैन । संसारका आधुनिक सहरहरूमध्ये टाइम्स स्क्वायर अग्रपंक्तिमा पर्दछ भन्नुमा अतिशयोक्ति हुनेछैन । त्यसैले होला यहाँ प्रत्येक दिन प्रत्येक क्षण संसारका विभिन्न क्षेत्रबाट आएका पर्यटकहरू मनग्य हुन्छन्, यथेष्ट देखिन्छन् । हाम्रो ६ दिनको न्युयोर्क बसाइमा यतातिर हामी २-३ पटक घुमफिर गर्न आइपुगेका थियौँ ।
टाइम्स स्क्वायरतिर एक दिन घुम्दै थियौँ । त्यसैबेला एक हुल युवायुवती हामी भएकै ठाउँतिर आई चिरविर चिरविर कराउँदै फटाफट फोटाहरू खिच्दै रमाइरहेका थिए । तिनीहरू सुरिलो भाषामा रमाउँदै गरेका सुन्दा थाइहरू हुन् भन्ने मैले यकिन गरेँ । हुन त थाइ भाषा म बुझिदनँ तर बैङ्ककमा तीन चार पटक गइसकेको र त्यहाँ केही दिन बसिसकेको हुँदा तिनीहरूका बोलीबाट मैले अड्कल लगाएको थिएँ । थाई भाषाको स्वरलाई एकछिन मजाको लागि गिज्याएर भन्नुपदर्जा कताकता मलाई ‘म्याँ…प्याँ…च्याँ च्याँ….’ भनेजस्तो लाग्छ । जे होस् ती युवायुवतीहरू रमाउँदै, कराउँदै उत्फुल्ल भएर चलबलाइरहेका देख्दा मलाई ज्यादै हिसी लागिरह्यो र मेरो जवानीमा एक पटक गोकर्णमा पिकनिक जाँदा यसै गरी कलेजका साथीहरूसँग फोटा खिचेका क्षण सम्झेर म आफैं त्यहाँ रमाइरहेँ ।
कलकलाउँदा युवतीको माग्ने चाला यतातिर घुमफिर गर्दा गर्दै मानिसहरूको चहलपहल भएको एउटा खुला ठाउँमा तीन जना सलक्क जिउडाल भएका, हिसी लाग्दा, कलकलाउँदा युवतीहरू हातमा माइक लिँदै हाँस्दै मस्किँदै समूह गीत गाइरहेका थिए । मानिसहरू तालमा ताल मिलाएर झुमिरहेका थिए । त्यहाँको त्यो रूपरङ्ग देख्दा कताकता यौन उन्मुक्त गीत गाइरहेका होलान् जस्तो लाग्यो यद्यपि त्यो गीतको भेउ मैले पाउन सकेको थिइन । भुइँमा खासता जस्तो खपडा ओछ्याइएको थियो । त्यहाँ डलरका डलर बर्सिरहेका थिए । पछि थाहा पाएँ तीन युवतीहरू गाउन सिपालु गायिका नभई मगन्ते रहेछन् र भद्दा किसिमका यौन गीत गाएर पैसा झारिरहेका रहेछन् । हेर्दा सक्षम कलकलाउँदा युवतीहरूले अरू काम नगरी यसरी माग्ने काम गरिरहेको देख्दा म तीन छक्क परेँ । हुन त अमेरिकामा माग्ने कामलाई पनि मानव अधिकार ठान्छन् र सक्षमहरू पनि निःसङ्कोच माग्ने गर्छन् । पहिलो पटक अमेरिका आउँदा नै विभिन्न तरिकाले माग्नेहरू मनग्य देखिसकेको थिएँ र तीमध्ये केही मेरो ‘यात्रा अमेरिकाको माया नेपालको’ मा उल्लेख गरिसकेको छु ।
चकित पार्ने यौन रात्री जीवन
टाइम्स स्क्वायर घुम्ने उपयुक्त समय नै साँझ परेपछि रहेछ । त्यस बेला यहाँका झिलिमिली बत्तीले सुसज्जित ठाउँहरू मानौं सिङ्गार पटारले शोभायमान नव दुलही आफ्ना दुलाहा राजाको पर्खाइमा मुस्कुराइरहेकी छिन् । यो ठाउँ मोजमस्ती, खेलतमासा, जुवाघर, डान्सबार, रात्रीजीवन, यौनाचारको लागि विश्व प्रसिद्ध रहेछ । यतातिर साँझतिर घुम्दा यहाँको चमक दमक, झकिझकाउ र महँगा चीजवस्तु देख्दा म हुनसम्म अचम्भित भएको थिएँ । यतातिर छेउ लागेर हिंडिरहँदा दायाँ वायाँ, अगाडि पछाडि युवायुवतीहरू आ–आफ्ना मस्ती गर्दै हाँस्दै, कराउँदै, रमाउँदै फुर्तीसाथ चलबलाइरहेका देख्दा कतै यहाँ बूढाबूढीहरू आउने ठाउँ होइन कि जस्तो लाग्यो । घुम्दै फिर्दै एक ठाउँमा तरुनी केटीहरू मुसमुसाउँदै टिकटहरू बेचिरहेका देखेँ । त्यहाँको झकिझकाउ युक्त साइनबोर्डमा आँखा ठोक्किंदा देखेँ नाङ्गा युवायुवतीबीच प्रत्यक्ष यौनक्रिया । यो देख्दा म जस्तो ७५ वर्षे बूढो अक्क न वक्क छक्क हुनु स्वाभाविकै थियो । त्यस्तै पुस्सीक्याट नामको एउटा सानो चिटिक्क परेको हलमा अविरल यौनाचार फिल्महरू देखाइने रहेछ । छक्क पर्दै अघि बढ्दै जाँदा फेरि देखेँ नाङ्गा गीति नाटक तथा अत्युतम यौन नाच तथा नाङ्गा जापानीज संगीत मण्डली जस्ता चम्किला साइनबोर्डहरू भएका ठाउँहरूमा टिकट किन्न उभिइरहेका मनुवाहरू देख्दा मलाई पनि सहभागी हुन उत्सुकता नभएको होइन । यस्तै यस्ता साइनबोर्ड हरूको दिग्दर्शनले मात्र पनि टाइम्स स्क्वायर भन्ने ठाउँ रङ्गिन रात्री जीवन बिताउन सर्वोत्तम ठाउँ हो भन्ने कुरामा ढुक्क हुन सकिन्छ । यस्ता उस्ता विविध थरिका मोजमस्ती गर्ने ठाउँका अलावा यो क्षेत्र ठूल्ठूला स्तरीय व्यापार व्यवसायको लागि पनि निकै प्रख्यात रहेछ । संसारमा पाइने महँगा स्तरीय सरसामानहरू यहाँ छ्यापछ्यापती पाइन्छ । त्यहाँको प्रत्येक पाइलामा मलाई कस्तो लागिरह्यो भने कछुवाको चालमा पैसा आम्दानी गर्ने मानिस यदि खरायोको चालमा खर्च गरेर आफूलाई बरबाद पार्नू छ भने उसको लागि यो टाइम्स स्क्वायर सर्वोत्तम ठाउँ हो ।
आमा नेपाल थरथराउनु भयो, काम्नु भयो
न्युयोर्कको हाम्रो ६ दिनको प्रवासमा कहिले हामी हिंडेर, कहिले ज्वाइँको गाडीमा हुइँकिएर त्यस्तै कहिले सबवे ट्रेन चढेर ठाउँ ठाउँमा घुमेका थियौँ । नौ वर्ष अगाडि न्युर्योक घुम्न आउँदा दृश्यावलोकन सफरमा गाइडले घुमाएका ठाउँहरू मध्ये केही जस्तै अमेरिकाको वित्तीय राजधानी वालस्ट्रिट, स्ट्याच्यु अफ लिबर्टी, संसार प्रसिद्ध रकफेलर सेन्टर, भव्य सेन्ट्रल पार्क आदि ठाउँहरूमा पनि फेरि घुम्न गएका थियौँ । तर जे होस्, न्युर्योक जस्तो भव्य आधुनिक विशाल सहरमा ६ दिन घुमेर हेर्नु भनेको ‘ल्हासामा सुन छ मेरो कान बुच्चै’ भनेझैं हो भन्दा ठिक पर्ला कि ? किनभने न्युयोर्कको हाम्रो ६ दिनको बसाइँमा यहाँका धेरै ठाउँमा जान नसक्नु र यहाँको बारे केही सीमित कुरा मात्र थाहा पाउनु भनेको ‘हात्तीको मुखमा जिरा’ समान हो । तैपनि ‘नहुनु मामा भन्दा कानो मामा निको’ भनेझैं यहाँ केही दिन बसेर घुमेर ६ दिनपछि हाम्रो आफ्नो बासस्थान मेरिल्याण्डतिर फर्किरहँदा हामी प्रफुल्ल थियौँ, सन्तुष्ट थियौँ, हँसिलो थियौँ । त्यसपछि अमेरिकामा हाम्रो बस्न बाँकी ५–६ दिन मेरिल्याण्डतिर बसोबास गरिरहेका केही नेपाली बन्धुहरूसँगको भेटघाटमा बितायौँ । जे होस् जुन उद्देश्य लिएर हामी जोईपोइ दोस्रो पटक अमेरिका गयौँ त्यही रूपमा हामी त्यहाँ पुग्यौँ, बस्यौँ, घुम्यौँ, मायाप्रीति साटासाट ग-यौँ र अमेरिका पुगेको २१ औँ दिनमा छोरी, ज्वाइँ, नातिनीसँग विदावारी भई २०७२ साल वैशाख १० गते हामी जोईपोइ नेपाल आमाको काखमा बस्न आइपुग्यौँ । तर विधिको विडम्बना अपरम्पार हो । हामीलाई के थाहा नेपाल आमाको काखमा बसेको पर्सिपल्ट दिउँसो पौने १२ बजे आमालाई ठूलो घातप्रतिघात पर्छ भनेर । लगत्तै उहाँ थरथराउनु भयो, काम्नुभयो, छटपटाउनु भयो अनि निमेषभरमै उहाँका हजारौँ सन्तानहरू घरबारविहीन हुन पुगे, हजारौँ सन्तानहरूले अन्तिम सास फेरे अर्थात् मेरो प्यारो राष्ट्र नेपालमा २०७२ साल वैशाख १२ गते दिउँसो १२ बजेतिर महा कम्पन छायो, महा भूकम्प आयो । नेपाल र नेपालीको लागि ठूलो सङ्कट आइ लाग्यो । तैपनि हामी अडिग भइरह्यौं, सहिरह्यौंअनि युगकवि सिद्धिचरण श्रेष्ठको कविता सम्झिरह्यौं;
सङ्कट पर्दछ मानिसलाई ढुङ्गालाई के पर्छ ।
असिना आई फूलबारीकै फूलहरू पहिले झार्छ ।।
०००
लेखक परिचयः घनश्याम राजकर्णिकार नेपाली नियात्रा साहित्य जगतका सिध्दहस्त प्रतिभा हुन् । विसं २०२४ सालमा ‘मिलनको क्षण’ एकाङ्की प्रकाशित गरेर साहित्यमा पाइला टेकेका उनको पहिलो कृति “केही चिन्तनःकेही मन्थन”(२०३५) बिबिध गद्यको सङ्गालो थियो भने नियात्रा कृति “विदेशको यात्राःस्वदेशको सम्झना”(२०३७) सर्वाधिक चर्चित कृति हो उनको । “देश प्रदेशको भ्रमणःकेही संस्मरण”(२०४३), “सम्झनाको लहरमा लहरिंदै जाँदा”(२०५२), “बौध्द तीर्थयात्राःनालन्दादेखि लुम्विनीसम्म”(२०६०), “पवित्र सम्झनाः आमाको”(२०४९) उनका प्रमुख संस्मरणात्मक तथा नियात्रात्मक कृतिहरु हुन् । काठमाडौंको कमल पोखरीमा जन्मेका उनी सोहीस्थानमा बसोवास गर्छन् ।