दिल्लीको दैलो (नियात्रा)

नियात्रा

प्रा.डा. कपिल लामिछाने

“गाडी आउन्जेल एक कप चिया खाऊँ कि ! रेलको चियामा कुनै स्वाद थिएन ।” हामी चिया पसल खोज्दै थियौँ । गाडीले हामीलाई मूल द्वारनेर पर्खेर बसेको खबर आयो । चिया नखाई लघुवाहनभित्र पस्यौँ । अब कहाँ जाने कताबाट जाने भन्ने चिन्ता रहेन । “पर्याप्त विकास भएर पनि कति हरियो हगि दिल्ली ।” मैले सहयात्रीतिर हेर्दै भनेँ । उहाँहरू मुसुक्क हाँस्नुभयो ।

मैले ज्याकेटको चेन खोलेँ । पुसको ५ गते बिहान १० बज्दा पनि जाडो खासै थिएन । ‘व्यर्थै जाकेट बोकिएछ ।’ म सोच्दै थिएँ । हामी भरखर नयाँ दिल्लीस्थित रेलवे स्टेसन छाडेर बाहिर निस्केका थियौँ । हामी अर्थात् देवी नेपाल, डीआर घिमिरे र म । उहाँ अर्थात् सीता अधिकारी प्रवासी नेपाली संघ भारतका उपाध्यक्ष ।

दुईचार घुम्ती काटेर लघुवाहन (कार) इन्द्रजीत मार्ग, रोज एभेन्युस्थित हरकिशन सिंह सुरजीत भवनको प्राङ्गणमा पुगेपछि सीताजीले भन्नुभयो, “सर, हजुरहरूको बास यहीँ हो । कार्यक्रम पनि यहीँ हुन्छ । खाना तयार हुँदैछ । फ्रेस भइहाल्नुस् ।”

भवनका वरिपरि बडा बडा रुख थिए, बगैँचा थियो । प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायणप्रसाद हुमागाईं कलकत्ताबाट आइपुग्नुभएको थियो । भारत प्रवास प्रभारी (इन्चार्ज) हरिप्रसाद घिमिरे पन्जाब र सचिव डम्बर रावल महाराष्ट्रबाट आइपुग्नुभएको थियो । उहाँहरू त्यहीँ तयारीमा जुट्नुभएको देखेँ । हुमागाईंसँग यसअघि भेटघाट र परिचय भएको थियो भने अरूसँग पहिलोपटक चिनापर्ची भयो, मेरो । हरिप्रसाद घिमिरे र डीआर घिमिरे आफन्त हुनुहुँदो रहेछ । यहीँ आएर थाहा भयो । “म त धेरैलाई चिन्छु ।” । देवी नेपालले भन्नुभयो ।

हामीलाई सुलुक्के (लिफ्ट) बाट माथि दोस्रो तलामा लगियो । कोठा नम्बर तीनमा हामी तीनको तीन दिन बास हुने भो । कोठा सफासुग्घर थियो । नुहाउनका लागि तातो र चिसो पानी, खानका लागि खाने पानी र तताउने बिजुली जग, चियापत्ती, कफी, चिनी, कप, प्लेट, गिलास आदि आवश्यकताका वस्तु त्यहीँ थिए । अरू के चाहियो ! चिया, कफी खाएर नित्यक्रियातर्फ लाग्यौँ ।

नित्यक्रिया सकेर हामी १ बजेतिर भुइँतलामा झर्यौँ । पाकशाला भुइँतलामा रहेछ । बाहिर पटाङ्गिनीमा खाना तयार थियो । खाने पनि तयार थिए । ध्रुव पाठक सहित नौजना कलकत्ताबाट आएका साथीहरू भेटिए । कोही मध्यप्रदेश, कोही महाराष्ट्र, कोही राजस्थान, कोही पन्जाब, कोही असम, कोही नागाल्यान्ड, कोही सिक्कम र कोही दार्जिलिङबाट जुटेका थिए । कोही साँझसम्ममा आइपुग्ने सूचना आएको थियो । काशीबाट दिवाकर प्रधान र मेघालयबाट तिल विक पनि साँझ अबेलामात्र आइपुग्ने रे । हामीले आफूखुसी खाना खायौँ । खाना स्वादिष्ट लाग्यो । भोक मिठो । परिकार झन् मिठा ।

खाना खाएर हात पुछ्दै थियौँ । सीताजीले भन्नुभयो, “यो भवन हरकिशन सिंह सुरजीतको स्मृतिमा बनाइएको हो । पन्जाबको जालन्धरमा २३ मार्च १९१६ मा जन्मनुभएका हरकिशन सिंह १९३६ मा भारतीय कम्युनिस्ट पार्टीमा सामेल हुनुभयो । १९९२ देखि २००५ सम्म उहाँ भाकपाका महासचिव र १९६६ देखि २००८ सम्म पोलिट ब्युरो सदस्य रहनुभएको थियो । २००८ अगस्तमा उहाँको निधन भयो । यो पार्टीको भवन उहाँकै नाममा बनेको हो ।”

भारतीय कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हरकिशन सिंहका बारेमा सुनेको थिएँ । तर यति धेरै जानकारी थिएन ।

हामी बसेको तलालाई दोस्रो तला भनिएको भए पनि हामीले हेर्दा तेस्रो र भुइँमुनि (अन्डरग्राउन्ड) को तला समेत गन्दा यो चौथो तला थियो । तलामा तल र माथि गर्न तीनवटा सुलुक्के (लिफ्ट) छन् । हामीले पूरै अवलोकन निरीक्षण गरेर धेरै कुरा थाहा पायौँ । हामी बसेको तलामा केही अतिथि कक्ष र एउटा सभाकक्ष (सेमिनार हल) छ भने हामी बसेको तलाभन्दा माथिल्लो तलामा सुविधासम्पन्न प्रेक्षागृह (एडिटोरियम हल) पनि छ । यही प्रेक्षागृह र भवनमा प्रवासी नेपाली संघको आयोजनामा भोलि र पर्सि दुई दिन प्रथम साहित्य महोत्सव हुने भएको छ ।

हामी दरभङ्गा-नयाँ दिल्ली रेलमा गोरखपुरबाट हिजो साँझ चढेका थियौँ । रेल गोरखपुर दिउँसो २.२० मा आइपुग्नुपर्नेमा साँझ ४.३० मा मात्र आएको थियो भने नयाँ दिल्ली भोलिपल्ट बिहान ४.०० बजे पुग्नुपर्नेमा ९.४५ मा पुगेको थियो । रेलले ढिलो पुर्याउने आशङ्काले नै हामी छिटै हिँडेका थियौँ ।

कार्यक्रम भोलि बिहानबाट हुने भएकाले खाना खाएपछि हामीसित केही समय रहन गयो । “निक्लौँ घुम्न ।” देवी नेपालले भन्नुभयो । मलाई पनि यस्तै लागिरहेको थियो । केही महिनाअघिमात्र हप्ता दिन दिल्ली घुम्नुभएको नेपालका पाइला अघि लागे । हामीले उहाँका पाइला पछ्यायौँ । कलकत्ताबाट आउनुभएको राजु पाठक, आशा लुइटेल, शिबु सापकोटा, भरतप्रसाद ढुङ्गाना, रचना अधिकारी, सन्तोषी सिंह पनि सँगै हुनुभयो । सन्तोषी सिंहले लाहुरेले झैँ क्याप टोपी दाहिने ढल्काएर लगाउनुभएको थियो ।

इन्द्रजीत मार्ग, रोज एभेन्युको फराकिलो सडक पूरै ढाकेर हाट लागेको थियो । मैले सडक जाम गरेर हडताल गरिएको हो कि भन्ठानेँ । हामीकहाँ विरोधका लागि काउली, गोलभिँडा, दुध सडकमा फाल्ने गरेको देखेका हौँ । पत्रकार डीआर घिमिरेले जिज्ञासा राख्नुभयो, “हँ ! दिल्लीमा पनि सडकमै हाट ?” मैले एक व्यापारीलाई सोधेँ । उनले सामान मिलाउँदै भने, “यहाँ हरेक शुक्रबार यस्तै बजार लाग्छ ।” करिब पाँच छ सय मिटर हाटले भरिएको थियो । हाटमा थरी थरीका तरकारी, फलफूल, लत्ताकपडा, खाद्यान्न, चिया जलपान, घरायसी अन्य सामानका पसल लागेका थिए । कसैसित ठेला थिए । कसैले भुइँमै सामान फैलाएका थिए । बेच्ने, किन्ने र हेर्नेहरूको हुलले बाटोमा खुट्टा राख्ने ठाउँ थिएन । दुईतीन ठेलाबाट अम्बाले हामीलाई हेरे जस्तो लाग्यो । ‘भरे फर्किँदा लिनुपर्छ ।’ मैले सोचेँ । हामीले जसोतसो हाट छिचोल्यौँ । अटो समातेर कमला मार्केट हुँदै मेट्रो स्टेसन पुग्यौँ र पुरानो दिल्ली जान मेट्रो चढ्यौँ । मेट्रोमा हुइँकिइरहँदा हाम्रा काठमाडौँ, पोखरा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, बुटवल-भैरहवामा यस्तो मेट्रो कहिले चल्ने होला भनेर म सोच्दै थिएँ, चाँदनी चौक आइपुगेछ ।

“यो पुरानो दिल्लीको एक प्रमुख व्यस्त बजार हो ।” देवी नेपालले भन्नुभयो । हामीले टाउको हल्लायौँ । राजस्थान जाने सिलसिलामा मैले यहाँ केही समय बिताएको थिएँ । गत दुई वर्षमा तीनपटक पन्जाब जाँदा पनि यही बाटो भएर गएको थिएँ । बजार बजार घुम्ने मौका भने परेको थिएन । बाक्ला घर । बाक्लै बस्ती । साँघुरा गल्ली, फराकिला सडक र पसलभरि मान्छेको बाक्लो उपस्थिति । रैथाने, व्यापारी, ग्राहक र पर्यटकले गर्दा जताततै भिडभाड र ठेलमठेल । सास फेर्न पनि मुस्किल ।

बजार घुमेपछि थाहा पाइयो, किन्न नजाने ठगिन्छ, यहाँ । तीनमा दिन मिल्ने – दिन सकिने सामानलाई तेह्र भन्दा रहेछन्, व्यापारी । म मोलतोल वा घटाघट गर्न हिचकिचाउँछु । डीआर घिमिरे घटाघटमा पोख्त हुनुहुँदो रहेछ । बुटवल भैरहवामा सँगै भएर पनि यो गुणबाट म अनभिज्ञ रहेछु । देवी नेपाल पनि दङ्ग । भाउताउ नमिलेर हिँडेका ग्राहकलाई तानी तानी फर्काइँदो रहेछ । पसलतिर ताक्यो कि पस्नैपर्ने, पस्यो कि लिनैपर्ने पार्दारहेछन्, खप्पिस व्यापारी । उदाहरणका लागि बत्तिस सय भनेको कोट अन्तमा अट्ठार सयमा पायौँ, हामीले ।

चाँदनी चौक बारेको जिज्ञासामा घिउ थपिएको थियो । एक फुर्सदिलो व्यापारीलाई सोधेँ । उनीबाट थाहा भयो, चाँदनी चौक लाल किला बनेको दुई वर्षपछि सन् १६५० मा बनेको हो । यसमा पन्ध्र सय साठी पसल बनाइएको तथा चार कुने आकृतिको यस बजारको बिचमा रहेको पोखरीमा जुनेली रातमा जून चम्किने हुनाले यस बजारको नाम चाँदनी चौक रहन गएको हो । त्यो पोखरी अहिले कहाँनेर छ भनेर सोधिनँ । नजाने गाउँको बाटो नसोध्नु भन्छन् ।

यहाँ हिन्दु मन्दिर र गुरुद्वारा रहेछन् । किनमेल गर्ने, खाने पिउने, दर्शन गर्ने र घुम्ने ठाउँ पनि प्रशस्त रहेछन् । मानिसहरूको ठुलो चहलपहल थियो ।

चाँदनी चौकको हुलमुलले गर्दा कलकत्ते साथीहरू कता पर्नुभयो कता । यता उता, अघि पछि खोज्यौँ । देखेनौँ । जता परे पनि पुग्ने लाल किला नै हो भनेर हामी पनि लाल किलातिर लम्कियौँ । एकै छिनमा लाल किलामा साथीहरू भेटिनुभयो । सन्तोषी सिंहको टाउकोमा क्याप टोपी थिएन । हुलमुलमा हरायो रे । लगाउँदै खस्ला खस्ला जस्तो थियो ।

भव्य रहेछ, लाल किला । किला अरबी शब्द हो, जसको अर्थ प्रतिरक्षाका लागि बनाइएको गढी, गढ वा दुर्ग हुन्छ । किलाको नेपाली उच्चारण भने किल्ला हो । “पश्चिम किल्ला काँगडा …” धेरैचोटि गाएकै छौँ । विशाल र फराकिलो ठाउँमा रातो पत्थरले बनेको छ, यो लाल किला । हामी हतार हतार टिकट काटेर भित्रियौँ । भित्र पसेपछि थाहा भयो, यहाँ धेरै प्रासाद रहेछन् । धेरै घर, राजगृह, सभागृह, सङ्ग्रहालय, बगैँचा, खेलमैदान, किला भनिए पनि यो किल्ला नभएर प्रासाद समूह पो रहेछ ।

लाल किलाको बनावट र वास्तुकला गजबको छ । शिलालेखबाट केही तथ्य थाहा पायौँ । मुगल सम्राट् शाहजहाँले बनाउन लगाएका हुन् । यो किला बनाउन सन् १६३८ देखि १६४८ सम्मको दस वर्ष लागेको हो । यमुना नदीको तटमा करिब २५० एकड भूमिमा फैलिएको यस किलाभित्र विभिन्न विशाल भवनहरू छन्, जसको आआफ्नो ऐतिहासिक विशेषता रहेको छ । माझमा एक विशाल सङ्ग्रहालय पनि छ । सङ्ग्रहालय घुम्न धेरै समय लाग्ने देखियो । त्यति समय हामीसँग थिएन । बाहिरबाट हेरेर चित्त बुझायौँ । लाल किलाभित्र पसलहरू पनि छन्, अलि महँगा । पर्यटक केन्द्रित । नेपालका झोला, पस्मिना जस्ता सामग्री पनि पाइँदा विक्रीमा देखेर खुसी थपियो ।

मुगल सम्राट्हरूले करिब दुई सय वर्षसम्म शासन चलाएको यो किल्ला त्यतिखेर शक्ति र सत्ताको केन्द्र थियो । यहाँ मुगलकालीन वास्तुकला, कल्पनाशीलता, सिर्जशीलता र सौन्दर्यको अनुपम उदाहरण देख्न पाइन्छ । मुगल बादशाहले थुपारेको खजाना यहाँबाट अङ्ग्रेजले ओसारे भनिन्छ । भारत स्वतन्त्र भएपछि पहलोपटक यहीँबाट भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले सम्बोधन गरेको इतिहास छ । यसपछि यो सैनिक प्रशिक्षण केन्द्र बन्यो । सन् २००७ मा यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएपछि भने यो एक प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । अहिले पनि राष्ट्रका महत्त्वपूर्ण सम्बोधनहरू यहीँबाटै हुने गरेको पाइन्छ । थरी थरीका जिज्ञासु अनुहारको जीवन्त प्रदर्शनी लागेको छ, यहाँ यतिखेर । आर्य, मङ्गोल, द्रविड, नेग्रो, काला, गोरा वर्णका अनुहार क्लिक क्लिक क्लिक तस्बिर खिच्दैछन्, सेल्फी लिँदैछन्, भिडियो बनाउन व्यस्त छन् । भारतीय र गैरभारतीय बराबरी । हरेक अनुहार प्रासादको भव्यता र विशालताबाट उत्फुल्ल र रोमाञ्चित देखिन्छन् । जहाँको भए पनि कला, संस्कृति र ऐतिहासिक धरोहरप्रति सबैको समान आस्था र भरोसा हुँदो रहेछ । हामी पनि रमायौँ ।

हामी हतार हतार किल्लाबाट बाहिरियौँ । साँझ परेकाले अरू घुमन्ते पर्यटक पनि बाहिरिँदै थिए । “साँझ पर्न थाल्यो । अब फर्कौँ कि ।” मैले भनेँ । “इन्डिया आएर इन्डिया गेट नहेरी कसरी फर्किने ? इन्डिया गेट हेर्ने नै साँझमा हो ।” देवी नेपालको दाबी सुन्यौँ । अनि लाल किलाबाट दुईवटा अटो समातेर हामी इन्डिया गेटतर्फ लाग्यौँ ।

चारपाँच लेनको चौडा सडकमा हाम्राअगाडि लस्करै वाहन गुड्दै थिए । बाटो एकतर्फी भएकाले सबै वाहनका पछाडि लाल बत्ती देखिन्थे । सडकमा अलिक ठुला जुनकिरीको जुलुस निक्ले जस्तो लाग्थ्यो । हामी चढेको अटोभन्दा अर्को अटो पहिले पुगेछ । हामी इन्डिया गेटको प्रवेशद्वार पुग्दा ध्रुवजीले ‘चाट अर्डर’ गर्नुभएको थियो । नजिकै पोलिरहेका दुधिला मकै हरी हेरी हामीले चाट चाट्यौँ । चाटलाई पनि के खाएको भन्ने ! आशा लुइँटेल र शिबु सापकोटा अझै चाटको चम्चा चाटिरहनुभएको थियो । आशय बुझेर होला भरतजीले भन्नुभयो, “दिल्लीको चाट धेरै खानुहुन्न ।” रचना अधिकारी र सन्तोषी सिंह मुसुक्क हाँस्नुभयो ।

हामी भित्र पस्यौँ । अहिले यहाँ ठुलो साँझ परेको छ । मानिसहरू लुँडो लागेर आइरहेका छन् । रमाइरहेका छन् । मेला जस्तो वातावरण बनेको छ । बिजुलीबत्तीको चकाचौँध छ । घुमन्तेको किचाघान छ । मानिसले घाँसे मैदान पनि भरिएको छ । फोटो, सेल्फी र भिडियो खिच्न भ्याई नभ्याई छ । हामी पनि त्यहीँ हेलियौँ ।

भारत द्वार (इन्डिया गेट) परिसरमा मानिसहरूको ठुलो भिड लागेको छ । शिलापत्रबाट ज्ञात भयो, भारत द्वार नयाँ दिल्लीको राजपथ (पहिलेको नाम किंग्स वे ) स्थित ४३ मिटर अग्लो छ । लाल किला जस्तै यो पनि रातो र पहेलो खस्रो पत्थरले बनेको छ । तलबाट माथि हेर्दा हाम्रो टोपी खसेन । किन खसेन ? सोच्दै गर्नुहोला । हाम्रो काठमाडौँमा बनाइएको धरहरा जमिनको सतहदेखि ८३.८५ मिटर अग्लो छ । त्यसका अगाडि यो के अग्लो ! प्रथम विश्वयुद्ध र अफगान युद्धमा इन्डिया (अङ्ग्रेज सरकार) का तर्फबाट लड्दा सहिद भएका हजारौँ (नब्बे हजार) सैनिकको सम्झनामा सन् १९३१ मा ‘इन्डिया गेट’ बनाइएको हो । त्यस्ता सैनिकमा नेपाली पनि हुँदा हुन् । आम मान्छेले यसलाई भारतमा पस्ने द्वार भन्ने बुझेका हुन सक्छन् । त्यस्ता सिपाहीको सम्झनामा यहाँ राइफल र राइफलको टुप्पामा सिपाहीको ढल्के टोपी राखिएको छ । भित्तामा हजारौं सहिद सैनिकको नाम कुँदिएको छ । यसको वरिपरि अखण्ड बत्ती ‘अमर जवान ज्योति’ र अर्ध गोलाकार (आर्क) मुनि ‘अमर जवान ज्योति’ स्थापना गरिएको छ । प्रत्येक वर्ष भारतका प्रधानमन्त्री र सेना प्रमुखले पुष्पहार अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्ने गर्दछन् । हामीले पनि शिर झुकाएर सलामी दियौँ ।

शिलापत्रबाट के थाहा भयो भने यसको डिजाइन बेलाइतका प्रसिद्ध वास्तुविद् सर एडविन लुटियन्सले गरेका हुन् । ६२५ मिटर व्यास भएको इन्डिया गेटको हेक्सागोनल क्षेत्र तीन लाख छ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

रातको चकाचौँध उज्यलोमा हजारौँ मानिसहरू रमाइरहेका छन् । मानिसहरू रमाएकाले हामीले पनि रमाए झैँ त ग-यौं । वास्तवमा हजारौँ मृतक सैनिकको बलिदान सम्झेर म भावुक भएँ । अरू घुमन्तेले झैँ फोटो, सेल्फी र भिडियो खिचिनँ मैले ।

दिल्लीका धेरै महत्त्वपूर्ण ठुला सडकहरू इन्डिया गेटसँग जोडिएका छन् । राष्ट्रपति भवन यही राजपथमा यहाँदेखि केही दुरीमा छ । प्रत्येक वर्ष गणतन्त्र दिवसमा राष्ट्रपति भवनबाट परेड सुरु भई इन्डिया गेट हुँदै लाल किलामा पुग्ने गर्छ । “राष्ट्रपति भवन र इन्डिया गेटको उचाइ बराबर छ ।” सायद देवी नेपाल भन्दै हुनुहुन्थ्यो । रात परेकाले हामी इन्डिया गेटबाट दुईवटा अटो समातेर इन्द्रजीत मार्ग, रोज एभेन्युतिर लाग्यौँ ।

भोलिपल्ट पुस ६ गते शनिबार दिनभर सभाकक्षमै रमायौँ । पहिलो सत्रमा साहित्य महोत्सवको उद्घाटन भयो । दोस्रो सत्रमा कार्यपत्र प्रस्तुति, टिप्पणी र छलफल भयो । सत्रको सुरुमा प्रा.डा. देवी नेपालले ‘नेपाल र भारतको नेपाली साहित्यको अन्तर्सम्बन्ध सेतु’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । मैले ‘नेपाल र भारतको नेपाली बालकविता; सांस्कृतिक सम्बन्ध सेतु’का बारेमा अवधारणा प्रस्तुत गरेँ भने प्रा.डा. दिवाकर प्रधानले ’भारतमा नेपाली भाषामा पठनपाठनको आरम्भ र विकास’ बारेमा अवधारणा प्रस्तुत गर्नुभयो । डीआर घिमिरे, जेके बराइली र विष्णु गुरुङले टिप्पणी गर्नुभयो । कार्यपत्र र टिप्पणीको निष्कर्ष नेपाल र भारतमा रहेका नेपालीलाई नेपाली भाषा, साहित्य, बालसाहित्य, संस्कृति र सङ्गीतले जोडेको छ भन्ने रह्यो । उत्सवले संस्कृतिको पुस्तान्तरण आवश्यक छ र त्यसका लागि बालकविता बढी उपयोगी हुन्छ भन्ने विश्वास जगायो । करिब चार सय सहभागीले चार घन्टासम्म नेपाल र भारतको साहित्यिक र सांस्कृतिक अन्तर्सम्बन्ध बारेको प्राज्ञिक विमर्शलाई ध्यानपूर्वक सुने । यस्तो कार्यक्रममा यस्तो कमै देख्न पाइन्छ । मैले कार्यपत्र प्रस्तुत गर्ने बेलामा नोएडादेखि साहित्यकार डा. बलराम अग्रवाल प्रेक्षागृहमा आइपुग्नुभयो । मैले स्वागत गरेँ । लघुकथा बारे हामी अन्तर्किया गर्न चाहन्थ्यौँ । दुई वर्षअघि दिल्लीमा उहाँसँग छोटकरीमा साक्षात्कार भएको थियो । यसपटक भने समयले साथ दिएन । कार्यक्रमको भव्यताबाट उहाँ प्रभावित भएको पाएर खुसी लाग्यो । कार्यपत्र सत्रको अध्यक्षता गर्नुभएका साहित्यकार प्रदीप ज्ञवाली शितविन्दुले अक्षरको वंश परम्पराले नै नेपालीलाई जोड्ने सन्दर्भ उल्लेख गर्दै कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूले विशद क्षेत्रको प्रतिनिधित्व गर्नसकेको अनुभव सुनाउनुभयो ।

साँझको रमाइलो सांस्कृतिक कार्यक्रमले सबैको मन छोयो ।

पुस ७ गते बिहान सम्पन्न प्रवासमा युवा उद्यमी र बुद्धिजीवीहरूको भूमिका विषयक परिचर्चा कार्यक्रमले प्रवासी नेपालीलाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिदियो । वरिष्ठ पत्रकार आशा थपलियाले सञ्चालन गर्नुभएको परिचर्चा कार्यक्रममा’वाउ मम’ का प्रबन्ध निर्देशक विनोद हुमागाईंले ‘वाउ मम’ भारतका ३० प्रान्तमा ६५० स्टोरका माध्यमबाट विक्रीवितरण भइरहेको, ६ (छ) हजारजनाले रोजगारी पाएको र यसको वार्षिक टर्न ओभर साडे सात सय करोड रहेको बताउनुभयो । बराल लजिस्टिकका प्रबन्ध निर्देशक मुकेश बरालले आफूलाई काम गर्न भ्याई नभ्याई रहेको बताउनुभयो । दक्षिण एसियाली विश्वविद्यालयका प्राध्यापक डा युवराज पोखरेलले आफूले यहाँ प्राध्यापनका साथै सम्मानपूर्वक मानव हितको अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले प्रवासी नेपालीले अब हीनभाव पाल्ने होइन सान र मानका साथ आआफ्नो पेसा व्यवसाय गर्ने बेला आएको पनि जानकारी गराउनुभयो । प्रवासी नेपालीको बदलिँदो अवस्था सुनेर सन्तोष लाग्यो ।

दिउँसोको खाना खाएर २ बजेतिर देवी नेपाल, डीआर घिमिरे, हेमन्त अधिकारी र म कनाट प्लेसतिर लाग्यौँ । ‍खास उद्देश्य थियो, पुस्तक किन्ने । कनाट प्लेस पुगेर एकदुई पसल चाहार्दा चाहिने पुस्तक पाइने कुनै लक्षण देखिएन । दुई वर्षअघि त्रिलोचन ढकाल, डा. पुष्करराज भट्ट र म आउँदा पनि यस्तै भएको थियो ।

मैले ‘कनाट प्यालेस’ बुझेको थिएँ । वास्तवमा यो कनाट प्लेस (Connaught Place) रहेछ । हेमन्त अधिकारीले बताउनुभयो, “कम्पनी सरकारका बेलामा बेलायतकी महारानी भिक्टोरियाका छोरा प्रिन्स आर्थर (ड्युक अफ कनाट) को नाममा कनाट प्लेस भनी यसको नामकरण गरिएको हो । पछि सन् २०१३ मा यसलाई भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको नाममा राजीव चौक नामकरण गरियो, तर मानिसहरू कनाट प्लेस नै भन्छन् ।” यतिखेर दुवै नाम चलेका रहेछन् । सन् १९२९ मा सुरु भई १९३३ मा यसको निर्माण कार्य सम्पन्न भएको रहेछ । हेमन्तजीले भन्नुभयो, “दिल्लीको सबैभन्दा ठुलो व्यापारिक केन्द्र हो यो । यहाँ ऐतिहासिक स्मारक, मन्दिर, बगैंचा, रेस्टुरेन्ट, सङ्ग्रहालय आदि छन् । यहाँ किनमेलका लागि तमाम बजार छन् । यहाँ धेरै कुरा किन्न पाइन्छ ।”

‘भनेको पुस्तक त पाइएन ।’ मैले मनमनै सोचेँ । दिल्ली र यसको आसपासमा रहेका नेहरू प्लेस, भीकाजी कामा प्लेस, राजेन्द्र प्लेस, गुरु गाँव, नोएडा आदि बडा बडा व्यापारिक स्थलमध्ये कनाट प्लेस पनि एक रहेछ । यस क्षेत्रको वास्तुकलाले मन छोयो । यसको भुइँ तलामा व्यापारिक प्रतिष्ठान र माथिल्लो तल्लामा आवासीय क्षेत्र छन् । कनाट प्लेसमा ए, बी, सी, डी, ई, एफ, जी, एच, के, एल, एम, र एन ब्लक गरी १२ ब्लक छन् । आई र जे ब्लक किन छैनन् वा बनेनन् ? हेमन्त अधिकारीलाई पनि थाहा रहेनछ । सबै ब्लक दुई तले मात्र । यहाँबाट जनपथ मार्ग, संसद मार्ग, बाबा खडकसिंह मार्ग, शहीद भगतसिंह मार्ग, पाँचकुञ्ज मार्ग, बाराखम्बा मार्ग, कस्तूरबा गान्धी मार्ग, टोल्स्टोय मार्ग, जन्तरमन्तर मार्ग आदि सडकहरू सुरु भएका छन् । कनाट प्लेसको समृद्ध इतिहास, आकर्षक वास्तुकला र व्यापारिक महत्त्वका कारण आज पनि दिल्लीको प्रमुख आकर्षण बनेको पायौँ । कनाट प्लेसलाई मानिसहरू ‘दिल्लीको दिल’ भन्दा रहेछन् ।

कनाट प्लेसमा भनेका पुस्तक नपाएको रनाहामा परेका हामीलाई हेमन्त अधिकारीले एउटा बगैँचामा छिराउनुभयो । यस बगैँचाको नाम सेन्ट्रल पार्क रहेछ । प्रवेश द्वारमा लेखेको देखेर थाहा भयो । कनाट प्लेसस्थित सेन्ट्रल पार्कको निर्माण दिल्ली मेट्रोको निर्माण (सन् २००५-६) सँगै भएको हो । यो झन्डै काठमाडौँको टुँडिखेल जत्रै होला । चारैतिर कनाट प्लेस माझमा पार्क । पार्कमा सबैतिर हरियाली छ, फूल फुलेका छन्, पानीका फोहराहरू छन्, बिचमा भारतको ठुलो झन्डा फहराइरहेको छ । पार्कमा हजारौँ मानिस होलान् । कोही खेल्दै, कोही गाउँदै, कोही नाच्दै, कोही रमाउँदै, कोही आराम गर्दै थिए भने कोही माग्दै पनि थिए । यो दिल्लीबासी र पर्यटकका लागि आकर्षक गन्तव्य बनेको रहेछ । राजीव चौक मेट्रो स्टेसनको ठिक माथि भएकाले यहाँ पुग्न सुगम छ । हामी पनि रमायौं । हेमन्त अधिकारीले कताबाट झ्याप पारेर गितार बजाउन थाल्नुभयो । हामीले तस्बिर खिचिदियौँ । रमाइलो मान्छे हेमन्त ।

हेमन्त अधिकारीले भन्नुभयो, “यहाँ आएपछि पालिका बजार छिर्दा राम्रो हुन्छ ।” हामीले टाउको हल्लायौँ । कनाट प्लेसमा रहेको एउटा पूर्णतया भूमिगत र पूर्ण वातानुकूलित वास्तवमै विशाल बजार (मल) रहेछ, पालिका बजार । यसमा प्रवेश गर्न र निस्कनका लागि धेरै द्वार छन् । सन् १९७० मा बनेको यस बजारमा थरी थरीका लत्ताकपडा, तयारी पोसाक, विद्युतीय र शृङ्गारका सामग्री आदिका हजारौँ पण्यशाला (पसल) रहेछन् । ग्राहक पर्खेर बसेका कुनै व्यापारी त बनारसका पन्डा जस्ता रहेछन् । हामीलाई देख्ने बित्तिकै हरेकले बोलाउन तान्न थाले । कता कता हेर्नु ? के के लिनु ? कसरी लैजानु ? घाँटी पनि नहेरी भएन । एउटा पेटीवाला पछि लाग्यो । एउटा पेटीको साडे पाँच सय भन्दै थियो । मैले चाहिएको छैन भनेँ । उसले पाँच सय अनि चार सय अनि तीन सय भन्यो । मैले सय भनेँ । म कत्ति गलिनँ । चाँदनी चौकबाट सिकेको थिएँ नि । अन्तमा उसले सयमै दियो । हेमन्तजीले भन्नुभयो, “फेरि पनि उसले चालिस रुपियाँ कमायो ।” कमाओस् । मैले यही पेटी भैरहवामा एघार सयमा किनेको थिएँ । व्यापार अपार भनेको यही त हो ।

यो एउटा उदाहरण हो । सबैतिर यस्तो नहुँदो रहेछ । तयारी कोट भनेको भन्दा आधा दाममा पाइयो । यस्तै गर्न खोज्दा घिसार्ने झोला (ट्रली ब्याग) किन्न चाहेर पनि किनिएन । जे होस् कनाट प्लेस अभिजात वर्गका लागि र पालिका बजार सर्वसाधारणका लागि रहेछ भन्ने अनुभूति भयो ।

अब हामीसित समय निकै कम थियो । पालिका बजारको २ नम्बर द्वारबाट बाहिर निस्केर चिया खायौँ अनि पार्किङबाट लघुवाहन निकाल्न लगाएर धार्मिक सांस्कृतिक क्षेत्रतर्फ लाग्यौँ । प्राचीन हनुमान मन्दिर, प्राचीन शिव मन्दिर, लक्ष्मीनारायण मन्दिर र त्यहाँ रहेका देवीदेवताको दर्शन गर्र्यौँ । बिडलाले बनाएका हुनाले लक्ष्मीनारायण मन्दिर बिडला मन्दिरका नामले पुकारिँदो रहेछ । यो सन् १९३८ मा बनेको र यसको उद्घाटन महात्मा गान्धीबाट भएको रहेछ । “धनदौलत थुपारेर राखेको भए शाखासन्तानले मासेर सक्थे, सार्वजनिक क्षेत्रमा लगाएकाले अहिले पनि बिडलाको नाम लिइन्छ ।” बिडला मन्दिरको दर्शन गरेर हिँडेपछि देवीजीले भन्नुभयो ।

दुईतीन दिनको दिल्ली घुमाइ केही पनि होइन । हामी दिल्लीको दैलोसम्म पुगेका न हौँ । सदियौँदेखिको संस्कृति र शक्तिको केन्द्र दिल्ली । हामीले केही बुझ्यौँ, यो ऐतिहासिक, सांस्कृतिक, व्यापारिक स्थलमात्र नभएर यसकै लागि घुम्नुपर्ने पर्यटकीय स्थल पनि हो । साँझको सांस्कृतिक कार्यक्रम भेट्न हामीलाई हतारो थियो । त्यसैले अलमल नगरी हामी रोज एभेन्युतर्फ हुइँकियौँ ।

०००

लेखक परिचयः प्रा. डा. कपिल लामिछाने विविध विधाका स्रष्टा हुन् । माझठाना, कास्की पोखरामा जन्मेका उनको कर्मथलो हाल भैरहवा रहेको छ । वि.सं. २०३४ सालमा वनारसवाट प्रकाशित हुने कल्याणी पत्रिकामा प्रकाशन गरी साहित्य यात्रामा होमिएका उनका कविता, कथा, लघुकथा, बालकथा, बालउपन्यास, समालोचना लगायतका विधामा चार दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

2 thoughts on “दिल्लीको दैलो (नियात्रा)

  1. बहुत सुन्दर यात्रा वृत्तांत। पुरानी दिल्ली के पटरी-बाजार यहाँ की जरूरी धड़कन हैं। ग्राहक और विक्रेता, दोनों को जीवन देने वाले। सभी स्थानों का आपने सही ही चित्रण किया है।
    सौभाग्यशाली हूँ कि इसमें मुझे भी जगह मिली। आपका धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *