( प्रस्तुत नियात्रा लेखकको बि.सं. २०७६ सालमा प्रकाशित नियात्रासङ्ग्रह ‘नीला गोलार्ध्द’ बाट साभार गरिएको हो । -सम्पादक)
चन्द्रप्रसाद भट्टराई
हामी भारी मन लिएर ऐतिहासिक नगरी हाइडेलबर्ग छाडिरहेका छौं ।
इन्द्रचोक जस्तो स्थानीय मौलिकता झल्काउने प्राचीन बजारक्षेत्र आल्स्टाड हामीबाट बिस्तारै छुट्टिन्छ । बजारको एउटा भव्य चोकदेखि टोलटोलका कुनाकुनासम्मै पुगेका र बिहानबेलुकै बढारकुँडार गरिएका आकर्षक सफा ढुङ्गे गल्लीहरू क्रमैसँग लोप हुन्छन् । आत्मीयतापूर्वक संरक्षण गरिएका सयौं वर्ष पुराना कलात्मक भवनहरू एकएक गर्दै हाम्रा आँखाबाट ओझेल पर्छन् । दिनभरिको कार्यव्यस्तताबाट थकित भई आनन्दको खोजीमा आइपुग्ने हजारौं स्त्री–पुरुषका मनमस्तिष्कमा नवीन ऊर्जा भरिदिँदै अनन्तकालदेखि शान्तिपूर्वक बगिरहेको स्वच्छ नेख नदी दृष्टिबाट क्रमशः टाढा हुँदै जान्छ । अनि बिस्तारै बिलाउँछन् पुरातन संस्कृतिलाई जीवन्तता दिएर कहिल्यै नथाक्ने मिहिनेती र गुणग्राही हाइडेलबर्गवासीहरू ।
युरोपभरि नै आफ्नो स्पष्ट पहिचान बनाएको दर्शनीय सहरलाई राम्रोसँग धित नमर्दै छाड्नु पर्दा मन खिन्न छ । यी सबै धरोहरसँग हाम्रो चिनाजानी हिजै मात्र भएको हो, कति रमाउँदै साँझमा हामी यो सहर पसेका थियौं । यति चाँडै नजानिँदो किसिमबाट माया बसिसकेछ, अहिले बिछोडिनु पर्दा पो पीडाको अनुभूति भइरहेको छ । लाग्छ, जीवनको लामै समय सँगसँगै बिताएको कुनै प्रियजनसँग मन नलागीनलागी छुट्टिएर निकै टाढा पुग्नु परिरहेछ । मनलाई बिस्तारै सान्त्वना दिन्छु– यत्रो विशाल र सुन्दर युरोप महादेशका सहरैपिच्छेलाई एकएक हप्ता लगाएर घुम्ने हो भने त तीन बारको जुनीले पनि पुग्दैन बाबु, धैर्य गर । दोस्रो विश्वयुध्दभन्दा पनि अघिदेखि आजसम्म नै बज्दैआएको ‘आई लस्ट माई हार्ट इन हाइडेलबर्ग’ ले संसारभरिका करोडौं गीतप्रेमीहरूका मन त्यत्तिकै जितेको होइन रहेछ ।
कोच जङ्गलभित्र पस्छ । मेरो तत्कालको आवेगलाई शान्त पारी अन्यान्य सुखानुभूति दिने सक्दो प्रयत्न गर्दै छ । लामो इतिहास बोकेर सडकका दुईतिर उभिएका आकर्षक घरहरूलाई शनैशनै हरिया रूखहरूले बिस्थापित गर्छन् । अनुशासित भई पङ्क्तिबध्द उभिएका असङ्ख्य रूखहरू हाम्रै स्वागतमा पो मुसुक्क मुस्काएका हुन् कि भन्ने हुन्छ । मलाई लाग्छ, यथार्थमा आज हामी हामी नभएर ठोरीको जङ्गलमा शिकार खेल्न पसेका राजा जर्ज पञ्चम हौं, वा बर्दहामा लावालस्करसहित छिरेका श्री ३ महाराज जुद्धशमशेर हौं र यिनीहरू हामीलाई रिझाउने हरेक प्रयत्न गरिरहेका छन् ।
दुई दिनमै मेरो मुटुमा यसरी फनफनी बेरिने यो उदार सहर घुम्न त्यति टाढाको देशबाट फेरि कहिले आउँछु होला र ? मनमोहक नगरीबाट सदाका लागि बिदा हुनुअघि यसको कुनै अंशको एक झलक पाए मन केही शीतल हुन्थ्यो कि ? एउटा झिनो आस लिई गाडीका बडेमानका झ्यालहरूबाट बाहिर चारैतिर हेर्छु । दृष्टिलाई देब्रे–दाहिने गर्दै परसम्मै पु-याउँछु, आँखालाई तलमाथि गर्छु । हाम्रा दाहिनेपट्टिको डाँडामा ठिङ्ग उभिएर गोथिक र रिनासें वास्तुकलाको उत्कृष्टता प्रदर्शन गरिरहेको हाइडेलबर्ग क्यासेल भने क्षितिजबाट धन्न बिलाइसकेको रहेनछ । मन पुलकित हुन्छ । आफ्नो आठ सय वर्ष लामो जीवनमा कहिले युरोपैभरि कुख्यात नरसंहारकारी तीस वर्षे युध्दबाट र कहिले पटकपटकका चट्याङबाट जीर्ण भएको, कहिले अनेकौं शासकीय षडयन्त्रहरूको चुपचाप साक्षी बस्न बाध्य पारिएको र समयले कोल्टे फेर्दै जाँदा हिजोआज भने संसारभरिबाट आउने हामीजस्ता जिज्ञासु पर्यटकहरूलाई सुखदुःखका कथा सुनाएर मनलाई हलुका पारिरहेको प्रसिध्द धरोहरलाई पुनः एकपटक श्रध्दापूर्वक नमन गर्दछु ।
गाडी जसै घना जङ्गल क्षेत्रमा राम्ररी पस्छ नानु आफ्नो सिटबाट जुरुक्क उठ्न् । सबैका उत्सुक आँखा उनको हँसिलो अनुहारमा परिहाल्छन् । भन्छन् “चकलेटको तहतह बनाएर बीबीचमा क्रिम र चेरीले सजाइएको मीठो ब्ल्याक फरेस्ट केक त तपाईंहरू सबैले खानुभएकै होला । जीवनमा कहिल्यै पनि त्यस जातको केकको एक टुक्रो मुखमा नपरेका कोही हुनुहुन्छ भने हात उठाउनोस् त ।” जुन कुरालाई पनि ठट्टाका पारामा भनेर यात्रुहरूलाई रमाइलो गराउन यी पारसी मूलका गाइड एकदमै सिपालु छन् । उनी चारैपट्टि नजर लगाउँछन्, कसैले हात उठाए पो !
टाढाटाढाका देशहरूबाट स्वेच्छाले लाखौं रुपियाँ खर्चेर अत्यन्त विकसित महादेशका कुनाकुना घुम्नै भनी आएका विलासी पर्यटकहरूको टोलीमा त्यस्ता मान्छे के भेटिनु ! अनि कुरो आफैं अगाडि बढाउँछन्, “यस क्षेत्रमा पाइने अमिला चेरीबाट बनाइएको स्पिरिट त्यसमा हाल्ने गरिएकाले त्यसलाई ब्ल्याक फरेस्ट केक भनिएको हो । त्यसको उद्गमस्थलमा म तपाईंहरूको हार्दिक स्वागत गर्दछु ।”
उनी भन्दै जान्छन्, “यस जङ्गलको नाम सुनेर तपाईंहरू यो त पूरै कालो होला भन्ने नठान्नोस् नि । कुनै जमानामा यो जङ्गल अत्यन्तै घना हुँदा घाम भुइँमा पर्नै पाउँदैनथ्यो रे । अहिले भने बीचबीचका बाक्ला रूख छाँटिएका छन्, ठाउँठाउँमा नयाँ गाउँबस्ती बसाइएका छन् । जङ्गल बाक्लै छ तर पनि नाम अनुसारकै कालो भने छैन है ।”
जर्मनीको दक्षिण–पश्चिममा पर्ने राइन नदीबाट सुरु भई स्विजरल्यान्डको समतल भागसम्मै फैलिएको विशाल ब्ल्याक फरेस्ट क्षेत्रका माझबाट गएको चारलेनको चौडा बाटोमा हाम्रो गाडी मस्तले गुडिरहेको छ । बाहिरतिर कोचहरू दोहोरीलत्ता छन्, साना गाडीहरू पनि उत्तिकै छन् । लगभग आधा घन्टा हुन्छ, गाडी र रूखैरूखदेखि परतिर केही नै देखिँदैनन् । धेरै त सल्लाकै रूख देख्छु, बीबीचमा ससाना सिसौ पनि छन् । नचिनेका अरू अनेकौं जाति–प्रजाति पनि छन् । जङ्गलमा कतै अलिकति खालि जस्तो ठाउँ देखे भने रूख रोपिहाल्दा रहेछन् । तिनलाई जोगाउँछन्, हुर्काउँछन्, बढाउँछन् । सरकार गम्भीर नभई र जनताले पनि पूरा साथ नदिई यो वातावरण संरक्षण सम्भव भएको होइन । पूर्वजहरूले बडो जतनसाथ सयौं वर्षअघिदेखि जोगाएर राखेको जङ्गल विकासका नाममा निर्दयतापूर्वक फाँडी कुरूप बनाइएको न कतै देख्नुपर्छ, न ‘जर्मनीको धन हरियो वन’ लेखिएका बोर्ड मन नलागीनलागी पढ्न कतै बाध्य हुनुपर्छ । उता आफ्ना भूमिमा धर्म, कला, संस्कृति, रीतिथिति, भाषा, साहित्य, वातावरण संरक्षण, सामाजिक सद्भावबारेका सदियौंअघिदेखिका हाम्रा अनेकौं सुसंस्कारहरूलाई हिजोआज विभिन्न बहानामा तीब्रगतिमा मास्दै लगिएको तीतो सत्य सम्झेर मन केही बेर यसै जङ्गलको अमिलो चेरीजस्तै बन्छ ।
सहयात्रीहरूमध्ये धेरैजसो बाहिरी दृश्यावलोकनमै रमाइरहेका छन् । मेरै लहरमा पल्लापट्टिका सिटमा बसेका उषा र अक्षयातिर नजर लाउँछु, उनीहरू पनि बाहिरतिरै हेरेर मक्ख छन् । मसँगैको सिटमा बसेका भारतीय मूलका बेलाइती डाक्टर दुबै कानमा इयरफोन ठोसी संसारै बिर्सेर तेलुगु सङ्गीतमा चुर्लुम्म डुबेका छन् । कोही आफ्ना अगाडिका स्क्रिनमा मन परेका सिनेमा छानीछानी हेरिरहेका छन्, मेरै अघिल्तिर बसेका दुईजना केटाहरू भने कार्टुन हेरिरहेका छन् । आजै बिहानको कुरो, गाडी खुलेकै थिएन, तीनजना ज्येष्ठ नागरिक बेलाइती सहयात्रीहरूले गाडीलाई बाहिरबाट राम्ररी नियाल्दै कुरा गरिरहेका देखेर म पनि चाख मान्दै छेउमा पुगेको थिएँ । युरोपमै अत्याधुनिक मानिएको गाडी हो रे यो, हरेक सुविधा छन् । सम्पूर्ण कुरा डिजिटल सिस्टमबाट चल्छन् । त्यसैले त गाइड हरेक बिहान हामीलाई सम्झाउँछन् “आफ्नो सिटका कुनै बटन चलाउन केही अस्पष्टता भयो भने मलाई भन्नोस् है ।” ड्राइभरका सिटैछेउका दुइटा र पछाडिका अरू क्यामेराका सहायताबाट प्रत्येक यात्रुका गतिबिधि कम्पनीको प्रधान कार्यालय लन्डनले हरक्षण अनुगमन गरिरहेको छ ।
अब भने अलिकति छ्याङ्ग परेको ठाउँ आउँछ । होचाअग्ला सुन्दर डाँडाकाँडा देखिन थाल्छन् । परको एउटा अत्यन्त रमणीय दृश्यले मेरो मन मजाले तान्छ । साइक्लिङ गोरेटोमा लगभग साठीजना उत्साही महिलापुरुषको लामो लर्को देख्छु । सबैले गाढा राता, नीला, हरिया, पँहेला रङका ज्याकेट लाएका छन् । हेल्मेट पनि त्यस्तै चहकिला छन् । एकजनाका पछाडि अर्को छ, त्यसका पछाडि अर्को छ । उत्तिकै फरकमा छन्, सबै जना आकर्षक ढङ्गले एउटै नापोमा कुप्रेका छन् । एउटा लामो रङ्गीबिरङ्गी सरल रेखा नभाँच्चिकन निर्दिष्ट गोरेटोमा अगाडिअगडि सरिरहेको देख्छु । हामी विपरीत दिशामा गइरहेका हुँदा एकै छिनमा यो मनोहर दृश्य हराउँछ । हिउँदमा युरोपैभरि अत्याधिक चिसो हुने हुँदा रैथानेहरू झोक्राएका हुन्छन्, ढकमक्क फुलेको प्रकृतिमा रमाउन ठूलो ब्यग्रतापूर्वक गर्मी याम पर्खिन्छन् । एप्रिल महिनादेखि जब पूरै युरोप बैंसालु हुन थाल्छ उनीहरू निस्कन्छन् रमाइलो घुमघाम र खेलकुदमा । ब्ल्याक फरेस्ट के जर्मन, के अन्य युरोपेली, सबैका लागि उत्तिकै प्रिय रहेछ । अत्यन्तै मनमोहक प्राकृतिक दृश्यावली, अक्सिजनले भरिपूर्ण स्वच्छ हावा, थुप्रै ससाना गाउँबस्ती, ठाउँठाउँमा खनिज पदार्थयुक्त नुहाउने पोखरीहरू, बाटाबाटामा वाइनरीहरू भएका हुँदा बिदा मनाउन आउनेहरूको रोजाइमा यो ठाउँ अग्र प्राथमिकतामै पर्दो रहेछ ।
ओरालोओरालो बाटो आउँछ । एउटा ससानो खोला छ । किनारमा पन्ध्रबीस जना हाइकरहरू सुस्ताइरहेका देख्छु । जुलाई महिना, संभवतः युरोपैभरि सबैभन्दा बढी मान्छेले बिदा मनाउने महिना, जङ्गलका बीबीचका रमणीय ठाउँमा जताततै हाइकिङ्, बाइकिङ्, क्याम्पिङ आदिमा महिला–पुरुषहरू एकनासले रमाइरहेका देखिन्छन् ।
गाडी फेरि बिस्तारै उक्लिन थाल्छ । ठाडो उकालो भने कतै छैन । विभिन्न ठाउँका नाम र दुरी देखाउने बोर्डहरू बाटामा आइरहन्छन् । अङ्ग्रेजीका जस्ता उच्चारण गर्न सजिला नाम छैनन् । यतिखेर -योटेनबाख भन्ने ठाउँतिर देखाइएको खण्डमा हामी गुडिरहेका छौं ।
जङ्गल फाट्तै जान्छ । बस्तीको सङ्केत पाउँछु । एउटा ससानो खहरे तर्छौं। दुईतीन मिनेट गएपछि बाटामुनि एउटा सानो सहर देखिन्छ । धेरैजसो घर तीनचार तले छन् । हरेकका छाना राता टाइलका छन्, सेता रङका गारा छन् । गाउँले शहरका माझमा सुलुत्त परेको भिरालो छानो भएको चर्च परैबाट चिनिन्छ । गाडी फेरि बिस्तारै सुनसान जङ्गलभित्र पस्छ । शहर हाम्रा दृष्टिमा धेरै बेरसम्म रहिरहन पाउँदैन । चर्च पनि ओझेलमा पर्छ । एकछिन जङ्गलैजङ्गल गएपछि गाडीले गति घटाउँछ । जङ्गलबीचमै एउटा बिस्तृत पार्किङ एरिया भेटिन्छ । त्यहाँ पुगेर टक्क अडिँदा हाम्रै जस्ता आठदसवटै कोच थकाइ मारिरहेका देखिन्छन् । त्यति नै जति साना गाडी पनि देख्छु ।
अघिल्तिर निकै फैलिएको तीन तले घर छ, गाढा कलेजी छानोले घरलाई केही अँध्यारोमुखे बनाएको छ । गाइड भन्छन्, “ल हामी ड्रुवा (Drubba) परिवारको कुकू क्लक सोरूम आइपुग्यौं । तपाईंहरू एकछिन भित्र पसेर हेर्नुहोला । त्यसपछि यहीं जङ्गलमै हामी लन्च खान्छौं, त्यसको पनि एउटा नौलो आनन्द पाउनुहुनेछ ।”
घनाजङ्गलका माझमा घडीको सोरूम ! एकछिन त अलिक कस्तो कस्तो पनि लाग्छ । उत्साहित हुँदै सबैजना गाडीबाट ओर्लन्छौं । बीसै पाइला हिँड्दा भवनको भुईंतलामै भएको सोरूम आउँछ । काठका आकर्षक भित्तामा विभिन्न रूप र आकारका तख्तावाल घडीहरू प्रदर्शन र बिक्रीका लागि लहरै झुन्ड्याइएका छन् । हाम्रो टोली पस्तापस्तै एकजना हँसिला र खाइलाग्दा युवकले मीठो अङ्ग्रेजीमा स्वागत गर्छन् । रौसिँदै उनी भन्छन्, “ब्ल्याक फरेस्ट क्षेत्र कुकू क्लकको उत्पादनका लागि विश्वमै प्रख्यात छ । यस जातका घडीको विशेषता के हो भने यिनीहरू मुन्तिर झुन्ड्याइएको तौलको चालबाट चल्छन् । कुनैलाई दिनदिनै चलाउनु पर्छ भने कुनै आठ दिनसम्म चल्छन् ।” उनले ड्रुबा परिवार, दशकौंअघि उनीहरूले सुरु गरेको घडी उत्पादन व्यवसाय र त्यहाँका घडीबारेमा सङ्क्षिप्त जानकारी दिन्छन् । अनि उनले निर्देश गरेबमोजिम हामी सबैजना त्यस कक्षका कुनाकुनामा छरिन्छौं । उत्सुकतामा नरमाउने कोही नै पो छैनन् त ।
फुर्तवाङ्गेन भन्ने ठाउँ ब्ल्याक फरेस्ट क्षेत्रमा घडी बनाउन सबैभन्दा प्रख्यात रहेछ । त्यहाँ त पुराना घडीहरूको एउटा ठूलो सङ्ग्रहालय नै छ रे । उन्नाइसौं शताब्दीको आधिउधितिरदेखि जर्मनीले कोइली, भाले जस्ता चराचुरुङ्गीको स्वरमा सङ्गीत निकाल्ने महँगा घडी उत्पादन गर्न थालेर विश्वमा प्रसिध्दि कमाएको रहेछ । “बूढा मरे भाषा सरे” भनेझैं अहिलेसम्म ड्रुबालगायत अरू केही पारिवारिक कम्पनीले बाबुबाजेको बिंडो थामिरहेका छन्, परम्परागत सामग्री र प्रबिधिबाट यस्ता विश्वबिख्यात घडी बनाउँदै छन् । खोप्न सजिलो हुने एउटा विशेष जातको स्थानीय काठ मात्र प्रयोग हुँदो रहेछ, काठको आकर्षक आवरण हातैले मिहिनेतसाथ बनाउँछन् । आफ्नो यो गौरवशाली इतिहासलाई अनन्त कालसम्म जीवित राख्न जर्मनहरू विदेशी पर्यटकलाई कुनै न कुनै कम्पनीको सोरूममा पु-याउन पाउँदा औधी खुसी हुँदा रहेछन् ।
हाम्रा सहयात्रीहरू विभिन्न आकारप्रकारका ठूलासाना घडीहरूमा झुम्मिइरहेका छन् । कोही आफ्ना प्रियजनलाई कोसेली लगिदिन मन लगाएर छानिरहेका छन्, कोही आफ्नै घरका भित्ताको शोभा बढाउन खोजिरहेका छन् । हामी पनि साना खालका तीनोटा किन्छौं । स्थानीयता झल्काउने हस्तकलाका अन्य केही वस्तु पनि छन् । तीमध्येबाट गोठालाले गाईलाई जङ्गलमा चर्न पठाउँदा घाँटीमा झुन्ड्याइदिने गरेको एउटा कलात्मक घन्ट पनि अक्षयाले किन्छिन् । एक बज्न लाग्छ, सबैजना चनाखा भई घडीतिर आँखा लाउँदै बाहिर निस्कँदै गर्न थाल्छन् । हामी पनि हतारहतार बाहिरिन्छौं ।
प्राङ्गणमा ठूलो रमिता छ । लगभग तीनसय मान्छे छन् । बडो उत्सुकतापूर्वक भवनको ठूलो बार्दलीतिर घाँटी तन्काईतन्काई हेरिरहेका छन् । बाहिरी भित्तामा झुन्ड्याइएको ठूलो घडीले जसै एक बजेको घन्टी हान्छ, त्यसभित्रबाट एउटा चरो जीवन्त चालमा फुत्त बाहिर निस्कन्छ । हामी सबैलाई रोमान्चित पार्दै तीखो तर मीठो स्वरमा कराउँछ र फेरि भित्रै पस्छ । त्यसपछि घडीदेखि ठ्याक्कै मुनिको बार्दलीमा एउटा निकै रमाइलो दृश्य देख्छौं । जोडाजोडा महिलापुरुषका आकृति सङ्गीतको धुनमा नाच्तै भित्रबाट निस्कन्छन् र एक छिन सबैलाई मनोरञ्जन गराएर फेरि नाच्तै भित्र पस्छन् । म यसो दर्शकतिर पनि हेर्छु, सबै बडो उत्साहित भई अविस्मरणीय क्षणको फोटो र भिडियो खिचिरहेका छन् ।
गाइडले घडी कम्पनीको हाताभित्रै भएको जङ्गलक्षेत्रमा दिवाभोजका लागि हाम्रो समूहलाई बोलाउँछन् । बिहानको हेभी युरोपियन ब्रेकफास्टले बिस्तारै छाड्दै ल्याएछ । अनेकौं मनमोहक दृश्यहरूमा रमाइरहँदा भोक लागेको पनि त्यति पत्तो पाएनछौं । सबै त्यता लाग्छौं । अरू पनि थुप्रै मान्छे छन् । टेबुलमा थरीथरीका खानेकुरा आकर्षक ढङ्गमा सजाइएका छन्– जुस, केक, स्यान्डविच, फ्रेन्च फ्राई, ससेज, थरीथरीका ताजा फलफूल, ससाना बट्टामा स्वादस्वादका दही, चकलेटहरू, चिया, कफी । ब्ल्याक फरेस्ट केक नहुने त झन कुरै छैन । वनका बीचमा हामीलाई साँच्चैको वनभोज लाग्छ, आनन्दित मनले सरिक हुन्छौं ।
गाडीमा चढ्छौं । वाहनले अघिकै राजमार्ग समाउँछ र नजानिँदो पाराको उकालो चढ्न थाल्छ । सडकका दुबैतिरका तिनै रूख, होचा ठाउँतिरका तिनै खोला–खहरे, ओहोरदोहोर गरिरहेका तिनै बडाबडा कोच र सानासाना कारहरू आँखाअघिल्तिर आएका आयै छन् । समुद्र किनारतिरका कुनै ठाउँतिर गइरहेको भए कारहरूका छानामा रङ्रङ्का डुङ्गा बाँधिएका देख्ने थियौं तर आजको यात्रा त्यतातिरको नहुँदा डुङ्गा भने देख्तैनौं । तीनचारवटा साइकल चाहिँ सबैले चढाएकै छन् ।
गन्तव्य परै छ । अहिलेसम्म हामी -योटेनबाखतिरै गइरहेको कुरो सङ्केतपाटीले जनाउँछ । बीबीचमा ससाना बस्ती आउँछन् । पश्चिम युरोप हो, धनी र विकसित छ । साना बस्तीमा पनि सबै सुविधा पुगेका छन् । बस्तीको पुछारपुछारतिर एउटा असाध्यै राम्रो चौर देख्छु । यति सफा छ र यस्तरी सम्भार गरिएको छ कि गाडीबाट ओर्लेर दौडिँदै त्यहाँ पुगूँ र बाक्लो दुबोमा आनन्दसँग पल्टेर एक निद्रा पु-याऊँ जस्तो हुन्छ ।
जङ्गल बिस्तारै हराउँछ । खेतीपाती देखिन थाल्छ । ब्ल्याक फरेस्ट त अब सकिएकै पो हो कि ! धेरैजसो बारीमा मकै लगाइएको देख्छु । पहाडी नै भेग हो तर गर्मीगर्मी छ, बैशाखमा सोलुखुम्बुका नेचा सल्यान गाउँ घुमेजस्तो । बीबीचमा मजाले पाकेको पँहेलो गहुँ पनि आँखाअघिल्तिर आइपुग्छ । कतैकतै अलि छोटो जौ खेती पनि देख्छु । खेतबारीका माझमा किसानहरूका घर फाट्टफुट्ट देख्ता सदाझैं मन प्रसन्न हुन्छ । एक ठाउँमा एकै परिवारका जस्ता महिलापुरुष घरअगाडि मिलीजुली काम गरिरहेका छन् । अघि खाना खाने बेलामा ड्राइभर डेरेकले कुनै प्रसङ्गमा भनेको सम्झन्छु – जर्मनहरूले परिवारलाई खुब महत्व दिन्छन् रे । चाहे नेपाल होस् चाहे जर्मनी, किसानको काम सर्वत्र उही हो –बिउबिरुवा रोप्नु, गोडमेल गर्नु, मलजल दिनु, जतनसाथ हुर्काउनु, फल लागेको देख्ता प्रसन्न हुनु, पाकेपछि काट्नु, भित्र्याउनु अनि अन्त्यमा सन्तोषको सास फेर्नु । गाईवस्तुलाई वर्षभरि खुवाउन परालको जोहो गरेको टाढैबाट देखिन्छ । मेसिनले ठूलाठूला रोल बनाई जतनसाथ प्लास्टिकले बेरेर खेतका माझमाझमा लडाइदिएका दृश्य धेरै युरोपेली देशमा जस्तै यहाँ पनि जताततै आउँछन् ।
प्रकृति निकै उदार छ । अनुपम दृश्यावलोकन गरीगरी बाटो कटाइरहेका छौं । बेलाबेलामा उषा र अक्षयालाई सोध्छु, रमाइलो लागिरहेको छ रे, नलागोस् पनि कसरी, जता हे-यो उतै राम्रो छ । बाटाघाटा हेर्छु तिनै राम्रा लाग्छन्, घर हेर्छु ती झनै राम्रा, वनजङ्गल बारीबगैंचा उस्तै राम्रा । सबै कुरा व्यवस्थित छन्, सिस्टमले चलेका छन् । आखिर युरोप युरोपै हो । त्यसमाथि पनि पश्चिमी युरोप डुल्दाको एउटा छुट्टै आनन्द, संसारमै मेरो मन नेपालबाहेक यस भूभागले जति अरू कुनैले तानेकै छैन । जतिचोटि घुमेर पनि अघाउँदिनँ । हिसाब गर्छु, मैले यो सुन्दर र सम्पन्न महादेशमा आवतजावत गर्न थालेको तीन दशक भएछ, कहिले आर्थिक विकाससम्बन्धी तालीममा सहभागी भएर, कहिले विश्वविद्यालयको विद्यार्थी भएर, कहिले विशुध्द पर्यटक भएर, कहिले कुन देश कहिले कुन । देशैपिच्छे उस्तै बाटाघाटा, उस्तै सहरबजार, उस्तै गाउँठाउँ, उस्तै हरियाली छन् तर पनि सबै नौला लाग्छन् सधैं । स्थलमार्गबाट हिँड्दा कहाँनेर एउटा देशको सीमाना सकिन्छ, कहाँदेखि अर्को सुरु हुन्छ हतपती थाहै पाउँदिनँ । बिहान हामीले छाडेको जर्मनी र भरे वास बस्न पुगिने अस्ट्रिया त झनै उस्तै लाग्छन् भूवनोट हेर्छु उस्तै छ, भाषा हेर्छु उस्तै छ ।
गाइडले यतिखेर हामी स्विजरल्यान्डको सीमानामा आइपुगेको कुरा सुनाउँछन् । दृश्यावलोकन गर्दै, घडीको सोरूम हेर्दै, वनभोज खाँदै तीन सय किलोमिटर लामो ब्ल्याक फरेस्ट साँच्चै छिचोली नै पो सकेछौं त ! डेरेकले चेकपोस्टको निर्धारित ठाउँमा सावधानीपूर्वक गाडी रोक्छन् । गाडी चलेका बेला उनी एकदमै अनुशासित हुन्छन्, कसैसँग बोल्दैनन्, पूरै मनचित्त लाएर काम गर्छन् । स्टार्ट गर्नमा, लेन लिनमा, स्पिड घटाउन–बढाउनमा, रोक्नमा, पार्किङ गर्नमा, साइड दिनमा रत्ती लापरवाही गरे भने उनको भातपानी हरिन्छ । अहिले भने स्पिकरमा उनको आग्रहपूर्ण बोली सुन्छौं, “गाडी भित्रबाट तपाईंहरू फोटो, भिडियो केही नखिच्नोस् है, कडा कानुन छ ।” कानुनको राम्रो पालनाले नै युरोपलाई विकसित बनाएको हो । यहाँ दुइटा ससाना घरमा स्विस सरकारका भन्सार र कर कार्यालय देख्छु । झुन्ड्याइएका बोर्ड पढेर यति पत्ता लाउन जर्मन भाषाको सामान्य ज्ञानले मलाई गाह्रो हुँदैन । यो सिमानामा चाहिँ औपचारिकता पूरा गर्न लगभग पाँच मिनेट गाडी रोकिन्छ । हामी भित्रै छौं, गाइड काम सकेर आउँछन् ।
जर्मनीबाट अस्ट्रिया जान हिँडेका हामी, स्विजरल्यान्डको यो एउटा सानो खण्ड थाहै नपाई बीचैमा कहाँबाट यसरी टुप्लुक्क आइपुग्छ ? सानो छ, गाउँजस्तो । अलिपर पुगेपछि मकैबारीका ससाना पाटाले हाम्रो स्वागत गर्छन् । भिराला जग्गामा कतै पनि खनजोत गरेको देख्तैनौं, साना फार्मका रूपमा खेतीपाती गरेका छन् । आफुले विद्यार्थीकालमा पाठ्यक्रममै पढेको सम्झिन्छु – जमीन र हावापानीका कारण यो देश कृषिप्रधान होइन, यहाँका ग्रामीण क्षेत्रमा धेरै मानिसको मूल पेसा त पशुपालन पो हो ।
नेपाल जस्तै भूपरिवेष्ठित पहाडी मुलुक भइकन पनि स्विजरल्यान्डले कसरी आफ्ना कम्पारेटिभ एडभान्टेजका क्षेत्रलाई ठ्याक्कै चिनेर तिनको पूर्ण सदुपयोग गर्दै जनता र अन्ततोगत्वा पूरै राष्ट्रलाई धनी बनाउन सकेको छ भन्ने कुरा बेलाइतमा विकास अर्थशास्त्र पढ्दा संसारभरिका विकासको तथ्याङ्क नपत्याउँदो गरी टाउकामै बोकेर हिँड्ने त्यहाँका अनेकौं प्रोफेसरहरूमध्येका एक जन वाइसले पटकपटक कक्षाकोठामा उदाहरण दिनेगरेका कुरा म झल्झली सम्झन्छु ।
यतिखेर म त्यही स्विजरल्यान्डको धरतीमा छु ।
साँच्चै नै यस देशले आफ्नो भूगोलका सम्पूर्ण सबल र दुर्बल पक्षलाई राम्ररी बुझेको छ र त्यही ज्ञानकै आधारमा जनताको आर्थिक–सामाजिक विकासलाई शिखरमा पु-याएको छ । समुद्रको पहुँच नभएको राष्ट्रले बडाबडा मेसिन, लाखौं लाख टन कच्चापदार्थ र हजारौं हजार टन उत्पादित वस्तु आयातनिर्यात गर्नुपर्ने ठूला उद्योग खोल्नतिर कहिल्यै मन गरेन, यसले त झोलैमा हजारौं थान ओसारपसार गर्न सकिने हातेघडीको उत्पादनमा पो आँखा लगायो र रहँदाबस्ता एकाधिकारै जमायो, त्यो पनि सत्रौं शताब्दीदेखि, जुन बेला घडी संसारमै एउटा विलासिताको वस्तु मानिन्थ्यो र धनाढ्यले मात्र किन्ने आँट गर्थे । त्यस्तै, कुनै ठूल्ठूला गोदामघर नचाहिने, बडाबडा वर्कशप आवश्यक नपर्ने, ट्रक वा कन्टेनरको ओहोरदोहोर नहुने, एउटा कोठैमा बसी गर्न सकिने छरितो बैङ्किङ व्यवसाय रोजेर यस देशले तीन सय वर्षअघिदेखि नै संसारभरिका पैसाको ओइरो आफूतिर लगाइरहेको छ । अत्यन्त गोप्यतापूर्ण ढङ्गबाट तिनको भरपर्दो सुरक्षा गरिदिई सेवाशुल्कबापत प्रशस्त आर्जन गरिरहेको छ । स्थानीयले मात्र खाएर नसकी खेर गइरहेको, आफ्नै डाँडाकाँडामा उत्पादित दूधलाई प्रशोधन गरी पाउडर र चीज बनाएर संसारभरि छरिरहेको छ । डेढ सय वर्षअघि नै नेस्ले कम्पनी खोलेर दुग्धजन्य वस्तुको गतिलो ब्रान्ड नै बनायो । लगभग त्यसैबेलादेखि होटेल व्यवसाय सुरु गरेर पहाडपर्वत हेर्न आउने अन्य युरोपेलीहरूलाई सेवा प्रदान गर्दै अहिले आफूलाई विश्वमै पर्यटनको एउटा उत्कृष्ट गन्तव्य बनाएको छ ।
कुबेरको सम्पूर्ण ढुकुटी रित्याउँदा पनि प्राप्त गर्न नसकिने अनुपम हिमशृङ्खला नेपालमा छ । नेपालको माटोमा लाखौं रुपियाँ किलोमा बिक्ने यार्सागुम्बा छ । नेपालको हावामा विश्वका करोडौं बुद्धमार्गीहरूको पवित्र वनस्पति बोधिसत्व हलक्क बढ्छ । नेपालको वातावरणमा संसारमै दुर्लभ मानिएको एकमुखे रुद्राक्ष फल्छ । अन्य अनेकौं प्राकृतिक सुन्दरता, धर्म, भाषा, संस्कृतिमा नेपालले स्विजरल्यान्डलाई सजिलै उछिन्छ । जता हे-यो सम्भावनै सम्भावना छन् तर नेपालीका पुस्तौं पुस्ता चरम गरिबीमै जन्मन्छन्, चरम गरिबीमै मर्छन् । राणाकाल अँध्यारोमै बित्यो । पञ्चायतकालको अघिल्लो खण्डमा छोटै अवधिमा पनि आर्थिक र सामाजिक विकासका राम्रा पूर्वाधार बन्दैगएका थिए तर तिनले निरन्तरता पाउन सकेनन् , पछिल्लो खण्ड त राजारानीलाई खुसी पार्दैमा गयो । बहुदलीय व्यवस्थाबाट जनताले निकै आस गरेका थिए, पुनर्थापनमा धेरैले जीवनै पनि उत्सर्ग गरे । पछि तिनै जनता तृण बराबर भए । माल पाएर पनि चाल नपाउने देशको हबिगत सम्झिँदा विदेशी भूमिमै मन नराम्रोसँग कुँडिन्छ ।
चिन्तामा आधा घन्टासम्म डुबिरहँदा जुरिच आइपुग्छ । अप्रत्यासित रूपमा प्रख्यात सहरमा आइपुग्दा मन केही हर्षित हुन्छ, केही उत्तेजित हुन्छ । विकासमा नेपालको कछुवा गतिको प्रसङ्गको पीडा तुरुन्तै एकातिर छेउ लाग्छ । तर यो उत्तेजना धेरै बेर टिक्न पाउँदैन, क्यान्सरको उपचारका लागि यसै सहरमा आएका राजा त्रिभुवनको फतक्क गलेको मलीन अनुहारको सम्झना मात्रले यो हर्ष क्षणभरमै पानीको फोका भएर खस्छ । सहरको बाहिरी भागबाटै गाडी अगाडि बढ्छ अनि जुरिचका घरैपिच्छेजस्तोमा फर्फराइरहेका राष्ट्रिय झन्डा बिस्तारै ओझेल पर्न थाल्छन् ।
कोलाहलमुक्त पातला गाउँबस्ती, चिटिक्क परेका ससाना घर, सुन्दर हरिया फाँट, हेरिरहूँ जस्ता हरियै रूखबिरुवा, राम्ररी सप्रेका खेतीबाली, खान पाएका हृष्टपुष्ट गाईवस्तु हेर्दाहेर्दै स्विजरल्यान्डको सानो सोतो सकिन्छ । जसरी आएको थियो उसरी नै जान्छ । सीमानामै रहेको Kriessern नामको यस सानो सहरको नाम कसरी उच्चारण गर्ने होला भनेर सोच्तै छु, गाडी अस्ट्रियातिर पो छिरिसके छ । बाटाको सूचनापाटी भन्छ हाम्रो गन्तव्य शहर यहाँबाट एक सय बाउन्न किलोमिटर टाढा छ ।
अस्ट्रियाको भूमिमा आल्पस् पर्वतमालाले दिल खोलेर हाम्रो स्वागत गर्दछ । पश्चिममा फ्रान्सबाट सुरु भई स्विजरल्यान्ड, इटली, मोनको, लिख्टेन्स्टाइन, अस्ट्रिया, जर्मनी र स्लोभेनियासम्म आठवटा मुलुकमा लमतन्न परेर सुतेको बाह्रसय किलोमिटर लामो यो पर्वत शृङ्खला यस ठाउँबाट अत्यन्तै मनमोहक देख्छु । हेरिरहुँ जस्तो त छ, तर के कुराले हो मलाई आफ्ना हिमालजति प्रिय चाहिँ लाग्दैन, अलिक फरक देख्छु । गाडी क्रमशः अघि बढ्दै आल्पस्–फेदीमै पुग्दछ, अनि फेदी–फेदी हुँदै अगाडि बढ्छ । आँखा ध्यानपूर्वक वरिपरि नाच्छन् । निकै पर एक ठाउँमा भरखरै पहिरो गएछ, सुखा माटो बुरबुर खसिरहेको देख्छु । पहाडी देशका व्यथा सबैतिर उस्तै, कति चाँडै र कति जिम्मेवारीसाथ प्रकोपको व्यवस्थापनमा सरकार लाग्छ भन्ने मूल प्रश्न हो । अलिक तल लगभग चारसय मिटर लामो नाङ्गो भिर देख्ता मन पवनगतिमा स्वदेश पुग्छ । भिरको ठीक तल सल्लाका रूख बाक्लै रोपिसकेका छन् । यिनैले पहिरो नियन्त्रण गर्छन् । यस देशमा पनि भिरालो जमिनमा खेती गरेको कतै देख्तिनँ ।
पहाडी मुलुक, अब भने सुरुङ पनि देखिन थाल्छन् । एउटा दुई किलोमिटर जति लामो सुरुङभित्र गाडी पस्छ । बाटोलाई खर्चिलो पाराले अग्लाअग्ला डाँडामा फनफनी घुमाउँदै थाप्लामा पु-याएर त्यसै गरी ओराल्नुभन्दा ओडारभित्र स्वाट्ट छिराई स्विजरल्यान्ड र इटलीले जस्तै यस मुलुकले पनि धेरै खर्च र समय जोगाएको जताजतै देख्ता विकास अर्थशास्त्रको विद्यार्थीको मन प्रफुल्लित हुने नै भयो । गाडी केही अगाडि बढेको मात्र छ आफ्नै मनकामनाका आकारप्रकार र रङका केबलकारहरू आकाशमा उडिरहेका देखिन्छन्, अर्को प्रसन्नताले छोप्छ । चितवन र गोर्खा जोड्ने आकाशमा हिँडुवा बाकस तुर्लुङ्ग झुन्ड्यादिएर नेपालीलाई चकित बनाउने प्रबिधि अस्ट्रियाकै डोपलमायर कम्पनीको हो भन्ने कुरा तत्कालै मेरा स्मरणमा आउँछ । नेपालका जनसाधारणले केबलकारको नामसम्म नसुनेका बेला ठूलो जोखिम उठाउँदै प्रशस्त धन खर्चेर काम थाल्ने आँटिला उद्यमी लक्ष्मणबाबू श्रेष्ठलाई अगाध श्रध्दापूर्वक सम्झिन्छु । २०६५ सालतिर परशु प्रधान, नगेन्द्रराज शर्मालगायतका हामी चितवनको एउटा कार्यक्रममा भाग लिई काठमाडौं फर्किँदा मनकामना माताको दर्शनपश्चात कुरिनटारमा ती साहित्यानुरागीले भेटी आत्मीयतापूर्वक गरेको आतिथ्य पनि झल्झली आँखैअगाडि आइपुग्छ ।
म अपलक बाहिरतिरै हेरिरहेको छु । सेतो आल्पस्मा एउटा चुच्चे शिखर देखिन्छ, आरोहण गर्नै नसकिने खालको । समतल जमिनका ठूल्ठूला पाटामा मनै लोभ्याउने मकै छन् । त्यस्तै पाटामा लसुन जस्तो पनि देख्छु, हो होइन छुट्याउन तीब्र गतिमा चलेको गाडीबाट गाह्रो पर्छ । इन्स्ब्रुक पुग्नपुग्न लागेछौं, ढुङ्गाका ठूल्ठूला गारो लाएका सहरी घरहरू भटाभटी हाम्रा सामु पर्न थाल्छन् । तिनको बनोट, रूपरङ हेर्दाहेर्दै गाडीको गति निकै कम हुन्छ ।
इन्स्ब्रुक पुग्छौं । सहरको मुटुमा, पुराना कलाकौशलयुक्त क्षेत्रमा डेरेकले गाडी रोक्छन् । दुईतिहाई भूभाग पहाडैपहाड भएको सुन्दर मुलुकमा हाम्रो पहिलो वास यस्तो रमणीय सहरमा हुँदैछ भन्ने कल्पना मात्रले पनि मन तरङ्गित हुन्छ । भरखर सात बजेको छ तर गर्मीका लामा दिन, अँध्यारो हुन अझै दुई घन्टा बाँकी छ ।
निकैबेरदेखि चुपचाप बसेका नानू फूर्तिसाथ उठ्छन् । भन्छन्, “यो ठाउँ अत्यन्तै रमणीय छ, तपाईंहरू मजाले पैदल घुम्नोस् । घुमेर यहीँ आउनुहोला, गाडी यहीँ हुनेछ । हामी ठीक नौ बजे गाडी चढ्नेछौं । पहिला यहाँको प्रसिध्द पुल हेर्न जानेछौं, त्यसपछि रेस्टुराँमा रातिको खाना खानेछौं अनि होटेल जानेछौं । त्यति बेलासम्म यहाँका के के भ्याउनुहुन्छ हेरेर आउनोस् ।” हामी दोस्रो लहरमै भएकाले सुरुमै निस्कन्छौं । सहयात्रीहरू कोही थाकेका देख्तिनँ म । उत्साहित हुँदै एकएक गरी ओर्लन्छन् र आआफ्ना समूहमा लाग्छन् ।
बाबुआमा–छोरी आफ्नै समूहमा हिँड्छौं । शहरको मुटुमा छौं । आँखा सबैभन्दा पहिला अग्लो घन्टाघरमा पर्छन् । पुराना युरोपेली सहरहरूमा जहींतहीं घन्टाघर देखिरहेका, यहाँ पनि अरूलाई उछिन्दै यसले नै हाम्रो स्वागत गर्छ । चौडा डबलीमा हिँड्दै, वरिपरि हेर्दै अलिक अगाडि पुग्छौं । गाडीमोटर–प्रवेश निषेधित क्षेत्र, साना साना रेस्टुरै–रेस्टुराँ छन्, पब छन् । डबलीमा बाहिरसम्मै टेबुलकुर्सी फिँजाएका छन् रेस्टुराँहरूले । कतै हरेक उमेरका मान्छे निश्चिन्ततापूर्वक खाइरहेका छन्, पिइरहेका छन् । कतै सङ्गीतका मधुर धुन बजिरहेका छन्, पारखीहरू तिनै धुनमा रमाइरहेका छन् , दुई हातले बडाबडा काने गिलास उचालेर बियर पिइरहेका छन् । अस्ट्रियाको मलिलो माटाले धेरै सङ्गीतज्ञहरू जन्माएको छ । सत्रौं शताब्दीदेखि बीसौं शताब्दीसम्म त यहाँका सङ्गीतकारहरूले विश्वमा तहल्का नै मचाएका हुन् । अस्ट्रियाका प्रतिभाहरूलाई बिर्सिदिने हो भने सम्पूर्ण पश्चिमा सङ्गीत जगत् नै अपाङ्ग हुन्छ रे । गीतसङ्गीतबारे हाम्रो ज्ञान नहुँदा धेरै बेर तिनमा अल्मलिने कुरो छैन, दायाँबायाँ हेर्दै बिस्तारै अगाडि बढ्छौं ।
सडकका छेउमा बडाबडा कलात्मक पाषाण मूर्तिहरू उभिएका छन्, ध्यान दिईदिई तिनलाई हेर्छौं । हरेकको आफ्नो इतिहास छ, हरेकले केही न केही महत्वपूर्ण कुरा बताइरहेको छ । कुनैले ग्रिक देवीदेउताका कथा भनिरहेका छन् त कुनैले स्वतन्त्रताको युध्दका । घुम्दै जाँदा छानामा सुनको जलप लगाएको ऐतिहासिक गोल्डेन डेक परैबाट देख्छौं, यो त इन्स्बु्रकको सबैभन्दा प्रख्यात वास्तुकला हो । एकछिन बाहिरै उभिएर हेर्छौं, भित्र पस्ने व्यवस्था के छ थाहा पनि छैन, सोध्दा पनि सोध्दैनौं । हामीसँग त्यहाँ पस्ने समय नै छैन ।
इन्स्ब्रुक कहाँ ऐतिहासिक शहर मात्र हुनु, अस्ट्रियाको एउटा प्रमुख व्यापारिक केन्द्रै रहेछ ! अनेकौं अत्याधुनिक व्यापारिक भवन हामी यही सानो क्षेत्रफलभित्रै देख्छौं । केहीबेर यस आकर्षक क्षेत्रमा पनि नघुमी हाम्रा मन अघाउँदैनन् । घुम्दाघुम्दै हाम्रा दसबाह्र जना सहयात्री त यहीं भेटिन्छन् , मजाले रमाइरहेका छन् । जतिलाई देख्छु थकित भएर पनि प्रसन्नचित्त छन् । गौरवमय इतिहासको गाथा गाइरहेको पुरातन संसार र अत्याधुनिक विकासको प्रतिनिधि नूतन संसार एकै थलामा भेट्ता कुन चाहिँ पर्यटक मजाले रोमान्चित हुँदैन ? मिनेटमिनेटको सदुपयोग गर्दै घुम्छौं ।
घडी हेर्छु, नौ बज्न पाँच मिनेट बाँकी छ । गाडी भएतिर लाग्छौं । नभन्दै ठीक नौ बज्दा सबै आइपुग्छन् । इन नदीको पुलमा पुग्न सबै हतारिएका देख्छु, नहतारिउन् पनि किन, शहरको नाम नै यसै पुलबाट बनेको छ, इन्स्ब्रुक – ‘इन नदीमाथिको पुल’ । पाँचै मिनेटको ड्राइभपछि त्यहाँ पुग्छौं । तीनैजना पुलमाथि एकैछिन उभिन्छौ, मन्दमन्द हावाले दिनभरिको थकाइलाई बढारेर लैजान्छ, भोकप्यास पनि कता हराउँछ कता । देशदेशबाट आएका सबैजना आआफ्ना तरिकाले आनन्द अनुभूतिमा चुर्लुम्म डुबेका छन् । कोही पुलमाथि रमाईरमाई हिँडिरहेका देखिन्छन्, कोही आँखा तन्काईतन्काई चारैपट्टि परपरसम्म हेरिरहेका छन्, कोही त खुसीले उफ्रिरहेका पनि देख्छु ।
झमक्क साँझ पर्छ । केहीबेरअघिसम्म नीलानीला देखिएका वरिपरिका डाँडाकाँडाले बिस्तारै काला मजेत्रा ओढ्न थाल्छन् । सवा लाख मात्र जनसङ्ख्याको शान्त सहर उपत्यकाको माझमा छ, रङरङका बत्तीको प्रकाशमा अझ रमणीय देखिन थाल्छ । गाडीको कुनै घ्यारघुर छैन, मान्छेहरूको केही हल्लाखल्ला छैन । भावुक हुँदै पुलभन्दा अलिक परैसम्म पुग्छु, सङ्गीतमय मीठो आवाज निकाल्दै कुनै निर्दोष, निश्छल ग्रामीण बालाकी प्रतिमूर्ति एकनासले बगिरहेकी इनलाई निकैबेरसम्म हेरिरहन्छु, हेरिरहन्छु ।
अग्रज बाङदेललाई श्रध्दापूर्वक सम्झिन्छु । साठी वर्षअघि उनी इन्स्ब्रुक आएका थिए । यस्तै कुनै रोमान्चक रातमा छेउछाउका डाँडाकाँडामा रमाएका थिए, इन नदीको प्रवाह र गतिमा आनन्दित भएका थिए । उनले अलिकति पनि नथाकी धेरै ठाउँमा वर्णन गरेको अस्ट्रियाको सुन्दरता, इन्स्ब्रुकको भव्यता र इन नदीको जलको मनोहरता यतिखेर म आफैं छर्लङ्ग देखिरहेको छु । भावबिभोर छु, सपना हो कि विपना, छुट्याउनै नसक्ने हुन्छु । लाग्छ यतिखेर उनी पनि मसँगै यहाँ उभिएका छन् । लामो चिउँडो, बाक्ला आँखीभौं, इन नदीको मन्दमन्द शीतल हावाले छरपस्ट पारेको कालो केशराशि, मोटो फ्रेमको चस्मा भित्रबाट उनका चिम्सा आँखा अरू कसैलाई होइन मलाई नै भनिरहेका छन्,
“युरोपभरमा मलाई सबभन्दा राम्रो र कवित्वमय ठाउँ यही लाग्यो । इन्चब्रुकमा दुई दिन बसुँला भनेर अठोट गरेर गएको मान्छे – यहाँको प्राकृतिक सुन्दरताले मलाई यति मुग्ध पा-यो कि आफू नखाएर पनि यहाँ छ दिन बसें । मेरो पागलपनमा अहिले मलाई स्वयम् आश्चर्य लाग्छ ।”
हे मेरा अत्यन्त आदरणीय अग्रज, तिमीले यही इन नदीको सङ्लो जलराशि, धुपीका बाक्ला वन, तिरोल पहाडका फुस्रा चट्टानहरू, रोमाञ्चमय प्राकृतिक छटामा मोहित भएर दुई दिनको खर्च सकिएपछि दिनमा एउटा रोटीको टुक्रो खाएर अरू चार दिन बिताएका थियौ, त्यसलाई म किमार्थ पागलपन मान्न सक्दिनँ, त्यो त प्रकृतिको अनुपम उपहारप्रतिको तिम्रो विशाल गुणग्राहिता पो हो । तिमीले यो सुन्दरताको वर्णन नगरेको भए म कसरी यहाँ आइपुग्थेँ ?
भावुकतामा उडिरहेको मनलाई गाइडको परिचित स्वरले घ्याच्च ब्रेक लाएर धरातलमा झार्छ । तन त गाडीभित्र पुग्छ तर मन पटक्कै अघाउँदैन, यही स्वच्छ जलसँगै बग्न पो थाल्छ । कति सय वर्षअघिदेखि जाडो गर्मी केही नभनी निरन्तर बगिरहेकी इनको जलराशिमा पौडिन थाल्छ, जानै मान्दैन । भन्छ – बरु गाडी बिग्रे हुन्थ्यो । तर मनको उद्वेग कसले बुझिदिने ? गाडी चलेरै छाड्छ, ठूलो लडाइँमा म पराजित हुन्छु ।
आँखा चिम्म गर्छु । लाचार मन मुक भाषामा बोल्छ, “हे गङ्गे, तिमीले आफ्नो जन्मस्थल स्विजरल्यान्डको आल्पस्मा बाल्यकाल बितायौ, किशोरावस्थामा यहाँ अस्ट्रिया आइपुगेकी छौ, यौवनकालमा जर्मनीमा पुग्नेछौ । त्यसै मुलुकमा लामो त्रिदेशीय यात्रा विसर्जन गर्दै संसारमै सबैभन्दा बढी देश भएर बग्ने वीर ड्यानुब नदीमा समाहित हुनेछौ । युरोपको स्वच्छ प्रकृति हेर्न संसारभरिबाट आउने हामीजस्ता असङ्ख्य पर्यटकहरूलाई सदा आनन्दित तुल्याउने विशालहृदया तिम्रो थर गोत्र त्यहीँ फेरिनेछ । जब ड्यानुब दश देशको यात्रा पूरा गरेर अन्ततः ब्ल्याकसीमा विलीन हुन्छन्, जीवनको उत्तरार्धमा आफ्ना प्रियतमसँगै तिमीले पनि त्यही समुद्रमा गहिरो जलसमाधि लिनेछौ । यो एउटा परदेशी मन अरू त के गर्न सक्थ्यो तिम्रो सुखमय यात्राको कामना गर्दै श्रध्दापूर्वक नमन गर्दछ ।”
०००
लेखक परिचयः नियात्राकार चन्द्रप्रसाद भट्टराई बिसं २०४० सालको मधुपर्कमा “रमा दिदी” शिर्षकको कथाको प्रकाशनसँगै साहित्यिक दुनियाँमा पदार्पण गरेका हुन् । उनको एक कथा सङ्ग्रह “सहयात्रा“(२०५९) तथा तीन नियात्रा सङ्ग्रह ‘प्रशान्तका छालहरूमा मेरो नेपाल’(२०६१), ‘अनौठो मुलुक अनौठा अनुभूति‘(२०७१) तथा ‘नीला गोलार्द्ध’ (२०७६) प्रकाशित छन् । विराटनगरमा जन्मेका उनी हाल काठमाडौंको ज्ञानेश्वरमा वसवास गर्छन् ।