१० मंसिर २०८१, काठमाडौं
एक लाख एक सय राशी सहितको ‘साहित्यकार लक्ष्मी उप्रेती वर्ष व्यक्तित्व पुरस्कार ’ पहिलोपल्ट काठमाडौं निवासी क्रिकेट खेलाडी विजयकुमार शर्मालाई प्रदान गरिने भएको छ ।
उनलाई “२०३७ सालमा सुरु भएको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेट लिएका थिए र सो रेकर्ड हालसम्मकै नेपाली क्रिकेट खेलको इतिहासमा ऐतिहासिक मानिन्छ । उनी नेपाली क्रिकेट टोलीलाई नेतृत्व प्रदान गर्दै बङ्गलादेश, पाकिस्तान, न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्गलेण्ड, सिङ्गापुर आदि मुलुकसम्म पुर्याउन सफल भइ विभिन्न पदकहरू समेत दिलाएर नेपाली क्रिकेटको इतिहासमा आफ्नो नाम उच्च राख्दै नेपाललाई विश्वसामु चिनाउन सफल भएका छन् । हाल नेपाल क्रिकेट संघका उपाध्यक्ष र कार्यकारी सदस्य रहेका शर्माले प्रशिक्षक तथा निर्णायक भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाएका छन् । शर्मा भेट्रान क्रिकेट एसोसिएसन नेपालका अध्यक्ष पनि हुन् ।” भन्दै सो पुरस्कार दिने निर्णय भएको जनाइएको छ ।
त्यस्तै दस हजार एक सय राशीको “साहित्यकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कार” सुनसरीकी (हाल मोरङ) साहित्यकार राधा भट्टराई गौतमलाई प्रदान गर्ने निर्णय भएको छ ।
गत वर्ष साहित्यकार लक्ष्मी उप्रेतीका छोरा सञ्जय उप्रेती र छोरीहरू सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले स्थापना गरेका हुन् । त्यसका लागि १५ लाख राशिको अक्षय कोषको घोषणा गरिएको थियो ।
साथै पुरस्कार सञ्चालनका लागि ९ जनाको कार्यसमिति गठन भएको छ जसमा अध्यक्ष सविना शर्मा पोखरेल, उपाध्यक्ष सरिता ओली, महासचिव दिनेश राज सुवेदी दिङ्लाली कान्छा, सचिव मीनकुमार श्रेष्ठ नवोदित, कोषाध्यक्ष पूजा पराजुली उप्रेती, र सदस्यहरूमा हरि बराल, कल्पना अधिकारी, कोमल पोखरेल, अश्लेषा उप्रेती रहेका छन् ।
त्यस्तै साहित्यकार लक्ष्मी उप्रेती वर्ष व्यक्तित्व सम्मान समिति समेत गठन गरिएको छ जसमा संरक्षक संजय उप्रेती , सल्लाहकार साहित्यकार प्राज्ञ विवश पोखरेल, संगीतकार बुलु मुकारूङ, कुमार पोखरेल, दीपक ओली, पत्रकार शरद सुवेदी, डा़ मनीष राज पाण्डे र पर्वतारोही लाक्पा फुटी शेर्पा रहेका छन् ।