कालो डोरो (कथा)

कथा

गोविन्दबहादुर कुँवर

यो कथा दोमनपुरका शमशेर बहादुरको हो । यो उनको मात्र हैन उनको परिवारको पनि कथा हो । अनि यो एउटा परिवारको मात्र हैन धेरै परिवारको कथा पनि हो ।
एक मानो खानपुग्ने परिवारमा जन्मिएका शमशेरले गाउँको प्राथमिक विद्यालयबाट पाँच कक्षासम्मको शिक्षा प्राप्तका गरेका थिए । गाउँमा त्यो भन्दा माथि पढ्ने सुविधा थिएन । एक दिनको बाटो जानू पर्थ्यो अर्थात् डेरा गरेर बस्नुपर्ने अवस्था थियो । उनका दाजुहरु सामान्य साक्षर मात्र थिए । उनको औपचारिक पढाइ पनि यतिमै सीमित रह्यो ।
सानैदेखि शमशेर बहादुर हक्की स्वभावका र निडर खालका व्यक्ति थिए । त्यो स्वभाव उनमा अझै पनि छँदैछ । समय क्रममा उनका दाजुभाइ छुटी भिन्न भए र उनको परिवार आफ्नै बन्धुहरुको सामूहिक निजी वनको सिरानमा एउटा कटेरो, अस्थायी आवासको रुपमा बनाएर बस्न थाल्यो ।
घर नजिकै डाँडा माथिबाट झरेको मितेरी खोला थियो । उनी बसेको ठाउँ खोंचजस्तो भए पनि पाहारिलो र रसिलो पाखो थियो । साझा वनमा घर बनाएर बसे पनि प्रत्यक्षमा कसैले केही भन्न सकेन । उनको पछाडि कुरा काट्नेको भने कमी थिएन ।
त्यहाँ उनलाई घाँस, दाउरा, पानीको सुविधा थियो, तर वरिपरि अरु घर थिएनन् । यसरी निर्जन ठाउँमा बस्न थालेकाले अरूका लागि उनी चर्चाका पात्र भए । जङ्गली जनावर र मान्छेबाट पनि असुरक्षा हुन सक्ने कुरा थियो तर उनी ढुक्कले आफ्ना साना केटाकेटी र श्रीमतीसहित बसेका थिए ।
एक दिन हामी सुतिराखेका थियौँ । घरको ढोका कसैले ढक्ढकायो । त्यो मान्छे सुँक्क सुँक्क गरेर रोएको जस्तो पनि लाग्यो । मैले डराइ डराइ ढोका खोलेँ । रामकुमारी भाउजू रहिछन् ।
मैले एकै सासमा भनें, ´के भयो भाउजू ? किन यति राति यहाँ आउनु भएको ?`
उनले रुँदै भनिन्, ´हेर्नू न बाबू ! हिजो दाइले रक्सी धोकेर आउनुभएछ ! मलाई लछार पछार पार्नु भयो ! म घर नभएको बेला कोसँग बसिस् ? घरबाट निस्केर जा भन्नू भयो । म ज्यान जोगाउन भागेर आएकी ।`
शमशेर बहादुरलाई रक्सी खाने लत लागेको रहेछ । उनी पैसा भएको दिन टन्न रक्सी खाएर घर आए पछि अनेक निहुँ झिकेर झगडा गर्ने रहेछन् ।
उनको बसाइ कोल्टोमा पर्ने भएकोले हामीलाई उनको बारेमा उति थाहा थिएन ।
उनको घर वनको पुछारमा पर्ने भएकाले घाँस दाउरा गर्न जाने र वनबाट फर्कनेहरु कोही पानी खान, कोही धुमपानका लागि आगो माग्न त कोही वात मार्दै थकाइ मार्न पनि उनको कटेरामा पस्ने रहेछन् ।
हामी दम्पतिले भाउजुलाई सम्झाइ बुझाइ गर्यौँ । रामकुमारी भाउजु विहान झिसमिसेमै घर जानू भयो । शमशेर बहादुरले नशाको सुरमा जति दुर्व्यवहार गरे पनि नशा उत्रे पछि भने ऊ सामान्य हुने रहेछ ।
यो क्रम दोहोरिइ राख्यो । रामकुमारी भाउजू कहिले बेलुका, कहिले मध्यराति र कहिले तीन, चार बजे तिर पनि हाम्रो घरमा आई राखिन् । धेरैजसो त उनी खोलाको कुनै ककरो वा वनको ओडारमा पनि लुक्ने रहिछन् ।
शमशेर बहादुर कसैले भनेर मान्ने खालकाे मान्छे थिएन । एक दुई पटक मैले सम्झाउने प्रयास पनि गरेँ, तर उनैले उल्टाे मलाई थर्काउँथे । पख् ! तलाईँ म फसाइँ दिन्छु पनि भन्थे ।
अति भए पछि, एक दिन मैले छिमेकका काका र दाइहरु चार पाँच जना बोलाएर छलफल गरेँ !
एक जना दाइले भन्नू भयो, ´त्यो शमशेर बहादुर हामी कसैले भनेको पनि मान्दैन, उल्टो हामीलाई थर्काउँछ । स्कुल पढ्दा पनि ऊ हामीलाई पिटपाट गर्थ्यो ।`
´अनि के गर्ने त ? कति रामकुमारी भाउजुको विजोक हेर्ने ? साना केटाकेटी कति आत्तिदा हुन् !` भने मैले । सैनिक सेवाबाट निवृत्त एक जना काकाले भन्नू भयो, ´ अब अरु उपाय छैन रामकुमारीको नामबाट चौकीमा उजुरी दिने । प्रहरीले ठिक गर्छ, उसलाई ।`
अनि त्यसैमा सहमति भयो । भाउजू मानेकी थिइनन् तर हामी सबैले संझाए पछि उनी पनि तयार भइन् ।
मैले निवेदन लेखेँ र भाउजुको ल्याप्चे लगाएँ । अनि म र भाउजु भएर चौकीमा गएर निवेदन दियौँ । उतिखेर हवल्दार नै चौकी प्रमुख हुन्थे ।
दिउँसो प्रहरीले शमशेर बहादुरलाई चौकीमा ल्याएछ । उनलाई थर्काउने र सम्झाउने बुझाउने गरेछ । अब उप्रान्त रक्सी नखाने र खाए पनि परिवारलाई दुर्व्यवहार नगर्ने कायलनामामा सही गराएर शमशेर बहादुरलाई प्रहरीले छोडेछ ।
भोलिपल्ट विहान म खाना खाएर आँगनमा टहल्दै थिएँ, रामकुमारी भाउजू आउँदै गरेको टाढैबाट देखेँ । बजार तिर कुनै काम परेर आएकी होलिन् भन्ने लाग्यो ।
तर नजिक आइसके पछि खिस्स हाँस्दै भाउजुले भनिन्, ´मलाई त दाइले अड्डामा तैले कालो डोरो पारिस् ! मेरो इज्जत गयो । छोरा नातिले मलाई के भन्छन् ? म अबदेखि रक्सी पनि खान्न । गौरीशंकरलाई भनेर त्यो हिजो दिएको निवेदन फिर्ता लिएर आइज !`भन्नू भयो । त्यो भएर आएकी ।
मलाई के भनुँ भनुँ भयो ।
एक छिन सोचेर भनेँ, ´ म दिउँसो चौकीमा गएर कुरा गर्छु, दिए छन् भने म भरे ल्याएर तपाईँको घरमै दिउँला ।`
भाउजू गरुङ्गो पाइला चाल्दै घर गइन् । उनलाई जसरी पनि लिएर आउनू भनेका थिए होलान्, शमशेर बहादुरले ।
अब अघिल्लो दिन दिएको निवेदन माग्न चौकीमा कुन मुखले जानू ? त्यस माथि कायलनामाको कागज पनि गरेको छ ।
चौकीको हवल्दारसँग मेरो राम्रो परिचय थियाो । दिउँसो बजार जाने क्रममा उनीसँग बाटोमै भेट भयो । मैले उनलाई आफूलाई परेको समस्या सुनाएँ ।
उनले हाँसेर भने, ´अब अड्डामा परेको लिखत फिर्ता गर्ने कुरा भएन । कुनै युक्ति लगाएर थामथुम पार्नु न ।`
बेलुका तिर शमशेर बहादुरको घर गएँ, भेट भएछ भने उनलाई पनि सम्झाउनु पर्ला भन्ने सोचेको थिएँ । तर उनी मेलाबाट घर फर्केका रहेन छन् ।
रामकुमारी भाउजुले आशापूर्ण नजरले मलाई हेरिन् । उनले मलाई निवेदन फिर्ता लिएर आएको ठानेकी होलिन् ।
मैले भने, ´भाउजु म हिजो दिउँसो चौकी गएर कुरा गरेँ । हवल्दारले अहिले नै निवेदन फिर्ता गर्न मिल्दैन, शमशेर राम्रोसँग सुध्रिए छन् भने पछि विचार गरौँला भनेका छन् ।`
भाउजू गम्भीर भइन् ।
म घर फर्किएँ ।
शमशेर बहादुर मसँग धेरै समय बोलेनन् । तर मलाई सुनाएर छेड हान्थे । कहिले रक्सी खाएर बजारबाट फर्किदा हाम्रो घर आइपुगे पछि उनी मैले स्पष्ट नबुझ्ने गरी भुतभुताउथे । उनको आशय, ´मलाई कालो डोरोमा पारिस् ! खूब जान्ने भएको !` यस्तै यस्तै हुन्थ्यो ।
उनले जे भने पनि, रामकुमारी भाउजु रुदैँ आउने क्रम भने रोकिएको थियो ।
बाटा घाटामा भेट हुँदा भाउजू खिसिक्क हाँस्थिन् र भन्थिन्, ´दाइले जहिले पनि अलि अलि रक्सी खाए पछि कालो डोराको कुरा झिकेर गाली गर्नुहुन्छ । अरु त केही अप्ठेरो छैन, बाबू !`
समय वित्दै गयो । शमशेर बहादुर दम्पतिका छोरा छोरी विद्यालयमा भर्ना भए । तिनीहरुले राम्रै पढे ।
शमशेर बहादुर पनि विस्तारै सुध्रिदै गए । रामकुमारी भाउजुका मानसिक दुःखका दिन घट्दै गए । मानसिक दु:ख घटे पछि मान्छेले शारीरिक दुःखलाई दु:ख सम्झिने रहेन छ । भाउजू खुसी थिइन् । केही कुखुरा, बाख्रा र एउटा भैंसी पालेकी थिइन् । शमशेर बहादुर मेलापातमा हिँड्थे । घर वरिपरि केरा, बेलौती, सुन्तला लगाएका थिए । घर पनि माटो ढुङ्गाको जोडाइ भए पनि राम्रै बनाएका थिए ।
अब शमशेर बहादुर पनि मसँग हल्काफुल्का बोल्न थालेका थिए । तर उनी मौका पाउनासाथ मलाई व्यङ्गयात्मक शब्द प्रहार गर्न भने चुक्दैनथे । म पनि हाँसी हाँसी भन्थे, ´जङ्ग बहादुरसँग कसले सक्ने ?`
एक दिन शमशेर बहादुर रामकुमारी भाउजुसँगै दोमनपुर बजारबाट फर्किदैँ गर्दा के छ भाइ ? भन्दै हाम्रो घर पसे ।
मैले मुडामा बस्नुस्न भन्दै, “के हुनु र ! ठिकै छ” भनेँ ।
तर उनले नबसी उभिएरै भने, ´गौरीशंकर भाइ ! मैले तिमीलाई धेरै सताएँ । आफ्नै दाइ सम्झेर मलाई क्षमा गरिदेऊ, ल ! एउटै स्कूलको चौरमा खेलेका हामी बाल साथी पनि हम् नि !`
मैले भनें, ´मेरो तपाईंले के बिराउनु भएको छ र ? क्षमा नै माग्ने भए बरु भाउजुसँग माग्नुस्, शमशेर दाइ !`
´मैले उनीसित त पहिले नै मागी सके नि`, भने उनले ।
उनको अप्रत्याशित आत्म स्वीकारोक्तिले म आश्चर्यचकित भएँ । मैले सोचेँ, ´त्यो कठोर हिमाल कसरी पग्लियो ?`
शमशेर दाइले यतिभन्दा भाउजुका रसिला आँखाले मलाई केही भनि रहे जस्तो लाग्यो ।
हामी तिनै जनाका आँखा टिल्पिलाए ।
त्यस पछि कालो डोरोको कथा सँधैका लागि सकियो ।
***h

कथाकार परिचयः कवि गोविन्द बहादुर कुँवर सुन्दरबजार-८ भोटेओडार, लमजुङ्गलाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा रहेका छन् । उनको पहिलो रचना “मेरो देश” कविता सिपाही पत्रिकामा विसं २०२७ मा प्रकाशित भएको थियो । उनका प्रकाशित कृतिहरुमा १.समयका पदचापहरु (२०४७), मौन आवाजहरु (२०४८) तथा गुमनाम जिन्दगी (२०७८) कविता सङ्ग्रह, कथाजस्ता कथाहरु ( २०७५), मलाई उत्तर थाहा छ (२०७८) तथा निमिका (२०७८० कथा सङ्ग्रह,भोटेचौरको कथा (२०७५)जीवन कथा, देब्रेकुना (२०७८) तथा टेबलगफ (२०७८) निबन्ध सङ्ग्रह एवम् तातेताते (२०५८) तथा रमाइलो दशैँ (२०७९) वाल साहित्यका पुस्तकहरू प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *