लौ त बरू

कथा

मुक्तिप्रसाद उपाध्याय

दसैँको रमझम र हर्ष र उल्लास थियो चारैतिर। सबैको मनमा फूर्ति, आनन्द, उल्लास र भक्तिभावको सृजनाले सम्पूर्ण परिवेश नै श्रृङ्गारमय बनेको थियो। सावित्री टोलको त कुरै नगरौँ। दुर्गापूजा गर्नका लागि त्यहाँ एउटा भव्य मण्डप बनाइएको थियो। माइकमा भजन सङ्गीतको ध्वनि गुञ्जिरहेको थियो। सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य बिहानै भइसकेको थियो। भरे साँझ दुर्गादेवीको प्रतिमा स्थापना गरेर नगरप्रमुखको बाहुलीबाट रिबन काटेर पूजाको श्रीगणेश गर्ने योजनामा सबै व्यस्त, सबै खुशी।

तर त्यो दुर्गापूजा गरिने मण्डपको अलिक पर रत्नमाया, फूलमाया, चन्द्रमाया र योगमाया गालामा हात राखेर झोक्र्याएर बसिरहेका थिए। दसैँको त्यस खुशीको परिवेशमा उनीहरू त्यति खुशी हुन सकेका थिएनन्। हुन त उनीहरू पनि सजिएर पूजा मण्डपमा फूलपाती आगमको रमाइलोमा जान तयार भएर निस्किएका थिए। तर फूलपातीको रमाइलोमा उनीहरू सामेल हुन पाएनन्। रातिको त्यस घटनाले गर्दा उनीहरू कुदाकुद गरिरहेका थिए। चिनेजानेका सबै ठूलाठालुलाई फोन गरेर सहयोग मागिरहेका थिए। हुन्छ गरिहाल्छौँ भन्ने आश्वासन बाहेक केही सहयोग उनीहरूले पाएनन्। नगर निगमको अफिस गएर उनीहरूले विन्तीपत्र पनि चढ़ाए। मीठो मुखले तुरून्त पठाउँछौ भने मात्रै। कोही आएन। उनीहरू वड़ा अध्यक्ष महोदयाको घरमा पनि विन्ती बिसाउन नपुगेका होइनन्। विशेष कामले अध्यक्ष महोदया व्यस्त हुनुहुन्छ। कसैलाई भेट्ने अनुमति छैन – भनेर द्वारपालेले अध्यक्ष महोदयालाई भेट्नै दिएन। त्यही द्वारपालेको हातमा निवेदन सुम्पिएर मुरमुरिँदै फर्किन कर लाग्यो उनीहरूलाई।

यसपालि भोट माग्न आओस् त त्यो नकच्चरी! मुख लोप्र्याएर पठाइन भने त के र? कसैले नगरेको बिहे गरिछ त्यसले!” – रत्नमायाले रिस पोखी।

हाम्रै भोटले जितेकी त हो नि त्यस मोरीले। एउटी नारीले जितोस् न त भनेर हामी दिनरात नभनी खट्यौँ। अहिले उसको घरमा पस्न पनि नदिएकी त्यसले? घरमा खाने थिएन त्यस भिखारीको। हात जोड़न धौ धौ थियो। फुसको सानो घर थियो उसको। पार्टीमा लागेर वड़ा अध्यक्ष हुनु बेर न बिल्डिङ ठड्याउनु बेर!” – चन्द्रमाया फतफताई।

हनीमुन सकेर अस्ति फर्केकी होइन त्यो बाइफाले! अझै धीत मरेको रहेनछ त्यसको? दिउसै पनि घर थुनेर भित्रै …  छ्या छ्या छ्या!” – फूलमायाले पनि भड़ास् पोखी।

योगमाया किन त्यसै बस्थी र! उसले पनि रिसले भरिएको तातो ओठ खोली – भोटको बेलामा हात जोड्दै म्याउ म्याउ गर्दै आओस् त त्यो। त्यसको मुखमा अगुल्टो झोसेर पठाइन भने नि म एउटा बाउकी छोरी होइन।

उनीहरूले छिमेकी एक दुई जनालाई पनि गुहार मागे। तिमीहरूको घर अघिको फोहोर हामीले किन सोहोर्ने? आफैँ गर। हामी सक्दैनौँ। – भन्ने ओठे जवाफ सुन्नुपऱ्यो।

हामी चारै जनाका बुढ़ाहरू पनि त घरमा छैनन्। – रत्नमायाले भनी।

मेरो बुढ़ो त दशमीका दिन मात्रै घर आइ पुग्छ। आर्मीको जागिरमा छुट्टी मिलाउनै गाह्रो पर्दो रहेछ। चन्द्रमायाले भनी।

मेरो बुढ़ो पनि त अस्ति भर्खर दुई महिनाको छुट्टी बिताएर ड्युटी फर्किएको हो। घरमा लोग्ने मानिस नहुँदा पनि धेरै कुरामा अप्ठ्यारो पर्दो रहेछ नि हौ। – योगमायाले दुःख पोखी।”

जे गर्ने हो अब हामीले नै गर्नुपर्छ। पूजा मण्डपमा काम गर्ने मानिस त होलान् नि? उनीहरूसित गुहार मागौँ हिँड़। – फूलमायाले भनी। मण्डप सजाउन व्यस्त भइरहेका कार्यकर्ताहरूका अघि आफ्नो व्यथा बिसाउन उनीहरू पुगे। फेरि मण्डपमा काम गर्नेहरूले पनि सुनिदिए त के र? कसैको फुर्सद छैन। सबै व्यस्त। धन्न त्यहाँको एउटा नेता जस्तो मानिसले मुख खोल्न भ्यायो – तपाईँहरूको समस्या हाम्रो समस्या अनि हाम्रो समस्या तपाईँहरूको समस्या होइन र? भरे साँझ पूजा उद्घाटनका लागि मेयर साहब, हाम्री वार्ड अध्यक्ष महोदयाहरू आएर गएपछि हामी तपाईँहरूको काम गरिदिई हाल्छौँ नि। तपाईँहरू चिन्तै नगर्नुहोस्। भरेको कार्यक्रममा तपाईँहरू पनि आएर हामीलाई सघाउनु होला।

हताश भएर ती चारजना मायाहरू आफ्नै घर करेसातिर फर्किएर आए। अब त सिनो गह्नाउन पनि थालेछ। नाक थुन्नुपर्ने बाध्यता आइ पऱ्यो। छेरपाटी लागेर कहिलेदेखि मरेको बहर राति ल्याएर मायाहरूको घर अघि बाटामा तेर्स्याई दिएको थियो। कसको काम हो कसको? मरेपछि मालिक निस्किए त हो। निस्किए त्यो सिनो फ्याँक्न खर्च हुन्छ। अर्काका घरअघि ल्याएर तेर्स्याएपछि ऱ्याइँ न झ्याइँ। कस्तो नीच बुद्धि हो मानिसहरूको पनि! बिहानसम्म त त्यसले छेरेको गोबरको गन्ध मात्रै थियो। अहिले त कुकुर र काग आएर लाशको मासु लुछ्न थालिसकेछन्। सिनो सरी दुर्गन्ध भरेसम्म कसरी सहने होला? अर्काको आश नित्य उपवास। उनीहरूले सोचेर पार पाएनन्।

शरीरमा बल नभए नि बुद्धिले धेरै काम गर्न सकिन्छ साथी हो बुझ्यौ। – फूलमायाले भनी। रत्नमाया, योगमाया, चन्द्रमाया र फूलमायाले एक अर्कालाई हेराहेर गरे। आँखा आँखामा कुरा भए। त्यतिबेला दिउसोको दुई बजिसकेको थियो। फूलमाया पूजा मण्डपको निरीक्षणमा गई। पूजा मण्डपको काम मोटोमोटी सकेर काम गर्ने मानिसहरू सबै नै खाना खान गइसकेका थिए। त्यसैले मण्डप जनशून्य थियो। फूलमाया तुरून्त फर्किएर आई र जनशून्य पूजामण्डपको जानकारी साथीहरूलाई गराई। लौ त बरू, जे पर्ला पर्ला भनेर उनीहरूले गतिला दुईवटा दाम्ला ल्याए। साड़ी सुर्किए, मुखमा लुगा बाँधे अनि मरेको बहरका पछाड़िका दुईवटा खुट्टा दाम्लाले बाँधे। दु-दुईजना मायाहरू मिलेर एक-एकवटा खुट्टाका दाम्ला समाएर घिसार्दै ल्याएर त्यस मरेको बहरलाई पूजा मण्डपकै ठिक्क अगाड़िको बाटामा तेर्स्याइदिए। उनीहरूको भाग्य राम्रो। उनीहरूलाई कसैले देखेन।

खाना खाइसकेर पूजा मण्डपमा काम गर्ने मानिसहरू भेला हुन थाले। मण्डप अघि मरेको बहरको गह्नाउने लाश देखेर सबै आत्तिए। मेयर आउने बेलामा गजबकै समस्या आइपऱ्यो भनेर हाहाकार मच्चियो। साथमा वड़ा अध्यक्ष महोदया अनि अन्य गण्यमान्य व्यक्तिहरू पनि आउने भनेपछि गह्नाउने सिनो मण्डप अघि कसरी रहन सक्थ्यो? फोनाफोन चल्यो, कुदाकुद मच्चियो। एकछिनमा स्याँ स्याँफ्याँ फ्याँ गर्दै आत्तिँदै वड़ा अध्यक्ष महोदया पनि हाजिर हुन कर लाग्यो। यो त उसको वार्डको बदनाम नै हुने कुरा भयो। नभन्दै केही बेरमा नगरपालिकाको फोहोर बोक्ने गाड़ी पनि हाजिर भयो अनि त्यो मरेको बहरलाई गाड़ीमा हालेर गइ पनि हाल्यो। त्यसपछि हतार हतार ब्लीचिङ पाउडर र गन्धनाशक सुगन्धी द्रव्य आदि छर्किएर त्यस ठाउँलाई सफा गरेर दुर्गन्ध मुक्त पार्ने प्रक्रिया शुरू भयो। साधारण ती मायाहरूलाई अप्ठ्यारो पर्दा कसैले टेर पुछर नै लगाएन, उनीहरूको दःख कसैले बुझिदिएन, उनीहरूलाई कसैले छड़के आँखाले पनि हेरेन। अहिले ठुलाबडाको कुरा आउँदा तुरून्त काम भयो। यस्तै छ हाम्रो समाजमा भएका मानिसको रीत।

उता चारवटी मायाहरू पनि मिलेर पानी खन्याउँदै गोबर पखालेर, अत्तर आदि छर्किएर आफ्नो घर परिवेश र वातावरणलाई स्वच्छ पार्ने प्रयास गर्दै थिए। सिनो र गोबरको गन्ध सँगसँगै मानव भावनाको दुर्गन्ध पखाल्न ती चारवटी मायाहरूले सकेको भए?

०००

कथाकार परिचयः मुक्ति वराल बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । उनको विस्तृत परिचय विश्वपरिक्रमामा नवीन पौड्यालले लेखेका छन् । (https://vishwaparikrama.com/5983/)

 

 

 

Leave a Reply