(लघुकथा) अमेरिकी जिन्दगी

कथा छन्द कविता

आचार्य प्रभा, अमेरिका

आमाबाबु उता नेपालमा हर्षबिभोर थिए अमेरिका जाने खुशीयालीमा । यता छोराबुहारी पनि आमाबाबु (सासुससुरा) आउने खुशीमा मक्ख थिए ।
अमेरिका जाने दिन आइेपुग्यो । बुढाबुढी गमक्क परेर एयरपोर्टतिर लागे।उनिहरुलाई छोराबुहारी,नातिलाई भेट्ने हर्षले आतुर बनाइे रहेको थियो ।
अमेरिकाको एयरपोर्टमा छोराबुहारी,नाति लिन आएका थिए । पारिवारिक मिलन बडो हर्षोल्लासका साथ भइेरहेको थियो ।अमेरिका पुगेको हप्तादिनसम्म उनिहरुलाई घुम्दै फुर्सद भएन । छोराबुहारी दुवैजनाले बिदा लिएर ढुक्कसँगले बाबुआमालाई घुमफिर गराए । अमेरिकाको जीवन अत्ती रमाइलो भएको आभास भइरहेको थियो । सबै कुराको सुबिधा। निर्धक्कसँग घुमफिर गर्न पाइेने । बिजुली,पानीको अभाव पनि नहुने ।
जब समय बित्दै गयो । नातिलाई स्याहारसुसार गर्ने जिम्मेवारी त छँदैथियो बुढाबुढीलाई । छोराबुहारीको मुख हेर्नसम्म पनि शनिबार,आइेतबार कुर्नुपर्ने समय आयो । आधारातमै छोरा बुहारी उठेर काममा जान्थे । आउँदा बुढाबुढी सुतिसकेका हुन्थे । यसरी समय बित्न थाल्यो ।
नेपालमा हुँदा बुढाबुढी गाउँघर,छरछिमेकी हाँस्दै,गफ गर्दै हिँड्ने बानी। स्वतन्त्रसँग जहाँ पनि जानसक्ने, जतिबेला पनि । तर जब अमेरिका आए उनिहरु। पिंजरामा परेको सुगा झैँ भए । नत,कतै जान सक्नु आफ्नो खुशीले । न त कोहिसँग बोल्न र भेट्न पाउनु । उनीहरुको हर्षोल्लास र उमङ्गको अमेरिका बसाई निराशामा अनुवाद हुँदै गयो । उनीहरु कहिले नेपाल फर्कन पाउने भन्ने आशामा दिन गन्न थाले ।
कहिलेकँही मौकाको भेट्मा छोराबुहारीलाई उनीहरुले सोध्ने गर्दथे । अब कहिले पठाउँछौ हामीलाई नेपाल? दिक्क लागिसक्यो । यस्तो पनि जिन्दगी हो ? हामी बुढाबुढी त यो बेला गाउँघर घुमेर,पूजापाठ गरेर,तिर्थ,धर्म गरेर बिताउने समय हो । यसरी एक कुनामा बसेर दिन काट्न कहाँ सक्छौं र ? गरौँ केही छैन ।
उनीहरुले छोराबुहारीबाट यस्तो जवाफ पाउँथे-“के भो त? बुवाआमा नातिको मुख हेर्दै बस्ने नि । हजुरहरु आउनुभयो र हामीले काम गर्ने मौका पायौं । नत्र हामीले पैसा कसरी कमाउने ? नातिलाई कस्ले हेर्छ ?”
बुढाबुढी यस्तो उत्तरले मौन बन्थे र सोच्थे । -“उहिले बरु छोराबुहारीले तिर्थधाम घुमाउँथे। बुढाबुढीहरु कती प्रशन्न हुन्थे । आजभोली बाबुआमालाई अमेरिका घुमाउन बोलाउँछन् भनेर आमाबाबु मक्ख पर्छन् तर अमेरिका घुमाउनुको अर्थ त अर्कै पो रहेछ भनेर उनीहरु एकार्कालाई हेरेर मौन बन्थे । बुढाबुढीलाई शंका भयो।आमाबाबुलाई अमेरिका बोलाउनुको स्वार्थ शायद सबै सन्तानको यस्तै हो कि? भनेर ।

कथाकार परिचयः आचार्य प्रभा कविता, लघुकथा, नाटक, गीतिनाटक आदिमा कलम चलाउने वहुमुखी प्रतिभा हुन् । उनका परदेशवाट(कविता सङ्ग्रह), असह्य चित्कार(गजल सङ्ग्रह) तथा मायाको नाकाबन्दी (गीति संग्रह) प्रकाशित छन् र चाँडै लघुकथा सङ्ग्रह प्रकाशनको तयारीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *