कात्रो

कविता

सुरेन्द्र अस्तफल

सानै थिएँ
चढ्दै थिए जीवनका कलिला भ-याङहरू
कहिले बा जत्रो भइएला
र घर धानुँलाजस्तो लाग्थ्यो
कहिले हजुर बा जत्रो भइएला
र नातिनातिनाहरूलाई कथा सुनाउँला जस्तो लाग्थ्यो

एकदिन
झुत्रा र टालेका
कपडा लगाएर
तप्केनी जीवन बाँचिरहेका
आदर्शको कखरा पढाइ रहने
हजुर बाले
एकाएक नयाँ कपडा लगाएको देखेँ

पहेँलो वस्त्रमा बलिरहेका
हजुर बालाई कत्ति बोलाए
हजुर बा बोल्दै बोल्नुभएन
आँखा चिम्लि रहनुभयो
पूजाकोठामा ध्यान गरे झैँ

बालाई सोधे
ए बा , नयाँ कपडा लगाएर पनि
हजुर बा किन बोल्नुहुन्न ?

बाले आकाशतिर हेरेर भन्नुभयो
अब बोल्दैनन् तेरा हजुर बा
वैकुण्ठ बासी भए

बालाई फेरि सोधेँ
झुत्रा र टालेका लुगामा
वैकुण्ठ जान पाइँदैन र बा ?

हो छोरा
हामी जीवनभर
फाटेका लुगामा
यो छाला घोटिरहन्छौँ
धानि रहन्छौं जसोतसो एक मुठी सास
र मरेपछि
पीत वस्त्रमा तेरो हजुर बाझेँ
वैकुण्ठ जान्छौ ।

सोचिरहेछु
दुई बीस हिउँद र बर्खा ओढेर
एक पटक जिउँदै पीत वस्त्र लगाऊँ
र यही धर्तीमा
वैकुण्ठको स्वाद चाखूँ ।

०००

कवि परिचयः कवि सुरेन्द्र अस्तफल भरतपुर चितवनमा जन्मेका हुन् र जन्मथलोलाई नै कर्म थलो बनाएका छन् । विसं २०४७ सालमा सुसेली हवाई मासिकमा गजल प्रकाशनसँगै साहित्यमा होमिएका उनका बिम्बशिविर(२०६१), हिउँको आरोहण (२०७२) तथा तेल भिसा (२०७८) कविता सङ्ग्रहहरु प्रकाशित छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *