सीता पाण्डे
ओहो ! कस्ती सुन्दरी
कस्ती राम्री !
तिम्रो आगमनसंगै
म
अनेक प्रण गर्छु
के- के गर्छु !
के-के गर्दिन भनेर – सोच्छु
तिमीलाई अघि राखेर वाचा गर्छु
क़सम खान्छु
खुसीले गदगद हुन्छु !
रोमान्चित हुन्छु !
तर,
समयले
पाईला टेक्दै जाँदा
तिमी बदलिन्छौ कि म ?
वा म बदलिन्न्न कि तिमी ?
कस्ले पहिले धर्म छाड्छ ? वेईमान गर्छ ?
तिमीले आफ्ना बचन पुरा गर्दिनौ कि मैले ?!
कसले बिच्चैमा चटक्क छाड्छ
कसले बिर्सिन्छ ?
थाहा छैन
तिमीले कि मैले !?
फेरि , अर्को बर्ष आउंदा पनि
म उनै सित पहिलो पटक भेटेको
जस्ता गरि, अनेक प्रण गर्छु !
त्यसो त तिमी लाई पनि थाहा छ, मलाई पनि
हामी यसो भन्दै .. बर्षौ – बर्ष काटिरहेका छौ
बिताई रहेका छौं
एउटा भ्रम पालेर
खुसी हुने कोशिश गरिरहेका छौं!
भैगो ! नबिथोलम्, भ्रम मै सही
अहिले खुसी त छौं
रङ्गहरू छ्यापेर मनभरि
पहिले पटक भन्दै , तिमीलाई
छातीमा टाँसेर च्वाप्प म्वाईखान्छु,
मितेरी लाउंछु!
यो भ्रम र खुसीको
के साईनो होला !?
कस्तो संबन्ध होला !?
को सित छ, यस्को उत्तर ?
भो ! प्रयास नगर !
न तिमी सित छ !
न म सित !
भो ! यस्तै रहन देऊ !
(१ जनवरी – २०२५)
०००
कवि परिचयः सीता पाण्डे कवि, कथाकार, उपन्यासकार र गद्य लेखिका हुन् । गौरादह झापामा जन्मेकी उनी हाल मेरिल्याण्ड अमेरिकामा बसोवास गर्छिन् । उनका “असजिला खुशीहरु” (कविता र कथा संग्रह), “बन्धकी खुशीहरु”(कथा संग्रह), “सीता पाण्डेका कथाहरु”(कथा सङ्ग्रह”, “अन्तर्द्दन्द्व” (उपन्यास”, यौन र अनुभूति (गद्य रचना) लगायत कृतिहरु प्रकाशित छन् । उनको “यौन र अनुभूति” अङ्ग्रेजीमा Silent Voice का रुपमा सन् २०२५ को आरम्भमा प्रकाशित भएको छ । उनका कथाहरुको अनुवाद Fever यसअघि प्रकाशित भएको थियो ।