पानी अनुहार

कविता

उमेश अकिञ्चन

धर्ती र आकाश जोडेर
उभिएको इन्द्रेणी

चट्टानसँगै जुध्दै हिँडिरहेको
एक लहर

को हौ तिमी ?

प्रत्येक मानिसको आँखा आँखामा
प्रिय फूलको पत्र पत्रमा बस्ने

कहाँ हो तिम्रो ठेगाना ?

हामीलाई थाहा छ
आगो खतरनाक हुन्छ सबैभन्दा

आगोलाई पनि खरानी बनाउने

सबैभन्दा अग्लो हुन्छ आकाश
आकाश भन्दा पनि माथिमाथि बादलसँग डुल्ने

के हो तिम्रो शक्ति ?

रकेट भन्दा उग्र गतिमा दौड्ने खहरे
ध्यान मग्न कुनै भिक्षु जस्तो शान्त अति शान्त समुद्र

कुन हो तिम्रो असली रुप ?

पानी
मलाई बग्न मन छ
जीवनका तिम्रै आयामहरू

पानी मलाई मन छ
रंगविहिन, स्वादविहिन तिम्रो कायामा
अमृत अस्तित्व बाँचिरहन

के
तिमीलाई मञ्जुर छ ?

०००

कवि परिचयः खड्ग राज राईको साहित्यिक नाम कवि उमेश अकिञ्चन हो । बबिया विर्ता, मोरङमा जन्मेका उनी हाल काठमाडौंमा वसोवास गर्छन् । बिस. २०५५ सालमा मधुपर्कमा गीत प्रकाशित गरेर उनले साहित्यमा पाइला हालेका हुन् । उनका “एक सगर, दुई तारा“(२०६४) गीत-गजल सङ्ग्रह तथा “मोनालिसा र मार्च ८” (२०६८) कविता सङ्ग्रह प्रकाशित छन् ।

 

2 thoughts on “पानी अनुहार

  1. मेरा मित्र सुभाषचन्द्र पौडेल ‘भिमफेदिया’को “स्मार्ट घडी” कविता पढेर म यति आकर्षित भएँकि मलाईपनि कविता लेखुँ लेखुँ लाग्यो।अब मपनि स्मार्ट हुँदै आगामी दिनमा केही कोर्न सक्छु कि..!

    1. अवश्य सक्नुहुन्छ । vpkusa@gmail.com ईमेलमा कविता र परिचय पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *