१४ अगस्त २०२४,
काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा प्राज्ञिक भेटघाट र नेपाली साहित्य दर्शन विषयक विमर्श तथा भविष्यमा कार्यक्रम आदान प्रदान गर्ने प्रतिबध्दता गरिएको छ ।
विभागाध्यक्ष प्रो० दिवाकर प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालबाट गएका नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य डा. कृष्ण राज अधिकारी, प्रज्ञा-प्रतिष्ठानका योजना अधिकारी रञ्जन घिमिरे र नेपाल राष्ट्रिय परामर्श समितिका सदस्य पूर्ण प्रसाद मिश्र, पं.धर्मराज बराल सम्मिलित थिए ।
सो अवसरमा डा० जगदीशनले प्रज्ञा-प्रतिष्ठानले नेपालका भाषाहरू अनि हिन्दी अङ्ग्रेजीबाहेक विकसित भारतीय भाषाहरूमा पनि अनुवाद विनिमय हुनुपर्ने सुझाव राखेका थिए ।
मराठीका प्रो० प्रमोद भागवान पडवाल र तेलुगुका प्रो० वेङ्कटसरुलुले प्रज्ञा-प्रतिष्ठानका प्राज्ञिक कार्यको सराहना गर्दै अनुवादको महत्त्वबारे प्रकाश पारेका थिए ।
सो अवसरमा सदस्य सचिव डा.सुवेदीले भारतीय भाषा विभागलाई प्रज्ञा-प्रतिष्ठान प्रकाशनका ग्रन्थहरू उपहार प्रदान गरेका थिए भने शोधार्थी अभिषेक कोइराला ‘आशिष’, छात्रा सङ्गम ‘सुधा’ थापा र पूर्व छात्रा कवयित्रि पुष्पा शर्माले आ-आफ्ना ग्रन्थहरू प्रज्ञा-प्रतिष्ठान पुस्तकालयलाई उपहार दिएका थिए ।
सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका प्रो हरिप्रसाद अधिकारी तथा पं० धर्मराज बरालले समेत आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको अन्तमा डा. विघ्नेश अनन्तले धन्यवाद ज्ञापन गरेका थिए ।