चार मुक्तक

कविता

नीलकण्ठ सुवेदी, अमेरिका

जूनसँग छु म तारासँग छु
सम्झना गर्नेहरू सारासँग छु
याद आउँदैन भने बिर्सिदिए हुन्छ
परमेश्वरसँग छु म सर्वहारासँग छु ।

हिजो देखेको मान्छे आज दुरूस्तै देख्न पाए हुन्थ्यो
नलरबरिए हुन्थ्यो सधैं तन्दुरूस्तै देख्न पाए हुन्थ्यो
चाहेजस्तो भइदेओस प्रभु भनेर पुकारा गरिरहन्छु
आदर, सम्मान अनि सद्भाव उस्तै देख्न पाए हुन्थ्यो ।

प्यार गरे जस्तै यार कहिले होला यो जिन्दगी
चाहे जति सधैं अपार कहिले होला यो जिन्दगी
सम्झिएर उनैलाई सेकेण्ड मिनेट प्यारो लाग्छ
आखिरिमा उनकै आधार कहिले होला यो जिन्दगी ?

दु:ख बिसाउने र भविष्य लेखाउनेनै प्यारा हुन्छन्
गन्तव्य चिनाउने र खुट्टा टेकाउनेनै प्यारा हुन्छन्
दयालु हुन्छन् हृदयदेखि चोखो माया गर्नेहरू
पलपलमा प्रगतिको बाटो देखाउनेनै प्यारा हुन्छन् ।

कवि परिचयः नीलकण्ठ सुवेदी गुञ्जनगर, चितवन नेपालमा जन्मेका हुन् र सन् २००३ देखि अमेरिकालाई कर्मथलो बनाएका उनी सेण्टरभिल, भर्जिनियामा बसोवास गर्छन् । उनको “मुगलानबाट देश नियाल्दा”  कविता सङ्ग्रह बिसं २०७७ सालमा प्रकाशित भएको थियो र त्यसको दोश्रो संसकरण समेत प्रकाशित भएको छ ।

Leave a Reply