दीपक मुडभरी ‘मित्र’
छोरा नातीहरू भन्छन
अब हाम्रो पालो
पौरख देखाउने
रंगिन सपनाहरू बुन्ने
अनि आँखामै उन्ने
कोईलाले
भित्तामा कोरेका
बाङ्गा टिङ्गा काला रेखाहरू
देशको नक्सा झैं
रंगिन बनाउँदै
आमाका धुमिल सपनाहरू
साकार गराउने ।
रंगिन सपनाहरू
पुर्खाले रगतले कोरे
बाबा आमाले
रंगहिन आँशुले
टलपलिएका आँखाहरूले
गोरेटोका दोरेटोमा
चन्द्र सूर्य नियाल्दै
बाँझो गह्राहरूमा
कुटो कोदालो बजार्दै
हाम्रै प्रतिक्षामा
निराशाका खातहरू
उन्दै र बुन्दै
सपनाहरूमा झैं
देशकै खोजीमा ।
ओई !
नकच्चरा सपना
किन चियाउॅंछस बारम्बार
मेरा ॲाखाहरूबाट
आकाश एउटै हो
मेरा बाबा आमाको
र मेरो
भूगोल पनि एउटै
मात्रै सीमानाले
अलग्याएको हो यो धरती
र नामाकरण गरेको माटोको
नेपाल अमेरिका आदी ईत्यादी भन्दै ।
आखिर
जहाँ रहे पनि
मेरा बाबा आमाले
देख्ने गरेको तॅंलाई
मैले पनि
त्यही रूपमा हेर्ने गर्छु
आँखा त
मकवानपुरकै हो
स्वयम्भूमा टाँसिएको
त्यही आँखाले
रंगिन सपना बुन्छु
र देश हेर्ने गर्छु
सपना मै
म देश खोजीरहेछु ।
कवि परिचयः कवि दीपक मुडवरी ‘मित्र’ नेपालको साहित्यिक जग हेटौंडामा वसेको हो । उनले मकवानपुर साहित्य परिषदसँग सम्बध्द भएर, अठोट साहित्यिक पत्रिका सम्पादन प्रकाशन गरेर साहित्यिक गतिबिधि गरिरहेका थिए । उनको एक कविता संग्रह “केही अस्पष्ट रेखाहरू” (विसं २०७४) प्रकाशित छ । हाल उनी अमेरिकाको मेरिल्याण्मा बस्छन् र निरन्तर लेखनमा लागिरहेका छन् । उनले आफ्ना माता पिताको नाममा “सुभद्रादेवी मदन मुडभरी स्मृति काव्य पुरस्कार” समेत स्थापना गरेका छन् ।