आर. आर. चौलागाईं
म अचेल हरेक दिन
आफैँले देखेका सपनाहरूको
मलामी जाने गरेको छु ।
नदी कञ्चन भएर बग्नेछ
अनि हाम्रो सुक्खा धरतीलाई सिञ्चित गर्नेछ
फूल ढकमक्क भएर फुल्नेछ
अनि हाम्रो बगैँचालाई मगमग बनाउनेछ
घाम झलमल्ल भएर उदाउनेछ
अनि हाम्रो दैलोलाई उज्यालो पार्ने छ
जून टहटह भएर लाग्नेछ
अनि हाम्रो यात्रालाई गन्तव्यमा पु-याउनेछ
यस्तैयस्तै सपनाहरू देखेको थिएँ मैले
तर होइन रहेछ
सब भ्रम रहेछ ।
सपनालाई विपना बनाउने नाममा
सपनाका धूर्त व्यापारीहरूले
कहिले मेरो हात काटे
मेरो मात्रै होइन
हामी धेरैको काटे
कहिले मेरा खुट्टाहरू काटे
मेरो मात्रै होइन
हामी धेरैको काटे
कहिले मेरा कानहरू थुने
मेरो मात्रै होइन
हामी धेरैको थुने
कहिले मेरो आँखा फोरे
मेरोमात्रै होइन
हामी धेरैको फोरे
कहिले मेरो जिब्रो थुते
मेरोमात्रै होइन
हामी धेरैको थुते
कहिले मेरो कलम भाँचे
मेरो मात्रै होइन
हामी धेरैको भाँचे
कहिले मेरो किताब च्याते
मेरोमात्रै होइन
हामी धेरैको च्याते
कहिले मेरो बाजा फुटाए
मेरो मात्रै होइन
हामी धेरैको फुटाए
कहिले मेरो गीत जलाए
मेरो मात्रै होइन
हामी धेरैको जलाए
अनि मलाई कीला ठोकेर भित्तामा टाँगे
मलाई मात्रै होइन
हामी धेरैलाई टाँगे
त्यसपछि उनीहरू मालामाल भए ।
अहिले मेरो अगाडि
सपनाका लाशहरूको थाक लागेको छ
म केही पनि गर्न सक्तिनँ
न हात चलाउन सक्छु
न हिँड्न सक्छु
न सुन्न सक्छु
न हेर्न सक्छु
न बोल्न सक्छु
लाचार छु
तर मैले यो सब बुझेको छु
सब थाहा पाएको छु
ती जल्लाद व्यापारीहरू
जो सपना बेचेर खान पल्केका छन्
र पुनः सपना बेच्न
अहिले पनि विगतको
मजस्तै हट्टकट्टा मान्छेहरूको खोजीमा छन्
होशियार जिउँदा मान्छेहरू हो !
म त फसेँफसेँ
तपाईँहरूचाहिँ भोलि
मजस्तै सपनाहरूको मलामी हुनबाट जोगिनुहोला ।
०००
कवि परिचयः रेवतीरमण चौलागाईंको साहित्यिक नाम हो आरआर चौलागाईं । विसं २०३४ ताक कविताबाट लेखन यात्रा आरम्भ गरेका उनको पहिलो कृति “सामन्तीलाई चिट्ठी” २०३७ सालमा प्रकाशित भएकोथियो ।२०७३ सालमा पछिल्लो कृति प्रतिनिधि कविता सङ्ग्रह ” असीम पर्खाइहरु” सम्म आइपुग्दा प्रकाशित कृतिहरु ११ पुगेका छन् जसमध्ये ८ कविता सङ्ग्रह, एक हाइकु, छोक र मुक्तक सङ्ग्रह तथा एक लघुकथा सङ्ग्रह रहेका छन् । उनी विविध प्रतियोगिताहरुमा पुरस्कृत तथा सम्मानित भएका छन् । उनको सिर्जन कर्मथलो हेटौंडा हो ।