सुभाषचन्द्र पौडेल “भीमफेदीया”
सानै छँदा
मस्त निदाइरहेका बेला
कामकाजी बुबाले
राति कुन बेला आएर खुसुक्क
मेरो देब्रे हातमा
रङ्गीन आलुघडी बाँधिदिएर
बिहान सखारै पुनः
आफ्नो काममा हिँडिसकेछन्
म झल्यास्स ब्यूँझिएर हेर्दा
आफ्नो हातमा घडी देखेपछि
यति खुशी भएछु कि
त्यो हर्ष अनि आनन्दको
म बयान गर्न नै सक्दिनँ
घर-परिवारका सदस्यहरूले
मेरो हातको घडी नदेख्ने कुरै भएन
घडी प्राप्तिको खुसीयालीमा
मुखै नधोएर आँखा मिच्दै
छर-छिमेकी र साथीहरूलाई
घडी देखाउन कुदेको त्यो क्षण
अहिले सम्झँदा पनि म
भाव विभोर हुने गर्छु
त्यसबेलादेखिको
घडीप्रतिको मेरो लगाव
अनि सौख थाहा पाएर
प्राथमिक कक्षा उत्तीर्ण हुने बित्तिकै
बुबाले आफूले लगाइराखेको
वेष्ट एण्ड वाच घडी
आफैँले मेरो हातमा बाँधि दिएपछि
बल्ल मैले समयको
महत्त्व बुझ्न थालेको थिएँ
दिनको ठीक बाह्र बजेपछि
एक पटक दम दिनुपर्ने उक्त घडी मैले
एस.एल.सि.दिने बेलामा मात्र
फेर्नु परेको थियो
पुरानो भइसकेको उक्त घडी
बुबा आफैँले फिर्ता लिएर
मलाई नयाँ घडी सिको फाइब किनिदिएका थिए
भोटाहिटीमा रहेको घडी मर्मत गर्ने पसलबाट
त्यो आधुनिक घडीमा
दम दिनु पर्दैनथ्यो
तर ब्याट्री चाहिँ बदल्नु पर्थ्यो
दुई तीन वर्षमा एक पटक
त्यो घडीले मलाई
समयको महत्त्व र सदुपयोग बारे
अझ बढी जिम्मेवार बोध गराएको थियो
अहिले मसँग न त बुबाले दिएको घडी छ
न त बुबाको भौतिक शरीर
बुबा बितेपछि
मेरो घडी मात्र नभइ
समय पनि बिग्रँदै गयो
अनि मैले घडी बाँध्न नै छाडिदिएँ
बुबाको भौतिक शरीर नै नरहेपछि
बुबाको चिनो घडी पनि बाँध्न मन लागेन
बुबा बितेको छवर्षपछि
बिहेमा पाएको सिटिजन घडी पनि
मेरो हातमा धेरै टिकेन र
त्यसै थन्काइदिएँ
समयले छलाङ् मारेर
कहाँबाट कहाँ पु्र्याइसकेछ
म मायालु बुबाको छोरोबाट
छोराछोरीको मायालु बुबा बनिसकेको थिएँ
हातमा घडी नबाँधे पनि
मैले समयलाई चिनिसकेको थिएँ
समयले चाहिँ मलाई चिन्यो कि चिनेन
मलाई थाहा भएन
घडी नबाँधे पनि समय त बित्दो रहेछ
समय आफ्नै रफ्तारमा थियो
म आफ्नै रफ्तारमा थिएँ
बुबाको ठाउँमा म बुबा भएको छु
मेरो ठाउँमा मेरा छोराछोरी छन्
बुबाले जस्तै माया गर्छन् मलाई
मेरा छोराछोरीहरू
कहिले के किनिदिन्छन् त कहिले के
भैगो पर्दैन भन्दा पनि मान्दैनन्
मैले आफ्नो कमाइले
बुबालाई केही किन्दिन सकिनँ
जब सक्ने भएँ बुबा नै रहेनन्
अहिले म आफैँ सक्षम हुँदा पनि
छोराछोरीले अनेक उपहार दिन्छन्
कहिले स्मार्ट मोबाइल
कहिले स्मार्ट घडी
जुन मोवाइल र घडीमा
न दम दिनुपर्छ न ब्याट्री फेर्नुपर्छ
कहिलेकाहीँ पूरा चार्ज गर्नुपर्छ
जुन घडीले मलाई
पूरा नियन्त्रणमा राखेको छ
घडीमै फोन आउँछ
घडीबाट नै फोन गर्न मिल्छ
घडीले सुत् भन्छ
म सुतिदिन्छु
उठ् भन्छ
उठी दिन्छु
हिँड भन्छ
हिँडिदिन्छु
पानी खा भन्छ
पानी पिउँछु
औषधि खा भनेर सम्झाउँछ
खाइदिन्छु
उठेर केहीबेर हिँडडुल गर भन्छ
उठेर हिँडडुल गर्छु
दिनभरिमा यति हिँडिस् भनेर खबर गर्छ
हेरेर मक्ख पर्छु
यति क्यालोरी खर्च गरिस् भन्छ
होला भनेर दङ्ग पर्छु
यही घडीले मौसम बताउँछ
तापमान बताउँछ
यही घडीले रक्तचाप बताउँछ
धड्कन बताउँछ
यो गर भन्छ
त्यो गर भन्छ
जे जे भन्छ
म त्यहीत्यही गर्छु
त्यसैले पनि होला
छोराछोरी भन्छन्
स्मार्ट घडीले
बुबालाई पनि स्मार्ट बनाएको छ
सायद म पनि क्रमशः
अब स्मार्ट बन्दै छु र
स्वचालित घडीबाट
झन झन परिचालित पो हुँदै छु।
०००
कवि परिचयः कवि सुभाषचन्द्र पौडेल,भीमफेदीया मूलत कविता विधामा केन्द्रित साहित्यकार हुन् । उनको एक मात्र कविता सङ्ग्रह “तील गङ्गा गोविन्द”(विसं २०७९) प्रकाशित छ । यसअघि उनको पहिलो कृति गीत,सङ्गीत तथा गायन क्षेत्रका साधकहरूसँगको भेटवार्ता “त्रिवेणीका लहरहरू” (विसं २०४४) श्रीरामसिंह वस्नेतसँगको सहलेखनमा प्रकाशित भएको थियो । उनले तीसको दशकमा “कुरौटे” साहित्यिक त्रैमासिक पत्रिका प्रकाशनको माध्यमबाट साहित्यिक पत्रकारको छबि समेत निर्माण गरेका थिए । मकवानपुरको भीमफेदीमा जन्मेका उनी हाल काठमाडौं वस्छन् ।