उत्तम भौकाजी
आइ पुगेँ –
तिम्रो शहर
आँखाभरि
मीठो सपना बोकेर
थाकेको छु –
एकछिन त
निदाउन देऊ ।
शहर सुनसान छ ..
घर चिहान जस्तो ।
कहाँ अल्झेका होलान्
यताका मान्छे ?
कठै !
रातको अन्धकारमा
चुपचाप निदाउन आइ पुग्छ
सधैँ
चोर जस्तै
खासखुस आफ्नै घर ।
सुन्दै छु,
अब –
भोलि ‘गुड फ्राइडे’ रे …
बिदाको नि छुट्टै उल्लास हुन्छ रे’ ।
यो मनले
मनमनै सोच्दैछ :
तिम्रो छुट्टीमा
म पनि सँगसँगै
रमाउने भएँ,
त्यो –
रेस्टुराँ … बार …
अनि
सङ्गीतको मधुर धुनमा
एकैछिन भएपनि
मस्त हराउने भएँ ।
साँच्चै !
तिमी नरिसाउने भए
एउटा कुरा सोध्न मन थियो ..
सुन न !
यताका मान्छे
राम्ररी निदाउन
सक्दैन रे’ हो ?
मेरो अल्छे प्रश्नको उत्तरमा
उनी
केवल हाँसिन्, मात्रै ।
….
र
हतारमा बाइ’ भन्दै
फेरि –
उसैगरी
काममा फुत्त निस्किइन् ।
मैले –
उनी निस्केको कार
पर … न पुगिन्जेल नियालि रहेँ …
र
भित्ते घडीको समयलाई
आँखामा टाँसेर
घुर्दै फेरि मस्त निदाएँ ।
कवि परिचयः कवि-गीतकार उत्तम भौकाजी साँघुटार, रामेछापमा जन्मेका हुन् र उनी काठमाडौंमा स्थायी रूपले बस्छन् । उनको यात्रामा म पनि (विसं२०६९) प्रकाशित छ । उनका गीतका ३ एल्बम समेत प्रकाशित छन् । उनी अहिले अमेरिका यात्राको क्रममा रहेको छन् ।