गोविन्द पौडेल, काठमाडौं
तर सबै छिप्पिनु कहाँ पाइन्छ र ?
बुबा तपाईं छिप्पिनै पाउनुहुन्न
यतिका सपनाका चाङ लगाएर
यति अधुरा अनि अधमरा
यति मधुरा अनि बेसहारा
तन्द्रालु सपनाहरू !!
एकादशीको खुर्पे जूनको ज्योति
टौवा मास्तिरको सुन्तलाबारीमा
चहकिँदा अनि सुन्तलाको मोहक बास्ना महकिँदा
बुबाका आँखाका नानीहरू
निधारका अनुभवी रेखाहरू
कर्मयोगी हातहरू
खुसीको दियालो बाल्दै
हर्षको अँगालो हाल्दै
मझेरीमा छमछमी नाच्थे !
सुन्तलाका दाना हुर्कदै जाँदा
तिनका आयतन बढ्दै जाँदा
बुबाका सपनाहरूको आकार
चन्द्रमाको कलाजस्तै
दिनप्रतिदिन बढ्दै जान्थे
एकटकले बुबाका सपनाहरू
सुन्तलाबारीको सुन्दरतामा कैद हुनपुग्थे।
पहेँलो रङको आफ्नै उमङ्ग हुन्छ!
उसको आफ्नै सरगम र सपना हुन्छ
उसको आफ्नै सभ्यता र सम्पदा हुन्छ
पहेँलो फलेफुलेको हेर्न
पहेँलो पाकेको हेर्न
पहेँलो फकृएको हेर्न
बुबालाई कत्रो रहर लागेको
बुबालाई कत्रो हतार लागेको
एक कप चिया
एक बट्टा चुरोटको तलतल मात्र होइन
एक टालो कमिज
एक धर्सो धोती
एक दुइटा सिक्का मात्र पनि होइन
पहेँलो पाक्नुसँग
पहेँलो छिप्पिनुसँग
बुबाका हजार सपनाहरू
टाँसिएका छन्
गाँसिएका छन् ।
पहेँलो छिप्पिनु भनेको
छोरी पनि छिप्पिनु हो
साहुको रिन छिप्पिनु हो
बुबाको आयु छिप्पिनु हो
तर सबै छिप्पिनु कहाँ पाइन्छ र ?
बुबा तपाईं छिप्पिनै पाउनुहुन्न
यतिका सपनाका चाङ लगाएर
यति अधुरा अनि अधमरा
यति मधुरा अनि बेसहारा
तन्द्रालु सपनाहरू
असरल्लै आँगन भरि भरी छरेर
बारीभरी पहेँलपुर
चोटा कोठा र बार्दली वरिपरि
तपाईंका बेसहारा सपनाहरू
एउटा आकार खोजिरहेछ्न्
एउटा आधार खोजिरहेछ्न !
