६ माघ २०८० माघ, सिलगढी, भारत
युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढीले एक समारोहको आयोजना गरी “युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार २०२३”बाट वरिष्ठ साहित्यकार एवं अनुवादक प्रा.डा. अभि सुवेदी तथा “लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार २०२३”बाट वरिष्ठ साहित्यकार एवं अनुवादक प्रा. डा. गोकुल सिन्हालाई कार्यक्रममा प्रमुख अतिथि जिटिए चेयरम्यान अञ्जुल चौहानले पुरस्कार समर्पण गरे। दुबै पुरस्कारमा नगद राशिसहित प्रसंशा -पत्र, स्मृतिचिन्ह रहेको थियो ।
सोही कार्यक्रममा वरिष्ठ सर्जक एवं अनुवादकहरु कृष्ण प्रधान, अनिता निरौला, सर्जक एवं पत्रकार चन्द्र भण्डारी (नेपाल) र सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्याय (नेपाल)लाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठीको प्रकाशन “सम्वाद संजाल”को पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिटिए चेयरम्यान अञ्जुल चौहानले आफ्नो मन्तव्यमा “म अत्यन्त खुशी छु, पुरस्कृत विद्वानद्वयको अघि उपस्थित हुन पाउँदा आफैलाई सम्मानित अनुभव गरेको” बताए ।
युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट पुरस्कृत सर्जक एवं अनुवादक प्रा. डा.अभि सुवेदीको परिचय वरिष्ठ साहित्यकार अनुवादक मुक्ति बरालले तथा लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट पुरस्कृत वरिष्ठ सर्जक एवं अनुवादक डा. गोकुल सिन्हाको परिचय गुठीकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरकी निवर्तमान अध्यक्ष लतिका जोशीले गरेकी थिइन् ।
सो समारोहमा प्रमुख अतिथि अञ्जुल चौहान, अध्यक्ष राधेश्याम लेकाली, पुरस्कृत सर्जकहरु प्रा.डा. अभि सुवेदी, प्रा. डा. गोकुल सिन्हा, सम्मानित सर्जकहरु कृष्ण प्रधान र अनिता निरौला, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी महासचिव विमला निरौला, देवकोटा संघ, सिलगढीका अध्यक्ष मिलन रुचाल, प्राज्ञ सुभद्रा भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
पुरस्कार ग्रहणपछि डा. प्रा. अभि सुवेदीले आयोजक समितिलाई धन्यवाद ज्ञापन गर्दै नेपाली साहित्यमा अनुवाद परम्परामाथि गहन अभिव्यक्ति प्रस्तुत गरेका थिए । अर्का पुरस्कृत प्रा. डा. गोकुल सिन्हाले पुरस्कार प्रदान गरेकामा गुठीप्रति आभार व्यक्त गर्दै – “अनुवाद पुरस्कार दिने साहित्य अकादमी पहिलो र युगेन्द्र – लक्ष्मीकान्त पुरस्कार गुठी दोस्रो भएको बताए ।
गुठीकी प्रमुख संरक्षिका श्रीमती ललिता जोशीले यसपटकको पुरस्कारद्वारा विद्वानद्वयलाई अलङ्करण गर्न पाउँदा यो समारोह अत्यन्त गरिमामय भएको बताइन् ।
गुठीका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा उनले अध्यक्षको मन्तब्य प्रस्तुत गरेका थिए
भारतको पश्चिम बङ्गाल अन्तर्गत सिलगढीको प्रधाननगर अवस्थित देवकोटा सङ्घ भवनमा आयोजित समारोहको सञ्चालन देविका मङ्ग्राती र अञ्जना भण्डारीले गरेका थिए भने गुठीकी संरक्षक ललिता जोशी क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिइन् ।
“युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार” श्रीमान् युगेन क्षेत्रीको नाममा तथा “लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार” पिता लक्ष्मीकान्त जोशीका नाममा साहित्यकार ललिता क्षेत्रीले स्थापना गरेकी हुन् ।
कार्यक्रममा मेची वारी र पारीका वरिष्ठ साहित्यकारहरुकोगरिमामय उपस्थिति रहेको थियो ।
०००