दिव्य गिरी
‘के छ तेरो विचार ? कुरा त तेरै भलाइको निम्ति आएको रहेछ ।’ मैनाले गाँस्दै गरेको टपरीमा अन्तिम बिट लगाउँदै सोधिन् ।
‘हो नि,अब आमाको निधनपछि अब एक्लै भइस् । आमा नभएको माइती उराठलाग्दो र निरस हुन्छ । सबैजना आफ्नो व्यवहारमा अल्झिन्छन् । तँ आफू मात्र एक्लै के गरेर बस्छेस् ? पहिलो घर बिग्रियो, त्यसमा तेरो दोष थिएन । आइमाईले एउटा न एउटाको सहारामा बस्नै पर्छ । भोलि के कसो पर्छ, भविष्य कसैले देख्न सक्दैन ।’ मखन दिदीले पनि सम्झाइन् ।
मैना र मखन दिदीको कुराले उसलाई नराम्ररी झस्कायो । आखिर कति दिन एक्लो जीवन बिताउने ? आमा छउन्जेल उसलाई यो प्रश्न सपनामा पनि उठेको थिएन । आमा नहुनुको शून्यपनले दिएको पीडाको अनुभव वर्ष दिनदेखि सहँदै आएकी हो ।
‘हेर, कृष्णा, ऊ पनि एक्लै छ । पचास वर्ष नाघे पनि अहिलेसम्म हट्टाकट्टा नै छ । सानोतिनो व्यापार गर्छ । आम्दानीको बाटो छँदैछ । मान्छे भलादमी पनि छ । आजसम्म विजयलाई कसैले नराम्रो भनेका छैनन् ।’ बिजुवा फुपूले पनि भनिन् ।
आमाको वर्षदिनको कामको निम्ति दुना र टपरी गाँस्न आएका आइमाईहरू कृष्णालाई सम्झाइरहेका थिए । उनीहरूका कुरा सुनेर ऊ भने बिनाप्रतिक्रिया आफू पनि टपरी गाँसिरहेकी थिई ।
अन्ततः सबैको सरसल्लाहमा उसले विधुर विजयसँग विवाह गरी ।
विहे गरेको छ महिना पनि नपुग्दै अचानक विजयको हृदयघातबाट निधन भयो । उसको लास घाटमा लैजान भेला भएका मलामीहरू भनिरहेका थिए– ‘पानी पर्नै लाग्यो । मौसम ठीक छैन । छिटोछिटो गरुँ । आज ठूलो आँधीबेहरी आउलाजस्तो छ ।’
अब जस्तो ठूलो आँधी आए पनि के भयो र ? अकस्मात पतीको निधनपछि आएको भयङ्कर आँधी भने कृष्णाको जीवनमा पहिले नै पसिसकेको थियो ।
लेखक परिचयः दिव्य गिरी मूलतः कवि हुन् । उनको पहिलोपुस्तक मुक्तक सङ्ग्रह “कङ्काल बस्ती” विसं २०३८ सालमा प्रकाशित भएको थियो । उनका हालसम्म २ मुक्तक सङ्ग्रह, एक गजल सङ्ग्रह, ३ हाइकु सङ्ग्रह, कविता, संस्मरण, कथा र लघुकथाका एक एक सङ्ग्रहप्रकाशित छन् र एक हाइकु सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशित छ । उनी रैथाने काठमाडौं उपत्यकावासी हुन् ।