नवीन पौड्याल
नेपाली साहित्यको चिन्तन र अध्ययन परम्परामा नयाँ नयाँ अध्येताहरूको आगमन भैरहेको छ। विश्व परिप्रेक्ष्यमा उदाएका नयाँ नयाँ सिद्धान्त, चिन्तन र प्रणालीहरूसित अबका नेपाली साहित्यकार र अध्येताहरू अवगत बनेका हुन्छन्। अब त सामाजिक सञ्जाल र अन्य इन्टरनेटका माध्यमले विश्वग्रामको अवधारणालाई सार्थक, मूर्तता र बलियो बनाउँदै गएको छ। अब विश्वको कुनै कुनाबाट पनि कुनै साहित्यिक सिद्धान्त र विचारको प्रादुर्भाव भए त्यसलाई विश्वका अन्यले तुरन्त पढ्न सक्छन्।
विश्वमा नयाँ नयाँ साहित्य सिद्धान्तहरू उदाइरहेका छन्। साहित्यसित अन्य ज्ञानानुशासन पनि गाँसिएर अबको साहित्य अन्तर्विषयक बनेको छ। साहित्यसित समाज, राजनिती, धर्म, विज्ञान, कला, संस्कृति, कुटनिती आदि सबै मिसिएर नयाँ नयाँ साहित्यिक स्वरूप देखा पर्दैछन्। अब साहित्यभित्र यी जम्मै कुरा अध्ययन गर्न सकिने स्थिति आयो भने साहित्य पढ्न यी विभिन्न विषयहरू पनि जान्नुपर्ने स्थिति आयो तब मात्र साहित्यको रसास्वादन गर्न सकिने दिन आयो। साहित्यमा मानव संवेदना, रस, आनन्द पक्षभन्दा अन्य कुराले घेरिएको बन्दै जाँदो छ। साहित्यको गाँठो फुकाउन अब अन्य विषयको अध्ययन गर्नुपर्ने स्थिति आएको छ।
नेपाली साहित्य अब विश्वसाहित्यको अङ्ग बनिएको छ। यो अब विश्वव्यापी बनेको छ। नेपाल भारत, अमेरिका, बेलायत, युरोपीय देशहरू, अस्ट्रेलिया, क्यानाडा, खाडी देश, हङकङ र अन्य दक्षिण एशियाली देशहरूमा नेपाली साहित्य लेखिन र प्रचार हुन थालेको छ। विश्व नेपाली महासङ्घ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आदि जस्ता विश्वव्यापी नेपाली साहित्यिक सङ्गठनहरू सक्रिय रूपमा काम गरिरहेका छन्। अमेरिकालगायत विश्वभरीका देशतिर बस्ने नेपाली साहित्यकारहरू पनि उत्तिकै जुरमुराएर कृतिहरू प्रकाशित गरिरहेका छन्। विदेश बस्ताका अनुभूति, त्यहाँको नयाँ परिवेशको अनुभव, त्यहाँको स्थानीय साहित्यको प्रभाव, विश्वसाहित्यमा चलेका साहित्यिक प्रभाव, विश्व राजनैतिक गतिविधि आदिबाट प्रभावित र पल्लवित विश्व नेपाली साहित्य पनि विकसित अवस्थामा देखिन्छ।
डा. योगेश खातीको राम्रोसँग अध्ययन गरेको प्रस्तुत भारतीय नेपाली साहित्यको दशा र दिशा भन्ने वार्तापत्रमा भारतीय नेपाली साहित्यबारे धेरै कुरा उल्लेख पाइन्छ। उनको मौलिक र गहन अध्ययनभित्र भारतीय नेपाली साहित्यको दशा र दिशा अन्तर्गत भारतीय नेपाली साहित्यको वर्तमान स्थिति, अवस्था, र प्रवृत्तिहरूलाई बुझिन्छ। यसको अर्थ साहित्यिक कृतिहरूको गुणस्तर, साहित्यिक आन्दोलनहरू, लेखक र कविहरूका योगदान, पाठकहरूको प्रतिक्रिया, प्रकाशन स्थिति र साहित्यिक समाजको विकासको अवस्था जस्ता पक्षहरूसँग सम्बन्धित कुराहरूको चर्चा रहनेछ। यसरीनै भारतीय साहित्यका दिशा अन्तर्गत भारतीय साहित्यका कृतिहरूले ग्रहण गरेका मुख्य प्रवृत्तिहरू, मार्गदर्शन, र लक्ष्यहरूलाई बुझिनेछ। यसमा विभिन्न साहित्यिक आन्दोलन, विधाहरू, र नवीनतम प्रवृत्तिहरू बारे चर्चा गरिनेछ। साहित्यका दिशाले समग्रमा कस्ता प्रकारका विषयवस्तु, शैली, र अभिव्यक्तिहरूलाई प्राथमिकता दिइरहेका छन् भन्ने कुरालाई पनि यसभित्र सम्बोधन गरिएको छ।
उनको पत्रमा भारतका विभिन्न प्रान्तमा लेखिने नेपाली साहित्यलाई मिलाएर भारतीय साहित्यको अवधारण प्रस्तुत गरेका छन् । सात सुर मिलाएर एउटा सारेगमको समवेत सङ्गीतलाई यहाँ भारतीय नेपाली साहित्यको तुलना गरिएको छ। उनले भारतीय नेपाली साहित्यको प्रादुर्भाव बनारस, दार्जिलिङ र असम रहेको तथ्य प्रस्तुत गरेका छन्। उनले भारतीय नेपाली साहित्यिक स्थितिलाई चारवटा प्रकोष्ठको उल्लेख गरेका छन्- सिर्जनात्मक लेखन प्रकोष्ठअनुसन्धान लेखन प्रकोष्ठ, अनुवाद लेखन प्रकोष्ठ र अन्य। यसमा उनले भारतीय नेपाली साहित्यिक प्रवृत्तिहरूको रेखाङ्कन गर्ने प्रयास गरेका छन्। उनले समग्र भारतीय नेपाली साहित्यलाई प्रयोगवादीकाल, आधुनिक काल र उत्तर आधुनिकतावादी भनेर चर्चा गरेका छन्। यस पत्रमा उनले कवि लेखकको योगदान, पाठकहरूमा साहित्यिक रूचि प्रकाशन र पुस्तक वितरणको स्थिति र साहित्यिक समाजको विकास जस्ता बुँदा तयार गरेर त्यसमाथि चर्चा गरेका छन्। यसैगरी उनले भारतीय नेपाली साहित्यको दिशा केलाउने क्रममा साहित्यिक आन्दोलनहरू, विधागत प्रवृत्ति, भाषागत दिशा, समाज र संस्कृति र प्रविधि तथा नवाचारको कुरा उल्लेख गरेका छन्। उनले साहित्यको विकास र विकासमा डिजिटल मञ्च, पाठ्यक्रममा उचित सामग्रीको समावेश र नयाँ लेखकको उत्पेरणा जस्ता सम्भावनाळआ पनि सङ्केत गरेका छन्।
भारतीय साहित्यका रूपमा नेपाली साहित्य:-
भारतीय नेपाली साहित्य भन्नु एक प्रकारले उचित नहोला। किनभने नेपाली साहित्य सर्वत्र एकै हो। यद्यपि आफ्नो आफ्नो देश-काल-परिस्थितिअनुसार साहित्य लेखिँदा स्थानीय प्रभाव परेको हुन्छ। यस्तैमा भारतीय नेपाली साहित्यको आफ्नै किसिमको स्वर गुञ्जायमान भएको छ जस्तो लाग्छ। भारतमा बस्ता नेपालीभाषीहरूहको आफ्नै सामाजिक, राजनैतिक, भाषिक, सांस्कृतिक स्थिति र परिवेशको प्रभाव परेको हुन्छ। भारतमा पनि दार्जिलिङ, सिक्किम, असम आदितिर लेखिने नेपाली साहित्यमा आफ्नै किसिमको स्वर र प्रवृत्ति पाइन्छन्। यद्यपि सबै स्वर र प्रवृति मिलाएर समग्रमा भारतीय नेपाली साहित्यका रूपमा अलग्गै परिचय दिन सकिने ठाउँ छन्। जातीय चेतना र अस्तित्व, हिन्दी र बङ्गला र असमीय साहित्यको प्रभाव, गोर्खालीका अन्तर्जातीय तत्वहरूको समावेश आदि भारतको मौलिक नेपाली साहित्यिक परम्परा स्पष्ट देखा परेको छ।
विधागत आधारमा भारतीय नेपाली साहित्य
भारतीय भारतीय नेपाली साहित्यमा कुन कुन विधाहरू बढी लेखिने पढिने अध्ययन गरिने छन भन्ने हेर्नुपर्ने देखिन्छ।
कविता
भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा सबैभन्दा बढी कविता नै प्रकाशित भएका छन्। कवितापछि कथा र उपन्यास प्रकाशित छन्। नाटक पनि निकै प्रकाशित छन्। अन्य विधाका तुलनामा भारतीय नेपाली निबन्ध निकै पछि परेको छ। भारतीय नेपाली कविता निकै विस्तारित र लोकप्रिय बनेको छ। समसामयिक भारतीय नेपाली कविताको सालाखाला रूपमा अध्ययन गर्दा जातीय चेतना, बेरोजगार र गरीबीको पीडा, उच्छेदनको त्रास, चियाबारीका विविध समस्या, लोकचेतना, मानवतावादी चेतना, धर्म र ईश्वरप्रति अनास्था, दलित र आदिवासी चेतना, प्रगतिवादी चेतना, प्रेमका उच्छवास्, गाउँले जीवनप्रति मोह र प्रकृतिको परिवेशको चित्रण, देशप्रेम, युगीन चेतना, चियाबारी श्रमिकका वेदना आदि देखा परेका छन्। यसका साथै असम पूर्वाञ्चलतिरका कवितामा पनि त्यहाँकै सामाजिक राजनैतिक आर्थिक परिवेश अनुसार कविताको भाव पाइन्छन्। शिल्प सचेतता पनि विकसित अवस्थामा छ। कविताको प्रस्तुतिगत विकास भइरहेको छ। राजेन्द्र भण्डारी र मनप्रसाद सुब्बाको नेतृत्वमा समसामयिक भारतीय कवितामा युगीन चेतना, शिल्प-सौन्दर्यचेतना, बहुविध तक्नीकिगत प्रस्तुति पाइन्छन्। एक पंक्तिको काव्याणु, दुई पंक्तिका युग्मक, तीन पंक्तिको युग्मक, चारपंक्तिको मुक्तक, रूबाइ, गीत, गजल, फुटकर कविता हुँदै लामोकविता, खण्डकाव्य र महाकाव्यका नयाँ नयाँ बान्कीहरू देखा पर्दैछन्। अझै पनि महाकाव्य र खण्डकाव्य लेखनमा अझै पनि सक्रिय छन्। अझै नयाँ किसिम र आकार प्रकारका कविताहरू देखा परिरहेका छन्। गीत र गजलको स्थिति पनि स्वतञ्त्र किसिमले विकसित भइरहेको पाउँछौं।
कथा–
भारतीय नेपाली कथा पनि निकै विकसित विस्तारित र लोकप्रिय रहेको छ। भारतबाट लेखिएका नेपाली कथामा आफ्नै परिवेश अनुसारका समस्या, चेतना र प्रभाव देखिन्छ। कवितापछि नेपाली कथाले भारतमा निकै विकसित हुने अवसर पाएको देखिन्छ। कथाका नयाँ नयाँ बान्की,स्वरूप र प्रवृत्तिगत विभिन्नता देखा परेका छन्। कथाले नयाँ स्वर कथ्य र पद्धति पाएको देखिन्छ। दार्जिलिङ, सिक्किम र असममा नयाँ कथासङ्ग्रह निरन्तर रूपमा प्रकाशित भएको देख्न पाइन्छ। नवोदित र सिद्धहस्त सबै कथाकारहरूले कथालाई आ-आफ्नो भाव, शैली, पद्धति, स्वरूप, ढाँचा, आकार र अभिव्यक्ति दिएर कथा लेख्ने गरेका छन्। अघिल्ला पिँढीका कथाकारले अझै आफुलाई समयअनुसार कथालेखनमा अद्यावधिक गर्दैआएका छन् भने नयाँ हाँचका धेरै कथाहरू उदय भएका छन्। नयाँ हाँचका विभिन्न कथाकारका कथाहरूमा युगीन समस्याका विभिन्न पक्षहरूको उद्घाटन, शैलीगत सचेतता, विविध विषयपरकता, मानवीय संवेदना इत्यादिलाई कथात्मक स्वर प्रदान गरेका छन्। असमतिरबाट पनि धेरै नेपाली कथाकारले नयाँ चेतना, शिल्प, स्वर र प्रयोगात्मक कथाहरू लिएर सक्रिय छन्। तिनमा असममा बस्दाका सामाजिक, राजनैतिक, आर्थिक, भौगोलिक समस्याहरू बढी केन्द्रित देखिन्छन्।
उपन्यास–
भारतीय नेपाली उपन्यासमा ऐतिहासिक, मनोविश्लेषणात्मक, सामाजिक यथार्थवाद, विसङ्गतिवाद, अतियथार्थवाद, प्रगतिवाद, प्रयोगवादका साथै नारीलेखन, युद्धवर्णन लेखन, आञ्चलिकता, जातीय चेतना आदि प्रवृत्ति पाइन्छन्। भारतीय नेपाली उपन्यासमा उत्तरआधुनिकता चेतना पनि आंशिक रूपमा पस्न थालेको पाइन्छ। राजनितीमा देखेका अनैतिक र भ्रष्टाचारी कार्यकलापको चित्रण र नैराश्यबोध, जातीय असुरक्षाको भावना र विद्रोह चेतना, जातीय अस्तित्वचेतना, गरीबी र बेरोजगारीको मार्मिक चित्रण, जीवनको विसङ्गति, ग्राम्य जीवनप्रति आस्था र शहरीया जीवनप्रति सन्तुष्टि, पर्यावरण चेतना, नारीको समानाधिकारको वकालती, लोकतत्व, विश्वजनीन उत्तराधुनिक चेतना आदि प्रवृत्ति पाइन्छन्।
सन् पचासदेखि नब्बेको दशकसम्म दार्जिलिङमा नेपाली उपन्यासले जुन तीब्रता र विकास पाएको थियो, त्यसको तुलनामा वर्तमानमा नेपाली उपन्यास टाक्सिएको देखिन्छ। उपन्यासको संख्या घटेर निकै तल पुगेको छ। अघिका उपन्यासकारहरू निस्ताएर बसेका छन् भने झैं भान हुन्छ। सन् २००० देखि हालसम्म लगभग बीस-पच्चीस उपन्यासको संख्या पुर्याउन पनि हम्मे पर्ने अवस्था छ। थोरै लेखिए पनि यस चरणमा नारीवाद, विसंगतिवाद, प्रगतिवादी र प्रयोगवादी उपन्यासहरू लेखिएका पाइन्छन्। विसङ्गतिवादी, अस्त्तिववादी, प्रयोगवादी, प्रगतिवादी उपन्यास लेखनमा केही उपन्यासकार सक्रिय छन्। रोमान्टिक, जातीय अस्तित्व, वैश्विक चेतना सांस्कृतिक पक्षहरूको उद्घाटन इत्यादि चरणका दार्जिलिङे नेपाली उपन्यासको मूल प्रवृत्ति हुन्। संसारमा चलेका नयाँ आख्यान लेखनलाई आत्मसात गरेर पनि लेखिएका पाइन्छन्। कतै बालश्रम, कतै पर्यावरण चेतना, कतै नारीवाद जस्ता भावधारालाई पनि वर्तमान उपन्यासहरूले आफ्नो कथ्य बनाएको देखिन्छ। सत्तरी-अस्सीको दशकमा रहेको लोकप्रिय वा व्यावसायिक उपन्यास लेखन पनि समसामयिक चरणमा आएर रोकिएको छ। भारतमा नारी उपन्यासकार भने थोरै छन्। अब नयाँ हाँचका केही उपन्यासकारको उदय भएको छ।
नाटक–
दार्जिलिङ-सिक्किमले समसामयिक नेपाली नाटक लेखनमा भने निकै प्रगति गरेको पाइन्छ। नाटकका विभिन्न तकनिकी, पद्धति, प्रदर्शन ढाँचा, शैलीगत वैविध्य आदिका क्षेत्रमा नाटक निकै मात्रा विकसित छ। विभिन्न नाट्य मण्डली, नाटक प्रतियोगिता, नाटक प्रशिक्षण कार्यशाला, सामाजिक र साहित्य संघ संस्थाले नाटकलाई विकास गराउन ठुलो योगदान दिएको पाइन्छ। रङ्गमञ्च नाटक, सडक नाटक, खुल्ला रङ्गमञ्च नाटक, रेडियो नाटक आदिका रूपमा नाटकको प्रदर्शन गरिन्छ। असमबाट पनि नेपाली नाटकको विकास भएको छ। असमको भ्राम्यमान नाटक थिएटर लालीगुराँसले ठुलो स्थान लिएको छ। त्यहाँ पनि केही नाटककार नाट्यलेखन र मञ्चनमा सक्रिय छन्। उल्लेखयोग्य कुरा के छ भने सि.के. श्रेष्ठको चौथो थिएटर भने हाम्रो मौलिक नाट्यप्रस्तुतिका रूपमा विकसित भैरहेको छ। यसका बारे राम्रोसँग अध्ययन गर्नुपर्ने आवश्यकता छ।
निबन्ध–
अन्य विधाका तुलनामा दार्जिलिङ सिक्किमबाट मूल आत्मपरक निबन्ध लेखन निकै पछि परेको छ। निबन्धकारले यद्यपि सामान्य आत्मपरक निबन्धसँगसँगै यस विधाभित्र रहेको केही उपविधाहरू जस्तै नियात्रा, हास्य-व्यङ्ग्य, संस्मरण, जीवनी, राजनैतिक लेख, समसामयिक विचारात्मक चिन्तनगत लेख आदि भने विकसित नै देखिन्छ। यसभित्र ज्ञानका, दर्शन, वैचारिक चिन्तन, तर्क, कलाकारिता आदि सबै झल्काउन सकिन्छ। दार्जिलिङ, सिक्किम, असमतिरबाट केही निबन्धकार सक्रिय छन्। विभिन्न विषयमा विचारोत्तेजक निबन्ध प्रकाशित देखिन्छन्। निबन्धकै उपविधाभित्र रहेको संस्मरण लेखन पनि निकै रोचक, अनुभवपरक, ज्ञानवर्द्धक हुन्छ। दैनिक र मासिक पत्र-पत्रिकाहरूमा राजनैतिक चिन्तनपरक विचारात्मक निबन्धात्मक लेख लेख्ने प्रशस्त छन्। हास्य व्यङ्ग्य, संस्मरण, यात्रासाहित्य, जीवनी, विवरणात्मक किसिमका निबन्धहरू पनि निकै फस्टिएका छन्।
समालोचना-
भारतीय नेपाली समालोचना पनि उर्वर रहेको छ। यहाँबाट हालसम्म व्यक्तिगत रूपमा सयवटा जति समालोचनाको पुस्तक प्रकाशित छन्। यीबाहेक सामूहिक समालोचनात्मक लेखसङ्ग्रह, अभिनन्दन ग्रन्थ-स्मृति ग्रन्थतिर पनि समीक्षाले स्थान लिएको पाइन्छ। पुस्तकीय भूमिका लेखन, सामान्य पाठक प्रतिक्रिया आदि पनि समीक्षाका रूपमा देखा पर्दछन्। यद्यपि सिर्जनात्मक पुस्तकका अनुपातमा भारतीय नेपाली समालोचना केही टाक्सिएको नै मान्न सकिन्छ। नयाँ चेतना र सिद्धान्तका आधारमा समालोचना गरिन्छ।
डुवर्सपट्टिबाट हेर्दा मात्र पनि लगभग तीसवटा जति कवितसङ्ग्रह, बीसदेखि पच्चीसवटा जति कथासङ्ग्रह, नौवटा उपन्यास आदि प्रकाशित भएका छन्। यहाँबाट नाटक पनि धेरै मञ्चन भएका छन्। भारतीय नेपाली साहित्यमा नारी लेखन पनि निकै विकसित छ। कविता, कथा र निबन्धमा नारीहरूको उपस्थिति देखिन्छ। यद्यपि नेपाली उपन्यास र नाटक लेखनमा नारी लेखकहरूको सङ्ख्या थोरै हो। अझ नाटक लेखनमा भने नारीहरूको उपस्थिति न्यून छ।
भारतीय नेपाली साहित्यको दिशा-
भारतीय नेपाली साहित्य कस्तो हुन्छ, के छ, यसको मौलिकता के के हुन्, आदिबार अध्ययन गर्ने क्रम यथावत् छ। यसअघि अरूले पनि खोजी गर्ने काम भएको छ। एकप्रकारले हामी विश्वसाहित्यमा नेपाली साहित्यको अङ्गका रूपमा छौं, अर्को प्रकारले हामी भारतीय साहित्यका बीचमा भनेपाली साहित्यलाई उभ्याइरहेका छौं। हामी विश्वसाहित्यको समकक्षमा पनि जान खोज्दैछौं तर अर्कापट्टि भारतीय साहित्यमा हामी कहाँनेर छौं भन्ने खोजी गर्नुपरेको छ। हामी विश्वका घटना र प्रवृत्तिबाट प्रभावित पनि छौं तर अर्कापट्टि हाम्रो आफ्नो मूल्य मान्यता, मौलिकता, परमपरा, संवेदना, अनुभव र अनुभूतिलाई पनि जोगाउनु, सुरक्षित राख्नपरेको छ।
समग्र भारतीय नेपाली साहित्यको साझा तत्व र प्रवृत्तिको खोजी गर्नुपर्ने
भारतीय नेपाली साहित्यलाई अब एक ठाउँमा राखेर समग्र अध्ययन गर्नुपर्ने देखिन्छ। असम मणिपुर, मिजोराम, शिलाङ, दार्जिलिङ, सिक्किम, डुवर्स, दिल्ली, देहरादुन र अन्य कहीँको साहित्यलाई पनि एकै टाउँमा ल्याएर समुचित र समग्रह अध्ययन गरी एउटा साझा तत्त्व खोज्नु आवश्यकता परेको छ। यी सबै ठाउँहरूबाटे लेखिने नेपाली साहित्यको केही सामान्य रेखा र सूत्र रहेकाको खोजी गर्नुपर्ने देखिन्छ।
केही साझा तत्वको अन्वेषण
भारतीय नेपाली साहित्यको केही साझा प्रवृत्ति र तत्वहरूमा सबैभन्दा मुख्य भने जातीय अस्तित्व चेतना रहेको छ। यसबाहेक गरीबी, उच्छेदनको भय, बेरोजगारी, सामाजिक राजनैतिक विसङ्गतिमाथि व्यङ्ग्य र प्रहार, स्थानीयता चेतना, देशप्रेम, विश्वदर्शन, जीवनदर्शन आदि भाव पाइन्छन्। यी जम्मै प्रवृत्ति र स्वरूपलाई अझै उचालेर लानु छ। भारतीय स्तरमा एउट समृद्धशाली तुल्याएर अन्य साहित्यको समकक्षी बनाउनु छ। हामीले अहिलेसम्म साहित्य एकादमी पुरस्कारमा नै सीमित हुनपरेको छ। हामीले के के बिड़लाको सरस्वती सम्मान, भारतीय ज्ञानपीठ पुरस्कार आदि जस्ता पाउन बाँकी नै छ। यसका लागि सर्जक लेखकहरू सचेत भएर लेखनमा उत्रिनु परेको छ।
नयाँ वैश्विक चुनौतीको सम्मुखीन नेपाली साहित्य
विश्व अब कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) अब मानवका निम्ति चुनौतीका रूपमा रहेका छन्। अब हाम्रो साहित्यलाई पनि यस्ता कृत्रिम बुद्धिमत्ताबाट जोगाउनु परेको छ। अब त कृत्रिम बुद्धिमत्ताले नेपाली कविता लेखेको फाट्टफुट्ट सुनिन थालेको छ। यसका साथै पर्यावरणको सङ्कट पनि हाम्रो अघि चुनौतीका रूपमा रहेको छ। अबको लेखनले यी दुई चुनौतीलाई पनि उछिनेर लानुपर्छ। जनसचेतको अभियान चलाउनुन पर्ने देखिन्छ।
अब हामीले गर्नुपर्ने हाम्रा कर्तव्य
क. हाम्रो सुधार यद्यपि हामी अझै धेरै कुरामा पछि परेका छौं। हाम्रो साहित्य मात्रात्मकभन्दा गुणात्मक सङ्ख्यामा लेखिन परेको छ। हाम्रो साहित्यलाई अन्य भारतीय भाषामा अनुवाद गरे के हामी अन्य भाषाको समकक्षमा खरो उत्रिन सक्छौं, के के कुरामा हाम्रो मौलिकता पाइन्छ भन्ने कुरामा सचेत हुनुपर्छ। अझै पनि हामीले सामान्य खालको प्रवृत्ति, स्वरूप, ढाँचा, शैली, प्रभाव परिपाटीमा विकास ल्याउन पर्छ।
ख. हाम्रो साहित्य हाम्रो सन्ततिका निम्ति पनि रोचक सुस्वाद्य र उपयोगी बनाउन पर्छ। अबका युवावर्गमा नेपाली भाषा र साहित्यको कसरी प्रभाव पार्ने किसिमको लेख्न सकिन्छ, त्यो विचार र अध्ययन गर्नुपर्ने देखिन्छ। अबका युवावर्ग पनि साहित्य लेखनमा रूचि लिएको देख्दा आशाप्रद छ तर अझै आकर्षक किसिमको बनाउन सक्नुपर्दछ।
ग. हाम्रा राम्रा कृतिको चयन गरी अनुवाद गर्न सम्बन्धित अनुवादकहरू अन्य भाषामा अनुवाद गर्न अघि आउन पर्दछ। लेखकको आग्रहमा जुनसुकै र जस्तोसुकै कृति अऩ्य भाषामा अनुवाद गर्नुहुँदैन, यसले अऩ्यभाषी साहित्यिक पाठकहरूमा नेपाली साहित्यप्रति गलत प्रभाव पर्दछ र हामी फेरि हीनताको शिकार बन्नेछौं। अन्य भाषाबाट पनि नेपाली भाषामा अनुवाद गर्दा सही कृतिको चयन गरेको हुनुपर्दछ।
घ. साहित्य अध्ययनमा अन्तर्ज्ञानानुशासनका नयाँ नयाँ क्षितिज उघ्रिरहेका छन्, तिनलाई पनि सही ढङ्गमा आतमसात गरेर लानुपर्ने देखिन्छ। हामी पनि कुनै कुरामा कमी छैनौं, हाम्रो साहित्य पनि अन्य साहित्यका अघि पछौटे छैनौं भन्ने कुरामा हामीलाई सचेतता हुनुपर्छ।
ङ. भारतीय नेपाली समालोचना पनि अझै विकसित अग्रसर र साहित्यलाई दिशा निर्देश दिने खालको हुनपर्छ। भारतमा अरू साहित्य यहाँसम्म पुगेका छन्, हामी पनि यसरी नै हाम्रा कुरा लेख्न सक्नु पर्दछ भन्ने कुरा समालोचक र अध्येताहरूले निर्देश दिन सक्नुपर्दछ। प्रशंसामुखी समालोचनाले नेपाली साहित्यलाई पछि पारिरहेको छ, क्षति पुर्याइरहेको छ। यसलाई छोड्नुपर्दछ।
च. भारतीय नेपाली साहित्यको मूल प्रवृत्तिलाई के के कुराले खुट्टाउन सकिन्छ भन्ने कुरामा चिन्तन गर्नुपर्ने देखिन्छ। कविता कथा नाटक निबन्ध, समालोचना आदि विधाहरूलाई अध्ययन गरे केही मौलिकता परिलक्षित हुन सक्छ। भारतीय साहित्यको स्वरूप कस्तो छ, यो कता र कुन दिशातिर जाँदैछ, अन्य ठाउँका साहित्यभन्दा के के कुराले भिन्नता छुट्टिन्छ आदिबारे गहन अध्ययन गर्नुपर्ने देखिन्छ। हाम्रो जातीय अस्तित्व चेतना, हाम्रा चियाबारीका विभिन्न समस्या, हाम्रा जातगोष्ठी सबैलाई मिलाएर एउटा साझा लोकसांस्कृतिक तत्व, हाम्रो ठाउँ-थलाका मौलिक लोकपरम्परा र जनजीवनसित जोडिएका संवेदना आदिलाई अघि बढाए मात्र पनि भारतीय साहित्यको मानचित्रमा हाम्रो मौलिकता र अस्तित्व स्पष्ट हुनसक्नेछ।
छ. नेपाली साहित्यको गुणस्तरीय विकास गर्न केही सांगठनिक, प्राज्ञिक, आनुष्ठानिक, अध्ययन आदिजस्ता काम गर्नुपर्दछ। स्तरीय साहित्यिक सिर्जना, गहन अध्ययनबाट उब्जेको समालोचना, मासिक साहित्यिक भेला, साहित्यिक सङ्गोष्ठी र कार्यशाला, अनुवाद कार्यशाला, विद्यालय र महाविद्यालयतिर नेपाली विषयको पठनपाठनमा गुणस्तरीयता बारे समयसमयमा छलफल र मूल्याङ्कन सभा, मार्गनिर्देशक सभा, साहित्यिक संस्थाहरूको सक्रियता, जनतामा पठन संस्कृति बढाउनबारे आलोचना सभा, पुस्तकालयको बानी बसाउने र पुस्तकालयको बढोत्तरी विकास उपाय आदि जस्ता महत्त्वपूर्ण काम गर्नुपर्ने देखिन्छ। यस्ता संस्थाहरूले भानुजयन्ती, भाषा मान्यता दिवस, गिरी जयन्ती, बेला बेलाका कविगोष्ठी जस्ता कार्यकलापका साथै नेपाली भाषा साहित्यको बढोत्तरीका निम्ति धेरै उपायका साथ अघि बढ्नुपर्दछ।
ज. भारतका ठुला ठुला नेपाली साहित्यिक संस्थाहरू जस्तै असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद सिक्किम, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, गोर्खा जनपुस्तकालय, नेपाली साहित्य अध्ययन समिति, कालेबुङ, सिलगडी देवकोटा सङ्घ, नेपाली एकाडेमी, दार्जिलिङ, सिक्किम एकाडेमी, आदि जस्ताले नेपाली भाषा साहित्यको विकासमा अझै धेरै र महत्त्वपूर्ण काम गर्नुपर्ने देखिन्छ।
डा खातीको यस शोधपत्रमा यस्ता धेरै कुराको चर्चा उठान गरिएको छ। उनको अध्ययनको फाँट विस्तृत छ। उहाँको यही पत्रसमेत नै भारतीय नेपाली साहित्य अध्ययनमा उपयोगी सिद्ध हुन्छ।
०००
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१) भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।