डा.वासुदेव खनाल, काठमाडौं
परापूर्वकालदेखि नेपालमा मानिंदै आएको वैदिक सनातन धर्म संवैधानिक घेराबन्दीमा परेको छ । नेपालको संविधान २०७२ ले नेपाललाई ‘धर्मनिरपेक्ष’ राष्ट्रको रूपमा विश्वमा परिचित गराएपछि नेपालमा मानिंदै आएको वैदिक सनातन धर्म घेराबन्दीमा परेको हो । नेपालको संविधान २०७२ मा भनिएको छ– नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । त्यसको लगत्तै ‘धर्मनिरपेक्ष’ शब्दका सम्बन्धमा स्पष्टीकरण दिंदै भनिएको छ– यस धाराको प्रयोजनका लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ । धर्मनिरपेक्षका सम्बन्धमा यस्तो गोलमटोल भाषाको प्रयोग गरेर धर्मनिरपेक्ष शब्दलाई अथ्र्याइएको देखिन्छ । त्यहाँ एकातर्फ सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण नै धर्मनिरपेक्ष शब्दको अर्थ हो भनिएको छ भने अर्कोतर्फ धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई धर्मनिरपेक्ष शब्दको अर्थ हो भनिएको छ । नेपालको संविधान २०७२ मा प्रयोग भएका यी दुई ‘संरक्षण’ र ‘स्वतन्त्रता’ शब्द विपरीत अर्थ लाग्ने शब्द हुन् । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित नेपाली बृहद् शब्दकोशमा ‘संरक्षण’ शब्दको अर्थ (१. राम्ररी गरिने रक्षा वा हिफाजत, सुरक्षा, बचाउ, जगेर्ना । २. रेखदेख गर्ने काम, हेर विचार ।) रहेको छ भने ‘स्वतन्त्रता’ शब्दको अर्थ (१. स्वतन्त्र हुनाको वा रहनाको भाव वा अवस्था । २.कुनै प्रकारको शासनिक बाधा, रोकावट, बन्धन आदि नभई उचित तथा सङ्गत काम र व्यवहार स्वयं गर्न पाउने अधिकार वा शक्ति, स्वातन्त्र्य । भन्ने रहेको छ । यसरी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहद् शब्दकोशबाट विपरीत अर्थ लाग्ने ‘संरक्षण’ र ‘स्वतन्त्रता’ भन्ने शब्दको अर्थ एउटै हो भन्ने प्रष्टिकरण दिएर विद्वान्हरूकै धज्जी उडाइएको देखिन्छ । शब्दका सम्बन्धमा हाम्रो सनातन मान्यता भनेको ‘एक शब्द: सम्यक् ज्ञात: सुप्रयुक्त: स्वर्गे लोके च कामधुक् भवति’ अर्थात् एउटै शब्दलाई पनि राम्ररी जानेर त्यसको समुचित प्रयोग गरेको अवस्थामा स्वर्ग र यस लोकमा पनि सफल हुन्छ भन्ने रहेको छ । तर हाम्रो त्यो शब्दसम्बन्धी परम्परागत मान्यता बिपरीत दुईचारवटा दल मिलेपछि कालोलाई सेतो र सेतोलाई कालो बनाउन र मनाउन पनि सक्दछौं । हामीले कालोलाई सेतो भन्यौं भने सबैले त्यसलाई सेतै भन्नुपर्दछ कालो भन्न पार्इँदैन भन्ने पनि हो ।
यस्तै धर्मनिरपेक्षता शब्दका सम्बन्धमा पनि नेपाली बृहद् शब्दकोशको आधारमा विचार गरौं । धर्मनिरपेक्षता शब्द ‘धर्म’ र ‘निरपेक्षता’ गरी दुई शब्दको योगबाट बनेको हो । नेपाल राजकीय प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहद् शब्दकोशमा ‘धर्म’ शब्दको अर्थ १.व्यक्ति वा वस्तुमा सधै रहने गुण वा मूल प्रवृत्ति, प्रकृति, स्वभाव । २.स्वभाविक गुण, सहज वृत्ति । ३.स्वर्ग प्राप्त गर्न सकिने लोक विश्वास भएको पुण्य कार्य, पुण्य कर्म । ४.कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अंगालिने कर्म वा कर्तव्य (जस्तो मानवधर्म, नारीधर्म, युगधर्म इ.) । ५.असल आचरण, सदाचार, नियम । ६.पुण्य, सत्कर्म । ७. ईश्वर अथवा सद् गतिको प्राप्तिका लागि गरिने शास्त्र विहित कर्म । ८.कुनै महापुरुषले चलाएको मत, सम्प्रदाय । यस्तै ‘निरपेक्षता’ शब्दलाई पनि उक्त शब्दकोशमा यसरी प्रष्ट्याइएको छ । त्यहाँ निरपेक्षताको अर्थ १.कुनै कुराको वास्ता नराख्ने, अपेक्षा नभएको, वास्ता नगर्ने । २.कुनै चासो नराखिएको, उपेक्षित । ३. असम्बन्धित, सम्बन्धदेखि मुक्त भन्ने अर्थ लगाइएको छ । यी दुई शब्दरूको अर्थलाई छुट्टा–छुट्टै केलाउँदा धर्मनिरपेक्षताको अर्थ स्पष्ट हुन आउँछ अर्थात् यी दुई शब्दलाई जोडेर हेर्दा धर्मप्रति कुनै वास्ता नराख्ने, व्यक्ति वा वस्तुमा सधै रहने गुण वा मूल प्रवृत्ति, प्रकृति एवं स्वभावप्रतिको वेवास्ता, स्वभाविक गुण एवं सहज वृत्ति आदिप्रति कुनै वास्ता नराख्ने भन्ने बुझिन्छ । सारांशमा भन्दा धर्मको सोझो अर्थ जीवन पद्धति हुन आउँछ भने निरपेक्षताको सोझो अर्थ वेवास्ता हुन आउँछ । जनजीवन तथा जीवन पद्धतिप्रति वेवास्ता गर्ने कस्तो राज्य निर्माण गर्न खोजिएको हो र नेपालको संविधान २०७२ मा प्रष्टीकरणमा जुन अर्थ लगाइएको छ त्यो प्रष्टीकरणले नेपाली जनताबीच आपसी द्वन्द्व र विद्वेषको भावना सिर्जना गर्न खोजिएको देखिन्छ । उदाहरणको लागि संरक्षणका पक्षधरहरूले संरक्षणलाई आधार मानेर हिंड्ने र स्वतन्त्रताका पक्षधरहरू आफूहरूलाई संविधानले स्वतन्त्रता दिएको छ भनेर स्वतन्त्रताको उपयोग गर्न थाल्ने हो भने देशमा कस्तो स्थितिको सिर्जना हुन आउँछ यसै भन्न सकिदैन ।
अधिकांश नेपाली जनताले वैदिक सनातन धर्ममा विश्वास राख्दछन् । वैदिक सनातन धर्मावलम्बीहरूले नेपालमा बसोबास गर्ने नेपाली जनताले मान्दै आएका अन्य विभिन्न धर्मावलम्बीहरूको आफ्नो आस्था र विश्वासलाई प्राचीनकालदेखिनै सम्मान गर्दै आएका छन् । जसले गर्दा परापूर्वकालदेखिनै नेपालमा धार्मिक सहिष्णुता कायम भइरहेको अवस्थामा एकाएक देशमा धर्मनिरपेक्षता लाद्ने कार्य नेपालको संविधान २०७२ ले गरेको छ । धर्मनिरपेक्षता नेपाल र नेपाली जनताका लागि आवश्यक थियो भने आम नेपाली जनतासमक्ष छलफल गराउनु पर्दथ्यो । त्यो छलफल गराउने हिम्मत नेपाली संविधान निर्माताहरूले किन गर्न सकेनन् । यस्तै ८० प्रतिशतभन्दा बढी नेपाली जनताले सनातन हिन्दू धर्ममा विश्वास गर्दछन् यस्तो अवस्थामा मुलुकमा धर्मनिरपेक्षता थोपर्ने काम किन गरियो । यदि मुलुक धर्मनिरपेक्षताका आधारमा नै अगाडि बढ्न सक्ने आधारहरू थिए भने आम नेपाली जनताबीच छलफल गराई अनुमोदित गराउनु पर्दथ्यो तर त्यो गराउन किन आवश्यक ठानिएन । संविधान निर्माणको समयमा मागिएका सुझावमध्ये वैदिक सनातन धर्मसापेक्ष राष्ट्र बनाउनुपर्ने धारणाको चाङ् नै लागेको थियो । त्यो चाङको कुनै वास्ता नराखेर एकाएक संविधानको माध्यमबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको हो ।
वैदिक सनातन धर्ममा धर्म भनेको जीवन पद्धति हो र जिउने कला पनि हो । जसले गर्दा धर्म मानव जीवनको आवश्यक अङ्ग बन्न पुगेको छ । वैदिक सनातन मान्यता अनुसार धर्म मानिस मरेपछि पनि सँगै जाने वस्तु हो । स्मृतिशास्त्रमा धर्म, संस्कार, यज्ञ, श्राद्ध, व्रतादि धार्मिक क्रियाकलापको महत्त्वलाई प्रष्ट्याइएको छ । स्मृतिकालमा सबै मनुस्य संस्कारले युक्त हुन्थे यदि कोही अपवाद भएनन् भने उनीहरू समाजबाट बहिस्कृत हुन्थे जसले गर्दा समाजमा चलेको रीति रिवाज मान्नका लागि बाध्य हुन्थे । तत्कालीन समयमा श्राद्ध एवं व्रतादिबाट पुण्य आर्जन गर्ने गरिन्थ्यो । सन्तोषी बन्नु, क्षमाले युक्त हुनु, मनलाई वशमा गर्नु, अन्यायपूर्वक कसैको कुनै पनि वस्तु न लिनु, पवित्र रहनु, इन्द्रियहरूलाई संयममा राख्नु, बुद्धि, विद्या एवं सत्यले युक्त रहनु र क्रोध नगर्नु धर्मका दश लक्षण रहेको कुरा मनुस्मृतिमा बताइएको छ ।
धृति: क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रह: ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।। मनुस्मृति, ६.९२ ।
मनुस्मृतिमा उल्लिखित धर्मका यी दश लक्षणबाट समाजलाई कसरी निरपेक्ष राख्न सकिन्छ ? मानिस जीवनका यी सत्यबाट कसरी निरपेक्ष रहन सक्दछ ? संविधान निर्माताहरूसँग यसको उत्तर छैन । यसरी संविधानमा धर्मनिरपेक्षताको गोलमटोल अर्थ दिएर समाजलाई धर्म, वर्ण, जाति आदि भेदमा बाँडेर मानिसलाई धर्म, वर्ण, जाति आदिका नाममा भड्काउने षडयन्त्रमा संविधान निर्माता परेको देखिन्छ । कतिपय व्यक्तिहरूले विभिन्न नाममा भड्काउने प्रत्यत्न पनि नगरेका होइनन् तर पनि संयमित नेपाली जनताको सुझबुझका कारण आजसम्म यहाँँ कुनै त्यस्तो अनिष्ट हुन पाएको छैन ।
वर्तमान समयमा व्यक्ति वा समुदाय या पार्टीका शीर्षस्थ व्यक्तित्त्व जसले देश र समाजलाई नै आफ्नो स्वार्थसिद्धिको साधन बनाउन खोजेको देखिन्छ । जसको परिणाम स्वरूप समाजमा मत्स्यन्याय मौलाउँदै गएको छ । यसबाट समाजलाई बचाउनका लागि राज्यको न्यायव्यवस्थालाई सुदृढ गर्नुपर्ने हुन्छ । स्मृतिकालमा राज्यको न्यायव्यवस्था अत्यन्त सुदृढ थियो । जसले गर्दा अपराध पनि कमै हुन्थे । राज्यको न्यायव्यवस्थालाई सुदृढ बनाउनका लागि निष्पक्ष न्यायव्यवस्था आवश्यक हुन्छ । जो अन्यायमा परेको छ त्यसले शीघ्रातिशीघ्र न्याय पाउने व्यवस्था राज्यले गर्नुपर्दछ र जसले गल्ती गरेको छ त्यसका लागि कठोर दण्डको व्यवस्था पनि हुनुपर्दछ । स्मृतिकालमा विशेष गरेर धिक्, वाक्, धन र वधदण्ड गरी चारप्रकारका दण्डहरूको व्यवस्था गरिएको देखिन्छ ।
वाग्दण्डं प्रथमं कुर्यात् धिग्दण्डं तदनन्तरम् ।
तृतीयं धनदण्डं तु वधदण्डमत: परम् ।। मनुस्मृति, ८.१२९ ।
आधुनिक न्यायव्यवस्थाको कुरा गर्ने हो भने त्यो न्याय अत्यन्त सुस्त र खर्चिलो रहेको छ । सामान्य व्यक्तिले त आफ्नो जीवनमा न्याय पाउने देखिदैन अर्थात् न्यायको खोजी गर्दा गर्दै उसले इहलीला नै समाप्त गर्नुपर्ने हुन्छ । वैदिक सनातनधर्ममा वर्णित न्यायव्यवस्था यस्तो होइन चुस्त र दुरुस्त थियो । वैदिक सनातन धर्ममा वर्णित न्यायव्यवस्थाको वर्णन स्मृतिशास्त्रमा गरिएको छ । स्मृतिशास्त्रहरूमध्ये सबैभन्दा प्राचीन मानिएको स्मृति मनुस्मृति हो । मनुस्मृतिमा मानव जीवन पद्धतिका साथ वैदिक सनातन न्यायव्यवस्थाका सम्बन्धमा व्यापक चर्चा र विश्लेषण गरिएको छ । प्राचीन न्यायव्यवस्थामा प्रत्येक व्यक्तिले यथा समय न्याय प्राप्त गर्नुको साथै कठोर दण्डका कारण समाजमा हुने अनेक किसिमका नराम्रा कर्म पनि कम हुँदै जान्थे । अत: मनुद्वारा प्रतिपादित न्यायव्यवस्थालाई जस्ताको त्यस्तै यहाँँ लागू गर्नुपर्दछ भनेर पनि यहाँ भन्न खोजिएको होइन । त्यहाँ रहेका केही कुराहरू जो वर्तमान समयका लागि अनुपयुक्त छन् तिनलाई देश, काल र परिस्थिति अनुसार परिमार्जन गर्दै अगाडि बढेको अवस्थामा वर्तमान न्यायव्यवस्थामा रहेको सुस्त र खर्चिलो न्यायपद्धतिबाट नेपाली जनताले मुक्ति पाउने थिए ।
आज समाज एवं राष्ट्रमा अनाचार, दुराचार तथा भ्रष्टाचार व्याप्त छ । त्यसलाई हटाउनका लागि व्यक्तिगत तथा सामाजिक नैतिकता स्थापित गर्नुपर्ने हुन्छ । समाजमा नैतिकता स्थापित गर्नका लागि शासक तथा नेताको आवश्यकता हुन्छ र जसको नेतृत्वमा त्यहाँको समाजले आफ्नो कर्तव्य पनि पालन गर्नुपर्ने हुन्छ । प्राचीनका कालको कुरा गर्ने हो भने यो देशमा जन्मिएका हाम्रा ती अग्रजहरू जसले आफ्नो चरित्रको माध्यमबाट पृथिवीमा रहेका सम्पूर्ण मानव समुदायलाई शिक्षा दिएका थिए–
एतद्देशप्रसूतस्य सकाशादग्रजन्मन: ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवा: ।। मनुस्मृति, २.२० ।
हाम्रो प्राचीन मान्यता अनुसार नेता त्यो हो, जसको अनुकरण देशका सबै मानिसहरूले गर्न सकून् । तर दुर्भाग्य बीपी बाहेक हामीले त्यस्तो कुनै नेता जन्माउन सकेनौं जसका अनुयायी नेपाली जनता बन्न सकून् ।
हामीकहाँ जन्मिएका राजा पनि त्यस्ता जन्मिन सकेनन्, जसका सम्बन्धमा स्मृतिशास्त्रमा वर्णन गरिएको छ । स्मृतिशास्त्र अनुसार राजाको मुख्य कर्तव्य भनेकै प्रजाको रक्षा गर्नु थियो । यहाँ राजाको अर्थ शासकलाई लिइएको छ– यदि राजा(शासक) नभएको भए समाजमा समुचित व्यवस्था हुन पाउँदैनथ्यो । यसै सन्दर्भमा नारदस्मृतिमा भनिएको छ– जुन समयमा मनु, प्रजापतिले राज्य गर्दथे त्यतिबेला यो पृथ्वीमा रहेका मानिसहरू धर्मनिष्ठ तथा सत्यवादी थिए । (त्यो समयमा द्वेष, मत्सर आदि नभएकोले विधि (व्यवहार)को आवश्यकता पनि हुँदैनथ्यो) ।
मनु: प्रजापतिर्यस्मिन् काले राज्यमबूभुजत् ।
धर्मैकताना: पुरुषास्तदासन् सत्यवादिन: ।।
तदा न व्यवहारोऽभून्न द्वेषो नापि मत्सर: । नारदस्मृति, १.१ ।
यसै प्रसङ्गमा अगाडि भनिएको छ– मनुष्यमा धर्म नष्ट भएपछि विधि(व्यवहार)को आवश्यकता पर्यो त्यही व्यवहारलाई दृष्टिगत गरी दण्डादण्डको व्यवस्था गर्नका लागि राजा(शासक)को आवश्यकताको महसूस गरिएको हो जसले गर्दा राजा(शासक)लाई दण्डधर भनिएको हो ।
नष्टे धर्मे मनुष्येषु व्यवहार: प्रकल्पित: ।
द्रष्टा च व्यवहाराणां राजा दण्डधर: कृत: ।। नारदस्मृति, १.२ ।
राज्यव्यवस्थालाई सुदृढ गर्ने कार्य एक्लै राजा(शासक)ले पनि गर्न सक्दैनथ्यो । राज्यव्यवस्थाका सबै अङ्गहरूलाई सुव्यवस्थित बनाउनका लागि राज्यका विभिन्न क्षेत्रमा विभिन्न क्षेत्रका विशेषज्ञहरूलाई नियुक्ति गर्नु अनिवार्य नै हुन्छ । त्यो समयमा राज्यमा रहेका सबै कर्मचारी उदारचरित्र र कत्र्तव्यनिष्ठ हुन्थे । राजा एवं प्रजा(शासक र शासित)का बीच पिता–पुत्रका बीचको जस्तै सम्बन्ध हुन्थ्यो अर्थात् यी दुई एक अर्काका सहायकको रूपमा रहन्थे । राजा–प्रजाको सम्बन्ध प्राण र शरीरजस्तै थियो । राजा बिना प्रजा अराजकताबाट सन्तप्त हुन्थे भने प्रजा बिना राजाको त परिकल्पना नै गर्न सकिदैन ।
तर नेपालको वर्तमान परिवेशलाई लिएर आधुनिक समयको कुरा गर्ने हो भने राजनीति अत्यन्त घृणित खेलको रूपमा रहको देखिन्छ । राजनीतिलाई घृणित खेल नबनाएर स्मृतिशास्त्रमा भनेजस्तो राजनीतिलाई समाजसेवा तथा राष्ट्रको उन्नतिको माध्यम बनाउने हो भने निश्चय पनि समाजलाई रूपान्तरण गर्न सकिन्छ । आज मानव समाजले आफ्नो परम्परागत संस्कार, संस्कृतिलाई विकृत बनाइरहेको छ । जसले गर्दा समाजमा अनाचार, दुराचार, भ्रष्टाचारको बढिरहेको छ । स्वार्थी विचारधारा र अहंकारी मानसिकताले मानवीय हितमा चोट पुगिरहेको छ । अधिकांश व्यक्तिहरू बिग्रदो सामाजिक स्थितिप्रति चिन्तित पनि देखिन्छन् तर यसको पुनर्जागरणका लागि मानवीयकर्मका प्रतिको विवेक कसरी जागृत गर्न सकिन्छ भन्ने सम्बन्धमा भने क्रियाशील भएको देखिदैन । यसको एक मात्र उपाय भनेको मानवलाई प्रकाश देखाउने ती महान् ऋषिमहर्षिहरूका वाणीका सम्बन्धमा विचार विमर्श नै हो अर्थात् ती ऋषिमहर्षिहरूले मार्गदर्शन गरेको आध्यात्मिक जीवनपथको मनन गर्दै ती ऋषिमहर्षिहरूको हजारौं वर्षको तपस्याको फललाई आत्मसात गर्दै अगाडि बढ्नु नै हो र त्यो बाहेक अर्को कुनै विकल्प पनि छैन ।
संसारको सबैभन्दा पहिलो कानूनशास्त्र मनुस्मृति हो र यसैको आधारभूमिमा याज्ञवल्क्यस्मृति निर्माण भएको देखिन्छ । यही क्रमले समयको मागअनुसार अन्यान्यस्मृतिहरू पनि निर्माण हुँदै गए जसको सङ्ख्या एक सय पचासभन्दा बढी छ । कालक्रमले गर्दा यी सबै स्मृतिहरू हाल उपलब्ध छैनन् जसमध्ये पाँच दर्जन स्मृतिहरू पूर्ण तथा आंशिक रूपमा हाल उपलब्ध छन् । यी स्मृतिहरूमध्ये कतिपय स्मृतिले जीवनका सबै पक्षलाई समेटेका छन् भने कतिपय स्मृतिले मानव जीवनको कुनै एकपक्षलाई समेटेको देखिन्छ । जुन स्मृतिमा जीवनका सबैजसो पक्षलाई समेटिएको छ ती स्मृतिहरूमा पुरुषार्थ चतुष्टयको माध्यमद्वारा त्रिविध तापबाट सन्तप्त मानव समाजलाई निष्काम कर्म गर्नका लागि प्रेरित गरिएको छ । यही कारणले मनुले मनुस्मृतिलाई बुद्धिवर्धक, यशवर्धक, आयुवर्धक र मोक्षको साधक मानेका छन् ।
इदं स्वस्त्ययनं श्रेष्ठमिदं बुद्धिविवर्धनम् ।
इदं यशस्यमायुष्यमिदं नि:श्रेयसं परम् ।। मनुस्मृति, १.१०६ ।
स्मृतिहरूमध्ये सबैभन्दा जेठो मनुस्मृति र त्यसको लगत्तै निर्माण भएको याज्ञवल्क्यस्मृतिमा जीवनका हरेक पक्षलाई समेटिएको छ । यी स्मृतिमा मानवमात्रका लागि अत्यन्त उदात्त एवं महान् शिक्षाको भण्डार रहेको छ । जीवनको वास्तविकतासँग सम्बन्धित भएका कारण यी स्मृतिहरूको अनुशीलनबाट मानव जीवन सार्थक त हुन्छ नै माथि भनिएजस्तै बुद्धि, यश, आयु र मोक्षको साधन पनि बन्न सक्दछ ।
आज हरेक व्यक्ति आफूमा मात्र सीमित रहेको देखिन्छ । मानिसले ती महापुरुषहरूद्वारा गरिएको मार्गदर्शन एक मात्र शान्तिको उपाय हो भन्ने सम्बन्धमा अनभिज्ञता प्रकट गरिरहेको जस्तो देखिन्छ । वास्तवमा ती महापुरुषहरूको जीवनोपयोगी उपदेश नै मानवमात्रलाई कल्याण प्रदान गर्दछन् अर्थात् ती उपदेशले मानिसलाई वास्तवमा मानिस बनाउन सक्दछन् ।
मनुस्मृति स्मृतिशास्त्रहरूमध्ये यस्तो शास्त्र हो जुन शास्त्रलाई सर्बप्रथम ब्रम्हाले विधिपूर्वक (म) स्वयं मनुलाई पढाएका थिए र मैले मरिचि आदि दश मुनिहरूलाई विधिपूर्वक पढाएको थिएँ भन्ने कुरा मनुस्मृतिमा उल्लेख गरिएको छ–
इदं शास्त्रं तु कृत्वाऽसौ मामेव स्वयमादित: ।
विधिवद् ग्राहयामास मरीच्यादींस्त्वहं मनीन् ।। मनुस्मृति, १.५८ ।
वास्तवमा मनुस्मृति मात्र धर्मग्रन्थ होइन यो एक आचार संहिता पनि हो । जसको दिव्य प्रकाशले मानवमा रहेका अज्ञान, अवनति तथा अन्धकारलाई निकालेर ज्ञान तथा उन्नतिको मार्ग देखाउँछ । मनुस्मृतिको मुख्य उद्देश्य सांस्कृतिक विकास तथा मानवको भौतिक, धार्मिक, व्यवहारिक तथा सामाजिक जीवनलाई उन्नत गरेर उसको इहलोक एवं परलोकलाई परं पुण्यमय बनाउनु पनि हो । मनुस्मृतिबाट तत्कालीन समाजको संस्कृति, पारिवारिक एवं सामाजिक जीवन, राजनीति, न्याय, धर्म, अर्थ तथा राष्ट्रिय संरचनासम्बन्धी विशद् ज्ञान प्राप्त हुन्छ । आधुनिक मानवले वास्तवमा आफ्नो चतुवर्गको विकास गर्न चाहने हो भने स्मृतिमा वर्णित प्रत्येक विषयवस्तुलाई तार्किक शैलीमा विश्लेषण गरी ग्रहण गर्नुपर्ने देखिन्छ । मनुस्मृति र त्यसपछि निर्माण भएको भनिएको याज्ञवल्क्यस्मृतिमा वर्णित अधिकांश विषयवस्तुहरू मानव जीवनको सर्वाङ्गीण विकासका लागि अत्यन्त उपयोगी र अहिलेको समाजका लागि पनि सान्दर्भिक देखिन्छन् ।
हाम्रा ती ऋषिमहर्षिहरू न त यशका अभिलाषी थिए न त धनलोलूप न त ती ऋषिमहर्षिहरूले स्वयंलाई परिवार, समाज, देश तथा वर्ग विशेषसँग बाध्न चाहन्थे । उनीहरू सर्वकालिक, सर्वजनिक र सर्वस्थानिक कल्याणका इच्छुक थिए । यसैकारण ती ऋषिमहर्षिहरूले आफ्नो कृतिमा समय, स्थान तथा परिवारका सम्बन्धमा कुनै परिचय नदिएका हुन् । यही कुरा संसारको सबैभन्दा पहिलो कानून निर्माता मनुमा पनि लागू हुन्छ । यद्यपि उनले आफ्नो कृति मनुस्मृतिमा आफ्नो सांसारिक परिचय दिएका छैनन् तथापि उनको विशिष्टता, महानताको उपदेश उनको रचना मनुस्मृतिमा रहेको छ जुन युग युगान्तरमा पनि सदैव हरेक व्यक्ति र हरेका समाजका लागि पथप्रर्दशक बन्दै आएको छ र बन्दै जानेछ ।
कतिपय आधुनिक विद्वान्हरूबाट मनुस्मृतिमा वर्णित विषयवस्तु तथा सिद्धान्त आजको सन्दर्भमा तथ्यहीन तथा असङ्गत छ यसर्थ यसको कुनै उपयोगीता छैन भन्ने पनि यदा कदा नसुनिएका होइनन् । समय परिवर्तनशील छ, भौतिक विकाससँगै मनुस्मृतिमा उल्लेखित कतिपय कुराहरूलाई लिएर प्रश्न चिन्ह लगाउने पनि न गरिएको होइन । दुईहजारवर्षभन्दा अघिको समाजिक परिवेशलाई लिएर उल्लेख गरिएका कतिपय कुराहरूलाई लिएर मनुस्मृतिकै उपयोगिता छैन भन्नु किमार्थ मान्य हुन सक्दैन । उदाहरणका लागि नारीको विषयलाई लिऊँ– बाल्यकालमा स्त्री पिताको अधीनमा, यौवनावस्थामा पतिको अधीनमा र वृद्धावस्थामा छोराको अधीनमा रहनुपर्दछ स्त्रीले स्वतन्त्रता खोज्नुहुँदैन भनेर मनुस्मृतिमा भनिएको छ ।
बाल्ये पितुर्वशे तिष्ठेत् पाणिग्राहस्य यौवने ।
पुत्त्राणां भर्तरि प्रेते न भजेत् स्त्री स्वतन्त्रताम् ।। मनुस्मृति, ५.१४८।
आधुनिक समाजमा नारी स्वतन्त्रपूर्वक हरेक क्षेत्रमा आफ्नो इच्छा अनुसार कार्य गरिरहेका छन् । झट्ट हेर्दा आजको समाजमा मनुस्मृतिमा उल्लिखित त्यो विषयवस्तु त्यति सान्दर्भिक र उपयोगी पनि देखिदैन । तर यो विषयमा गम्भीरतापूर्वक विचार गर्ने हो र तत्कालीन समाजिक परिवेशलाई दृष्टिमा राख्ने हो भने यसको उद्देश्य नारीहरूलाई दबाउनु नभएर नारीको सुरक्षाका लागि नै थियो । तात्कालिक परिवेशको राम्ररी अध्ययन गर्दा त्यो समयको सामाजिक परिवेश पनि त्यस्तै थियो जुनबेला नारी आफै आफ्नो रक्षा गर्ने स्थितिमा थिएनन् । उनीहरूलाई कुनै न कुनै आफन्त व्यक्तिले संरक्षण दिनुपर्ने आवश्यकता थियो यदि कुनै आफन्त नै नभएको अवस्थामा राज्यले नै त्यसको दायित्व वोध गर्नुपर्ने आवश्यकता थियो । आजको समाजमा पनि नारीप्रति यदा–कदा हुने दुव्र्यवहार, वलात्कार जस्ता घटनाले गर्दा मनुद्वारा उल्लेखित ती कुराहरूलाई पुन: स्मरण गर्न बाध्य बनाउँछ ।
तत्कालीन समयको कुरा गर्ने हो भने परिवारको सुव्यवस्थाका लािग परिवारका सदस्यहरूको परस्पर अनुकूल आचरण अतिआवश्यक थियो । जुन कुरा मनुस्मृतिमा उजागर गरिएको छ । जतिबेला मनुस्मृतिको रचना भएको थियो त्यतिबेला परिवारका सबै सदस्यप्रति परस्पर आदरभाव पनि त्यत्तिकै थियो । परिवारका सबै सदस्य मिलेर बस्ने गर्दथे । माता एवं पिता अत्यन्त पूजनीय मानिन्थे, दिदी–बहिनी तथा दाजुभाइ बीच अत्यन्त प्रगाढ स्नेहभाव थियो । पति–पत्नीबीचको सम्बन्ध त जन्मजन्मान्तरका लागि थियो । एक प्रसङ्गमा मनुले भनेका छन्– जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउँछन् र जहाँ नारी तिरस्कृत हुन्छन् त्यहाँ सबै क्रिया असफल हुन्छन् ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राऽफला: क्रिया: ।। मनुस्मृति, ३.५६ ।
आधुनिक समयको कुरा गर्ने हो भने दिनानुदिन परिवार विघटनतर्फ गइरहेको छ आपसी प्रेम द्वेषभावनामा परिवर्तन भइरहेको छ । माता–पितालाई परिवारका बोझको रूपमा लिन थालिएको छ । पति–पत्नीबीचको सम्बन्धमा श्रद्धा एवं विश्वासको कुनै स्थान देखिदैन । मनुद्वारा पूजनीय मानिने नारी आज कामपूर्तिका साधन मात्र बनिरहेका छन् । आजको यो अवस्थामा मनुद्वारा निर्देशित सिद्धान्तलाई अपनाएर परिवारका एक सदस्यले अर्को सदस्यलाई मान एवं सम्मान गर्ने, वृद्धहरूको सेवा, भाइ–भाइ बीच आपसी प्रेम तथा सद्भाव तथा पति–पत्नीबीच आपसी सामञ्जस्यका साथ मनुले भनेजस्तै घरमा रहेका प्रत्येक नारीको उचित सम्मान गरिने हो भने र नारीले पनि आफ्नो कर्तव्यलाई संझेर अधिकारको प्रयोग गर्ने हो भने निश्चय पनि स्वर्गलाई खोज्न कहीं पनि जानु पर्दैन । मनुले एक प्रसङ्गमा भनेका छन्– मान्यजनलाई अभिवादन गर्ने स्वभावले युक्त, ज्ञान वा आयुले वृद्ध व्यक्तिलाई सेवा गर्ने व्यक्तिको आयु, विद्या, यश एवं बल गरी चारवटै कुराहरू वृद्धि हुन्छन् –
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन: ।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम् ।। मनुस्मृति, २.१२१ ।
मनुस्मृतिमा उल्लेख गरिएजस्तै वृद्धहरूको सेवालाई प्राथमिकतामा राख्ने परम्पराको विकास हुने हो भने आज वृद्धवृद्धाहरू समाजको वोझको रूपमा रहने थिएनन् ।
स्मृतिशास्त्रमा समाज व्यवस्थालाई समाजमा रहेका सबै व्यक्तिहरूको योग्यता तथा क्षमताका आधारमा चार वर्ण र चार आश्रममा विभाजित गरिएको देखिन्छ । यसको उद्देश्य समाजलाई विभाजित गर्नु नरहेर समाजव्यवस्थालाई सुदृढ र व्यवस्थित गर्नु हो । त्यो समयमा वर्णाश्रम व्यवस्था समाजका लागि अत्यन्त उपयोगी सिद्ध भएको थियो । जसको परिणामस्वरूप सबै आ–आफ्नो कत्र्तव्य तथा कर्ममा सङ्लग्न रहेका थिए । कुनै पनि वर्णमध्ये कसैले कसैको अधिकारक्षेत्रमा हस्तक्षेप गर्दैनथे । जसले गर्दा समाजव्यवस्थामा आपसी सामञ्जस्यताका साथ समाजमा शान्ति कायम थियो ।
आधुनिक समाजको कुरा गर्ने हो भने सबैले आ–आफ्नो कर्तव्यलाई भुलेर एकले अर्काको अधिकारको हनन गर्ने गरेको पाइन्छ । जसले गर्दा चारैतर्फ अव्यवस्था देखिन्छ । नराम्रो कर्म गर्दा पनि मानिसमा ग्लानिको भाव देखिदैन । जसले गर्दा मानिस निर्लज्ज बन्न पुगको छ । आधुनिक समाजलाई सुव्यवस्थित एवं शान्तिमय बनाउने हो भने मनु, याज्ञवल्क्य जस्ता ऋषिमहर्षिहरूले समाजका लागि बनाएका नियमहरूको पालन गर्नुआवश्यक देखिन्छ । आज हाम्रा संविधान निर्माताहरू जो छ सय एक जनाको सङ्ख्यामा रहेका थिए, उनीहरूले परापूर्व कालदेखि मनाइदै आएको वैदिक सनाततन धर्मलाई संवैधानिक घेराबन्दीमा पारेर मुलुकलाई विधर्मीहरूको क्रिडाभूमि बनाउने गोटी बन्न पुगे जुन हामी सबै नेपालीका लागि दर्भाग्य बन्न पुगेको छ ।
लेखक परिचयः डा. वासुदेव खनाल महेन्द्र संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् । नेपाली भाषा साहित्यका विद्वान खनालका लेखहरु विश्वपरिक्रमामा नियमित रुपले प्रकाशित हुनेछन् ।
विद्वान् वासुदेवज्यूकाे शोधपूर्ण लेख अत्यन्त समसामयिक र उपादेय छ । मनुस्मृति जस्ताे कालजयी रचनालार्इ लिएर तात्कालिक कुनै कालखण्डमा अनुपयुक्तजस्ता लाग्ने केही विषयवस्तुका अाधारमा महनीय कृतिको तिरस्कार गर्नु सर्वथा अनुचित हो । समुचित उदाहरण सहित स्पष्ट पारिएकाे याे लेखको मैले हृदयतः प्रशंसा गर्दछु ।