नेपाल स्रष्टा समाजको १७औँ साधारण सभामा कवि गोविन्दराज विनोदी सम्मानित

मुख्य समाचार

१६ पुस २०८०, काठमाडौं

नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन समाजको १७ औँ साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा महासचिव देविका तिमिल्सिना र कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गर्नुभएको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको थियो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्षहरु शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, सल्लाहकार रमा शर्मा र समाजका वागमती, गण्डकी र कर्णाली प्रदेशका संयोजकहरु रवीन्द्र आशिष शैली, रिता पहारी न्यौपाने र देवकी तिमिल्सिनाले मन्तव्य गरेका थिए ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित सो सभामा वरिष्ठ कवि गोविन्दराज विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. अभि सुवेदीले उनलाई सम्मान गरे । कवि विधान आचार्यले आफ्ना मातापिताको नाममा स्थापित सम्मान रु २१,१११।– नगद राशिसहितको छ ।
सोही समारोहमा समाजका पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार उद्धव भण्डारीको ‘अपाङ्गता आवाज’ कृतिको विमोचन गरिएको थियो ।
समारोहमा समालोचक ज्ञानु अधिकारी, प्राडा गोविन्दमानसिँह कार्की, योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानका संस्थापक राजेश न्यौपाने, उपाध्यक्ष चेतनाथ कणेल हरित र सचिव प्रकाश घायलले मन्तव्य व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष रोदनले अध्यक्षीय मन्तव्यको क्रममा आगामी वर्षदेखि रु १ लाख १ सय एक नगदराशिको ‘रेखा–पवन स्रष्टा सम्मान’ प्रदान गरिने जानकारी गराए । साहित्यकार पवन आलोक र धर्मपत्नी रेखा कँडेलको नाममा स्थापना गरिएको उक्त सम्मानका लागि उनका सन्तान विमला कँडेल, रिता कँडेल, सुनील कँडेल, माला कँडेल र अनिता कँडेलले रु १५ लाखको अक्षयकोषको व्यवस्था गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *