सागर फडेराको अवसान (कथा)

कथा

योगेन्द्र तिमिल्सिना

दिल्लीको उत्तरपट्टिको ग्रामिण भेग वजीरपुरमा सागर फडेराले एउटा कोठा भाडामा लिएको छ । उ आफ्नो कोठामा खाजाका सामग्री तयार गर्छ, दिन ढल्केपछि खाजा बोकी टायरको चार चक्के ठेला ठेलेर ठाउँ, ठाउँ पुग्छ र शहरका चोक चोकमा चट्पटे, पोलेका हरिया मकै, साँधेको आलु जस्ता खानेकुरा बेची साँझमा थाकेर आफ्नो कोठा बजीरपुर फर्कन्छ ।
हुम्ला जिल्लाको सर्केगार्ड गाउँमा उसका बाबु आमा बस्छन् । ती दम्पत्तीले जङ्गल छेउमा खरको छानो हाली बारबेर गरेर एउटा छाप्रो तयार गरेका छन् । त्यही छाप्रोमा गुँडुल्किएर उनीहरु रात काट्छन् । बाबुको उमेर अठहत्तर पुगेको छ भने आमा चाहिँ बहत्तर वर्षकी भइन् । सागर घर नफर्केको आउँदो पुस महिनामा दस वर्ष पुग्छ । गाउँको खोला छेउमा घर बनाएर फडेरा परिवार बसेका थिए । उसकी एउटा वहिनी पनि थिई । अचानक घरभित्र बाढी पस्यो र घर सहित बहिनीलाई समेत बगाएर लग्यो । त्यसको केही महिनापछि घर छाडी सागर विदेशिएको थियो । बाबु आमाले जति प्रतीक्षा गरे पनि सागर फर्केन । सागर कहाँ छ भन्ने पनि उनीहरुलाई थाहा छैन ।
सागरको कोठाको ठ्याक्कै अगाडिको अर्को एउटा कोठामा वेदिका मीना नाउँ गरेकी एउटी मद्रासी शिक्षक बस्छे । सागरको कोठा र वेदिकाको कोठाको बीचबाट पछाडिका अरु कोठाहरुतर्फ जान र बाहिर निस्कन एउटा सानो गल्ली छ । साँझ परेपछि पछाडिपट्टि बस्ने श्रमिकहरु दिनभरको परिश्रमले थकित भई त्यही गल्ली हुँदै आ–आफ्ना कोठाभित्र छिर्छन् । त्यहाँ भाडामा बस्ने श्रमिकहरु मध्ये कोही फ्याक्ट्रीमा काम गर्ने ज्यामी छन्, कोही सिकर्मी र कोही सामान्य होटलका बेयरा छन् । एकले अर्काको कुनै चियो चर्चो गर्दैनन् । अर्थात् यसो भनौं दिनभर खर्चेको श्रमको थकाइले आफ्नो बाहेक अरुको चासो राख्ने फुर्सद कसैलाई हुँदैन । कोठा बाहिर निस्केर बाहिर हेर्ने खालि ठाउँ पनि छैन । कसैलाई त्यसो गर्ने फुर्सद पनि छैन ।
सागर बिहानको खानपिन गर्छ र खाजाका सामग्रीहरु ठेलामा बोकेर बजीरपुरबाट शहरतिर लम्कन्छ । म पनि साँझमा टहल्न अनायसै त्यतै आइपुग्छु । अशोक विहारको जय हिन्द सिनेमा हलको छेउको चौबाटोमा सागरसँग प्राय: मेरो भेट हुन्छ । ग्राहकबाट फुर्सद हुने बित्तिकै उ मतिर फर्कन्छ र भलाकुसारी गर्न मन पराउँछ । दैनन्दिनको भेटमा उ मेरो आत्मीय मित्र भैसकेको छ । मसँग कतिपय अन्तरङ्ग कुरा गर्न उ रुचाउँछ । हामी दुबैको निम्ति यो विदेश हो । यहाँ मन मिल्ने अरु स्वदेशी साथी हामी दुबैका थिएनन् । मेरो पनि मनको कुरा पोख्ने ठाउँ अन्त कतै थिएन । उसको पनि शायद त्यस्तै हुँदो हो ।
एकदिन उसले मलाई भन्यो, “आज मेरो टाउको भारी भैरहेको छ” ।
मैले सोधें, “किन त्यस्तो भयो?”
प्रत्युत्तरमा उसले भन्यो, “आज रातभर राम्रोसँग सुत्न पाएको छैन” ।
मैले सोधें “के भएर सुत्न नपाएको ?”
जवाफमा उसले “त्यत्तिकै” भनी टाउको हल्लायो ।
त्यति नै बेला नयाँ ग्राहक आयो र उसको ध्यान त्यता मोडियो । त्यसपछि म आफ्नो गन्तव्यतर्फ लागें ।
अर्को दिन फेरि सागरसँग मेरो भेट भयो ।
त्यो दिन उसले आफ्नो अन्तरङ्ग कथा सुनायो, “वेदिकाले आज त झन् मलाई रातभर सुत्न दिइन । राति रक्सी खान बोलाउँछै, मातेपछि उसलाई मन लागेको गर्छे, म उबाट उम्कन सक्तिन” ।
“उ एक्लै छ र ?” मैले थप कुरा बुझ्न खोजेँ ।
उसले भन्यो, “उसको एउटा सात वर्षको छोरो पनि छ । बच्चा निदाएपछि उसले मलाई बोलाउँछे । पहिले पहिले त म नाइँ भन्थेँ, तर उसले बोलाउँदा विस्तारै म पनि ‘नाइँ’ भन्न नसक्ने अवस्थामा पुगेँ । म गएपछि उसले ब्राण्डेड रक्सी र स्न्याक ठिक पार्थी । त्यसपछि रक्सीको चुस्की लिँदै हामी गफ गर्न थाल्थ्यौँ र विस्तारै आपसमा आलिङ्गन गर्न थाल्थ्यौँ ।”
“पहिले त उ एकलै थिई । एक महिना अघि छोरो लिएर उसको लोग्ने चाहिँ मद्रासबाट दिल्ली आएको थियो । वेदिका स्कुलमा शिक्षिका थिई । उसलाई छोरो जिम्मा लगाएर लोग्ने चाहिँ छिटै मद्रास फर्कियो । शायद उ पनि मद्रासमा जागिर खान्थ्यो । विहानको खाना खाएर छोरो लिएर वेदिका स्कुल जान्थी । उसको छोरो पनि त्यही स्कुलमा पढ्थ्यो । स्कुल छुटेपछि उ पनि आमासँगै फर्कन्थ्यो ।”
“दिन वित्दै गए, वेदिका यौन उत्तेजनाले उग्र हुँदै मसँग आसक्त हुन थालेकी थिई । म पनि उसलाई छोड्न सक्तिनथेँ । मलाई पनि कतिवेला उसको कोठामा पस्नु जस्तो हुन्थ्यो । वेदिका विभिन्न आसनमा मसँग यौन सम्पर्क गर्थी । उ मसँग अप्राकृतिक यौन सम्पर्क गर्थी । उ मुख मैथुन समेत गर्थी ।” वेदिकासँग भएका सारा क्रियाकलाप सागर फडेराले मलाई भनी सकेको थियो ।
अचानक म राजस्थान जानुपर्ने भयो । केही दिन त्यतै बस्नु परेकोले सागरसँग मेरो भेट हुन सकेन । आज फेरि मैले व्यस्त सडक छेउमा सागर फडेरालाई भेटेँ । उसले आज मलाई अर्कै कथा सुनायो ।
उसले भन्यो, “आज मैले अचानक सर्केगार्ड पुगेको सपना देखें । नयाँ फरिया लगाएर आमा कतै जाँदै थिइन् । उनलाई मैले बाटोमै भेटेँ । अचानक मलाई बाटोमा भेटेपछि आमा खुशी भइन् र मलाई अँगालो हालिन् । मैले आमालाई ढोग गरेँ । आमा अघि लागिन् । म आमाको पछि लागेँ । आमासँगै म घरभित्र पसेँ । बा पनि छक्क परे र मुसुमुसु हाँस्न थाले । मलाई अचम्म लाग्यो, बाले कस्तो राम्रो नयाँ घर बनाएछन् । बडो रमाइलो भयो । बा पनि झन् भर्खरका पो देखिए । बा आमासँग रमाइलो गफ गरेर बसिरहेको थिएँ, अचानक म बिउँझिएँ । मलाई त एकपटक घर जाउँ, जाउँ पो लागेको छ ।”
मेरो आफ्नो व्यस्ताताका कारण केही दिनदेखि मैले सागरलाई भेट्न सकेको थिइँन । आजको भेटमा उसले वेदिकासँगको गतिविधिको कुरा केही गरेन । सागरको कथा मोडियो । उसले भन्यो, “हिजो साँझ वेदिकाको लोग्ने आइपुगेको छ । हिजोदेखि नै उसँगको सम्पर्क अलग्गिएको छ । आजदेखि म पनि एक्लिएको महसुस गरिरहेको छु ।”
जुलाई महिनाको अन्त्यतिरको कुरा हो । अर्थात् नेपालमा मध्य श्रावणको समय थियो । रातिदेखि नै पानी परिरहेको हुँदा दिल्ली अँध्यारो थियो । घर बाहिर मानिस र सवारी साधनको आवतजावत पातलो थियो । बर्साती ओढेर आएको नवभारत टाइम्सको वितरक घरको आँगनमा पत्रिका फ्याँकेर साइकलमा विपरित दिशातर्फ हुइँकिई सकेको थियो । पत्रिका केही भिजेको थियो । आँगनबाट पत्रिका टिपेँ र सरसर्ती हेर्न थालेँ ।
“सेक्स स्क्याण्डल में नेपाल के वहादुर की हत्या” शीर्षकको मुख्य समाचारमा मेरो आँखा पर्‍यो । समाचारमा ‘नेपाल’ शब्द जोडिएको हुँदा तुरुन्तै पढी हाल्ने कौतूहलता मभित्र जाग्यो । समाचार पढेँ, त्यो समाचार सागर फडेराको परस्त्रीसँगको यौन सम्बन्ध र उसको विभत्स हत्यामा आधारित थियो । प्रहरी अनुसन्धानले उसको हत्याको कारण परस्त्रीसँग यौन सम्बन्धको निरन्तरता भन्ने देखाएको थियो । रगत लतपतिएको उसको विभत्स शव हेर्दा गर्धन आधाभन्दा बढी काटिएको र लिङ्ग छिनालिएको अवस्थामा थियो । घटनापछि वेदिका र सागरको यौन सम्बन्ध बारे विभिन्न समाचार माध्यम र सर्वसाधारण बिच विभिन्न तर्क भएको मैले सुनेँ । ती तर्क मध्ये केही युवाहरुले यस सम्बन्धलाई महिला र पुरुष दुबैको जैविक आवश्यकता भने । पाका मानिसहरुले परस्त्री र परपुरुष बिचको यो सम्बन्ध अनैतिक र घोर आपत्तीजनक भने । अरु केही सन्त महन्तले परस्त्री गमन महापाप कर्म हो भने । जसले जे भने पनि दुःखद घटना आखिर घटिसकेको थियो, सागर फडेराको अवसान भैसकेको थियो ।

कथाकार परिचयः कथाकार चुङमाङ धनकुटामा जन्मेका हुन् । उनको पहिलो प्रकाशित कथा “अपरिचित प्रेमिका र अल्पायु मृत्यु” विसं २०२४ सालमा प्रकाशित भएको थियो । उनका “बैंसको निर्वासित शहर(२०३४), “अनन्त आकाश”(२०७५) दुई कथा सङ्ग्रहसहित ४ उपन्यास तथा जीवनीमूलक कृति प्रकाशित छन् । उनी हाल टोखा, काठमाडौंमा वसोवास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *