सुश्रुतराज न्यौपाने
एकजना बाबा थिए । उनी आफ्नो छोरालाई लिएर पोखरा घुम्न गएका थिए । पोखरामा उनीहरु धेरै रमाउँदै थिए । अचानक बाबा सिँडीबाट लडे र खुट्टा मर्कियो । उनलाई अस्पताल लगियो । उनका छोराले अस्पतालको अवस्थाको बारेमा धेरै थोक अनुभव गरे । बाबालाई हेर्न धेरै मानिसहरू आएका थिए ।
त्यो अस्पताल धेरै प्रसिद्ध थियो । अस्पतालमा रुघा लागेका, चोटपटक लागेका, औषधी किन्न आएका, विभिन्न रोगको उपचार गराउन आएका विसन्चो मानिसहरू थिए । डाक्टरले बिरामीलाई जाँच गर्दै सल्लाह दिइरहेका थिए । डाक्टरहरू बिरामीका लागि भगवान् जस्तै थिए । अस्पतालमा धेरै कोठाहरू थिए । एक्सरे कोठा । फार्मेसी । इमरजेन्सी ट्रिटमेन्ट कोठा । डाक्टरले जाँच्ने कोठा । अनि छतमा हेलिप्याड आदि ।
डाक्टर पनि धेरै प्रकारका थिए । आँखाको डाक्टर । दाँतको डाक्टर । छालाको डाक्टर । मुटुको डाक्टर । हड्डीको डाक्टर । किड्नीको डाक्टर। फोक्सोको डाक्टर । नसाको डाक्टर । उनले नेपालको सरकारलाई मनमनै अनुरोध गरे, हाम्रो देशमा अझै धेरै अस्पताल बनोस् ।
बाहिरको संसार र अस्पतालको संसारमा आकाश जमिनको फरक थियो । अस्पतालमा सबै जना दु:खी थिए । तर एउटा अनौठो मानिस आफ्नै संसारमा बिन्दास भएर हाँसिरहेका थिए । ती मानिस उनका बुबा थिए । उनले बुबालाई सोधे, “किन यति खुसी हुनुभएको ?”
उनका बाबाले भने, “छोरा यो जिन्दगी भगवानले हामीलाई दु:खी भएर बिताउन दिनुभएको होइन । काम गर्नुपर्छ तर तनाव लिएर होइन । दु:ख जतिखेर पनि आउन सक्छ । त्यसैले हामीले तनाव लिएर काम गर्नु हुँदैन ।”
उनको बाबाले जे पनि तनाव आउँदा खुसीसाथ त्यसको समाधान खोज्थे । अस्पताल एउटा सहरमा एउटा मात्रै थियो । अस्पताल हरेक गाँउ र सहरमा हुनुपर्छ भन्ने बाबाको भनाइ थियो ।
बाबाले भन्ने गर्थे, “ नेपालमा धेरै अस्पताल बन्नु पर्छ । अभिभावकहरूले अब आउने पिँढीहरूलाई डाक्टर बनाउन सहयोग गर्नु पर्छ । डाक्टर भनेको अरुको ज्यान बचाउने हुन् । त्यसैले हामीले डाक्टरलाई सम्मान गर्नु पर्छ । अस्पतालले घाइते र रोगको लागि साधन बन्नु र बनाउनुपर्छ । अब नेपालमा भविष्यमा ठुला ठुला अस्पतालहरू बनुन् ।”
उनले देखे पीडितहरू उपचार गर्न आउँथे तर पैसा नभएपछि दु:खी हुँदै घर फर्कन्थे । अस्पतालले औषधीको मूल्य र उपचारको मूल्य घटाउनुपर्छ भन्थे । बाबालाई त्यो महँगो लाग्यो ।
अस्पतालले गर्दा नै धेरै मानिसको ज्यान बच्छ । उनी पनि निको भए र आफ्नो परिवारसँग घर फर्के । उनले आफ्नो छोरालाई डाक्टर पढाएर गरिबलाई सित्तैमा उपचार गराउने बारेमा विचार गरे । छोराले बाबाको प्रस्तावलाई खुशी हुँदै स्वीकार गरे ।
000
कथाकार परिचय : सुश्रुतराज न्यौपाने, बुढिगङ्गा गाउँपालिका वडा नं. २, मोरङ निवासी हुन् । हाल उनी भैरहवा, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ रूपन्देही, लुम्बिनी प्रदेशमा बस्छन् । उनी काशी नोबल एकेडेमी, भैरहवामा कक्षा ५ मा अध्ययन गर्छन् । उनले कथा र निबन्धहरू लेखेका छन् । उनका रचनाहरू रातोपाटी, सेतोपाटी, नेपाली साहित्य घरलगायत अन्य पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।