कवि तथा गायक योगेश वैद्य रहेनन्

मुख्य समाचार

५ माघ २०८०, काठमाडौं

नेपाली जगतले एक वरिष्ठ गायक, गीतकार तथा राष्ट्रभक्त नेपाली योगेश वैद्य गुमाएको छ ।
कैयन् कर्णप्रिय गीतका लोकप्रिय विशिष्ट गायक वैद्यको राती १२।३० बजे काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा देहावसान भयो ।
“नेपाल मेरो तिमीलाई उपहार भो …” जस्ता राष्ट्रिय भावनाको गीतका साथै ” सपना भुलाई सारा …” जस्ता हृदयस्पर्शी गीत उनले गाएका थिए ।
उनले ईश्वरबल्लभ, शिव अधिकारी,मविवि शाह, रवीन्द्र शाह, जी शाह, यादव खरेल, रत्न शम्शेर थापा लगायत कैयन् ख्यातिप्राप्त गीतकारका शब्दहरुलाई स्वर दिएका थिए ।

उनको जन्म विसं २००३ साल असार २४ गते काठमाडौंको नरदेवी टोलमा भएको थियो । उनी विसं २०१४ सालदेखि साँगीतिक क्षेत्रमा संलग्न थिए ।
उनको “समय प्रवाहमा छुटेका पलहरु” गीति कविताहरु र ” स्वर्णिम संस्मरण” आत्मबृतान्त प्रकाशित छन् । स्वर्णिम संस्मरण यसै वर्ष भदौमा ७७औं वसन्त पूरा गरेको उपलक्षमा सगुनको साथमा उनकीजेठी दिदी उमा कर्माचार्यले “रचनात्मक सत्कर्ममा निरन्तर लागिरहन, स्वस्थ, तन्दुरुस्त र शान्त शरीर तथा उर्वर मन र मर्म सदा ताजा रहोस् भनी ईश्वरसँग प्रार्थना गरी आफ्नो भाइको दीर्घ जीवनको कामना गर्दै विमोचन गरेकी थिइन् ।

उनले विसं २०२६ सालमा आधुनिक सङ्गीत सम्मेलनमा दोश्रो पुरस्कार, २०२८ सालमा राष्ट्रिय गीत सम्मेलनमा प्रथम पुरस्कार पाएका थिए । साथै  उनले छिन्नलता गीत पुरस्कार समेत प्राप्त गरेका थिए । हालै उनलाई गंकी वसुन्धरा पुरस्कार गुठीले पुरस्कृत गर्ने घोषणा गरेको थियो, तर उनले सो ग्रहण गर्न जान सकेका थिएनन् ।

उनी वासुशशी स्मृति प्रतिष्ठानका सल्लाहकार थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *